Dinesh Wagle on Nepali Society

Dinesh Wagle on Nepali society

विदेशिन आटेको केटो

yam budha

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।

‘दुबई जाने चक्करमा छु हो सर,’ केही क्षण अघिसम्म उल्लासमय लवजमा गफिएको यामले अलि निराश स्वरमा अचानक त्यसो भन्दा मलाई कताकता चसक्क गरेजस्तो भएको थियो।

यस्तो लाग्यो मैले डकुमेन्ट्रि बनाइरहेको भए र उसले त्यो कुरा क्यामेरामा भनेको भए सम्पादन गर्दा त्यो दृश्यको पृष्ठभूमीमा कन्दरा व्यान्डको यो गीत हाल्ने थिएँ–

विदेशिनु रेखियो कर्मैमा
भाला रोपी नबोल मर्मैमा

‘यो देशमा टिक्न नसकिने भइयो,’ प्रश्न सोध्नै नपाई उसले भनेको थियो।

केही बाध्यताले, बाँकी आफ्नै लापार्वाहीले २६ बर्षे याम रिनमा चुर्लुम्म डुबेको थियो जसबाट उत्रिन उसलाई विदेशिनुको विकल्प थिएन। उसलाई सुनेलगत्तै फोन कुराकानीलाई त्यही रोकेर मैले ऊसँग भेट्ने प्रस्ताव गरेको थिए।

‘ओहो, ठ्याक्कै त्यही दाह्री,’ बागबजारमा पहिलो भेटमै हसिलो अनुहारको उसले मेरा वेबसाईटहरुमा प्रकाशित तस्बिरको संकेत गर्दै मेरो चिउडो मुसारेर मलाई असमन्ज्यस अवस्थामा पुर्‍याइदिएको थियो।

‘हामी लामै कुरा गर्ने हैन सर?’ मुख्य चोकको पेट्रोलपम्प अगाडी उभिएकै अवस्थामा उसले भन्यो।

मेरो सकारात्मक संकेत पाएपछि ऊ ‘लौ, मैले चिनेको होटलमा जाऊ’ भन्दै अघिलाग्यो। त्यो दिनको राजनीतिक विकाशक्रमबारे उसका निराशाजनक टिप्पणीहरु सुन्दै केही मिनेट बागबजारका हिला गल्लीमा हिडेपछि हामी होटल पुगेका थियौं जसको नाम उल्लेख नगर्न यामले अनुरोध गर्‍यो। एउटा रुमको चावी देउ त,’ उसले रिसेप्सनिस्टलाई भन्यो र मतिर फर्केर थप्यो– ‘म कोठामा बस्नु अघि यही बसेँ छ महिना।’ हामी तेस्रो तल्लामा पुग्यौ, कोठा नम्बर ३०२। त्यहाँ मैलो तन्ना भएका दुई बेड थिए जहाँ हामीले झन्डै दुई घन्टा वितायौं।
‘म खासमा भगौडा सैनिक,’ बाग्लुङ्को ठिटोले भन्यो। कसरी र कुनठाउँबाट भागेको किस्सा बताएपछि उसले थप्यो– ‘गाउमा माओवादीले परिवारलाई प्रेसर दिए, सेना छाड्नै पर्छ भनेर। संकटकाल थियो, अप्ठेरो अवस्था। मलाई पनि त्यहाँ सानालाई गरिने व्यवहार पटक्कै मन परेन।’ हालैका साताहरुका प्रहरी विद्रोहको संकेत गर्दै उसले थप्यो– ‘साच्चै त्यहाँ सानो तहकालाई ठूलो दुख छ। मैरै एक नातेदार सेनामा उच्च पदमा छन्। म भागेकाले तिनी मसँग रिसाएका छन्। तर तिनले पनि मेरो समश्या बुझेनन्। ठूला पोस्टकालाई सानाको दुख थाहै हुदैन।’

उसका कुरा सुन्दै होटल कोठामा छिर्दा ममा अनौठो सोच आएको थियो। मेरो चिउडो मुसार्ने उसको कृयालाई कसैले क्यालिफोर्नियामा देखेका भए! र, बागबजारको साटो मुख्य लसएन्जलस सहरको ‘ओम्नी’ होटलमा हामी छिरेको भए! खाट्टी ‘गे’मा दरिने थियौं। अझ त्यसको केहि दिन अघि मोवाईल बानीबारेको मेरो एउटा लेखमा उसको प्रतिक्रियासमेत थाहापाउनेले त्यो निस्कर्षलाई झन दरिलो तुल्याउने थियो।

‘मैले तपाईको नम्बर पाएँ अर्थात तपाई रातमा तीनपटक उठ्नुहुने छ,’ उसले लेखेको थियो मानौ ऊ आफ्नी प्रेमिकालाई घुर्क्याईरहे’छ– ‘मिठो सपना गुमाउन हुनेछ। प्लिज मेरा मिस्कलहरुलाई पर्खिनुस्।’

‘खै त यामजी, मेरा सपना भंग गर्ने मिस्कल आएनन् नि,’ पछिल्लो दिन मैले उसलाई जिस्काउदै भनेको थिए।

‘हा, हा,’ उसले लजाउदै तर प्रष्ट भनेको थियो– ‘सर केटा पर्नुभयो, केटी भएको भए बाँकी पनि राख्दैन थें!’

ऊ भगौडा सैनिक हो भन्ने मलाई त्यतिबेला पक्का भएको थियो।

गोरो अनुहार, चिम्सा आँखा र छोटो कपाल भएको यामले उति धेरै नपलाएका जुगा काटेको छ, रंगीन धर्काहरु आपसमा खप्टिदा बनेका कोठैकोठा भएको सफा सर्ट कालो पाइन्ट भित्र हालेको छ र नङ् काटेका खुट्टमा चप्पल लगाएको छ। बेरोजगार ऊ पक्कै छ तर औसत नेपाली तन्नेरीको झल्को दिने याम एक हिसावले ‘दुख पाईस मंगले आफ्नै ढंगले’को उदाहरण पनि हो। आमाको मायामा पुल्पुलिएकाले समयमै दुर्गमको घर छाडेर शहरमा पढ्न नपाएको ऊ आइए सम्मको आफ्नो पढाईबाट सन्तुष्ट छैन, स्नातक नगरि नछाडने मुढमा छ। ‘तर दुबई नगई भा’छैन,’ उसले भन्यो– ‘यो रिन तिर्नु मेरो जीवनको उद्देश्य हो। सामान्य गाउको केटो जस्तै बाबुआमालाई सुखी राख्ने।’
सेना बाहिरको स्वतन्त्रत जिन्दगीमा रमाउदै गर्दा इन्टरनेटमा व्याप्त एउटा अर्न्तराष्ट्रिय जालसाजीमा ऊ फसेको थियो। दुइ बर्षअघि एकदिन यामको इन्बक्समा उसले एक करोड डलर जितेको र त्यो पाउन उसले केही हजार डलर नाइजेरिया पठाउनुपर्ने भन्दै इमेल आएको थियो। इमेल देखेर झन्डै मुर्छा परेको यामले त्यो पैसाको कल्पना गर्दै गाउमा आफू पढेको स्कुलमा जस्ता छाउनेदेखि काठमाडौंमा सुखसयलको जिन्दगी जिउने सपना देखेको थियो। ‘रातभरी सुतिन सर,’ उसले भन्यो– ‘लोभ हुन्छ नि लोभ। सुख नदिदो रहेछ। त्यो पैसाले के गर्ने भनेर सोच्दासोच्दै वित्यो रात।’ इमेलमा त्यो कुरा गोप्य राख्नु भनेकाले यामले कसैलाई चुइक्क बताएन, काठमान्डूमा बस्ने गाउकै एकजना बाजेलाई उसले त्यो देखायो र दुई हजार डलरको जोहो कसरी गर्ने उपाय सोध्यो। विदेश जाने निहुमा गाउलेहरुबाट रिन लिने निधो गर्‍यो। ‘विदेश जाने भनेपछि हाम्राे गाउतिर जसलाई (पैसा) हाल्दिने चलन छ,’ उसले भन्यो।

मनि ट्रान्सफरबाट विदेश पैसा पठाउन नमिल्ने भएपछि उसले त्यही ट्रान्सफरका मालिकको सहायतामा हुन्डिमार्फत त्यो काम गर्‍यो। ‘मैले नाइजेरियामा फोन गरेँ, होइन कि जस्तो लागेर पुष्टि गर्न खोजे, मैले त्यो पैसा जितेकै हो भन्यो उतबाट,’ यामले भन्यो– ‘पैसा पठाएपछि न फोन उठ्छ, न कोही बोल्छ।’ आफू पुरै ठगिएको थाहा पाउदासम्ममा यामले रिन लिएको दुईलाख रुपैया गुमाइसकेको थियो।

जिउदै छु प्रिय यतै भौतारिदै छु
के गर्न सक्थे अझ पछारिदै छु
एक्लिनुको पिडामा हारको पनि पिडा थपी
जसोतसो गल्लिमा लतारिदै छु

त्यो गजल यामकै हो। इन्टरनेटमा केटीहरुसँग च्याट नगरेको र म्यानपावर नधाएको बेला ऊ कापी पल्टाएर गजल कोर्न थाल्छ जो मुख्यत, भन्नै पर्दैन, निराशाले भरिएका संघर्ष र पीडाका गाथा हुन्छन्।

‘गजल किन यति निराशावादी हुन्छन् थाहा छैन,’ मैँ बसेको खाटमा आएर हात हल्लाउदै कापीका गजल पढेपछि मेरा आखामा हेर्दै उसले भन्यो– ‘म त्यस्तो निराश छैन। तर अचम्म यी गजल।’

इन्टरनेट जालसाजीमा परेपछि विदेशिने चक्करमा लागेको याम फेरी फस्यो। थाइल्यान्डमा पानी जहाजमा काम लगाईदिने भनि उसलाई लगिएको थियो, मलेसियामा अलपत्र छाडियो। जसोतसो नेपाल फर्केपछि आफूलाई ठग्ने दलालको कठालो समाउन ऊ भारतीय शहरहरु पुग्यो तर नसकेपछि लत्रेर काठमान्डू आयो। ऊ थप रिनमा डुब्यो।

सेनामा भर्ती हुनु केही बर्ष अघि एसएलसी पास हुनेवित्तिकै उसले आईए नपढी गाउकै स्कुलमा पढाएको थियो। ‘यति मात्रै हो र जिन्दगी? केही त गरौं भन्ने भयो र टिचिङ् गरियो,’ यामले भन्यो– ‘कोहीबेला माया पनि अभिशाप हुन्छ क्या। आमा ‘पढ्न जा’ भन्न नसक्ने, म पनि स्कुलमै रमाएँ। छाड्दा म पनि रोएँ, विद्यार्थी पनि रोए।’ सेना छाडेपनि सामानहरुको मार्केटिङ् गर्न थालेको यामले त्यसैबीच कम्प्युटर सिक्यो, केटीहरुसँग इन्टरनेटमा खुव च्याट गर्‍यो, आइए पढ्यो र एउटा मासिक म्यागेजिन पनि चलाउने प्रयास गर्‍यो जसमा ऊ सफल भएन।

‘जे होस्, गाऊबाट काठमान्डू आउने युवाले पाउने दुख जति सबै पाएँ,’ उसले भन्यो। तर सैनिक चेन अफ कमान्डको तल्लो तहबाट सडकछाप जिन्दगीमा आएर अनेकौ हन्डर भोगेकोमा पश्चाताप नलागेको उसको दृढ दृष्टिकोण छ। ‘म एकदम खुशी छु,’ उसले भन्यो– ‘मैले संसार बुझेँ। कति भास्ट रहेछ। फ्रिडमको मजा लिए। कहिँ नपाएको दुख पाइयो तर कहिल्यै अनुभव नगरेको स्वतन्त्रता भोगें। किताव पढ्न पाइन्छ– ओछ्यानमा पल्टेर, उठेर, जता फर्केर पनि।’

नपढेका कारण सेनामा झन् हेपिएको र त्यो ‘काजीको छोरा पाजी बन्ने’ ठाउ भएको निस्कर्षमा पुगेपछि आईए पढदै गर्दा उसले अंग्रेजी सुधार्न खुव प्रयत्न गरेको थियो। आईएमा अंग्रेजीमा ६१ ल्याएको ऊ अहिले मध्यमकोटीका अंग्रेजी लेख्न सक्छ। स्वअध्ययन यामको गजल लेखन बाहेकको अर्को सोख हो। बीए पढ्न नपाएको झोकमा ऊ अचेल थुप्रै कितावहरु पढ्छ, किन्न नसक्दा पुस्तकालयहरु धाउछ। ‘अरु केही किन्दिन किताव बाहेक,’ उसले भन्यो र हालै पढेको ‘गुरु अफ लभ’, ‘पागल बस्ती’ र खम्पा बिद्रोहबारेका किताव उल्लेख गर्‍यो। तर पारिजातको ‘शिरीषको फुल’मा भेटेको एउटा गाठो उसले अहिलेसम्म फुकाउन सकेको छैन।

‘त्यो बरी किन त्यसरी मरी सर?’ उसले मदन पुरस्कार विजेता ०२२ सालको पुस्तककी पात्रको नाम उल्लेख गर्दै सोध्यो।

धन्न, मैले केही साता अघि मात्र त्यो किताव पढेकाले उसको प्रश्न बुझ्न सकेको थिए।

‘त्यति एक चुम्बनले मान्छे मर्छ?’ उसले सोध्यो– ‘त्यसलाई त्यस्तो के भयो? एउटै चुम्बनले कोही विरामी हुन्छ? केही अघिसम्म ऊ ‘सुयोग जी’ भन्दै जिस्क्याउथी। उसको बानी व्यहोरा हेर्दा एकै किसले मर्ने खालकी त लाग्दैन।’

सुयोग पुस्तकको अर्को पात्र हो जसको दृष्टिकोणबाट कथा भनिएको छ।

‘खै, मैले पनि ठम्याउन सकिन,’ मैले भने– ‘ऊ पहिल्यैदेखि विरामी थिई। त्यो किसले केही असर गर्‍यो होला।’

मेरो जवाफबाट याम सन्तुष्ट देखिएन।

दुबई जादा उसले दुइ जोर कपडा र प्लेनमा लान पाईने तौलमा पुस्तकै पुस्तक लाने योजना बनाएको छ। ‘आइपोड किनेर टक्क गीतहरु भर्छु,’ उसले भन्यो– ‘नेपाली, हिन्दी। झोलाभरी किताव लान्छु। रिन तिर्नेगरी काम गर्छु। फुर्सदमा केही गर्दिन, पढ्छु, लेख्छु। एउटा वेब साईट खोल्छु, काम गरेको अनुभव त्यही लेख्छु। फेसबुकमा हामी भेटौला है?’

खासमा ऊ यतिबेला दुबई उडिसक्नुपर्ने थियो तर म्यानपावरले झुलाको झुलाई छ। अघिल्लो दिन ऊ त्यहा जादा ‘अब दुई हप्ता कुर्नुपर्ने’ बताइएको थियो। पहिले भिसा/टिकट निशुल्क भनिएको थियो, अब त्यो तिर्नुपर्ने भएको छ। त्यसैले उसको कुल रिन लगभग पाच लाख पुगेको छ। ‘यसपाली जानै पर्छ,’ उसले भन्यो– ‘खासमा गाउमा बा/आमाले म कुवेतमा छु भन्ठान्छन्। त्यसैले अर्ध भूमिगत जस्तै छु। जसरी पनि उडिहाल्न पाए कम्तिमा अब कमाउन थाले भन्ने हुन्थ्यो।’ त्यही नपुगी र काम नथाली ऊ ढुक्क हुने अवस्थामा छैन।

दुबईमा उसले महिनाको २५ हजार पाउने तय भएको छ र जतिसक्दो धेरै रकम बचाएर तीनबर्षभित्रमा रिनबाट उत्रिने उसको योजना छ।
‘रिन नभा भए महावीर पुनसँग सम्पर्क गरेर गाउमा टेलिमेडिसिन र वायरलेस लाने विचार थियो,’ उसले भन्यो। त्यति भनेपछि ऊ मौन भयो र सोचमग्न देखियो।

‘मेरा गजलजस्तो निराशावादी म छैन,’ एकछिन पनि उसले भन्यो– ‘आशावादी हुनुपर्छ, रिन मुक्त होइन्छ। सक्छु भन्ने लाग्छ। हारेर त के गर्ने? जित्नकै लागि जन्मेको हुँ जस्तो लाग्छ। समयलाई च्यालेन्ज गर्न चाहन्छु म। म यो रिनबाट उत्रिन्छु। तर फेरी अचम्म लाग्छ गजलमा किन त्यस्ता शब्द ओकलिन्छन्? वा भित्रि मनमा म त्यस्तो रहेछु कि? थाकिसकेको? आफैलाई ढाट्न त नसक्नु पर्ने।’
अनेकौ ठक्कर खाएको यो तन्नेरीले जीवनका गल्तीलाई गल्तीकारुपमा भन्दा शिक्षाकारुपमा लिएको मैले ठाने जो उसको गलज कापीको शुरुमै लेखिएको अंग्रेजी उद्धरणले पुष्टि गर्थ्यो। ‘जीन्दगीमा त्यस्ता कुनै गल्ती हुदैनन्,’ अंग्रेजीमा उसकै हस्ताक्षरमा लेखिएको थियो– ‘शिक्षा मात्रै हुन्छन्। नकारात्मक अनुभव भन्ने त्यस्तो कुरा हुदैन, बढ्ने मौका मात्रै हुन्छन्। आत्म निपूर्ण हुने मार्गमा संघर्षबाटै शक्ति आउछ। यहासम्मकी पीडा पनि गतिलो शिक्षक हुनसक्छ।’

पक्कै त्यो उसले बुझैरै लेखेको थियो। पान्ना पल्टाउदै जादा एउटा गजल देखियो जो अरु भन्दा फरक थियो। लाग्यो यसले यामको आगामी जिन्दगीबारे बोलेको छ–

निराश न हो ए जिन्दगी भोली प्रभात आउने छ न्यानो घाम बोकेर
परिश्रम गर ए जिन्दगी भोली भाग्य आउने छ तेरो नाम बोकेर

—- —— —-

चार बर्षपछि यामलाई मैले दुबईमा भेटें । यामसँगको पछिल्लो भेटको विवरण र तस्विरहरू: Dubai and Yam [केटो जो विदेशियो]

16 responses to “विदेशिन आटेको केटो”

  1. ishwar Avatar

    dinesh bro……..great job

  2. bhuwan Avatar

    nepali ma lekhane bhul gardai chhu
    ma bhuwan/21 mero ghar udayapur ho ma aahele maitidevi ma baschhu ma BA last year ma RR ma padchhu .
    sir ma tapai ko parda pachadeko fan ho ma talai ko lekha rachana haru padna chai padchu tara kahele pani comment haru pathaudina thiya tara aaja chai pathaule aat gare.
    aani sir tapai ko lekha haru sachai nai yuba pusta haru ko lagi yakdammy good massage jane khalko hunhca tapai le jahele pani hami jasto yuba haru lai haosala dine khalko huncha sadhai yastai lekha haru parkasit gardai janu hos mero suvakamana cha hajur lai !!!!

  3. वेनामी Avatar
    वेनामी

    दिनेश जी, यो काल्पनिक कथा हो कि वास्तविक हो? साच्चै मार्मिक कथा छ। प्रस्तुतिको शैलि सधै जस्तै गज्जबको छ।

  4. kriszha Avatar

    Hey Wagley, You got an excellent storytelling skills. Keep it up high.
    Thanks-

  5. Himal Avatar

    Great Real Story…there are lots of our friends who are Bideshina Aateko Keto’s situation.
    Good Luck for Yam to achieve his dream!

  6. Reader Avatar

    मन पर्यो ।

  7. deepti Avatar

    hi
    you dont have to be in california , maile yahi nai tapai ra yam lai tyo situation ma dekhya bhaye ma pani, tapaile lekhya jastai sochna badhya hunthey.

  8. wienmandu Avatar
    wienmandu

    lekh ramro lagyo…
    i was surfing and found you to be my rythmic namesake. wienmandu, blogmandu….
    i am adding you to my blogroll. ciao.

  9. Rohsik Avatar

    Oh Dinesh dai ko writing, tyasko hidden meaning nai ramro, tyasaile bideshina aateko keto ko rupma reality paskiyeko jasto lagyo hoina ta dai.

  10. Sabin Avatar

    I have been reading your column from the very beginning. I have been a fan of your writing. And this is the best story in your series.

    Really a story of contemporary Nepal and the youth. I found Mr. Yam a really optimistic person. We all should learn something from him.

    Sorry I’m posting this comment late..

  11. Sudip Adhikari, Dubai, UAE. Avatar

    Where is that Yam? He came Dubai or not ? But Dubai is now became very expensive place. Hope he will earn much and share his successes…

  12. DW Avatar

    We talked on the day when Yam left Kathmandu for Dubai. He told me he was on way to airport. That was some two weeks ago. We haven’t communicated since then. His Facebook page or the blog hasn’t been updated. I think Yam is adjusting himself in the new life of Dubai.

  13. Poshak København Avatar
    Poshak København

    Reality presented in a realistic best possible way. Two thumps up;;

  14. simanta Avatar

    this is really a good writing and i appreaciate the way he describes yam situation

  15. Dubai and Yam [केटो जो विदेशियो] | Wagle Street Journal Avatar

    […] बाँकी यहाँ । From the article विदेशिन आटेको केटो. […]

  16. Dinesh Wagle Avatar

    Reblogged this on Wagle Street Journal and commented:
    केही बर्ष अघि अघिल्लो साता यामलाई भेटेपछिको अनुभव। हालैको “कोरिया भीड”का तस्विरहरूले मलाई याम जस्तै युवाहरू नेपालमा थुप्रै भएको सम्झाए । अनि अहिले पनि इन्टरनेट जालसाजीमा फस्ने वा फस्ने प्रकृयामा रहेका केहीलाई मैले बेलाबेलामा भेटिरहेकै हुन्छु ।
    पुराना हरफहरू: एकदिन यामको इन्बक्समा उसले एक करोड डलर जितेको र त्यो पाउन उसले केही हजार डलर नाइजेरिया पठाउनुपर्ने भन्दै इमेल आएको थियो। इमेल देखेर झन्डै मुर्छा परेको यामले सम्झियो– ‘रातभरी सुतिन सर । लोभ हुन्छ नि लोभ। सुख नदिदो रहेछ। त्यो पैसाले के गर्ने भनेर सोच्दासोच्दै वित्यो रात।’

    अनि यामसँगको पछिल्लो भेटको विवरण र तस्विरहरु Dubai and Yam [केटो जो विदेशियो] http://wp.me/pjyem-1TZ