गच्छदारको भारत यात्रा

gachhedar india trip kantipur 18mar
ठूलो पार्न क्लिक गरे हुन्छ

दिनेश वाग्ले

थुप्रैपटक मन्त्री बनेका, तीनवटा पार्टीको उच्चस्तरीय अनुभव सँगालेका र सत्ता समीकरणको पछिल्लो खेलमा सही गोटी चालेकाले देशको उपप्रधानमन्त्री बनेका विजयकुमार गच्छदारका निम्ति गत साताको भारत भ्रमण ‘पहिलो’ थियो । ‘पहिलो कुन अर्थमा भने यसअघि उहाँ कहिल्यै पनि राजनीतिक मिसन लिएर दिल्ली आउनुभएको थिएन’, उनीसँगै आएका एक सहयोगीले गतसाता भने । ‘यसअघि कि त त्यो मन्त्रालयको काममा औपचारिक भ्रमण हुन्थ्यो या निजी ।’ यसपालीको भ्रमण पनि लगभग निजी नै थियो, तर भारतीय विदेश मन्त्रालयको निम्तामा । दिल्ली बसाइँको र यहाँका मन्त्री तथा सरकारी पदाधिकारीहरूसँगको भेटको प्रबन्धन उसैले गरेको थियो । भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार, विदेशमन्त्री, अर्थमन्त्री तथा मन्त्रिपरिषदमा नरहेका सत्तारुढ र विपक्षी थुप्रै नेताहरूलाई पनि गच्छदारले भेटे । कतिलाई उनले ती नेताका घरैमा गएर भेटे, मुलायम सिंह यादव लगायतका केही उनी बसेको होटल ताजमा आए । गैरसरकारी भेटहरू निम्त्याउनेले मिलाएको थिएन (गच्छदारसँगै आएका अर्का सहयोगीले फोन गरेर समय लिइदिएका थिए), तर भारतीय निम्तो र गच्छदारको भ्रमणको प्रयोजन खासमा त्यही थियो- दिल्लीमा जतिसक्दो धेरै प्रमुख नेताहरूलाई भेट्ने र आफ्ना कुरा राख्ने ।

‘नेपालमा कांग्रेसपछिको वैकल्पिक लोकतान्त्रिक शक्ति आफ्नो पार्टी हो भनेर भारतीय नेतृत्वलाई बुझाउनु मुख्य उद्देश्य हो’, गच्छदारका सहयोगीले भने । नौ महिनाअघि वर्तमान सरकार गठन हुनेताका मधेसी जनअधिकार फोरम टुक्र्याएर ‘मधेसी जनअधिकार फोरम लोकतान्त्रिक’ गठन गरेका गच्छदार त्यो पार्टीका अध्यक्ष हुन् । भारतमा धेरैले मधेस भन्नेबित्तिकै उपेन्द्र यावदलाई चिन्छन् र धेरैले उनलाई शंकालु दृष्टिले हेर्छन् या मनपराउँदैनन् । त्यसैले आफ्नो पहिलो ‘राजनीतिक मिसन’युक्त भ्रमणमा गच्छदारले प्रथमतः आफ्नो परिचय पनि दिनु थियो, जसमा उनले आफूलाई देशव्यापी रूपमा काङ्ग्रेसको लोकतान्त्रिक विकल्प र विशेषगरी मधेसमा ‘कम्युनिष्ट/माओवादी उपेन्द्र यावदको स्थान लिँदै गरेको व्यक्ति/शक्ति’का रूपमा प्रस्तुत गरे । ‘म पार्टीको भारतसँग सम्बन्ध स्थापना गर्न आएको’, गच्छदारले भने । गच्छदारका सहयोगीका अनुसार भेट भएका धेरैजसो भारतीय नेताहरूले उनीहरूलाई ‘चिनेकै रहेनछन्’ या ‘नेपालमा उनीजस्ता नेता छन् भन्ने थाहा पाएकै रहेनछन्’ । ‘चिन्नु पनि कसरी ?’ ती सहयोगीले भने- ‘दिल्ली नआइकन उहाँले राजनीति गर्नुभयो, यहाँसम्म आइपुग्नुभयो ।’ अहिले पार्टी अध्यक्ष भएकाले तथा माधव नेपाल नेतृत्वको सरकार तलमाथि परे बालुवाटारको सबैभन्दा प्रसिद्ध वासिन्दा बन्न गच्छदारलाई अन्तर्राष्ट्रिय जनसम्पर्क आवश्यक भएको बुझ्न सकिन्छ ।

कतिपयको ठम्याइ त के छ भने त्यस्तो अवस्थामा गच्छदारका प्रतिस्पर्धी एमालेकै केपी ओली हुन सक्नेछन् । ओली पनि यो वर्ष विदेश मन्त्रालयको निमन्त्रणामा दिल्ली आइसकेका छन् । फरक विचारधारा र पार्टीका यी दुई नेतामा एउटा समानता छ- दुवै माओवादीलाई सरकारबाट बाहिरै राख्नुपर्छ र तह लगाउनुपर्छ भन्नेमा दृढ छन् । तर दिल्लीमा कम्तीमा संवाददातासँगको कुरामा गच्छदारले सरकारको नेतृत्व गर्ने महत्त्वाकांक्षा अहिले नभएको प्रस्ट पारे । ‘सरकारको विकल्प खोज्न म यहाँ आएको होइन’, उनले भने- ‘(माओवादीले मागेको) सरकारको नेतृत्व परिवर्तन आवश्यकै छैन ।’

तोकिएको मितिमा संविधान नबन्ने र चुनाव नहुने लगभग पक्का भएको भारतीयहरूले पनि बुझिसकेका छन् । कतिपय त ठान्छन्, भारतले नै माओवादी सेना व्यवस्थापनको टुङ्गो नलागी संविधान बन्न दिने छैन । सेना व्यवस्थापन नगरी संविधान लेख्नुहुन्न भन्ने नेपालमै थुप्रै छन् र गच्छदारले पनि भारतीयहरूलाई त्यही बताएको बुझ्न सकिन्छ । माओवादीले सरकारको नेतृत्व लिए नेपालको लोकतान्त्रिक संरचना ध्वस्त हुने, राष्ट्रिय सेनाको तटस्थतामा गम्भीर आघात पुग्ने र देश साम्यवादीकरणतिर जाने विश्लेषण गच्छदारले प्रस्तुत गर्ने गरेका छन् । त्यो विश्लेषणलाई उपेन्द्र यावदको माओवादीप्रति लचकदार नीति (‘यादव माओवादी सत्तामा टिकाउन लागे, म हटाउन, उनी साम्यवादी चिन्तले ग्रसित भए, म लोकतान्त्रिक विचारमा अडिग’) सँग जोडेर दिल्लीमा गच्छदारले अर्को उद्देश्य पूरा गरेका छन् । उनले भारतीयहरूमा आफू मधेसको एकैमात्र भरपर्दो लोकतान्त्रिक नेता जसप्रति पहाडेहरूको पनि उत्तिकै विश्वास र समर्थन भएको छाप छाडेका छन् । वास्तवमा गच्छदार अहिले फाइदाजनक स्थितिमा छन् । उनीसँग आफ्नै शारीरिक क्षति हुनेगरी पञ्चायती अधिनायकवाद विरुद्ध लडेको कांग्रेसी पृष्ठभूमि र भारतलाई तर्साउने माओवादीहरू विरुद्ध लडिरहेको लोकतान्त्रिक छवि छ । ती त्यस्ता कुरा हुन्, जसबारे थाहा पाउनेबित्तिकै कुनै पनि भारतीय नेता अँगालो मार्न तत्पर हुन्छ । ‘(भारतीय नेताहरूबाट) धेरै ठूलो सहानुभूति र सद्भाव पाएँ मैले’, गच्छदारले भने- ‘मेरो लोकतान्त्रिक इतिहासप्रति उहाँहरूको सहानुभूति रह्यो, मेरो नेतृत्वप्रति विश्वस्त भएको पाएँ ।’

यादवको विश्वसनीयता ‘गुमेको’, मधेसका अर्का वरिष्ठ नेता तमलोपाका महन्थ ठाकुर निकै वृद्ध भएको अवस्थामा आफ्नो जनआधार तथा व्यापक प्रभाव भएको ठान्ने सक्रिय गच्छदार मधेसमा टेकेर देशभरि फैलिने महत्त्वाकांक्षा राख्छन् । क्षेत्रीयतामै सीमित हुँदा देशको उच्च तहमा पुग्न कठिन हुने भएकाले राष्ट्रिय स्वरूप लिन तथा देशभरिका जनताको मन जित्न पार्टीको नाम पनि बदलेर नेपाल जनअधिकार फोरम या त्यस्तै केही राख्ने उनको मनसाय छ । तत्कालै चुनाव हुने निश्चित छैन, उनका सहयोगीले भने, तर चुनाव हुने लक्षण पाउनेबित्तिकै पार्टीमा व्यापक बदलाव आउनेछ । ‘अहिल्यै अरू पार्टीका केही ठूला नेता यता आउन खाज्दैछन्’, उनले भने- ‘तर मे २८ मा के हुने हो, त्यसको विश्लेषण गरेपछि मात्रै आउनु, अहिले पख भनिराख्नुभएको छ उहाँले ।’ उसो त गच्छदार कांग्रेसमै रहँदा पनि बलियो सांगठनिक पकड भएका नेता मानिन्थे । त्यो विश्वासलाई उनले पछिल्लो चुनावमा पनि दुई क्षेत्रबाट उठेर तथा अरू उम्मेदवारका लागिसमेत प्रचारमा डुलेर वास्तविकतामा परिणत गरे । अहिले पनि उनले संगठनलाई उत्तिकै महत्त्व दिएका छन् । ‘अब भारतबाट फर्केपछि मन्त्रालयको काममा दक्षिण अमेरिका जाने काम छ, त्यसपछि सोझै पार्टीको काममा र संगठन गर्न जनतामाझ जाने कार्यक्रम छ’, उनका सहयोगीले भने ।

यो लेख  पहिलोपटक आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो ।