Dinesh Wagle on Nepali Society

Dinesh Wagle on Nepali society

हाम्रो चाहना

शान्ती सम्झौताको दुइ बर्षपछि पनि मानिसहरु चाहनाको सूचीमा सबैभन्दा माथि ‘शान्ती’लाई राख्न चाहन्छन् तर उनीहरु आफ्ना व्यक्तिगत चाहनालाई हत्तपत्त र्सार्वजनिक गर्न चाहदैनन् ।

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोशेलीमा प्रकाशित भएको हो ।

Happiness and Nepalis
रचना, लक्ष्मी, शिवानी र सुमिरा । तस्बिरहरु प्रतिक्षा सोडारी

हालैको एक साँझ हल्का चिसो हावा चलिरहदा बडो रोमान्टिक मुढमा म काठमान्डूको तीनकुनेबाट नयाँ बानेश्वरतिर लम्किइरहेको थिए । लाग्यो म निकै फुरुंग परेको छु । मै मात्र हो कि बाटोमा हिडिरहेका अरु पनि खुशी छन् ?

‘ए बाजे,’ मैले मिनभवनमा हिडिरहेका एक बृद्धलाई आफ्नो परिचय दिएपछि सोधे । ‘कत्तिको खुशी हुनुहुन्छ ?’

कतिबेला कसले रोकेर गफ थाल्ला भनेझैंको मुढमा रहेका खिलानाथ बाँस्तोलाले जवाफ दिए- ‘खुश्श्श्शी छु बा ।’ उनी मुस्काए ।

ओखलढुंगाको टोक्सेल गाविसका ६५ बर्षो मिनभवनमा ‘छोरा बुहारी नातीनातिनासँग डेरामा’ बस्छन् र अहिले ‘खुट्टा तान्न’ बानेश्वर चोक पुगेर फर्केका हुन् ।

‘कुनै चाह छैन ?’ मैले सोधे- ‘सबैकुराले सन्तुष्ट ?’

‘शान्ती भईदिए हुन्थ्यो,’ खिलानाथले भने । माओवादीबाट चितवनस्थित शक्तिखोर शिविरमा रामहरी श्रेष्ठको हत्या तथा त्यसपछि कोटेश्वर क्षेत्रका विरोध कार्यक्रमको संकेत गर्दै थपे- ‘झन तहल्का मच्चेर गएको छ ।’

Happiness and Nepalis

पक्कै, शान्ती मलाई पनि चाहिएको छ । सबैलाई चाहिएको छ । सबैजसो नेपालीलाई के चाहिएको छ भनि साधेमा शान्ती या स्थायी शान्ती भन्ने उत्तर आउने छ । तर त्यो सबैको साझा चाहना भयो ।

‘तपाईका व्यक्तिगत केही चाहना छैनन् ?’ मैले सोधे, मानौ उनले भनेपछि मैले तत्कालै तिनलाई पुरा गरिदिनेथिए ।

‘मर्ने बेलामा केही छैन,’ उनले भने- ‘शान्ती भएको देखेर मर्न पाए हुन्थ्यो ।’

फेरी उही ‘र्सार्वजनिक’ चाहना । मैले फेरी सोधे, ‘व्यक्तिगत’ केही छन् कि –

‘खान लाउन छदै छ,’ उनले भने- ‘व्यत्तिगत चासो केही छैन । मर्नेबेलामा…’

अगाडीका दुइटा दात झरेका तर पुरै स्वस्थ देखिने हसिला बृद्धमा मृत्युको कुनै संकेत देखिदैन थियो तर साठी नाघेपछि शायद मान्छेहरुमा ‘मर्नेबेलामा’ भन्ने बानी विकशित हुन्छ ।

मैले ठाने, शायद उनी कुनै अपरिचितलाई आफ्नो व्यक्तिगत चाहना बताउन लजाएका होलान् । त्यस्तो सम्झिदैगर्दा तत्कालै मलाई आफ्नै ‘आवश्यकता’ महसुस भयो । कम्प्युटरमा र्याम नथपी भा’छैन । इन्टरनेट कनेक्सन साह्रै स्लो छ, टेलिकमको नयाँ सेवा एएसडीएल राख्न पाए हुन्थ्यो । तर त्यसका लागि ल्यान्ड लाईन चाहिन्छ, मसँगको वायरलेसलाई के गर्ने ? अनि टीर्सट पनि किन्नु परेको छ ।

‘त्यसो भए जिन्दगी रमाइलो छ ?’ मैले सोधे ।

‘रमाइलो छ,’ उनले भने- ‘मनमा शान्ती भएपछि त्यसै रमाइलो भइहाल्छ ।’

विश्वकै गरिवतम् मुलुकका बासिन्दा भइकन पनि ‘हसिला, शान्तीप्रिय र सामान्यत सुखी’ भनि धेरै पश्चिमाले नेपालीको बर्णनगर्छन् । कस्ता मिलनसार, धेरै विदेशीले भन्ने गर्छन् । कस्ता हसिला, धेरैले सम्झिन्छन् । ‘अधिकाँश यी मानिस हामीले गरिवी भन्नेगरेको अवस्थामा बस्छन्,’ सन् १९९० यता बारम्बार नेपाल आइरहेका र नेपाली संस्कृतीबारे सिकेका युर्गान नेपालीहरुबारे आफ्नो वेब साईट युर्गान.नेटमा लेख्छन् । ‘तर मेरो गहिरो अनुभवबाट म के भन्न सक्छु भने उनीहरुको जिन्दगीको मान र आत्मसम्मान हाम्रो धनी तर अनैतिक पश्चिमा जीवनशैली भन्दा कताकता विकशित छ ।’ युर्गानले हाम्रो थप प्रशंसा गर्दै लेखेका छन्- ‘नेपालमा मैले सोच र विश्वासको गहिर्राई पाएको छु जो हाम्रो पश्चिमा संस्कृतीमा छैन ।’ उनले सोच र गहिर्राईलाई बोल्ड गरेका छन् ।

खिलानाथ बाँस्तोला

‘ठिकै छ तर एउटा गाडी भए हुन्थ्यो, अलि राम्रो घर भए हुन्थ्यो भन्ने लागेको छैन ?’ मैले खिलानाथलाई सोधे ।

‘लेखे आफ्नो ललाटमा झन अघि धेरथोर जो दैवले,’ उनले श्लोक सुनाए- ‘त्यही मिल्ने छ सुमेरुमाथि बसदा घरभित्र वा मोजले ।’

‘कस्तो भाग्यवादी कुरा,’ मैले भने र पढ्दै गरेको पुस्तक ‘फ्याटालिजम एन्ड डेभलपमेन्ट’ सम्झिएँ जहाँ डोरबहादुर विष्टले नेपालको विकाशको बाधक, अन्यकुराका अलावा, नेपालीहरुको भाग्यवादी विश्वास भएको तर्क गरेका छन् ।

‘मिहिनेतको फल पाइन्छ,’ उनले भने- ‘भाग्यै मात्र भनेर हुदैन । तर मान्छेले एउटा न एउटा कुरा लिएरै आएको हुन्छ । कि छोरा, कि धन, कि रुप कि बल कि गुण ।’

युद्धकालमा नेपाली दुखित, पिडित थिए । शान्ती प्रकृयामा देश छिरेको दुइ बर्षभएको छ, तत्कालै युद्धमा फर्केला जस्तो देखिदैन, त्यस्तो नहोस पनि तर गज्याङ् मज्याङ् र अभाव छदैछन् । इन्धन पाइदैन, पेट्रोलपम्प अगाडी गाडीहरुको कत्रो लाम, चर्किदो मुद्रास्फिती र विश्वभरीको बढ्दो महगीले हामीलाई तत्कालै छाड्ने लक्षण देखिदैन । त्यसैले समग्रमा जीवन कस्टकर नै छ ।

तैपनि म र खिलानाथ आज किन यति खुशी छौं ? खिलानाथलाई सुनेपछि मेरो उत्सुकता झन बढ्यो । के हाम्रो खुशी अरुले पनि साझेदारी गर्लान् ? मैले पत्ता लगाउने निर्णय गरे ।

बानेश्वर अर्न्तराष्ट्रिय सम्मेलन केन्द्र अगाडीको गार्डेनमा थुप्रै मान्छे आ-आफ्नै सुमहमा गफिइरहेका थिए जसमध्ये थिए राजू विष्ट र अमर लामा ।

‘शान्ती पहिलो,’ ४० बर्षो राजुले आफ्नो चाहना उल्लेख गरे । फेरी उही शान्ती ।

‘त्यो सबैलाई चाहिएको छ,’ मैले भने- ‘तपाईका व्यक्तिगत चाहना के छन् ?’

‘नयाँ अवसर सिर्जना हुनुपर्यो,’ उनले भने ।

‘त्यो पनि सबैलाई चाहिएको छ,’ मैले भने ।

होटलमा कटलरी, मासु तथा चिसिएका बस्तु सप्लाई गर्ने व्यवसायी राजु र उनका विजनेश पार्टनर अमरले आफूहरुलाई अहिले कुनै व्यक्तिगत चाहना नभएको बताए । मलाई विश्वास लागेन ।

‘मेरो विजनेश फैलिनु पर्यो,’ राजुले अर्को प्रश्नमा भने- ‘त्यो भनेको मैले कमाउनु हो ।’ उनले र्सार्वजनिक यातायात र दैनिक उपभोग्य बस्तु र्सवसुलभ भइदिए हुन्थ्यो भन्ने चाहना प्रकट गरे ।

मलाई लाग्यो, खिलानाथ, राजु र अमर व्यक्तिगतरुपमा उति असन्तुष्ट छैनन् तर सामाजिक माहोलप्रति उनीहरु त्यति सन्तुष्ट पनि छैनन् । ठ्याक्कै अमेरिकीहरु जस्तो । पाँच महिना अघि प्रतिष्ठित ग्यालप पोलले गरेको र्सर्वे अनुसार १० मा ८ (८४ प्रतिशत) अमेरिकीले आफ्नो नीजि जिन्दगीबाट आफूहरु सन्तुष्ट भएको बताएका थिए । तर त्यो व्यक्तिगत सन्तुष्टिको तुलनामा ‘अहिलेको समयमा अमेरिकामा भइरहेका गतिविधिप्रति’ सन्तुष्टी प्रकट गर्ने अमेरिकीहरुको निकै संख्या कम भएको सोही र्सर्वेले पत्ता लगाएको थियो । ग्यालपले सन् १९७९ देखि बर्षोनी डिसेम्बरमा त्यस्तो र्सर्वे गर्न थालेयता आफ्नो जिन्दगीबाट सन्तुष्ट हुने अमेरिकीहरुको संख्या झन्डै स्थिर छ । त्यो बर्ष७३ प्रतिशत सन्तुष्ट थिए र २००४ मा सबैभन्दा बढी ८८ प्रतिशत । त्यही बर्षदेशभरी भइरहेका घट्नाहरुप्रति सन्तुष्टहुनेहरु २७ प्रतिशत मात्र थिए ।

राजु विष्ट

नेपालमा त्यस्तो र्सर्वे हुदैनन् । ग्यालपले नेपालीको सन्तुष्टि/असन्तुष्टि नापेर कुन बजारमा बेच्नु ? त्यसैले मैले ठाने अरु केहीसँग कुरा गर्नुपर्छ । चारजना ‘ह्याप्पी गो लक्की’ खालका युवतीहरु आपसमा ठट्टागर्दै सम्मेलनकेन्द्रको पश्चिम गेट अगाडीबाट हिडिरहेका थिए ।

‘एक्स्क्युज मि,’ मैले भने, उनीहरुलाई मैले रोके, आफ्नो परिचय दिए र रोक्नुको प्रयोजन बताए ।

‘देशमा शान्ती छाओस,’ १९ बर्षो रचना सिग्देलले भनिन् । ‘बाटोमा हिडिरहदा कुन बेला के हुन्छ थाहा हुदैन । विहान कलेज जादा गाडी हुन्छ, फर्किदा हुदैन ।’

शान्ती ।

‘घरबाट यति टाढा आएर बस्नु परेको छ,’ साथीहरुसँग नजिकैको एउटा होस्टलमा बस्ने १९ बर्षो पोखरेली सुमिरा श्रेष्ठले भनिन्- ‘मलाई लाग्यो, सबैकुरा काठमान्डूमै केन्द्रित छ । पोखरामा हुदा सबैकुरा त्यही छ जस्तो लाग्थ्यो, यहा आएपछि केही थाहा नपाएको जस्तो लाग्यो । त्यहा थुप्रैकुरा रहेनछन् । पोखरामै राम्रो कलेज भएको भए…।’

विकेन्द्रिकण अर्थात अचेलको भाषामा संघीयता !

‘इन्टरनेट फास्ट चाहियो,’ २१ बर्षो लक्ष्मी खड्काले भनिन्-‘मोवाईल र्सर्भिस राम्रो भएन, पैसा महगो भयो । विद्यार्थीलाई फोकस गरेर बरु अर्को सीम आओस्, नभए पैसा घटाओस् ।’

सस्तो ।

‘पर्ढाईको चिन्ता सबैभन्दा धेरै,’ २० बर्षो शिवानी गुरुङ्ले भनिन्- ‘चार बर्षो कोर्स पाच बर्षलाग्ला जस्तो भइसक्यो ।’

शैक्षिक उत्कृष्टता ।

कतै सपिङ् गरेर होस्टतिर हिडिरहेका हसिला केटीहरु कति खुशी देखिन्थ्ये भने, साच्चै, व्यक्तिगत चाहना कसैले व्यक्त गर्दै नगर्ने । त्यसो भए के उनीहरुलाई सबै कुरा पुगेको छ ?

त्यस्तो त कहा हुन्थ्यो र ? आखिर उनीहरु खिलानाथ उमेरमा पुग्न दशकौं बाँकी छ !

‘नयाँ कपडा चाहिएको छ,’ शिवानीले भनिन्- ‘जिन्स प्यान्ट ।’

अब केटीहरु खुल्न थाले ।

‘भिडियो क्यामेरा,’ लक्ष्मीले भनिन्- ‘प्रोजेक्ट वर्कका लागि फिल्डमा जादा भिडियो बनाएर राख्न ।’

‘लेटेस्ट मोडलको मोवाईल,’ रचनाले भनिन्- ‘नोकियाको ।’ भइरहेको मोटोरोलाबाट उनी सन्तुष्ट थिइनन् ।

‘पर्सनल क्यामेरा,’ सुमिराले भनिन्- ‘आफ्नै । जताजाँदा पनि लान मिल्ने । सानो ।’

7 responses to “हाम्रो चाहना”

  1. roman bhattarai Avatar
    roman bhattarai

    i have a desire to make a blog like yours.

  2. poo Avatar

    I wish I knew myself better regarding what I actually want in life… I wish I were stronger and far less sensitive than I am now. And I wish there were eternal peace in our country.

  3. LISA Avatar

    U know Poo if Life were certain & one wud know easily what he or she wants,the excitement of life simply dies away!!!

  4. poonam Avatar

    yeah Lisa, but sometimes, I just hate this confused mind… the ever changing wants and desires… Anyways, I think that’s true… if life were certain, what would remain to discover?? And, I am not that confused now as I was then!!

  5. खुस्सी छु ! | Wagle Street Journal Avatar

    […] गलत हुनुहुन्न । ठ्याक्कै तीन बर्ष अघि कान्तिपुरको ‘कोसेली’मा प्रकाशित &#… मैले त्यसैगरी थालेको थिएँ । खिलानाथ […]

  6. […] गलत हुनुहुन्न । ठ्याक्कै तीन बर्ष अघि कान्तिपुरको ‘कोसेली’मा प्रकाशित &#… मैले त्यसैगरी थालेको थिएँ । खिलानाथ […]

  7. karunashrestha Avatar

    This is one of the posts which i liked the most,