आज नेपालको लागि ऐतिहासिक दिन हो । २१९ बर्ष पछि हामीले पहिलो पटक महिला प्रधानमन्त्री पाएका छौँ ।
वितेका दुइ दशकमा सत्तामा महिला प्रतिनिधित्व नबढेको होइन । कानुनमै कोटा किटिएका छन् । “मुख्य चार” मध्ये तीनवटा पदमा जसोतसो महिला पुगिसकेका थिए र बाँकी थियो ‘प्रधानमन्त्री’ । तर हालैका कयौँ उपलब्धी र विकासका बाबजुत प्रधानमन्त्री पदमा महिला पुग्नु असम्भव जस्तै लाग्थ्यो । तगाराहरू धेरै थिए । ती कस्ता थिए, हामीले भर्खरै पनि एउटा प्रमुख पार्टीमा देखेकै हौँ । त्यसैले त्यो पद (महिलाहरूले) खोसेरै लिनुपर्ने अवस्था थियो । आज त्यही भएको छ, युवाहरूले त्यो पद खोसेरै एकजना प्रतिभाशाली महिलालाई टक्र्याएका छन् जसले पहिलो महिला प्रधान न्यायाधीशकारूपमा गौरवपूर्ण इतिहास बनाइसकेकी छिन् ।
संयोग कस्तो परेको छ भने, प्रधानमन्त्री पद दुइजना जनआकाङ्क्षाबाट निकै टाढिएका जस्तो भान हुने पुरूषहरूबाट खोसिएको छ जसमध्ये एकजना भर्खरै एउटी महिलालाई सम्भावित प्रतिस्पर्धाको मैदानै छिर्न रोक्न सफल भएका थिए भने अर्का वयोवृद्ध त्यो पदमा फेरि एकपटक पुग्न पर्खेर बसेका थिए । यी दोस्रा व्यक्तिसँग नवनियुक्त प्रधानमन्त्रीको अर्को रोचक सम्बन्ध छ । पहिलो महिला प्रधान न्यायाधीशलाई यिनैले संसदीय अङ्कगणीतको ‘उपयोग’ गर्दै महाअभियोगको हतियार चलाएर निलम्बन गरेर ‘महाअभियोग लाग्ने पहिलो प्रधानन्यायाधीश’को घुम्टो ओढाइदिएका थिए । अनि अर्को रोचक संयोग ? त्यही महाअभियोगमा हस्ताक्षर गर्ने मध्येका एक बुज्रुग सांसदले नै यी महिलालाई प्रधानमन्त्री नियुक्त गरे ।
तर यो ‘मिठो बदला’को कुरा गर्ने समय हैन । यो नि:सन्देह शुशीला कार्कीको उल्लास मनाउने अवसर हो ।
साथै यो सचेत हुने क्षण पनि हो ।
किनकी कार्की असाधारण परिस्थितिमा मुलुकको नेतृत्वमा पुगेकी छिन् । कार्कीले गर्नु पर्ने मुख्य कुरा उनको नियुक्ती पत्रमै तोकिएको छ- अब उनी आफैले विघटनको सिफारिस गर्ने संसद्को स्वतन्त्र र निष्पक्ष चुनाव छ महिना भित्रै गराउने।
नियुक्ती पत्रमा नलेखिएको तर उनीबाट व्यापक अपेक्षा गरिएको अर्को काम हो, भ्रष्टाचार छानविन आयोग गठन गरेर त्यसले स्वतन्त्र ढंगमा काम गर्ने वातावरण बनाउने ।
तर कार्कीले नगर्नु पर्ने कुरा एउटै छ । र यो उनले गर्नु पर्ने काम जत्तिकै वा त्यो भन्दा महत्वपूर्ण छ । उनका कुनै पनि कदमबाट नेपाली जनताले लामो रक्तपातपूर्ण सङ्घर्ष गरेर ल्याएको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक गणतन्त्र कुनै पनि हिसावले अवरूद्ध हुनु हुँदैन । परिस्थिति नै त्यस्तै छ त्यसैले कतिपयमा एक खाले सन्देह छ। ती शङ्कालुहरूलाई गलत सावित गराउने काम कार्की कै हो ।
प्रधानमन्त्री कार्कीलाई शुभकामना ।
अबका ६ महिना भित्रै काठमाडौँ-२ निर्वाचन क्षेत्रबाट संसदीय चुनावमा भोट हाल्न म आतुर भैसकेको छु ।
[यो पोस्ट प्रकाशन हुँदा नहुँदै प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघठन गर्दै २०८२ फागुन २१ गते विहीवार संसद्को निर्वाचन हुने घोषणा गरेका छन् ।]
