दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
काठमाडौं, ११ वैशाख- लोकतन्त्र दिवसमा प्रधानमन्त्रीले बुधबार आयोजना गरेको जलपान समारोह नवीनकुमार विश्वकर्माका लागि ‘वर्गीय विभेद’ फेला पार्ने अवसर थियो ।
समाजका ‘शक्तिशाली’, ‘गन्यमान्य’ र विदेशी कूटनीतिज्ञ सामेल समारोहमा यी ३२ वर्षो माओवादी नेता स्थानीय विकास राज्यमन्त्रीका रूपमा सहभागी थिए । ‘वर्गीय दृष्टिकोणबाट हेर्दा यो परिवेश सामान्य जनताको जीवनभन्दा धेरै माथि,’ तीन महिनाअघि मन्त्री भएपछि कालिकोटको साटो काठमाडौंमा बस्न थालेका विश्वकर्माले भने- ‘जनता धेरै तल ।’
महाराजगन्जस्थित परराष्ट्र मन्त्रालयको बगैंचामा भएको समारोहमा आतिथेय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायत सत्ता साझेदार दलका चुनाव जितेका केही नेता, समाजका विभिन्न तप्काका अग्रणी र विदेशी कूटनीतिक वृत्तको उपस्थिति थियो ।
धेरैले महसुस गरेको अनुपस्थिति माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपालको थियो । एमालेका तर्फाट कार्यवाहक महासचिव अमृत बोहरा उपस्थित थिए भने माओवादीको प्रतिनिधित्व गर्नेमा दीनानाथ शर्मा र पम्फा भुसालका साथै विश्वकर्मा पनि थिए जो कालोकोट, कालो पाइन्ट र कालै जुत्तामा सजिएका थिए । ‘यस्तो परिवेशमा लुगा, जुत्ताको कुरा सिस्टमअनुसार अवलम्बन गर्नुपर्ने हुन्छ,’ उनले कान्तिपुरसँग भने- ‘सामान्य जीवनमा हुने छलफलभन्दा यहाँ अलि फरक हुन्छ । जिम्मेवारीपूर्वक, नापीतौली र विचार गरिकन बोल्नुपर्छ ।’
विश्वकर्माका लागि शीतल निवासको त्यो उच्चस्तरीय समारोह ‘जीवनकै पहिलो’ भए पनि उद्योगपति राजेन्द्र खेतानका लागि अनगिन्तीमध्येको एउटा थियो, जो मुख्यतः जनसर्म्पर्क बढाउन उपयोगी भयो । ‘पीआरकै काम हो,’ खेतानले पब्लिक रिलेसन्स (जनसर्म्पर्क) को छोटो रूप प्रयोग गर्दै भने- ‘नयाँ नेताहरूसँग चिनजान हुन्छ । कहिलेकाहीं ‘एउटा काम गरिदेउन’ भन्नेहरू पछि लाग्ने डर पनि हुन्छ ।’
यस्ता ‘उच्चस्तरीय’ पार्टीको रूप र संरचनामा परिवर्तन भइरहेको खेतानको अनुभव छ । ‘पहिलेका समारोह शक्ति केन्द्रका उच्चव्यक्तिका लागि समर्पित भएजस्तो आभास हुन्थ्यो,’ उनले भने- ‘अरू मान्छे वरिपरि मूकदर्शक हुने । अहिले हरेक मान्छे बराबरीमा हात मिलाएर कुरा गर्छन् । पहिले मनपरे पनि नपरे पनि उही ५०/६० जनाको समूहकै अनुहार हेर्नुपर्दथ्यो । अहिले धमाधम नेतृत्व परिवर्तन भइरहेको छ ।’
डा. हेन्ज होहेन्वाल्ड कुनाको कुर्सीमा बसेर समारोह अवलोकन गरिरहेका थिए । ‘झन् राम्रो लोकतान्त्रिक नेपाल बनाउन भइरहेका सबै काममा मेरो रुचि छ भन्ने देखाउन आएको,’ जर्मन विकास सेवाका कन्ट्री डाइरेक्टरले भने- ‘दैनिक कामबाट पनि आराम लिन पाउदा राम्रै भो ।’
जर्मन सरकारका नेपालमा सक्रिय तीनमध्येको सबैभन्दा सानो संस्थाले ‘सामान्य जनतासँग काम गर्ने’ हुँदा उच्च तहको पार्टीमा सहभागी ‘हु इज हु’ हरू चिन्नु आफ्नो उद्देश्य नहुने हेहेन्वाल्डले बताए । ‘मलाई सेकिङ ह्यान्ड (हात मिलाउने) भन्दा वर्किङ् ह्यान्ड (कामकाजी हात) मन पर्छन्,’ उनले भने- ‘भइरहेका परिवर्तनले नेपालीका लागि सम्मानजनक र राम्रो भविष्य ल्याउन् भन्दै सांकेतिक ऐक्यबद्धता जनाउन आएको ।’
देशले दोस्रो लोकतन्त्र दिवस मनाउदा नयाँ नेपाल कसरी बन्ने हो त्यो सबैको चासोको विषय भएको छ । ‘दुःख गर्नेलाई उस्तै हो, नगर्नेलाई सुखै सुख,’ जलपान सकिनेबेला भित्रिएर स्यान्डविच लगायतको खान्की बोकेकी परराष्ट्र मन्त्रालयको बगैंचाकी माली २९ वर्षो संगीता मगरले भनिन्- ‘सुख पाइयो भने नयाँ नेपाल लागेछ भन्ठानौला, नभए त्यस्तै हो ।’
यो लेखको छोटकरीरुप आजको कान्तिपुरमा प्रकाशित भएको छ ।
You must be logged in to post a comment.