फुटबल फेसबुकको भित्तोमा

facebook football_hello_friday
हेल्लो शुक्रबार: ठुलो पार्न क्लिके हुन्छ

दिनेश वाग्ले

एक्लै फुटबल हेर्नुको नमज्जा के भने ‘गोओओओओ….ल’ भनेर चिच्याउन नपाइने । सुन्ने कोही नभएपछि त्यसको के अर्थ ? आइभोरी कोस्ट र ब्राजिल भिड्दै थिए । फ्यावियानो र इलानोले तीन गोल ठोकेपछि खेल पूरै एकपक्षीय बनेकाले अरुचि जाग्दै थियो । रोमान्च थप्न अफ्रिकी टोलीले गोल फर्काउनैपर्छ भन्ने चाहना थियो । ड्रोग्बाले पनि एक हानिहाले । अनि ब्राजिलको परम्परागत समर्थक मैले टाइप गरेँ ट्विट्टरमा-GOOOOOOAAAAAAALLLLLLLL!!!!’ (इन्टरनेटमा ठूला रोमन अक्षरले चिच्याएको बुझाउँछ ।) त्यो ‘चिच्याहट’ तत्कालै ट्विट्टर र त्यसमार्फत फेसबुकका भँगालाहरूमा बग्दै सिद्धान्ततः लाखौं मानिसहरूका कम्प्युटर स्क्रृनमा देखापर्‍यो ।

फुटबल इतिहासमा हरेक विश्वकप कोशेढुङ्गा हुन्छ । करोडौं दर्शक उच्चाल्ने प्रदर्शन गर्ने खेलाडीहरूले एकअर्कालाई छक्याउँदै गोल गरेको या पेनाल्टी नछिराएको दृश्यबारे मानिसहरूले वर्षौं कुरा गर्छन् । यसपालीको विश्वकपचाहिँ ती सबै कुराबाहेक भुभुजेलाबाट चिनिने हो कि फेसबुक/ट्विट्टरबाट, म निश्चित भइसकेको छैन । भुभुजेला बजाउने दर्शकले पूरै रंगशालालाई एउटा ठूलो घार बनाइदिएका छन्, मानौं ती रिसाएका मौरी हुन् । उनीहरूको त्यो भुनभुनाहटले संसारभरिका थुप्रै दर्शकलाई दिक्क पारेको छ भने कतिपयले ‘त्यो अफ्रिकी फुटबल उत्साहको परम्परा’ भन्दै समर्थन गरेका छन् । रंगशालामा भुभुजेला प्रतिबन्ध गर्न फिफालाई अनुरोध गर्दै प्रतियोगिताको तेस्रो दिन मैले ट्विटेपछि बेलायतको योर्कमा बसेर वातावरण तथा राजनीतिमा पीएचडी भर्खरै सिध्याएका ललितपुरका महेश पौड्याल (twitter.com/mpoudyal)ले ट्विटे- ‘ओहो, मलाई भुभुजेला खुब मनपर्छ । खेल हेर्दा पृष्ठभूमिमा त्यो रमाइलो भुनभुनाहट ।’

football the facebook wall Kantipur
कान्तिपुर विचार पृष्ठ: ठुलो पार्न क्लिके हुन्छ

धन्यवाद ट्विट्टर र फेसबुकजस्ता सामाजिक सञ्जाल साइट (साससा) हरूलाई जसले संसारलाई खुम्च्याएर यति सानो पारिदिएका छन्, मानौं योर्क, दिल्ली र काठमाडौंका वासिन्दा एउटै कोठामा गफिँदै विश्वकप हेरिरहेका छन् । तिनले एकै समयमा एउटै बल (एडिडास कम्पनीले बनाएको ‘जाबुलानी’), एउटै खेलाडी (मानौं मेस्सी) र एउटै आवाज (भुभुजेला) देखिरहेका/सुनिरहेका हुन्छन् । तिनका प्रतिक्रियाहरू एउटै ठाउँ (ट्विट्टर र फेसबुकका भँगालो) मा आइरहेका हुन्छन् ।

‘नेपालेइडियट’ (twitter.com/nepaleeidiot) उपनामका नेपाली युवक भारतको कुनै सहरमा काम गर्छन्, विश्वकपका हरेकजसो म्याच हेर्छन् र तत्क्षण लागेको कुरा ट्विट्छन् । ‘नेपालबाट टाढा आफ्नो कोठामा एक्लै (फुटबल हेर्दा लागेका कुरा साझेदारी गर्न पाएकोमा) ट्विट्टरलाई धन्यवाद’, उनले एकदिन ट्विटे ।

वेब २.० भनिने अन्तरक्रियात्मक इन्टरनेटको जमानामा भएको यो पहिलो विश्वकप हो । १९९० को दशकको अन्त्यतिर चित्रसहितको इन्टरनेट ब्राउजिङ आए पनि २००० सम्म काठमाडौंमा त्यो केही अफिस या साइबर क्याफेमै सीमित भयो । २००२ को विश्वकपबारे नेपालीहरूले इमेलमा आफ्ना भावना साटे । २००६ मा फेसबुक अमेरिकामै सीमित थियो- कलेजमा । ट्विट्टर सुरु भएकै थिएन । धेरैजसो नेपाली तन्नेरी माइस्पेस र हाइफाइभमा हुन्थ्ये, तर अहिलेजस्तो विश्वव्यापी चाप साससाहरूमा थिएन ।

अहिले सबैजसो साससाले फुटबल केन्दि्रत पृष्ठ बनाएका छन्, प्रशंसकहरूलाई आफूमा बाँधिराख्न । ट्विट्टरको चित्ताकर्षक विश्वकप पेजमा खेल हुँदै गर्दा दर्शकले तत्क्षण गरेका ट्विटहरू त्यहाँ सलल बग्छन् । ट्विटहरूको त्यो बहावमा खेलप्रति संसारको प्रतिक्रिया झल्किन्छ ।

यसै महिनातिर ५० करोडौं प्रयोगकर्ता स्वागत गर्ने भनिएको फेसबुक थुप्रैका लागि इन्टरनेटको पहिलो ढोका या समानर्थी बनेको छ । कुनै जमाना थियो-१० वर्षअघि- हटमेल या याहुमा ठेगाना बनाएपछि इन्टरनेटमा छिरेको मानिन्थ्यो । गएको डेढ वर्षयता फेसबुकमा कोही छैन भने उसले इन्टरनेट चलाएकै छैन भन्ने ठान्न थालिएको छ । फेसबुकको भित्तो अभिव्यक्तिको सबैभन्दा प्रभावशाली स्थान भएको छ, जहाँ सामान्य मानिसहरू ख्यालठट्टा सिर्जना र झगडा गर्छन् ।

प्रमोद न्यौपानेको फेसबुक स्ट्याट्स हेरौं- ‘..हाम्रो दोष हो र ? ब्राजिलले राम्रो खेल्छ, (जन्मेकै फुटबल खेल्न), हामीलाई राम्रो लाग्छ । ..बाबाको काखमा बसेर ब्राजिलले गोल हान्दा गोओओओओओओओल भनेर चिच्याको अहिल्यैजस्तो लाग्छ । हरेकको नसा-नसामा ब्राजिलप्रति मोह देख्छु म ।’

प्रदीप चापागाईंले थपे- ‘हाहाहा दह्रो दियो है ब्रोले…तिम्रै ब्राजिलले जित्छ, नहारेसम्म । अब खुस ??🙂’

ब्राजिली समर्थकहरूको गफबाट जितेन्द्र कार्कीलाई खुब रिस उठेछ । उनले ठोके- ‘हो-हो, ब्राजिलियनहरूमात्र फुटबल खेल्छन्, अरू सबै.. लाटाले पापा हेरेजस्तै हेर्छन् । ..वल्र्डकपमा सहभागी टिम सबै ब्राजिलकै होलान्, हैन ब्रो ।’

जनक राजालाई झन् रिस उठ्यो, जितेन्द्रसँग- ‘तिमीलाई समर्थन गर्नु छैन भने बीचमा छिरेर बाठो हुने जरुरत छैन । आफ्नो काम गर न ।’

जितेन्द्रको पारो चढ्यो- ‘फेसबुक तिम्रा बाको हो, तिमीसँग अनुमति लिनुपर्ने ?’

आफ्नो वालमा साथीहरूको झगडा परेपछि प्रमोदले हस्तक्षेप गर्नैपर्‍यो । उनी लेख्छन्- ‘जितेन्द्र गुरु, साह्रै निक्रिष्ट कुरा भो । माइक्रोसफ्टले अमेरिकामा विन्डोज बनाको…अमेरिकीले मात्रै चलाउँछन् ? तर…विन्डोज…अरूले (बनाउन) सक्छन् ?… ब्राजिल ट्रेडमार्क हो…फुटबलको..अरूले झुक्केर वल्र्डकप जित्छन्…ब्राजिलले झुक्केर हार्छ ।)’

यी व्यक्तिहरू मेरा ‘फेसबुक साथी’ (‘साथी’ र ‘फेसबुक साथी’मा फरक छ है साथी हो) होइनन् । प्रमोदको वाल मेरोजस्तै सबैले हेर्न मिल्नेगरी सार्वजनिक छ । उनले र मैले फेसबुक खाताको गोपनीयताको सेटिङ त्यस्तै राखेका छौं । अहिले गोपनीयतालाई लिएर फेसबुकको व्यापक आलोचना भइरहेको छ । दायाँपट्टी माथिल्लो कुनामा ‘एकाउन्ट’ अन्तर्गत ‘प्राइभेसी’मा चाहे अनुसारको ‘ताल्चा’ लाउन मिल्छ । सबैलाई ‘फेसबुक साथी’ बनाउनैपर्छ भन्ने छैन । बनाए पनि सबैलाई वाल या एल्बममा पहुँच दिनैपर्छ भन्ने छैन । नचिनेकोले ‘एड’ गरे नकार्न सकिन्छ । स्वीकारे पनि उसलाई वाल/फोटोमा लेख्न दिने/नदिने ठ्याक्कै छुट्याउन सकिन्छ । त्यसका लागि साथीहरूको सूची बनाउनपर्छ । जस्तो- खास, अफिसका, हेल्लो-हाई, नदेखेका, परिवार आदि । तपाईंको वालमा लेखिने कुराको जिम्मेवार तपाईं नै हो ।

बितेको एक वर्षमा फेसबुकमा नेपालीहरूको बाढी लागेको छ । प्रविधिबारे अलि जानकार कतिपय तन्नेरीहरू ‘ह्या, फेसबुक पुरानो’ भन्दै ट्विट्टरप्रति आकर्षित भएका छन् । त्यो विश्वव्यापी लहर हो, प्रविधिमा सहजै भिज्नेहरूले ट्विट्टर मनपराएका छन् । बुझेपछि ट्विट्टरमा नशै बस्छ, फेसबुकको भन्दा बढी । तर दुवै साइटका विशेषता र कमजोरी छन् ।

बढी पारदर्शी र व्यापक मानिससँग सहजै पहुँच हुन्छ, ट्विट्टरमार्फत । अरुन्धती रोयसँग कुरा गर्न मन लाग्यो ? ट्विटरमा सजिलो छ । खाता खोल्नुस्, बाकसमा @arundhati_roy लेखेर सन्देश टाइप गर्नुस्, उनले देख्छिन् । ट्विटको गहनाता हेरी प्रायः ख्यातिप्राप्तले जवाफ दिन्छन् । फेसबुकमा एड भनेजस्तो ट्विटरमा फलो (पछ्याउनु) भनिन्छ । ट्विटरमा कसैसँग कुरा गर्न उसलाई पछ्याउनै पर्दैन । पछ्याउँदा उसका ट्विट्सहरू स्वतः आफ्नो भँगालोमा ‘टाइमलाइन’मा आउँछन्, जसलाई फेसबुकमा ‘न्युज फिड’ भनिन्छ । या भँगालो । ट्विट्टर एउटा मञ्च हो, जहाँ गएर ‘खै के लेख्ने’ या ‘भात खाएँ’ लेखेर हुँदैन । मञ्चको वक्ताले उपयोगी कुरा गरे मान्छे सुनेर बस्दैनन् ? ट्विट्टरमा पनि उपयोगी सूचना, जानकारी र कुनै पनि घटनाबारे तपाईंले मात्रै दिनसक्ने विचार/विवरण ट्विटे मान्छेहरूले पछ्याइहाल्छन् ।

twitter.com/wagle
facebook.com/dwagle

यो लेखको एउटा स्वरुप पहिलो पटक हिजोको कान्तिपुरको ‘हेल्लो शुक्रबार’ मा प्रकाशित भएको हो भने अर्को स्वरुप आजको कान्तिपुर विचार पृष्ठमा प्रकाशित भएको हो । कान्तिपुर छापिने कागज निर्यातमा आएको समश्याका कारण हिजोको हेल्लो इन्टरनेट (इकान्तिपुर) मै मात्र प्रकाशित भएको थियो, मुद्रणमा आएको थिएन ।

सम्बन्धित लेख (अङ्ग्रेजीमा)

१. The Twitter World Cup #Football

3 thoughts on “फुटबल फेसबुकको भित्तोमा

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s