वीरगन्ज

गिरीश गिरीको किताब वीरगन्ज
गिरीश गिरीको किताब वीरगन्ज

किताबको अावरणमा उल्लेख गरिएअनुसार वीरगन्ज  गिरीश गिरीको सहरको कथा हो । वर्णनले अहिलेको नेपालकै हालखबर उतारिदिन्छ र पो यी तीनसय पन्ना सबैले पढ्नुपर्ने दस्तावेज बनेका छन् ।

वीरगन्ज  अगि दक्षिण नेपालको यो सानो पुरसँग म खासै परिचित थिइन । कहिलेकाँही समाचार कक्षमा वीरगन्जका पत्रकार र त्यहाँको पत्रकारितालाई त्यो नगरको व्यापारिक हैसियतसँग जोडेर गरिएका विनोदपूर्ण टिप्पणी मैले सुनेको थिएँ । तर नगरको खास महत्वचाहिँ गतवर्ष ठ्याक्कै यति नै बेला अनुभव भयो जब म काठमान्डूमा यताउता निस्कनुपराे कि साइकलमै कुदिहाल्थेँ ।

“देखा, नभन्” तरिका अपनाइएका लेखन प्रस्तुतीहरू विशेष स्वादिला हुन्छन् । कसैले लगाएको लुगा, खाएको खाना, बोलेको लवज र कसैको अनुहार या हातका अौलाहरूको अवस्था इमानदार वर्णन मार्फत शब्दमा उतार्ने काम लेख्नेको । त्यो बखान पढेपछि बनेको मानसिक छविमा अाधारित भएर वर्णितकाबारेमा अवधारणा बनाउने या टुंगोमा पुग्नेकाम पढ्नेको । लेख्नेले नै चक्की पिसेर पढ्नेलाई पियाउनुपर्छ भन्ने मलाई लाग्दैन । त्यस्तो भयो भने किताब अल्छिलाग्दो हुन्छ । वीरगन्ज  मा अधिकाँश ठाउँमा “देखा, नभन्” तरिका प्रयोग भएकैले मलाई यो किताब नौलो, पठनीय र जानकारीमूलक लागेको हो ।

यो लेख तल निरन्तर छ । तपाईँलाई इमेलमै पछिल्लो ब्लग, लेख र तस्बिर पठाउँदा म खुसी हुनेछु । बाकसमा आफ्नो इमेल ठेगाना हाल्नु होला । अनि अाफ्नो इमेल इन्बक्समा अाएको लिंक थिचेर कन्फर्म गर्नु होला । यो लेख इमेल इन्बक्समै पढिरहुन भएको छ भने केही गर्न पर्दैन । धन्यवाद 🙂

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

हरेक मानिसको कथा हुन्छ । तर सबैको कथा उत्तिकै रोचक हुँदैन । सबैको कथाले उत्तिकै सशक्त ढंगमा कुनै प्रबृत्ति उजागर गर्न सक्दैन । स्थानको सीमितताले गर्दा कुनै पनि लेखनीमा सचेत ढंगमा त्यस्ता पात्र छानिन्छन् जसमार्फत कुनै विशिष्ट कथा प्रभावकारी ढंगमा भन्न सकियोस् । वीरगन्जलाई “देखाउने” क्रममा गिरीले उतारेका पात्रहरूले नै मलाई यो सहरको कथा भन्छन्, अवस्था बुझाउँछन् । किताबको सवल पक्ष यो भएको मैले ठहर्याएको छु । पात्र चयन र उनीहरूबारेको पूर्वजानकारीमा गिरीको क्षमता झल्किएको छ । पहिले नै परिचित ती पात्रहरूसँग उनले फेरि भेटेकैले वास्तविक चित्र उतार्न उनलाई सजिलो भएको बुझ्न सकिन्छ । त्यसाे गर्दा चित्र थप प्रष्ट पनि भएको छ । प्रतिवेदन सवल भएको छ । सिर्सिया नदीमा धेरै पानी बगिसकेको अवस्थामा वीरगन्जका गिरीलाई “पात्र उही.. परिस्थिति उही” लाग्नु अनाैठाे भएन । तर तिनै पुरानै पात्र र नबदलिएकाे स्थितिलाई उनले पठनीय चित्रण गरेकैले किताबबारे यति लेख्न जाँगर चलेको हो । एउटा अतीव मनपरेको वाक्य यो हो: “वीरगन्जलाई जब अावाजमा वर्णन गर्नुपर्छ, सबैभन्दा अघिल्तिर झुमक ब्यान्ड उभिन पुग्छ ।”

दह्राेढङ्गले चलिरहेका राजनीतिक प्रदर्शनहरूको पृष्ठभूमीमा लेखिएकाले वर्णनको मूलधार अान्दोलनमा लपेटिएकाे छ । त्यसले किताबलाई राजनीतिक पनि बनाएकाे छ । सम्भवत: थप रूचिपूर्ण पनि । गैरराजनीतिक प्रसंग त किताबका ज्यान हुन् । देवताको भूमिका निर्वाह गरेको तथा धीरेन्द्र पछ्याउँदाको क्षण लगायतका थुप्रै रोचक विवरणले भरीएको किताब पढाईको अनुभव रोमान्चक र विनोदपूर्ण भयो ।

काठमान्डूको कैदी: चार्ल्स एलेनको किताब द प्रजनर अफ काठमान्डू
काठमान्डूको कैदी: चार्ल्स एलेनको किताब द प्रजनर अफ काठमान्डू । यो किताबबारे मेरो प्रतिक्रियाका लागि फोटोमा क्लिक गर्नुहोस् ।

पोस्तकका सबै कुरासँग सबै पाठक सहमत हुन सक्दैनन् । अस्वाभाविक होइन त्यो । झन् अहिलेको जस्तो सामाजिक-राजनीतिक परिस्थितिमा ‘नाकाबन्दी सहर’काे एउटा कथासँग सबै सन्तुष्ट र सहमत हुन सक्दैनन् । मलाई के मन परेन ? दुई या तीन ठाउँमा लेखक जब वर्णन गर्न अर्थात उतार्न (“देखाउन”) छाडेर “भन्न” थाल्छन्, मलाई ‘अोहो, त्यसो नगरेको भए हुन्थ्यो’ जस्तो लाग्यो । म त्यसमा कुनै योजनाबद्द खराबी देख्दिन । अाफ्नै ठाउँ सहरको कुरा भएकाले र धादिङ्गे पहाडबाट एक पुस्ताअघि वीरगन्ज झरेका हुनाले लेखक अलि भावुक भएका पनि हुनसक्छन् जसले उनलाई “हैन, यति त भन्छु” भन्ने तहसम्म पुर्याएको पनि हुनसक्छ । तर म एकजना पाठककारूपमा निचोडमा अाफै पुग्न चाहन्थेँ । म अर्कै सारमा पनि अाउथेँ होला । जे पनि हुनसक्थ्यो । इमानदार वर्णन पढेर अाफै टुङ्गो लाउन चाहने म पाठकलाई लेखकको ठहर उचित नलागेको पनि हुनसक्छ । त्यसैले मलाई उनको निधोसँगभन्दा बढी चित्त नबुझेको चाहिँ उनले मलाई निष्कर्ष दिए भन्नेप्रति हो । तर कतिपय पाठकलाई त्यो मन पर्न पनि सक्छ ।

गैरअाख्यान किताबका पात्रहरू स्मरणीय हुनु लेखकको सफलता हो भन्ने मलाई लाग्छ । वीरगन्ज का पात्रहरूले अाफ्ना कथा जोडदारढंगमा भनेका छन् । छोटेलाल र उनको परिस्थितिको त कुरै नगरौं । छोटेलाल मार्फत गिरीले एउटा महत्वपूर्ण प्रबृत्तिको बयान गरेका छन् । छोटेलालको कथामा सामाजिक र राजनीतिक सन्देशहरू छन् । पशुपति रौनियार, विनोद परियार र उत्तमसागर डंगोलले पनि मलाई वीरगन्ज बुझाए । किताब पढ्दा मैले समग्र सहर र क्षेत्रकै एउटा तस्बिर पाएँ जसकाबारेमा म पहिले जानकार थिइन । पोस्तकबाट भरपुर फायदा मिलेको महसुस भयो ।

  • काठमान्डूको कैदी: चार्ल्स एलेनको किताब द प्रिजनर अफ काठमान्डू बारे मेरो प्रतिक्रिया यहाँ छ

यो टुक्रा तपाईँले वेब साईटमै हेरिराख्नु भएको छ भने प्रतिकृया जनाउन मुनिको फारम प्रयोग गर्नुहोला । प्रतिकृया दिन फेसबुक वा ट्विटरमा लग्ड-इन हुनुपर्छ । यो लेख इमेलमा पढिरहुन भएको छ भने प्रतिकृयाका लागि रिप्लाई थिच्नुहोला । यसलाई फेसबुक, ट्विटर अादिमा सेयर गर्न तलका बटन थिच्नुहोला । धन्यवाद ।