फ्रेन्च बोल्ने भ्यागुतो र अनुवाद साहित्य

दिनेश वाग्ले
(यो लेख पहिलो पल्ट शनिवारको कान्तिपुरमा प्रकाशित भएको हो ।)

काठमाडौं- थाहा छैन कति नेपालीले ‘फ्रेन्च किस’ गर्छन्, तर यहा थुप्रैले फ्रेन्च कट दारी पाल्छन् र अनेकौं थरीका फ्रेन्च वाइन चाहेजति पिउन पाइने काठमाडौंका रेष्टुरेन्टमा ‘फ्रेन्च वाईन’ टन्नै खाइन्छ ।

फ्रान्सको प्रसंगमा लोकप्रिय विश्वास छ, धेरैजसो कुरा उताबाट यता आउँछन्- आठ हजार मिटर अग्लो नेपाली हिमालका पहिलो आरोहीदेखि नाट्यघरमा अहिलेका चल्तीका नाटकसम्म । १९५० मा अन्नपूर्ण- १ चढेर फ्रेन्च पुरुष माउरिस हर्जोगले नेपाली शिखरको उद्घाटन गरिदिएका थिए भने राजधानीमा ‘डाक्टर कनक’ नामको फ्रेन्च नाटक चलिरहेको छ । केही साता अगाडि फ्रान्सकै नेपालीमा अनुदित नाटक ‘न्यायप्रेमी’ हाउसफुल चलेर सुपरहिट सावित भयो- पैसा तिरेर हेर्न खोज्नेहरू सिट नपाएपछि फर्किनुपर्‍यो !

फ्रेन्चहरू पनि हामीप्रति खुबै तानिन्छन् । पूर्वफ्रेन्च राजदूत मिसेल जोलिभेँका अनुसार राजनीति ब्रिग्रेको र हिंसा चर्किएको वर्ष२००५ मा पनि १६ हजार फ्रान्सेलीले नेपाल भ्रमण गरेका थिए । उतिसारो नेपाली फ्रान्स नजालान्, तर फ्रेन्च सिक्ने उल्लेख्य छन् । यात्रा र भाषा सिक्ने कुरो गर्दा एउटा जानकारी दिऊँ, नेपालका धेरै ठाउँ पुगेको ख्यातिप्राप्त घुमन्ते भ्यागुतोले यसैसातादेखि फ्रेन्च भाषा ‘सिकेको छ’ र अबका दिनमा उसले फ्रेन्चहरूलाई नेपाली पदयात्राबारे जानकारी दिने अपेक्षा छ । पत्रकार तथा पदयात्री कनकमणि दीक्षितले तर्राईदेखि हिमालसम्म पुग्दाको अनुभव समेट्दै लेखेको किताब ‘धुमधामको घुमघाम’ फ्रेन्चमा अनुदित भएको हो । मुख्यतः बाल पाठकका लागि लेखिएको किताबको मुख्य पात्र भ्यागुतो हो, जो ‘भक्तप्रसाद’ कहलाइन्छ । भर्खरै किशोरावस्था नाघेको काठमाडौंको भ्यागुतो थुप्रै नेपाली ठाउँमा पुग्न टिनको बट्टामा तैरिँदै खोलामा बग्छ, भरिया, गधा र याकहरूको पछाडि बस्छ र दुर्गम गाउँ पुगेपछि एकजना पाइलटको र्सटको गोजीमा बसेर काठमाडौं फर्किन्छ ।

केही महिना अगाडि कान्तिपुरसँगको अन्तर्वार्तामा दीक्षितले पुस्तकको भ्यागुतो आफैं भएको उल्लेख गरेका थिए । (अब यो नठान्नुस्, दीक्षित पनि पाइलटकै गोजीमा आए ।)

अंग्रेजीमा लेखिएको भ्यागुतो यात्रा विवरण नेपाली र नेवारीदेखि इटालियन र जापानी लगायत विश्वका दर्जन भाषामा अनुदित छ । केही वर्षअगाडि किताबको अंग्रेजी संस्करण देखेपछि प्रभावित काठमाडौंको फ्रेन्च स्कुलकी शिक्षिका नाताली क्रोजोले प्रत्येक पाठ फ्रेन्चमा अनुवाद गर्दै विद्यार्थीलाई पढाएकी थिइन् । एक वर्षघि फ्रान्स फर्किने बेला उनले काठमाडौंको फ्रान्सेली भाषा/संस्कृति पर््रबर्द्धक संस्था ‘अलियस फ्राँसेस’लाई ‘(भ्यागुतो यात्राको) अनुवाद गरेकी छु, छाप्ने हो भने सित्तैमा उपलब्ध गराउँछु’ भनेकी थिइन् ।

‘नेपाल आउने या आएका फ्रेन्च भाषीलाई किताबले यो देशबारे जानकारी दिनेछ’, फ्राँसेसका उपनिर्देशक प्रविण राणाले भने- ‘फ्रान्समा स्कुले सर्न्दर्भ सामग्रीका रूपमा ठाउँ पाए झन् राम्रो ।’

भक्तप्रसाद भ्यागुतोले फ्रान्सका भिल्ला र अंगुर बगैंचामा पुगेर कत्तिको रम्ने हो, हेर्न बाँकी छ तर याद राखौं, फ्रेन्चमा अनुदित हुने यो पछिल्लो नेपाली कृति हो, पहिलो होइन । पारिजातको ‘शिरिषको फूल’ झन्डै एक दशकअघि अनुदित भएको थियो भने राणाका अनुसार, कवि मञ्जुलका केही कविता स्पेनीबाट फ्रेन्चमा ढालिएका छन् । (सुरुमा उल्लिखित दुइ फ्रेन्च नाटक कल्पना घिमिरेले अनुवाद गरेकी हुन् ।) विदेशी भाषामध्ये अंग्रेजीमा सबैभन्दा बढी नेपाली किताब अनुदित छन् तर अर्थतन्त्रमा जस्तै अनुवादमा पनि निर्यातभन्दा आयात बढी छ ।

फ्रेन्चका अगाडि अंग्रेजीको कुरा गर्‍यो भने आँखीभौं खुम्च्याइदिन्छन्, किनकि उनीहरू आफ्नो भाषा भनेपछि हुरुक्कै हुन्छन् । अमेरिकी इन्टरनेट र्सच इन्जिन गुगलको लोकप्रियता, प्रभाव र पुस्तक कम्प्युटरकृत गर्ने योजनालाई सन्तुलन गर्न फ्रान्सले अघिल्लो वर्षआफ्नो राष्ट्रिय पुस्तकालयलाई डिजिटलकृत गर्न थालेको थियो । गतवर्षमार्चमा ब्रसेल्समा आयोजित युरोपेली युनियन (इयु) को शिखर बैठकमा आफ्नै देशका एकजना नेताले ‘कारोबारको भाषा अंग्रेजी’ भएको भन्दै अंग्रेजीमै भाषण थालेपछि तत्कालीन फ्रेन्च राष्ट्रपति ज्याक सिराक रिसाउँदै बाहिरिएका थिए । ‘एकजना फ्रेन्चम्यानले अंग्रेजी बोलेको सुन्दा म पूरै स्तब्ध भएँ’, सिराकले संवाददाताहरूलाई बताए- ‘भविष्यको विश्वलाई एउटै भाषा र संस्कृतिमा आधारित गर्न सक्नुहुन्न । त्यो नाटकीय पतन हुनेछ ।’ १० करोड मानिसले मातृभाषाका रूपमा प्रयोग गर्ने फ्रेन्चलाई प्रबर्द्धन गर्ने प्रतिबद्धता प्रकट गरे । कुनै समय इयुमा प्रभुत्व जमाउने फ्रेन्च भाषालाई बेलायतको अंग्रेजी पत्रिका गार्जियनअनुसार, १९९५ मा स्वीडेन र फिनल्यान्डको इयुमा आगमन र २००४ मा इयुको पूर्वी युरोपमा फैलावटपछि अंग्रेजीले पछाडि पारिदिएको छ ।

सिराकको भावनाको सम्मान गर्दै भन्नुपर्छ, अहिलेको संसारमा अंग्रेजीको नकार्न नसकिने महत्त्व छ । राणाका अनुसार, नेपालमा वर्षोनि २३-२४ सयले फ्रेन्च सिक्छन्, तर अंग्रेजी ? त्यसको कुरा नगरौं ! अनुवादमा पनि त्यही हो । अनुवाद अध्ययनमा पीएचडी गरेका डा गोविन्दराज भट्टर्राईअनुसार, नेपालीबाट १६ वटाजति विदेशी भाषामा अनुवाद गरिएको छ भने विसं १८५५ देखि अन्य भाषा (संस्कृत) बाट नेपालीमा अनुवाद गर्न थालिएको हो । साहित्यिक कृतिमध्ये नेपालीबाट सबैभन्दा बढी अंग्रेजीमा र त्यसपछि भारतीय भाषामा अनुवाद भएका छन् । त्यस्तै नेपालीमा सबैभन्दा बढी अंग्रेजीबाटै भएका छन् । नेपालीबाट अन्य भाषामा अनुदित साहित्यिक कृति एक हजारजति भएको डा भट्टर्राईको अध्ययनले देखाउँछ ।

नेपालका उत्कृष्ट कैयौं कृति (मुनामदन, सेतो बाघ, सुम्निमा आदि) अंग्रेजीमा अनुदित छन् भने नारायण वाग्लेको पल्पसा क्याफे, प्रदीप नेपालको एक्काइसौं शताब्दीकी सुम्निमा र विभिन्न लेखकहरूको कथा संग्रह ‘द्वन्द्व र युद्धका कथा’ अंग्रेजीमा निस्कने अन्तिम तयारीमा छन् । ‘अनुवादको अर्थ एकअर्कालाई जान्ने प्रयास गर्नु हो’, डा भट्टर्राईले भने- ‘जो प्राचीनकालदेखि चलेको छ । भाषाको डाँडाले छेलिएका कलाको कामलाई अनुवादले देखाउँछ ।’ उताका स्तरीय कृति नेपालीमा आउनु उपलब्धि भएको उल्लेख गर्दै उनले नेपाली साहित्यलाई अन्यमा लैजानु पनि आवश्यक भएको बताए । ‘विश्व साहित्यमा नेपालीको प्रशंसा नै हुँदैन’, उनले भने- ‘अंग्रेजीमा लेख्नुपर्‍यो कि अनुवाद गर्नुपर्‍यो ।’

खैर, अंग्रेजीको कुरा पनि छाडिदिऊ, फर्किऊँ भ्यागुतो यात्राको फ्रेन्च संस्करण (लेजा भेन्चुर ड्युन ग्रुनइ नेपालेज) र्सार्वजनिक गरिएको एलियस फ्राँसेसको समारोहमा जहाँ निम्तालुलाई अंग्रेजीमा लेखिएको निम्तापत्रमा ‘फ्रेन्च कन्ट्री-शैलीको बफे’ प्रस्ताव गरिएको थियो । ‘काँक्राको चाना र गाँजर पो थियो’, एकजना खान्की शौखिन संवाददाताले भने । काँक्रो देखेपछि घरतिर हुइँकिएका अर्काले सुनाए- ‘मैले मेन कोर्स पो छुटाए कि !’ माछो-माछो (भक्तप्रसाद) भ्यागुतो !