हालैको एक रात पसिनाले निथ्रुक्क विज्ञान अधिकारी पढाईबाट १० बजे कोठामा फर्केका थिए। दिल्लीको लक्ष्मीनगरस्थित तीन नम्बर गल्लीको एउटा घरको सबैभन्दा माथिल्लो चौथो तल्लामा छिरेपछि उनले काठमान्डू बस्ने परिवार सम्भि्कए। ‘घरमा मान्छे सुतिसके होलान्,’ १९ बर्षेले भने– ‘हामी भने भर्खर फर्केका छौं।’
‘हामी’ अर्थात सहवासी १९ बर्षेहरु मिलन राई, शिशिर भट्टराई, प्रतीक सापकोटा र १८ बर्षे बेल थापा जो सहपाठी पनि हुन्। नेपालको विभिन्न भागका यीनीहरु अन्य थुप्रै नेपाली तन्नेरीझैं चार्टर्ड एकाउन्टेन्ट (सीए) बन्ने लक्ष्य लिएर भारतीय राजधानी आएका हुन्। तीन साता अघि बसबाट दिल्ली उत्रिएका उनीहरुले अबका चार बर्ष यहाँको प्रचन्ड गर्मी, निर्दयी जाडो, छिचोली नसक्नुको भिड र देख्दै दिक्क लाग्ने कितावी ठेलीहरुको सामना गर्नुपर्नेछ। बसाईको अन्त्यसम्ममा उनीहरुले यमुना किनारको त्यो बाक्लो बस्तिका थुप्रै गल्ली चाहर्दै जनकपुरे तर्कारी विक्रेतासँग लौका किन्ने छन्, गुल्मेलीको ‘एभरेस्ट हट’मा मम खानेछन्, समोसाको आलुझैं कोचिएका मान्छेहरुलिएर हिडेका बस र वातानुकुलित मेट्रोमा अनगिन्तिपटक यात्रा गर्नेछन्। अनि, सबैभन्दा महत्वपूर्ण, सीएको सर्टिफिकेट अठ्याउने छन्।
‘वेलकम टू द वर्ल्ड अफ हेल कल्ड सीए (सीए नामको नर्कमा स्वागत छ)’ कठिन पाठ्यक्रम र त्यसमाथि विजय पाउन खर्चिनुपर्ने समयलाई इगिंत गर्दै पुराना विद्यार्थीले नयाँलाई यस्तै एसएमएसबाट स्वागत गर्छन्– ‘हास्न बिर्स अब।’ शिक्षकले पनि सम्भावित व्यस्तताबारे सचेत तुल्याउछन्। अर्न्तवार्ता लिइएको रात यमुना पारीको आइटीओ स्थित एउटा अडिटोरियममा सञ्चालित कक्षामा पहिलोपल्ट हाजिर भएर फर्केका विज्ञानले भने– ‘सरले पनि ‘अब तुम फसे, तुम्हारी जवानी गई’ भन्नु भयो। टाइम चाहि बढी नै दिनुपर्छ यसलाई।’ u000aकक्षाको पहिलो दिन बेलले हत्तपत्त विर्सने छैनन्। ‘२०/२५ जनाको ग्रूपमा पढेको बानी,’ नवलपरासीमा स्कुल, काठमान्डूमा प्लस टू, र बाँकी साथीहरुलाई भेटेको ठाउँ नयाँ बानेश्वरस्थित प्राइम चार्टर्ड एकेडेमीमा ६ महिनाको कमन प्रोफिसिएन्सी टेस्ट (सीपीटी) कोर्स गरेका बेलले भने– ‘यहाँ दुई तीन सयलाई एउटै हलमा देख्दा अचम्म लाग्यो। सरले माइकिङ् गरेर पढाउनु भयो, प्रोजेक्टरमा।’ प्रतीकले भाषाको समश्या व्यहोरे। ‘२० प्रतिशत हिन्दी बुझिएन,’ उनले भने– ‘सरले त्यस्ता शब्द बोल्ने जो हिन्दी फिल्ममा सुनिएको थिएन।’
प्रतीक र साथीहरुले साँझ शुरुहुने कक्षा लिनै लाग्दा लक्ष्मीनगरकै गल्ली नं. ८ स्थित घर नं. १९६ को तेस्रो तल्लामा तीनजना १९ बर्षेहरु चितवनका निशान पौडेल, काठमान्डूका अनिल पौडेल र बनेपाका सरोज मानन्धर नयाँ डस्नामा पंखा चलाएर पल्टिरहेका थिए। पुतलीसडकको चार्टर्ड कलेज अफ म्यानेजमेन्ट एकाउन्टमा ६ महिने सीपीटी तालिम लिनु अघि ललितपुरको क्यापिटल कलेज एन्ड रिसर्च सेन्टरबाट जीव विज्ञानमा प्लस टू गरेका उनीहरुले मेडिसिन पढ्न प्रयास गरेका थिए। ‘शिक्षा मन्त्रालय र इस्टिच्युट अफ मेडिसिनमा ट्राइ गरियो तर भएन,’ निशानले भने– ‘(त्यो) पढ्न पनि टाइम लाग्ने, त्यसैले सीएतिर आइयो।’
छात्रबृत्ती नपाइ पढ्न ‘महगो, कम्तिमा २५ लाख लाग्ने’ र डाक्टर बन्न ‘धेरै समय– पाच बर्ष एमबीबीए, दुई बर्ष इन्टर्न, अर्को दुई एमडी– लाग्ने’ भएकाले सीए पढ्ने निर्णय गरेको अनिलले बताए।
प्लसटूदेखिकै उनीहरुको चिनजान दिल्ली आएपछि अबका चारबर्षमा थप गाढा हुने पक्का छ। तर सरोजले तर्कारीमा तेल अलि कम हाल्नु पर्ला! घरमा कहिल्यै नपकाएका उनले लक्ष्मीनगरमा पालो परेपछि एकसाँझ भान्सा सम्हाले। ‘मिठै भा’थ्यो, है?’ खान्कीबारेको प्रश्नमा उनले अनिलतिर हेर्दै भने– ‘तेल अलि बढी भा’थ्यो।’
‘फस्ट टाइम पकाएकोले मिठै पकाएको मान्नुपर्यो,’ काठमान्डूमा दाजूसँग बसेर घरचलाउन सिपालु भइसकेका निशानले शान्त्वना दिए।
घरबाट टाढिदा परिवारको याद आउनु अस्वभाविक भएन तर नेपालमा गल्र्फ्रेन्ड नभएकाले धेरै चिन्ता गर्नुपर्ने कारण पनि छैन ठिटाहरुसँग। आखिर जिन्दगीको वास्तविकता सबैलाई थाहा जसलाई निशानले प्रष्ट पारे। ‘गल्फ्रेन्ड/व्वाईफ्रेन्ड भन्दै टासिएर बस्नेकुरा भएन,’ उनले भने– ‘मुख्य कुरा पढ्ने हो। उनीहरुपनि आफ्नो पढाईमा लागेका हुन्छन्।’
उसो त केटाहरुमात्र सीए पढ्न दिल्ली आउने होइनन्।
डेडबर्ष एमबीबीएस प्रयास गरेपछि दिक्क भएका दुइ २० बर्षेहरु–रश्मी गिरी र स्मिता श्रेष्ठ–ले परिवार र साथीहरुको दवावपछि सीएमा भविश्य देखेका थिए। ‘अझै ट्राइ गर्छुभन्ने थियो, घरबाट (त्यो छाडेर सीए पढ्न) फोर्स गर्नुभयो,’ क्यापिटलबाट प्लसटू गरेपछि तीन पटक एमबीबीएस प्रवेश परिक्षा दिएकी रश्मीले भनिन्। ‘सेम स्टोरी,’ सेन्ट जेभियर्सबाट आइएस्सी गरेकी र त्यति नै पटक एमबीबीएस प्रयास गरेकी स्मिताले भनिन्– ‘बीबीए पढ्ने सोचिराथे। साथीहरुले सीए पढेपछि यतै आए।’
लक्ष्मीनगरको होस्टलमा बसेर विहान–दिउसो–बेलुका चार घन्टासम्म लामा कक्षामा हाजिर भइरहेका उनीहरु ‘मेडिसिन भन्दा सीए’ नै राम्रो निस्कर्षमा पुगेका छन्। ‘हाम्रो व्याचका साथीहरु सबैको केही न केही भइसकेको थियो,’ स्मिताले भनिन्– ‘यूएस जानेहरु गइसकेका थिए, एमबीबीएस ट्राइ गर्नेको भइसकेको थियो, मेरो पनि डेढ बर्ष लस भइसकेको थियो। त्यसैले हामी आयौं, सीए पढ्न, खुशी हुदै।’ डाक्टर बन्ने सपनाबाट छुट्टिनुपर्दा केही नरमाइलो लागेपछि पास भएपछि ‘यताको लाईफ रमाइलो’ हुने स्मिताको आशा छ।
पहिलोपटक भारतीय राजधानी आएका यी तन्नेरीहरुलाई यहाँको तुलनात्मकरुपमा राम्रो पूर्वाधारले प्रभावित पारेको छ। काठमान्डू नै सम्झाउने फोहोर भएको लक्ष्मीनगर दिल्लीको उतिराम्रो छिमेकमा पर्दैन तर नयाँ दिल्लीका भीआईपी क्षेत्रहरु इन्डियागेट तथा व्यापारिक केन्द्र कन्नट प्लेस पुगेका उनीहरुलाई फराकिला सडक, व्यवस्थित बस्ती, जहीतही रुख र विश्वगुणस्तरको मेट्रो रेलले आकर्षित गर्यो। ‘बसमा महिलाको सीट भनेपछि महिलामात्रै बस्ने राम्रो लाग्यो,’ स्मिताले भनिन्। (केहीठाउमा त्यो नियम पुरा पालना भएपछि दिल्लीमा सबै सब/मेट्रोमा त्यो हुन्न। जनै पूर्णीमाको दिन त्यही निहुँमा मेट्रोमा भएको झगडामा एकको मृत्यु भयो।)
‘पुलिसको नियम मान्दो रहेछ मान्छेहरुले’ मिलनले भने– ‘कन्डक्टर/खलासीसँग पनि डराउने मान्छेहरु।’ गाडीमा महिलासिटमा बस्दा ‘तीनपठक उठ्नुपरेको’बताउदै प्रतीकले थपे– ‘नियम छ, त्यसलाई मानिएको पनि रहेछ।’
अबका दिन सुमधुर वित्ने अपेक्षा गरेका उनीहरुले आउनेवित्तिकै कोठा खोज्दा केही सास्ती भोग्नुपर्यो। ‘दुईजोर जुत्ताको भन्सार दुईसय लिइदियो,’ सीमामा भारतीय प्रहरीको दुर्व्यव्यवहार विज्ञानले सम्भि्कए। ‘सिधै ‘दो सौ रुपैया ले’ भनेर माग्ने,’ शिशिरले भने– ‘कसैकसैको एटिच्युड हेर्दा इन्डियन भनेपछि रिस उठ्ने।’ एकठाउमा ‘नेपालीको हम रुम नही देंगे’ भनेपछि त्यो रिस झन बढेको थियो। मिलनलाई चाहि इन्डियनहरुले चिनीया ठानिदिदा दिक्कै लागेको छ। ‘यिनीहरुसँग हिड्दा पनि ‘ए तो चाइनिज हें’ भन्दिने मलाई त,’ उनले सुनाए।
अबका केही बर्षमा ठिटाहरुले त्यस्ता थुप्रै अनुभव गर्ने छन् र जीवनोपयोगी अनेका कुरा सिक्ने छन्। आखिर फर्किनु त आफ्नै देश छ। अनि लिनु छ सीएको सर्टिफिकेट छ जो तन्नेरीलाई प्रष्ठ थाहा छ।
‘अब कहिले नेपाल फर्किने भन्ने हुन्छ,’ शीशिरले भने– ‘र त्यो गर्न एउटै उपाय छ– सीए पास।’
>>यो लेख पहिलोपटक आजको कान्तिपुर दैनिकको हेल्लो शुक्रबारमा प्रकाशित भएको हो ।
You must be logged in to post a comment.