Dinesh Wagle on Nepali Society

Dinesh Wagle on Nepali society

मिलाउॅ हाम्रा हातहरू

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नन
यो लेख आज शनिवारको कान्तिपुर दैनिकमा प्रकाशित छ । पत्रिकाकै पेजमा हेर्ने भए यहाँ क्लिक गरेहुन्छ ।

काठमाडौं- लिफ्टबाट निस्केर म तीव्रगतिमा अगाडि हुत्तिइरहेको थिएँ एकजना सहकर्मीले मुसुक्क मुस्काउँदै दाहिने हात अगाडि फैलाए । देब्रे हात गोजीमा थियो, दाहिनेमा मोबाइल तर उनीसँग हात नमिलाई, हेन्डसेक या गुड नगरी अघि बढ्नु उनलाई इन्कार गर्नचाहेको जस्तो हुने पक्का थियो । त्यसैले म झ्याप्प रोकीएँ, भुईंको मार्बलमा खुट्टा झन्डै चिप्लिनेगरी, देब्रे हात निकालें, त्यसमा फोन थमाएँ र समय धेरै नभएकाले एउटा कृत्रिम हासो तत्कालै निकालेर उनको हात समाएँ ।

Koirala and Prachanda शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री कोइराला र माओवादी अध्यक्ष प्रचण्ड हात मिलाउँदै । राम्रो हात मिलाइ उभिएर, एकअर्कालाई आँखैमा हेरेर, हल्का मुस्काएर गरिन्छ । तर सबै हात मिलाइ त्यति राम्रा र आशाबर्द्धक हुँदैनन्। तस्वीर : गोपाल चित्रकार/कान्तिपुर
शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री कोइराला र माओवादी अध्यक्ष प्रचण्ड हात मिलाउँदै । राम्रो हात मिलाइ उभिएर, एकअर्कालाई आँखैमा हेरेर, हल्का मुस्काएर गरिन्छ । तर सबै हात मिलाइ त्यति राम्रा र आशाबर्द्धक हुँदैनन्। तस्वीर : गोपाल चित्रकार/कान्तिपुर

‘हेल्लो’ मैले भनें । ‘हेल्लो’ उनले पनि भने । चाहेको होइन, तर उनका हात महसुस नगरी रहनै सकिन । तातो । अलि कस्तो-कस्तो । हल्का खस्रोजस्तो । मेरोभन्दा केही ठूलो र मोटो । उनलाई मेरो हात चिसो लाग्यो होला, किनकि म भर्खरै किबोर्डमा टाइप गरेर झरेको थिएँ । सायद हामीले त्यो कर्मका लागि तीन सेकेन्डजति बितायौं होला, तर हुनेजति भइसकेको थियो, लिफ्ट माथि गइसकेको थियो, उनले बेकारमा त्यहा उभिनुपर्ने भयो । कतै हानिएको मेरो गतिमा अवरोध आयो । लाग्यो- किन उनलाई हात फैलाउनुपरेको होला – आँखैमा हेरेर हासेकै थियौं, हेल्लो भनेकै थियौं र त्यतिले हामीबीच एकखाले ‘व्यावसायिक अभिवादन’ भएकै थियो । के गर्नु संसार त्यस्तो ठान्दैन- नमस्तेलाई गुडबाई, हात मिलाई र्सवाधिक चल्तीको नेपाली अभिवादन भइरहेको छ ।

ठीकै छ, फैलाउनुस् आफ्नो हात, अठ्याउनुस् अर्काको हात, हल्लाउनुस् र छाड्दिनुस् । के ठूलो कुरो भयो – तर केही दिनअघि यसबारे लेख्ने योजना बनाइरहॅदा म प्रत्येक हात मिलाइबारे सोच्न, त्यसको विश्लेषण गर्न र त्यो किन या त्यसैगरी गरिएको होला भनी प्रश्न गर्न तथा कुनै सर्न्दर्भमा खितित्त हास्न बाध्य भइरहेको छु । जस्तो- अस्ति क्यान्टिनमा बाटैको टेबुलमा अन्डा-रोटी र केराउ खाइरहेको थिएँ । जति सहकर्मी या चिनजानका आउछन्, हात फैलाउदै आउछन् । मित्रका हात, नमिलाउ कसरी । मिलाउ, हात चिल्ला छन्, उनलाई कस्तो फिल हुने हो । अनि उनका हात कस्ता हुने हुन्, आफू खाइदैछ । कतिलाई हातको रोटी देखाएर पन्साइयो, कतिसॅग कान्छी औंलोको टुप्पो जुधाइयो, कतिलाई चाहिँ नाडी नै जिम्मा लगाइयो, उनीहरूले पनि त्यसलाई च्याप्प समाए, मानौं त्यसमा कुनै अलौकिक आनन्द थियो ।

लौ भएन, क्यान्टिन या लिफ्ट अनुभवले पुगेन, केही अनुसन्धान गर्नैपर्यो हात मिलाइबारे भनेर गुगलको र्सच बाकसमा ‘ह्यान्डसेक’ टाइप गरें । थाम्नै नसकिने सूचना-खोलो आयो । ‘हात मिलाई नरम, दरिलो, छोटो, लामो या पीडादायी पनि हुनसक्छ’, एउटा साइटले भन्यो । मैले सहमतिमा मुन्टो हल्लाए । ‘हात मिलाइले तपाईंको व्यक्तित्वबारे संकेत गर्छ ।’ क्यान्टोनमेन्टमा नआइसकेका माओवादी गुरिल्ला टुकडी भेट्न डेढ वर्षघि कैलाली पुग्दा एकजना कमरेडसॅग हात मिलाउनुपरेको थियो, जो अहिले पनि सम्झना आउछ । ऐया ! मैले ठानें- मेरो दाहिने हातको अन्त्य त्यहीं भो, औंलाहरू चकनाचुर भए । हड्डी भाचियो ।थाहा छ, कमरेडको त्यस्तो कुनै नियत थिएन, तर अनुसन्धानबाट थाहा भयो, हात मिलाउने त्यो शैली खराब मध्येको रहेछ, जसलाई अङ्ग्रेजीमा ‘बोन क्रसर’ भनिन्छ । ठ्याक्कै त्यसको उल्टो- हात तेर्स्याउने तर लत्याकलुतुक छाडिदिने-लाई चाहिँ ‘डेड फिस’ । मरेको माछो समाउँदा जस्तै । निराशावादीहरूले त्यसरी हात मिलाउने एउटा साइटमा लेखिएको छ ।

जेटी औएरले आफ्नो किताब ‘जोए अफ सेलिङ’मा हात मिलाइका थुप्रै वर्गबारे वर्णन गरेको थाहा भयो, जसमा मलाई दिक्क लाग्ने एउटा वर्ग उल्लेख गरेछ– प्रिजन ह्यान्डसेक अर्थात् समातेपछि छाड्दै नछाड्ने । अर्को- स्क्विजिङ अर्थात् हात निचोरिदिने । त्यस्तो शैली प्राय: पुरुषहरूले शक्ति देखाउन प्रयोग गर्ने औएरको भनाइ छ । गुगलमा जति खोज्दा पनि मैले भेटिन हात मिलाउने त्यो शैली, जो मैले पहिलोपटक रत्नराज्य क्याम्पसमा पढ्दा अनुभव गरेको थिएँ । एकजना साथीले हात च्याप्प समातेपछि चोरीऔंलो खुसुक्क निकालेर हत्केलामा ‘कुरकुर’ गर्दै काउकुती लगाइदिने। कुरकुरे ह्यान्डसेक ! भेट्दा–छुट्दा अभिवादन गर्न, बधाई दिँदा या सम्झौता गर्दा हात मिलाइने देखिएकै कुरा हो । विश्वास, सन्तुलन र समानताको संकेत गर्नु हात मिलाइका उद्दश्य हुन्छन् । कुनै हात मिलाइले कत्रो आशा दिन्छन् भने कुनैले निराशा । प्रचण्ड र गिरिजाप्रसाद कोइरालाले नयाँवानेश्वर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि गरेको ह्यान्डसेकले कत्रो आशा दिलाएको थियो । अहिले प्रचण्ड राजावादी–राष्ट्रवादीसँग हात मिलाउने कुरा गर्दैछन्, जसले उनका क्रान्तिकारी गुरिल्लाहरूलाई विलखबन्दमा पारेको हुनुपर्छ ।

व्यवहारमा देखिएको एउटा कुरोलाई गुगल खोजीले प्रमाणित गर्यो । हात मिलाइ मुख्यत: पुरुषहरूको काम हो । त्यसो भन्दैमा महिलाहरूसँग हातै नमिलाउने भन्ने होइन । ‘त्यस्तो भेदभाव गर्दिन’, पत्रिकामा मभन्दा सिनियर एकजना मृदुभाषी पुरुष सहकर्मीले भने– ‘पुरुषसँग हात मिलाउँदै गर्दा त्यही लाइनमा छन् भने महिलासँग पनि हात मिलाइन्छ । अन्यथा उनीहरूलाई बेवास्ता गरेको अर्थ लाग्छ ।’ त्यति भनेपछि उनले आफूलाई माओवादी महिलाहरूसँग हात मिलाउँदा सबैभन्दा रमाइलो लाग्ने बताए ।

‘कसिलो तर नरम’, उनले भने र मुस्काए ।

‘कसिलो र नरम’ भए सायद ठीकै हो, तर हात मिलाउनुका अनेकौं कमजोरी छन् । भर्खरै ट्वाइलेटबाट निस्केको मान्छले हँसिलो अनुहार लगाउँदै हात फैलाएमा कस्तो संकट पर्छ । २० फिट परसम्म हुँदा नाक कोट्याइरहेको थियो उसले, म नजिक
पुगेपछि हतारमा हात फैलाउँछ– के गर्ने ? राम्रो त नमस्ते नै हो, एकजना सहकर्मीले भने, तर हात फैलाइहाल्छन् मान्छेहरू ।
अफिसजस्तो निश्चित स्थान र समयमा प्राय: सधैं भेटिनेहरूसँग हात मिलाइरहनु कत्तिको जरुरी छ कुन्नि ? तर धेरैसँग हात मिलाउनेले नबिर्सिकन हात धुनुपर्छ या व्याक्टेरिया प्रतिरोधक लोसन लगाउनुपर्छ ।

सन् २००० को चुनावी अभियानताका जर्ज डब्लु बुसले त्यही गरेका रहेछन् । धेरैसँग हात मिलाउँदा बुसका हातहरू सुन्निएका,
राता भएका रहेछन्, तर प्रवक्ता स्कट मक्मिलानले एउटा साइटलाई भनेछन्– ‘खानाअघि उहाँले स्यानिटाइजरबाट हात सफा गर्नुहुन्थ्यो र जति दुखेपछि हात मिलाउन छाड्नुभएन ।’ त्यसैले बहुमत भोट अलगोरलाई मिले पनि ह्वाइट हाउस बुसलाई मिल्यो ! ठीकै छ, ह्यान्डसेकलाई ननकार्ने, बरु कसरी राम्रोसँग गर्ने भन्ने निष्कर्षमा म पुगेँ र हात मिलाइ टिप्स मैले वेबसाइटहरूमा फेला पारे । ‘हात मिलाइमा सबैभन्दा चाहिने कुरा आँखा मिलाइ हो’, एकठाउँमा फेला पारेँ– ‘हात फैलाउनुस्, अर्कोको हात च्याप्प समाउनुस् ताकि दुवैका बूढीऔंलाका फेद भेट होउन् । दुई–तीनपटक हल्लाउन्– तीन सेकेन्डजति । कुहिनोदेखि तल्तिरमात्र हल्लाउने, काँधै होइन । केही बोल्नुस्– पहिलोपटक हो भने नाम आदि, नभए हेल्लो आदि । अनि चट्ट छाड्नुस्।’

(कान्तिपुरमा आज प्रकाशित यो लेख पत्रिकाकै पेजमा हेर्न यहाँ क्लिक गरेहुन्छ ।)

One response to “मिलाउॅ हाम्रा हातहरू”

  1. Dinesh Wagle Avatar

    Reblogged this on Wagle Street Journal and commented:
    In this season of handshake…..my Dec 2007 piece on the act!