हाईहाई अंग्रेजी गुरु

teaching english in nepal

दिनेश वाग्ले

‘विश्व समुदायसँग नजिकिँदै गर्दा नेपालमा अंग्रेजी नेपालीजत्तिकै महत्त्वपूर्ण भइरहेछ,’ क्रिस सौटन (तस्बिरमा दायाँ) भन्छन्- ‘अंग्रेजी सिकाइले खुलापनाको भावनालाई पनि प्रवर्द्धन गर्छ ।’ अंग्रेजीका पक्षमा यसरी खुबै तर्क गर्ने अंग्रेज क्रिसको कामै विश्वका मान्छेलाई अंग्रेजी सिकाउनु हो । ११ वर्षअघि स्वयंसेवी अंग्रेजी शिक्षक भएर काठमाडौं आएका यी २९ वर्षे लन्डनस्थित संस्था ‘ग्लोबल एक्सन नेपाल’ का अध्यक्ष हुन् र अहिले ब्रिटिस काउन्सिलको आतिथ्यमा नेपालका विभिन्न स्थानबाट काठमाडौं आएका अंग्रेजी गुरुहरूलाई उक्त भाषा सिकाउने कला’bout प्रशिक्षण दिइरहेका छन् ।

प्रविधि र सुविधा नभएको वातावरणमा कसरी प्रभावकारी अंग्रेजी पढाउने ? अंग्रेजी सिकाउने सिद्धान्तलाई व्यवहारमा कसरी उतार्ने ? धेरै र फरक उमेरका विद्यार्थीलाई कसरी अंग्रेजी सिकाउने ? यस्तै प्रश्नको सेरोफेरोमा हुने डेढ साताको प्रशिक्षणमा क्रिसलाई विशेषज्ञ अंग्रेजी प्रशिक्षकहरू सु लिथर र कोलिन डेभिसले सघाइरहेका छन् । ‘अंग्रेजीलाई अंग्रेजीमै पढाइनुपर्छ,’ बितेका वर्षहरूमा नेपालका विभिन्न स्थानमा पुगेर पढाएका तथा शिक्षकहरूलाई प्रशिक्षण दिएका क्रिस भन्छन्- ‘कक्षाकोठामा बच्चाहरूलाई अंग्रेजी बोल्न प्रोत्साहित गरिनुपर्छ ।’

समस्या शिक्षकहरूमै छ । थुप्रै प्राथमिक विद्यालयका अंग्रेजी गुरुलाई राम्रो अंग्रेजी आउँदैन र कक्षामा उनीहरू नै हाबी हुन्छन् । ‘नेपालका शिक्ष्ाकहरू गुरु बन्न खोज्छन्,’ क्रिस भन्छन्- ‘चेलाहरूलाई अगाडि चुपचाप बसाएर आफैं मात्र लगातार टुटेफुटेको अंग्रेजी बोलिरहने र आफैंमात्र अभ्यास गर्ने । विद्यार्थीले बोल्यो भने ‘हे, पढाएको बेला किन हल्ला गरेको ?’ भन्दै झपार्ने र केटालाई एकातिर केटीलाई अर्कातिर सार्नै नसकिने बेन्चमा राख्ने । गुरु होइन शिक्षक बन्नुपर्‍यो । विद्यार्थीलाई बोल्न प्रोत्साहित गर्नुपर्‍यो ।’

कक्षाकोठामा हल्ला भए शिक्ष्ाकको प्रतिष्ठामा आँच आउने ठानिन्छ । ओहो, ह्वाँ सरको पिरियडमा विद्यार्थीको हल्ला थामिनसक्नु हुन्छ भन्दै कुरा काटिन्छ । त्यसैले शिक्ष्ाकहरू पिरियडमा पिन खस्दासमेत सुनिने शान्ति कायम गर्न उद्यत रहन्छन् । त्यो चलन क्रिसलाई थाहा छ र उनी त्यसमा परिवर्तन चाहन्छन् । ‘विद्यार्थीलाई ‘यिनीहरू केही जान्दैनन्, त्यसैले चुपचाप गुरुको कुरा सुन्नुपर्छ’ भन्ने मान्यता राख्नुहुँदैन,’ उनले भने- ‘विद्यार्थीलाई पनि धेरै कुरा थाहा हुन्छ । उनीहरूले परिवार या अन्य मानिससँगको सम्पर्कबाट अनेकौं अनुभव गरिरहेका हुन्छन् । त्यस्ता कुरा’bout उनीहरूलाई आपसमा गफिन दिनुपर्छ, अंग्रेजीमा ।’

प्रशिक्षणमा सहभागी शिक्षकहरूलाई क्रिसका कुरामा चित्त बुझेको छ तर उनीहरूका पनि आफ्नै गुनासा छन् । ‘सरकारी प्राविहरूमा एउटै शिक्षकले अलराउन्डर भएर पढाउनुपरेको छ,’ धनगढीको एउटा निजी स्कुलमा पढाउने र शिक्षकहरूलाई प्रशिक्षण दिने रामजी हमालले भने- ‘उनीहरूलाई अंग्रेजी आउँदैन र सिकाउन पनि सक्दैनन् ।’

‘कनिकुथी अंग्रेजी बोले पनि के बोलिरहेको छु भन्ने उनीहरूलाई थाहा हुँदैन,’ उनले भने- ‘उनीहरूले ढोकामा उभिएर ‘मे आई कम इन सर ?’ भने पनि त्यसको अर्थ के हो र किन भनिएको थाहा हुँदैन । त्यसैले धेरैले (लेग्रो तान्दै) ‘माई कमिन सर !’ भन्छन् ।’

यसलाई नेपाली विरोधाभास मान्नुपर्छ कि एकातिर अंग्रेजी सिक्न मरिहत्ते गर्दै ल्यांग्वेज इन्स्टिच्युट धाउने तन्नेरीहरू छन् भने तिनैमध्ये कोही कसैले अंग्रेजीमा कुरा थाल्यो भने ‘सान देखाएको’ भनी टिप्पणी गर्न थाल्छन् । गाउँका स्कुलहरूमा अंग्रेजीलाई नेपालीमा पढाइन्छ (नेपांग्रेजी शैलीमा) भने सहरका केही अंग्रेजी स्कुलमा नेपाली बोल्दा जरिवाना लगाइन्छ । ‘दैनिक कुराकानी अंग्रेजीमा गर्नु भाषा सुधार्ने सबैभन्दा प्रभावशाली तरिका हो,’ क्रिसले आफ्ना एक जना नेपाली साथीकी छोरीको उदाहरण दिँदै भने- ‘तर ती बच्चीजस्तो अंग्रेजीको तुलनामा नेपालीमै कमजोर हुनुचाहिँ अति नै हो । अनि नेपाली बोल्दैमा फाइन तिराइनु झन् नहुने कुरो ।’ उनले नेपालीहरूका लागि अंग्रेजी सदैव दोस्रो भाषा नै हुनुपर्ने टिप्पणी गर्दै भने- ‘अंग्रेजीको ज्ञान अमेरिका या बेलायत जाने भिसाजस्तो बनाइनु पनि हुन्न । अंग्रेजीमा पोख्त युवाको खाँचो नेपाललाई नै छ ।’

टिप्पणीहरु

“हाईहाई अंग्रेजी गुरु” मा 3 प्रतिक्रियाहरू

  1. Wagle Street Journal » English and Nepanglish: How To Teach in Nepal? अवतार

    […] >> Here is what I wrote in Kantipur about my meeting with Chris and other teachers. […]

  2. पूर्ण मानन्धर अवतार
    पूर्ण मानन्धर

    जमाना अंग्रेजीको

    ‘हाई हाई अंग्रेजी गुरु’ समाचार पढेपछि केही लेख्न मन लाग्यो । एक्काइसौं शताब्दीमा सबैले जान्नैपर्ने भाषा । तर यसलाई बाध्यता बनाउनु कतिको उचित हो ? क्रिस सरले भन्नु भएजस्तै स्कुलमा नेपाली बोलेमा जरिवाना तिराउनु उचित होइन । जरिवानाको डरले जथाभावी अंग्रेजी बोल्न लगाउँदा त्यसले विद्यार्थीमा नकारात्मक प्रभाव पर्छ । यसको सट्टा शिक्षक-शिक्षिकाले कसरी हुन्छ, अंग्रेजी बोल्न प्रोत्साहन दिनुपर्छ ।

    बोर्डिङ स्कुल र प्लस टुमा पढ्नेहरूको अंग्रेजी राम्रो देखेको छु । समस्या त सरकारी विद्यालयमा छ । म केही वर्षअघि रामेछाप, बेथानमा पढाउन जाँदा सात कक्षाका विद्यार्थीले आर्टिकलको प्रयोग गर्न नजानेकामा अचम्म लाग्यो । म पनि सरकारी विद्यालय र क्याम्पस पढेकाले त्यति राम्रो अंग्रेजी छैन तर जति सिकाएँ, उनीहरू मख्ख परेका थिए ।

    अंग्रेजीको कमजोरीले म हालै एक एफएमको अन्तर्वार्तामा फेल भएँ । मैले रिपोर्टरका लागि निवेदन दिएको थिएँ । आफू पत्रकारिताको विद्यार्थी भएकाले त्यो पदमा योग्य हुन्छु भन्ने लागेको थियो । मैले यसबाट ठूलो ज्ञान पाएँ कि नेपाली भाषाको रिपोर्टर भए पनि अंग्रेजीमा दक्ष हुनुपर्ने रहेछ ताकि कुनैपनि अवस्थामा समाचार तयार गर्न सकियोस् । सरकारी विद्यालयमा पनि अंग्रेजीमा नै पढाइ चलाइयोस् । ताकि म जस्ताले फेरि भन्न नपरोस्, सरकारी शिक्षण संस्थामा पढेर गल्ती गरेँ ।

    – पूर्ण मानन्धर
    काठमाडौं

    (पूर्ण मानन्धरको कान्तिपुरमा आज प्रकाशित यो पत्र यहाँ ब्लगमान्डूले प्रकाशित गरेको हो ।)

  3. Nepanglish: Teaching English in Nepal « Wagle Street Journal अवतार

    […] Here is what I wrote in Kantipur about my meeting with Chris and other teachers. 28.579873 […]