दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नन
यो लेख आज शनिवारको कान्तिपुर दैनिकमा प्रकाशित छ । पत्रिकाकै पेजमा हेर्ने भए यहाँ क्लिक गरेहुन्छ ।
काठमाडौं- लिफ्टबाट निस्केर म तीव्रगतिमा अगाडि हुत्तिइरहेको थिएँ एकजना सहकर्मीले मुसुक्क मुस्काउँदै दाहिने हात अगाडि फैलाए । देब्रे हात गोजीमा थियो, दाहिनेमा मोबाइल तर उनीसँग हात नमिलाई, हेन्डसेक या गुड नगरी अघि बढ्नु उनलाई इन्कार गर्नचाहेको जस्तो हुने पक्का थियो । त्यसैले म झ्याप्प रोकीएँ, भुईंको मार्बलमा खुट्टा झन्डै चिप्लिनेगरी, देब्रे हात निकालें, त्यसमा फोन थमाएँ र समय धेरै नभएकाले एउटा कृत्रिम हासो तत्कालै निकालेर उनको हात समाएँ ।

‘हेल्लो’ मैले भनें । ‘हेल्लो’ उनले पनि भने । चाहेको होइन, तर उनका हात महसुस नगरी रहनै सकिन । तातो । अलि कस्तो-कस्तो । हल्का खस्रोजस्तो । मेरोभन्दा केही ठूलो र मोटो । उनलाई मेरो हात चिसो लाग्यो होला, किनकि म भर्खरै किबोर्डमा टाइप गरेर झरेको थिएँ । सायद हामीले त्यो कर्मका लागि तीन सेकेन्डजति बितायौं होला, तर हुनेजति भइसकेको थियो, लिफ्ट माथि गइसकेको थियो, उनले बेकारमा त्यहा उभिनुपर्ने भयो । कतै हानिएको मेरो गतिमा अवरोध आयो । लाग्यो- किन उनलाई हात फैलाउनुपरेको होला – आँखैमा हेरेर हासेकै थियौं, हेल्लो भनेकै थियौं र त्यतिले हामीबीच एकखाले ‘व्यावसायिक अभिवादन’ भएकै थियो । के गर्नु संसार त्यस्तो ठान्दैन- नमस्तेलाई गुडबाई, हात मिलाई र्सवाधिक चल्तीको नेपाली अभिवादन भइरहेको छ ।
ठीकै छ, फैलाउनुस् आफ्नो हात, अठ्याउनुस् अर्काको हात, हल्लाउनुस् र छाड्दिनुस् । के ठूलो कुरो भयो – तर केही दिनअघि यसबारे लेख्ने योजना बनाइरहॅदा म प्रत्येक हात मिलाइबारे सोच्न, त्यसको विश्लेषण गर्न र त्यो किन या त्यसैगरी गरिएको होला भनी प्रश्न गर्न तथा कुनै सर्न्दर्भमा खितित्त हास्न बाध्य भइरहेको छु । जस्तो- अस्ति क्यान्टिनमा बाटैको टेबुलमा अन्डा-रोटी र केराउ खाइरहेको थिएँ । जति सहकर्मी या चिनजानका आउछन्, हात फैलाउदै आउछन् । मित्रका हात, नमिलाउ कसरी । मिलाउ, हात चिल्ला छन्, उनलाई कस्तो फिल हुने हो । अनि उनका हात कस्ता हुने हुन्, आफू खाइदैछ । कतिलाई हातको रोटी देखाएर पन्साइयो, कतिसॅग कान्छी औंलोको टुप्पो जुधाइयो, कतिलाई चाहिँ नाडी नै जिम्मा लगाइयो, उनीहरूले पनि त्यसलाई च्याप्प समाए, मानौं त्यसमा कुनै अलौकिक आनन्द थियो ।
लौ भएन, क्यान्टिन या लिफ्ट अनुभवले पुगेन, केही अनुसन्धान गर्नैपर्यो हात मिलाइबारे भनेर गुगलको र्सच बाकसमा ‘ह्यान्डसेक’ टाइप गरें । थाम्नै नसकिने सूचना-खोलो आयो । ‘हात मिलाई नरम, दरिलो, छोटो, लामो या पीडादायी पनि हुनसक्छ’, एउटा साइटले भन्यो । मैले सहमतिमा मुन्टो हल्लाए । ‘हात मिलाइले तपाईंको व्यक्तित्वबारे संकेत गर्छ ।’ क्यान्टोनमेन्टमा नआइसकेका माओवादी गुरिल्ला टुकडी भेट्न डेढ वर्षघि कैलाली पुग्दा एकजना कमरेडसॅग हात मिलाउनुपरेको थियो, जो अहिले पनि सम्झना आउछ । ऐया ! मैले ठानें- मेरो दाहिने हातको अन्त्य त्यहीं भो, औंलाहरू चकनाचुर भए । हड्डी भाचियो ।थाहा छ, कमरेडको त्यस्तो कुनै नियत थिएन, तर अनुसन्धानबाट थाहा भयो, हात मिलाउने त्यो शैली खराब मध्येको रहेछ, जसलाई अङ्ग्रेजीमा ‘बोन क्रसर’ भनिन्छ । ठ्याक्कै त्यसको उल्टो- हात तेर्स्याउने तर लत्याकलुतुक छाडिदिने-लाई चाहिँ ‘डेड फिस’ । मरेको माछो समाउँदा जस्तै । निराशावादीहरूले त्यसरी हात मिलाउने एउटा साइटमा लेखिएको छ ।
जेटी औएरले आफ्नो किताब ‘जोए अफ सेलिङ’मा हात मिलाइका थुप्रै वर्गबारे वर्णन गरेको थाहा भयो, जसमा मलाई दिक्क लाग्ने एउटा वर्ग उल्लेख गरेछ– प्रिजन ह्यान्डसेक अर्थात् समातेपछि छाड्दै नछाड्ने । अर्को- स्क्विजिङ अर्थात् हात निचोरिदिने । त्यस्तो शैली प्राय: पुरुषहरूले शक्ति देखाउन प्रयोग गर्ने औएरको भनाइ छ । गुगलमा जति खोज्दा पनि मैले भेटिन हात मिलाउने त्यो शैली, जो मैले पहिलोपटक रत्नराज्य क्याम्पसमा पढ्दा अनुभव गरेको थिएँ । एकजना साथीले हात च्याप्प समातेपछि चोरीऔंलो खुसुक्क निकालेर हत्केलामा ‘कुरकुर’ गर्दै काउकुती लगाइदिने। कुरकुरे ह्यान्डसेक ! भेट्दा–छुट्दा अभिवादन गर्न, बधाई दिँदा या सम्झौता गर्दा हात मिलाइने देखिएकै कुरा हो । विश्वास, सन्तुलन र समानताको संकेत गर्नु हात मिलाइका उद्दश्य हुन्छन् । कुनै हात मिलाइले कत्रो आशा दिन्छन् भने कुनैले निराशा । प्रचण्ड र गिरिजाप्रसाद कोइरालाले नयाँवानेश्वर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि गरेको ह्यान्डसेकले कत्रो आशा दिलाएको थियो । अहिले प्रचण्ड राजावादी–राष्ट्रवादीसँग हात मिलाउने कुरा गर्दैछन्, जसले उनका क्रान्तिकारी गुरिल्लाहरूलाई विलखबन्दमा पारेको हुनुपर्छ ।
व्यवहारमा देखिएको एउटा कुरोलाई गुगल खोजीले प्रमाणित गर्यो । हात मिलाइ मुख्यत: पुरुषहरूको काम हो । त्यसो भन्दैमा महिलाहरूसँग हातै नमिलाउने भन्ने होइन । ‘त्यस्तो भेदभाव गर्दिन’, पत्रिकामा मभन्दा सिनियर एकजना मृदुभाषी पुरुष सहकर्मीले भने– ‘पुरुषसँग हात मिलाउँदै गर्दा त्यही लाइनमा छन् भने महिलासँग पनि हात मिलाइन्छ । अन्यथा उनीहरूलाई बेवास्ता गरेको अर्थ लाग्छ ।’ त्यति भनेपछि उनले आफूलाई माओवादी महिलाहरूसँग हात मिलाउँदा सबैभन्दा रमाइलो लाग्ने बताए ।
‘कसिलो तर नरम’, उनले भने र मुस्काए ।
‘कसिलो र नरम’ भए सायद ठीकै हो, तर हात मिलाउनुका अनेकौं कमजोरी छन् । भर्खरै ट्वाइलेटबाट निस्केको मान्छले हँसिलो अनुहार लगाउँदै हात फैलाएमा कस्तो संकट पर्छ । २० फिट परसम्म हुँदा नाक कोट्याइरहेको थियो उसले, म नजिक
पुगेपछि हतारमा हात फैलाउँछ– के गर्ने ? राम्रो त नमस्ते नै हो, एकजना सहकर्मीले भने, तर हात फैलाइहाल्छन् मान्छेहरू ।
अफिसजस्तो निश्चित स्थान र समयमा प्राय: सधैं भेटिनेहरूसँग हात मिलाइरहनु कत्तिको जरुरी छ कुन्नि ? तर धेरैसँग हात मिलाउनेले नबिर्सिकन हात धुनुपर्छ या व्याक्टेरिया प्रतिरोधक लोसन लगाउनुपर्छ ।
सन् २००० को चुनावी अभियानताका जर्ज डब्लु बुसले त्यही गरेका रहेछन् । धेरैसँग हात मिलाउँदा बुसका हातहरू सुन्निएका,
राता भएका रहेछन्, तर प्रवक्ता स्कट मक्मिलानले एउटा साइटलाई भनेछन्– ‘खानाअघि उहाँले स्यानिटाइजरबाट हात सफा गर्नुहुन्थ्यो र जति दुखेपछि हात मिलाउन छाड्नुभएन ।’ त्यसैले बहुमत भोट अलगोरलाई मिले पनि ह्वाइट हाउस बुसलाई मिल्यो ! ठीकै छ, ह्यान्डसेकलाई ननकार्ने, बरु कसरी राम्रोसँग गर्ने भन्ने निष्कर्षमा म पुगेँ र हात मिलाइ टिप्स मैले वेबसाइटहरूमा फेला पारे । ‘हात मिलाइमा सबैभन्दा चाहिने कुरा आँखा मिलाइ हो’, एकठाउँमा फेला पारेँ– ‘हात फैलाउनुस्, अर्कोको हात च्याप्प समाउनुस् ताकि दुवैका बूढीऔंलाका फेद भेट होउन् । दुई–तीनपटक हल्लाउन्– तीन सेकेन्डजति । कुहिनोदेखि तल्तिरमात्र हल्लाउने, काँधै होइन । केही बोल्नुस्– पहिलोपटक हो भने नाम आदि, नभए हेल्लो आदि । अनि चट्ट छाड्नुस्।’
(कान्तिपुरमा आज प्रकाशित यो लेख पत्रिकाकै पेजमा हेर्न यहाँ क्लिक गरेहुन्छ ।)