लसुन र गदाइनो जडिबुटी हालिएका साना झोला बोकेका, जीन्स पाइन्टलाई मोजा भित्र घुसारेका र मातेको मान्छेको जस्तो राता आँखा बनाएका- १५ बर्षे जगबहादुर भन्डारी र १३ बर्षे प्रकाश भन्डारी ।
रारा तालको पहिलो झल्को पाइने आशामा जुम्ला-मुगु सीमाको कराली खर्क लेक उक्लिने वित्तिकै तल कतैबाट एउटा सुरिलो आवाज आएको थियो ।
सम्झी नरुनु
म त पागल भएनी हे बहिनी
तिमी नहुनु
असार अन्तिम साताको त्यो घमाइलो दिन दुइजना मान्छे हिलो सुक्दै गरेको उकालो फुर्तीसाथ चढीरहेका थिए । स्वाँ-स्वाँको संकेत नदिइ दुबै ‘सम्झि नरुनु’का भाकामा दोहोरी सम्बाद गरिरहेका थिए । फुच्चेहरु पो रहेछन् । लसुन र गदाइनो जडिबुटी हालिएका साना झोला बोकेका, जीन्स पाइन्टलाई मोजा भित्र घुसारेका र मातेको मान्छेको जस्तो राता आखा बनाएका- १५ बर्षे जगबहादुर भन्डारी र १३ बर्षो प्रकाश भन्डारी ।
‘रातभरी केटी जिस्काएर आ’का,’ बाटोमा भेटिएपछि एउटै गन्तव्यका कारण नजिकिएका सहयात्री रोमबहादुर महतले केटाहरुले सुन्नेगरी भने । रारा राष्ट्रिय निकुन्जका कर्मचारी रोमबहादुरले उनीहरुलाई चिन्दा रहेछन्- जुम्लाकै विकट भनिने चौथा गाउँमा बस्ने जगबहादुरका दुइ दिदी र उनीहरुका दाजुभाई पतिहरु निकुन्जमा क्यान्टिन चलाउछन् । मुगुको गमगढी नजिकै बस्ने प्रकाश र जगबहादुर नातेदार हुन् । प्रकाशलाई साथी पनि हुने, दिदी भिनाजुहरुपनि भेटिने भनेर जटिबुढी कोसेली बोकेर जगबहादुर उकालो हानिएका रहेछन् ।
‘तपाईहरु हिड्दै गर्नु,’ केहीवेरको आरामपछि ‘हिडौं’ भन्दा जगबहादुरले जवाफ दिए । रंगीन फुलहरुले ढकमक्क डाँडाँहरु हिडेर तिउने खर्क पुगेपछि रोमबहादुरले चिच्याए- ‘ए.र्.र्.इ.. जा’म ।’ एकछिन पछि उनी फेरी कराए- ‘आओ है । जाम । पानी पर्छ ।’ केटाहरु बसेको ठाउबाट चलमलाउदैनन् । ‘ती सुते,’ डाँडाँमा दुइतिर झोला विसाएर ढल्केका केटाहरुतिर हेर्दै रोमबहादुरले भने- ‘आँखा राता छन् । राती सुतेका छैनन् ।’
माया लाउछौं घातैघातको
दिन ढल्केर रात भो
मन उडेर पात पात भो
केटाहरु फेरी गाउन थाले । आधा घन्टापछि रारा लाग्ने ओरालो शुरुहुनै लाग्दा उनीहरुले हामीलाई भेट्टाएपछि थाहा भो दुबै राती सुतेका थिएनन् । अघिल्लो दिन जगबहादुरको स्कुल श्री महादेव निमावीको बार्षिकोत्सवमा दिउसोका कार्यक्रम सकिएपछि साँझ उनीहरूले दोहोरी थालेका रहेछन् । विहान तीन बजेसम्म गाएपछि सुतेका केटाहरु छ बजे उठेर बाटो लागेका थिए । ‘केटी जिस्काको होइन,’ प्रकाशले रोमबहादुरको ठट्यौली संकेत गर्दै भने- ‘मेरो मावली गाउँ हो त्यो । जुम्लाबाट फर्केको । कार्यक्रम रहेछ । हेरेर जाउँ भनेर एकरात बसें ।’
जुम्लाका हसिला ठिटाहरु : जंगलका गायकहरु !
‘जुँगाको रेखी बसेछ,’ एउटा खुट्किलोमा ओर्लिन लागेको जगबहादुरको ओठमा हल्का रौंहरु देखेपछि मैले ठट्टा गरेको थिएँ- ‘अब तन्नेरी भइयो ।’ अनुहार रातो बनाएको जगबहादुरले मलाई लजाएकी किशोरीले झैं हेरिरहँदा प्रकाशले एउटा चोटिलो जवाफ दिएको थियो- ‘मर्दको छोराको जुँगा आइहाल्छ नि !’
जगबहादुर बाटो आसपास झाडीमा छिरेर अचार बनाउने हाँगाहरु भाँच्न व्यस्त हुँदा प्रकाश बेलाबेलामा गीत गाउँदै मसँग गफिन थाल्यो । मैले ऊसँग जुम्ला-मुगुको जिन्दगीबारे सोधेको थिए । ‘हामी यहीँ जन्मेका,’ प्रकाशले भन्यो- ‘यहीँ हुर्केका । हिड्न बानी परियो । अहिले झोलामात्रै छ, ३० केजीको भारी बोकेर हिड्नु पर्छ । तल्तिरका मान्छेलाई गाह्रो हुन्छ किनकी उनीहरु बानी परेका हुदैनन् ।’
मैले दुइ साताको कर्णाली यात्रामा भेटेका मध्ये सबैभन्दा तेज केटा थियो ऊ जोसँग यो क्षेत्रको विकाशबारे आफ्नै योजना र सपना थिए । ‘अशिक्षा यहाको ठूलो समश्या हो सर,’ ओरालीको एउटा चिप्लो भाग नाघेपछि उसले भन्यो- ‘मान्छेले पढेका छैनन् । हन्ड्रेडमा हन्ड्रेड पर्सेन्ट शिक्षित भए भने विकास हुन्छ ।’ पहिलेका मान्छेले जानेनन्, उसले भन्यो, जडिबुटी भएर के गर्नु उपयोग गर्न सकेनन् । ‘कला विनाको गला,’ ‘परिस्थितीले जे ल्याउछ, भविश्यमा त्यही गर्ने’ योजना भएको ठिटोले भन्यो- ‘गला विनाको कला ।’ सबैभन्दा पहिलो आवश्यकता यातायात भएको औल्याउदै उसले त्यसपछि खानेपानी, विद्युत र रोजगारीमा जोड दियो ।
रोमबहादुर महतसँग दिनेश वाग्ले (दायाँ)
रारा ताल मास्तिरको कराली खर्कमा रोमबहादुर महत
जगबहादुर र प्रकाशसँग वाग्ले
हामी रारा आउनै लागेका थियौं र मसँग गफिदैगर्दा प्रकाशले गीत गाउन छाडेको थिएन-
रारातालको छेउ
मनपर्ने मायालु नजर जुर्राईदेउ
‘दु:खको कुरा,’ राराबारेका सपना मेरो डायरीमा उतार्न आग्रह गरेपछि प्रकाशले लेखेका थियो- ‘निकुन्जमा होटल, आर्मी क्याम्प र निकुन्ज कार्यालयले ताललाई फोहोर बनाएका छन् ।’
आठौं स्कुलमा आठौं कक्षा पढिरहेको प्रकाशको परिवार चौथाबाट विस्थापित भएर गमगढी नजिकैको लामाचौरमा बस्छ । बाबु सेनाको तरकारी ठेक्का गर्छन्, आमा परिवारको मूलीको भूमिकामा छिन् । ‘म चार कक्षासम्म पढेकी,’ एउटा संयोगको भेटमा प्रकाशकी २९ बर्षे आमाले भनिन्- ‘मलाई थाहा छ विद्यार्थीको दुख । भारी नबोके पनि पढ्न सुख हुदैन । जति दु:ख गरेर पनि उसलाई पढाउछु ।’ भाइबहिना भन्दा प्रकाश सज्जन र जिम्मेवार भएका उनले बताइन् ।
कर्णाली घुमाउ टोपर्यो लौरी बगाउदैन
बैरागीका बाजा मन डुली अगाउदैन
मेरो अनुरोधमा जगबहादुरले क्षेत्रको चर्चित देउडा गाएपछि रारा आइपुग्ने बेला रोमबहादुरले केटाहरुसँग दोहोरी थाले- रातभरी नडुल, विग्य्रौला । तत्कालै प्रतिवाद आयो-
जाडोले मनभित्र छुदैन
गीत गाउदा विग्रेको हुदैन
प्राय क्यासेट र रेडियो नेपालमा गीत सुन्ने केटाहरु यदाकदा बजारमा टीभी हेर्दारहेछन् । बाटोभरी लोक-दोहोरी गाएपनि प्रकाशले सबैभन्दा मन पर्ने गायकको नाम भन्दा म अचम्मित भएको थिए । ‘स्वरुपराज आचार्य,’ उसले भन्यो र गाउन थाल्यो-
धेरै माया दिदा रैछन् मुटु चोरी लानेहरु
प्रेमको पखाईमा बस्दा रैछन् साचो माया दिनेहरु
त्यसपछि उसले गायकको नाम विर्सिएको भन्दै ‘मनकी रानी’ एल्बमको गीत सुनायो-
कालो वादल फाटेर हो कोही दिन त घामलाग्ला
यो दुखिलाई सम्भियौ भने अप्ठेरोमा काम लाग्ला
हे मैच्याङ् कालो केशमा रिवन बाँधेको
रारा नजिकै मिलिमा वाग्ले । ताल पृष्ठभूमीमा ।
रंगीन फुलहरुले ढकमक्क रारा किनारमा वाग्ले
भूई ऐसेलुले भरिएको प्लेट समाउदै वाग्ले । ती फल रारा ताल किनारको जंगलबाट टिपिएका हुन् (माथी)
त्यति सुनेपछि उनीहरुलाई ट्रिट गर्ने पालो मेरो थियो । झोलाबाट आईपोड निकालेर प्रकाशका कानमा इयर फोन अड्काएपछि मैले नेपाली लोक रिमिक्स गीत घन्काईदिएको थिए । मलाई यस्तो लाग्यो, त्यो उसको जीन्दगीमै एउटा अविस्मरणीय सांगीतिक क्षण हो । नजिकै शान्त रारा अस्ताउदो घाममा टलपलाइरहदा प्रकाश त्यस अघि कहिल्यै नसुनेको गीत गुनगुनाउन थाल्यो- ठूलो स्वरमा ।
घरबेटी…. आगनीमा….बास…
…दिलैमा …बास
‘यी गीत मैले सुनेको थिएन,’ प्रकशले आइपोड अनुभव सुनायो- ‘सबै ध्यान त्यसैमा आकर्षित हुँदो रहेछ ।’ चर्को स्वरको इयरफोन सुन्नेलाई आफूले ठूलो स्वरमा गुनगुनाएको थाहा हुदैन । त्यसैले प्रकाशले गायकलाई पछ्याउने प्रयासमा कराउदा जगबहादुर ‘किन केही शब्दमात्र त्यस्तरी कराएको होला’ भन्न खोजेझैं हेरी रहेको थियो । आधा घन्टापछि आइपोड जगबहादुरसँग थियो र ऊ वेस्सरी ‘बाइरोड… उडाउदै…धुलो’ कराउँदा प्रकाशले हाँसो थाम्न सकेन ।
बादल लागेको एक विहानी रारा ताल
नेपालको सबैभन्दा ठूलो ताल पाच किलोमिटर लामो र दुई किमी चौडा छ ।
ताल १६७ मिटर गहिरो छ ।
United We Blog!: Up to Rara Lake with Dohori Dhun All the Way