हाईस्कुल पास गरेपछि सन् १९६९ मा हजुरबाका साथीको उक्साहटमा यात्रामा निस्केका अंग्रेज काठमाडौं ओर्लिए । ककनीस्थित बेलायती राजदूतको बंगलामा थकाई मारेपछि ती १८ वर्षे ‘व्याकप्याकर’ अन्नपूर्ण पदयात्रामा हानिए । एन्ड्रयु हल नामका तीनै यात्री दुई साता अगाडि नेपाल आएका छन्- बेलायती राजदूतका रूपमा ।
‘आफ्नो दोस्रो घर आएको छु,’ पहिलो प्रेस अन्तर्वार्तामा ५६ वर्षे एन्ड्रयुले कान्तिपुरसँग भने- ‘मौका मिल्नासाथ मेरो गाउँ पनि गइहाल्ने छु ।’ त्यो गाउँ रसुवाको ठूलो स्याब्रु हो जहाँ एन्ड्रयुले कूटनीतिमा लाग्नुपूर्व १९७७ मा त्यस क्षेत्रका तामाङहरूमा तिब्बती बुद्धवादको प्रभावबारे पीएचडी अध्ययन गरेका थिए । ‘गाउँमा साथी छन्,’ अवकाश प्राप्त एकजना गोर्खा सैनिकको घरमा बसेको सम्भिmने मानवशास्त्री डाक्टरले भने- ‘समाचार सुनाइरहन्छन् ।’
समाचारहरू सकारात्मक छन् । नेपाली समाज, उनले भने- खुला र चलायमान भएको छ । ‘पहिले उनीहरू एक ठाउँबाट अर्कोमा पुग्ने कुरा कठिन थियो,’ मानवशास्त्रीले थपे- ‘पूर्वाधारको फैलावटले जीवनलाई सहज पार्दै नेपालीहरूलाई बढी नजिक तुल्याएको छ । नेपाली समाज समावेशीकृत भइरहेको छ ।’ बितेका दशकमा प्रजातन्त्रले अधिकारसम्पन्न तुल्याएका नेपालीहरू आफ्नो हकप्रति पहिलेभन्दा बढी सजग भएको उनले अनुभव गरेका छन् ।
‘(प्रजातन्त्र आउनुपूर्व) जनसंगठन भन्नु नै नेपाली काङ्ग्रेसलगायतका एकाध पार्टी थिए,’ कूटनीतिज्ञले भने- ‘अहिले हेर्नुस् कति दबाब समूहहरू छन् । सबै अबको संविधानसभा चुनावमा आफ्नो हितको प्रतिनिधित्व गराउन प्रतिबद्ध छन् । वास्तवमा यस्तै समूहहरूले हो प्रजातन्त्रलाई दरिलो तुल्याउने ।’ नेपालको यो ऐतिहासिक क्ष्ाणमा बेलायती राजदूत हुनुका चुनौती बुझेको बताउने मानवशास्त्रीले द्वन्द्वलाई पछाडि राखेर विकासको मार्गमा अगाडि बढ्न नेपाललाई सघाउनु आफ्नो कार्यकालको प्राथमिकता हुने उल्लेख गरे । ‘पूर्ण प्रजातान्त्रिक प्रणालीको पुनःस्थापना गर्नु आवश्यक छ,’ उनले थपे ।
नेपाललाई दोस्रो घर भन्नु पछाडि स्याब्रु बसाइ र केही भ्रमणमात्रै छैनन् । सन् ८० को दशकमा बारम्बार नेपाल आएका एन्ड्रयु १९९१ देखि तीन वर्षसम्म काठमाडौं दूतावासमा डिपुटी हेड अफ मिसन थिए । त्यतिबेलाको कार्य प्रगतिका कारण उनलाई महारानीबाट अफिसर अफ द अर्डर अफ बि्रटीस इम्पायर (ओबिई) सम्मान मिल्यो । उनकी कान्छी छोरीले यहीँको लिङ्कन स्कुलमा पढेकी थिइन्, जेठी तीन वर्षमै आमासँग स्याबु्रमा बसेकी थिइन् । ‘नेपाली भाषा यहाँ बस्दा सुधि्रएजस्तो हुन्छ,’ राजदूतले अंग्रेजीमा भने- ‘उता गएपछि बिर्सिएजस्तो भइहाल्छ । स्याब्रुमा तामाङ भाषा सिकेको थिएँ तर पुस्तक र शिक्षक अभावले पढ्न सकिन ।’ (जेठी छोरी बेलायतमा पढाउँछिन् भने कान्छी स्पेनमा पर्यटन कम्पनीमा काम गर्छिन् ।)
पहिलो नेपाल भ्रमण एन्ड्रयुका लागि असरदार सावित भयो । फर्केर स्नातकको पढाइ थाल्दा उनले मानवशास्त्र मुख्य विषय बनाउने निधो गरे । कलेजका धेरैजसो शिक्षक मानवशास्त्री भएकाले उत्साह मिल्यो । सन् ५० को दशकमा नेपाल आएर ‘शेर्पाज अफ नेपाल’ पुस्तकका लेख्ने मानवशास्त्री क्रिस्टोफ भोन फ्युरेर-हाइमेन्डोर्फबारे थाहा पाएपछि एन्ड्रयु उनले पढाउने युनिभर्सिटी अफ लन्डनको ‘स्कुल अफ आरियन्टल एन्ड अपि|mकन स्टडिज’ मा एमएमा भर्ना भएका थिए । ‘मानवशास्त्र छान्ने र नेपालमा अध्ययन गर्ने निर्णय एकैसाथ भएको थियो,’ उनले भने- ‘पहिलो भ्रमणमै मैले नेपाल आएर अनुसन्धान गर्ने सोचेको थिए ।’
त्यही सोचअनुसार पीएचडी अनुसन्धानका लागि उनी १९७७ मा सपरिवार काठमाडौं आए । काठमाडौं नजिकैको गाउँ छान्नुपर्ने बाध्यता थियो भने अरूले अध्ययन नगरेको विषय छान्नुपर्ने चुनौती । ‘छोरीलाई केही भइहालेमा तत्कालै अस्पताल ल्याउन सक्ने ठाउँमा जानुपर्ने थियो,’ दुई छोरीका बाबुले सम्भिmए- ‘हरेक मानवशास्त्री अरूले नछोएको विषयमा अध्ययन गर्न चाहन्छ । शेर्पाबारे क्रिस्टोफरले किताब लेखिसकेका थिए, गुरुङ र थकालीबारे पनि कसैले काम थालिसकेको थियो । तामाङहरूबारे कसैले अध्ययन गरेको छैन भन्ने थाहा पाउनासाथ मैले नक्सा हेरंे नेपालको ।’ उनीहरू नुवाकोट र रसुवा नजिकै बस्ने जानकारी बटुलेपछि उनी श्रीमती र छोरीलाई लिएर सम्भाव्यता अध्ययनका लागि निस्के । ‘त्रिशूलीबाट उकालो लाग्यौं,’ उनले भने- ‘दुई/तीनवटा गाउँमा केही दिन बितायौं । गाउँलेहरू सहयोगी थिए या शत्रुवत्, थाहा पाउनु थियो । ठूलो स्याब्रु आएपछि चाहिँ सबै कुरा ठीकठाक लाग्यो । दोस्रो विश्वयुद्धमा लिविया र इटालीमा लडेका एकजना गोर्खा सैनिक रहेछन् । उनलाई वाइन पिउने र स्पागेटी खाने कुराको ज्ञान थियो । पश्चिमी कुरा बुझ्ने कम्तीमा एकजना भएकाले सजिलो भयो ।’
पीएचडी अध्ययन गरेर फर्केपछि एन्ड्रयु विश्वविद्यालयमा पढाउने कामको आशामा थिए । तर आर्थिक समस्या आउन थालेपछि शैक्षिक संस्थाहरूमा भर्ती रोकिएको थियो । ‘छोरी र पत्नी थिए, म पनि २८ वर्षको भइसकेको थिएँ, जागिर आवश्यक थियो,’ डाक्टरले भने- ‘त्यसैबेला मनपर्ने पत्रिका ‘गार्जियन’ मा विज्ञापन देखें । विदेश मन्त्रालयलाई दक्षिण एसिया विशेषज्ञ चाहिएछ । नेपाली गाउँमा बसेको तथा भारतसमेत घुमेको हुनाले आवेदन दिएँ । तर आस थिएन । अचम्मै भयो, जागिर पाएँ ।’
यसपालि पनि अचम्मै लागेको थियो, एन्ड्रयुलाई नेपालमा राजदूतका लागि छनोट हुँदा । ‘यहाँ राजदूत खाली भएको थाहा पाएपछि मैले आवेदन दिएँ,’ यहाँ आउनु अगाडि भारतको कोलकातास्थित कन्सुलरमा उपउच्चायुक्त एन्ड्रयुले भने- ‘पाउँछु भन्ने लागेकै थिएन । मेरोभन्दा धेरै तगडा सीभी भएका सहकर्मीहरू प्रतिस्पर्धामा थिए ।’ अन्तर्वार्ता दिइरहेको आफ्नो कार्यकक्षतिर एकसरो नियालेपछि राजदूतले थपे- ‘अचम्मै भयो । यो त मेरा लागि सपना साकार भए बराबर हो । नेपालमा राजदूत हुनु ठूलो जिम्मेवारी हो । म गौरवान्वित र उत्साहित छु, ।’
राजदूत हुन पाएकामा गौरवान्वित बेलायतीलाई मानवशास्त्र पढेर कूटनीतिमा करिअर बनाउनुपरेकोमा पछुतो छैन । ‘दुवै उस्तै विषय हुन्,’ उनले भने- ‘समाजको अध्ययन गर्ने र बुझ्ने । कूटनीतिज्ञले पनि विदेशी समाजमा बसेर त्यहाँका मानिसलाई बुझ्ने प्रयास गर्छ । बुझेका कुरालाई मानवशास्त्रीले विश्वविद्यालयमा पठाउँछ, कूटनीतिज्ञले आफ्नो देशको विदेश मन्त्रालयमा ।’
त्यो त एन्ड्रयुले गर्ने नै छन्, एकपटक फेरि त्यो पहिलो नेपाल भ्रमण उल्लेख गरौं । ‘हजुरबाका साथी’ सर क्रिस्टोफर समरह्याएस सन् ५० को दशकमा नेपालमा राजदूत थिए जसले काठमाडौं दूतावासका एकजना कर्मचारीलाई लेखेको पत्र बोकेर तन्नेरी आएका थिए । नेपाल घुमेपछि मोरक्को पुगेका १९ वर्षे त्यहाँ बिदा मनाउन गएकी बेलायती युवती क्याथीसँग ‘एकै नजरमा प्रेममा’ परे । लगत्तै प्रेमी जोडी नेपाल फक्र्यो । ‘उनको बिदा कम थियो,’ प्रस्टै लजाएका एन्ड्रयुले ती रोमाञ्चकारी दिन सम्भिmए- ‘त्यसैले हतारमै म अघिल्लो वर्ष पुगेका ठाउँहरूमा पुग्यौं ।’ त्यो भ्रमणमा नेपालबाट प्रभावित क्याथीले बिहे गरेपछि एन्ड्रयुको पीएचडीका लागि त्रिशूलीबाट ठूलो स्याब्रुसम्मको थुप्रै पदयात्राहरूलाई स्वभाविक रूपमा लिएकी थिइन् । ‘अब त बूढो भइयो,’ राजदूतले फेरि लजाएजस्तो गरेर भने- ‘बूढो भएको सोच्दा डर लाग्छ । पहिलेकै जस्तो जोसले हिँड्न त नसकिए पनि अवश्य पुग्नेछु ।’