आलम्पुका थामीको जिन्दगानी

दिनेश वाग्ले

काठमाडौं- कुमारी हलको एउटा कुनामा शुक्रबार काखेबच्चासहितको अनपेक्षित जोडी देखेपछि संवाददाताहरूले टिप्पणी गरेका थिए- हैन, यी कुनाका मान्छे हुन् कि क्या हो ? दक्षिण एसियाली वृत्तचित्र महोत्सवअर्न्तर्गत रसुवाको विकट गाउँमा पुल निर्माणबारे केसाङ छेतेनको चलचित्र ‘हामी कुनाका मान्छे’ हेने सुरमा रहेका पत्रकारले तत्कालै थाहा पाए- ती कुनाकै रहेछन् तर अर्कै कुनाका । दोलखाको दुर्गम गाउँ आलम्पु-५ का वेदबहादुर थामी र उनकी पत्नी जालमाया महोत्सवमै देखाइने अर्को चलचित्र ‘अ लाइफ विथ स्लेट’ का मुख्य पात्र रहेछन् जसका लागि राजधानीमा यो दोस्रो र कुमारीमा पहिलो भ्रमण थियो ।

‘खानीमा जाने, ढुंगा निकाल्ने, बोकेर तल गाउँमा लगेर बेच्ने/घर छाउने, पैसा लिने र त्यसैले अन्नपात किनेर ल्याउने,’ गाउँमा के गर्नुहुन्छ भनी सोध्दा वेदबहादुरले नरोकिई त्यति भने । उनको त्यही भनाइले तन्नेरी वातावरण-इन्जिनियर दीपेश खरेलले बनाएको वृत्तचित्रको संक्षेपीकृत गर्छ । दोलखाबाट चार घन्टाको गाडी यात्रा र एक दिन पैदलमा पुगिने आलम्पुका थामीहरूले गुजाराका लागि गाग्रोफुटे डाँडाको अक्करे पहरामा निर्दयी चट्टान फोर्दै चिटिक्कका घर छाउने ढुङ्गा निकाल्नु पर्छ । त्यसपछि तिनलाई आफ्नै ढाडमा राखेर दिनभरी हिँड्दै अर्को गाउँमा पुर्‍याएर बेच्नु पर्छ । जिन्दगी कठिन छ तर त्यसले मिहिनेती थामीहरूलाई यदाकदा भैंसी ढालेर पकाइएको मासु र छ्याङमा झुम्मिँदै गाउन र नाच्न निरुत्साहित पारेको छैन ।

‘उब्जनी अलिअलि मात्र हुन्छ, खान पुग्दैन,’ हाइनेकमाथि दौरा सुरुवाल र त्यसमाथि कालोकोट र छाला जुत्तामा ठाँटिएका वेदबहादुरले भने- ‘(ढुंगा) खानीबाट खाने मेसो हुन्छ ।’ २०५४/५५ तिर पहिलोपटक काठमाडौं आएका थामीले रञ्जना हलमा कुनै हिन्दी चलचित्र हेरेका थिए जसको उनलाई नाम थाहा छैन । चरिकोट पुगेका बेला नेपाली चलचित्र फाट्टफुट्ट हेर्ने उनले पछिल्लोपटक हेरेकामा ‘निखिलहरू (हिरो) थिए ।’ आफैं ‘हिरो’ भएको चलचित्र उनले पहिलोपटक शुक्रबार हेरेका थिए । त्यसकै लागि निर्देशकको निम्तामा उनी काठमाडौं आएका थिए । उनीसँगै बसेका तर उनलाई नचिनेका दर्शकलाई चलचित्रका कतिपय दृश्यले खित्का छाड्दै हाँस्न बाध्य तुल्याएका थिए । त्यसरी हँसाउने एउटा दृश्यमा वेदबहादुर-जालमाया झगडा गरिरहेका थिए ।

नर्वेको ट्रोम्सो विश्वविद्यालयमा दृश्य इन्जिनियरिङ र मानवशास्त्रका विद्यार्थी दीपेश आलम्पुबाट एक दिन टाढाको गाउँ सुनखानीका हुन् र थामी जीवनले आफूलाई सानैदेखि आकषिर्त गरेको उनले बताए । ‘एमएको थेसिस मैले उनीहरुको जीवनशैलीबारे गर्ने निर्णय गरें,’ सन् २००५ मा दुइ महिना थामी बस्तीमा बसेर बनाएको वृत्तचित्रलाई १३ वटा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा देखाइसकेका उनले भने- ‘क्यामेरालाई अध्ययनको साधनका रूपमा प्रयोग गर्ने पद्धतिअर्न्तर्गत मैले वृत्तचित्र बनाएको हुँ ।’