डकुमेन्ट्री हिम्मत र वृत्तचित्र फेसन

दिनेश वाग्ले
(यो लेख पहिलो पल्ट शनिवारको कान्तिपुरमा प्रकाशित भएको हो ।)

ट्राफिक व्यवस्था खलबल्याउनेगरी माओवादीले बिहीबार काठमाडौंको केन्द्रमा गरेको र्‍याली छल्दै दक्षिण एसियाली वृत्तचित्र महोत्सव हेर्न कुमारी हल पुग्दा पर्दाका दृश्यले तिनै बाहिरी खैलाबैला सम्झाउलान् भन्ने मैले सोचेको थिइन । भक्तपुरकी कुमारीको जीवनीमा आधारित ‘लिभिङ गडेस’ फिल्मले सडकमा गणतन्त्रको माग घन्किँदै जाँदा राजालाई शक्ति दिने भनिएकी जीवित देवीप्रति नेपाली समाजमा घटिरहेको विश्वासलाई चित्रण गरेको छ । कतिपय भक्तजनले सम्मानका साथ पूजा गर्ने फुच्ची सजनी शाक्यको जिन्दगीका विरल दृश्यहरू फिल्मका सबैभन्दा प्रभावी पक्ष भए पनि बेलायती इजावेल ह्विटकरले फिल्मको विषयवस्तुका लागिभन्दा विदेशीलाई मनमा राखेर वृत्तचित्र बनाएजस्तो लाग्छ ।
महोत्सवमा आइतबार प्रदर्शन गरिने फिल्मको समीक्षा गर्नेभन्दा अहिले मलाई नेपाली (सहरी) समाजमा लोकप्रिय भइरहेको वृत्तचित्र संस्कृति र फिल्म हेर्ने किताब पढ्ने सम्बन्धबारे कुरा गर्न मन छ । ‘फिल्म साउथ एसिया’लाई धन्यवाद दिनुपर्छ, यसले सहरी नेपाली समाज (कम्तीमा काठमाडौंमा) वृत्तचित्र हेर्न बानी बसालिदिएको छ, वृत्तचित्र हेन फेसनेबल भएको छ । काठमाडौंमा वर्षा अनेकौं खाले वृत्तचित्र महोत्सव हुन्छन्, जहाँ अनेकौं थिममा केन्द्रित गैरआख्यान फिल्महरू देखाइन्छन् । तीमध्ये दुइ-दुइ वर्षमा हुने यो र ‘काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिबल’ले बढी विषयवस्तु समेट्ने धेरै वृत्तचित्र प्रस्तुत गर्ने भएकाले बढी दर्शक आकषिर्त गर्छन् । यी महोत्सवको रमाइलो पक्षचाहिँ सुपरमार्केटसँग तुलना गर्न सकिन्छ- एउटै छानामुनि धेरैथोक । जस्तै- बिहीबार मैले कुमारीको भित्री कथाबाहेक लन्डनमा हुर्केका दुइ व्रिद्रोही बंगाली दिदी-बहिनीको बिहा व्यथासम्म हेरेँ । शुक्रबार एउटी बलात्कृत पाकिस्तानी महिला विश्वभरि संघर्षकी प्रतीक बनेको प्रेरणादायी कथा आँखा झिमिक्कै नगरी हेरेँ । दोलखाको एउटा विकट गाउँका थामी जातिले जिउनका लागि अक्करे पहरामा पुगेर घर छाउने ढुङ्गा निकालेको संघर्षपुर्ण कथाले ‘आम्मै हामी अझै अठारौं शताब्दीको दुःखदायी अवस्थामा छौं है’ भन्न बाध्य तुल्यायो ।
महोत्सवको माहोल कस्तो हुन्छ भने सिट नपाए भुइँमै बसेर हेर्न कत्ति असजिलो र नरमाइलो लाग्दैन । सिनेमा सकिएपछि दर्शकले महोत्सवमा उपस्थित फिल्म निर्माताहरूसँग प्रश्नोत्तर गर्न पाउनु अर्को रमाइलो हो । सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ यस्ता महोत्सवमा सामेल वृत्तचित्रले हाम्रै या विदेशी समाजमा भइरहेका तर मूलधारको मिडियामा हत्तपत्त ठाउँ नपाएका, पाए पनि हाम्रो ध्यान नपुगेका विषयलाई खितित्त हँसाउने र तप्प आँसु झार्नेगरी भन्छन् ।

भनिरहनै पर्दैन, वृत्तचित्र अभिव्यक्तिको एउटा माध्यम हो, कथा भन्ने धेरैमध्येको एउटा तरिका हो । त्यस्तै मेरो पेसा मुद्रण पत्रकारिताको भिडियो समकक्षी हो । बितेका १० वर्षेखि दक्षिण एसियाका वृत्तचित्र काठमाडौंमा ल्याएर प्रतिस्पर्धात्मक प्रदर्शनी गराउने काम पनि एउटा पत्रिकाले गरिरहेको छ । पत्रकार भनेका स्टोरी टेलर (कथावाचक) हुन्, जसले कुनै पनि घटना विवरण भनिदिन्छन् । वृत्तचित्र बनाउन पत्रकार हुनैपर्छ भन्ने होइन, तर शब्दले पर्याप्त अभिव्यक्त नहुने अवस्थामा वृत्तचित्र प्रभावी भएको थुप्रै उदाहरण देखेको छु । हिंसा पीडित नेपाली समाजका कथालाई एकजना गैरपत्रकारले बनाएको ‘रक्ताम्य गराहरू’जस्ता वृत्तचित्रले अखबारहरूले भन्दा प्रभावी ढंगमा भनेका छन् ।
पत्रिकामा कुनै एउटा लेख अर्कोभन्दा रमाइलो भएजस्तै हुन्छ, वृत्तचित्रमा पनि । शुक्रबार देखाइएको हत्या गरिएकी श्रीलंकाली मानवअधिकारकर्मी बारेको वृत्तचित्र गम्भीर र सोच्न बाध्य तुल्याउने खालको थियो भने बेलायत पुगेको एउटा बलिउड छायाङ्कन टोली बारेको डकुमेन्ट्री हेदा दर्शकमा बारम्बार हाँसो छाएको थियो भने पर्दामा कामुक दृश्य आउँदा उनीहरूका गाला राता भएका थिए ।

(अँध्यारो हलमा गाला रातै भए-नभएको मैले देखिन, तर आफ्नै अनुभवका आधारमा भन्नुपर्दा हल्का अप्ठेरो र लाज पक्कै भएको थियो !) मनोरञ्जनका लागि वृत्तचित्र मूलधारका फिचर सिनेमाका विकल्प हुन सक्दैनन् र नेपाली फिचर फिल्मले दर्शक पाउनसकेका छैनन् भनेर जतिसुकै टिप्पणी गरिए पनि तिनको जति लगानीमा वृत्तचित्र बनाएर व्यावसायिक रूपमा सफल हुने अवस्था छैन । एउटै वृत्तचित्रले व्यापक रूपमा दर्शक बटुलेको उदारहण (भेँडाको ऊनजस्तो बाहेक) विरलै भेटिएलान् । तर समग्र वृत्तचित्र हेर्न सहरी दर्शक बढिरहेको मेरो अनुभव छ ।

उसो त फिल्म हेर्ने कुरा भयो, मेचमा बसेर अडेस लागेपछि आँखा खोलिदिए पुग्यो । झिलिमिलीले कसलाई आकषिर्त पार्दैन ? त्यसैले धेरैले कुनै पनि घटना या कथाका किताब पढ्नुभन्दा तिनै बारेका फिल्म हेर्नु बढी रुचाउँछन् । त्यस्तै मध्येको एकजना मेरा मित्र सुदीप श्रेष्ठ बलिउड सिनेमाका ठूला फ्यान र टिप्पणीकर्ता हुन्, जो कान्तिपुरमा आर्थिक समाचार नलेखेको समय श्यामश्वेत स्कृनवाला कम्प्युटरमा रेडिफ कम खोलेर चुपचाप नयाँ सिनेमाका समीक्षा र हिरोइनका तस्वीर हेरिरहेका हुन्छन् । उनको मन्त्रै छ- फस्ट डे, फस्ट सो । एकदिन एउटा किताब पढ्ने चर्चा चल्दा अचानक उनले सोधेका थिए- ‘त्यसको फिल्म बन्या छैन भन्या ? म त्यही हेरिदिन्छु । दुइ घन्टामा कुरो सकियो ।’ किताबप्रति उनको शत्रुता पक्कै छैन (केही अगाडि पंकज मिश्रको ‘इन्ड टु सफरिङ’ लगेर मलाई फिर्ता दिन निकै समय लगाए) तर त्यो टिप्पणीले फिल्म हेर्राई र किताब पढाइको सम्बन्ध र आयामको प्रतिनिधित्व गर्छ ।

सन् २००४ तिर विश्व बेस्ट सेलिङ सूचीहरूमा राज गरिरहेको आख्यान ‘द दा भिन्ची कोड’ पढेपछि म कति प्रभावित भएँ भने त्यो पुस्तक, त्यसका लेखक र त्यसैमाथि बनेको त्यही नामको फिल्म बारेका कुनै समाचार देख्नेबित्तिकै ध्यानपूर्वक पढ्ने र कतिपयलाई अनुवाद गर्ने गर्थें । गोपीकृष्णमा खै कुन्नी के कारणले हेर्न छुटेको सिनेमा केही साता अगाडि एचबीओमा हेरेपछि मैले आफैंलाई धिक्कारेँ- बेकारमा हेरेछु । डन ब्राउनको कथालाई निर्देशक रन हावार्डले न्याय नगरेका होइनन्, तर किताब पढ्दाको मज्जा र सनसनीको पाँच प्रतिशत पनि मलाई दुइ घन्टाको फिल्मले दिएन । किताब पढ्दाको रमाइलो के भने कथा अगाडि बढ्दै जाँदा त्यसको कल्पना असीमित ढंगमा पाठकले गर्न पाउँछ, पढ्दै जाँदा दिमागमा फिल्म धमाधम आउँछ । हिरो आफैं हुन पाइन्छ, हिरोइनसँग रोमान्स पनि आफैं गरिन्छ- कतिपय सर्न्दर्भमा लेखकले वर्णन गरेको भन्दा बढी !
सुदीपले त्यो अनुभव कत्तिको लिएका छन् कुन्नी, तर डकुमेन्ट्री बनाउने सपना म उनको आँखैमा देख्छु । काशी किनारमा जीवनको अन्तिम क्षण बिताइरहेका नेपाली बूढीहरू बारेको मेरो लेख पढेपछि उनले तत्कालै टिप्पणी गरेका थिए- ‘यार, गजव विषय । जानुपर्‍यो डकुमेन्ट्री बनाउन ।’ त्यसयता मैले सोचेको छु- वृत्तचित्र त बनाओस्, कतै मेरो साथी विरत्तिएर काशीमै नबसोस् !

लेखाइका तुलनामा वृत्तचित्र महँगो माध्यम निश्चित हो, कम्प्युटर अगाडि बसेर शब्द टाइप गरेजति सहज त्यो छैन । (लेख्न पनि त्यति सजिलो कहाँ छ र ?) बितेका वर्षरूमा वृत्तचित्र बनाउने प्रविधिमा व्यापक सुधार आएकाले त्यो केही सस्तिएको छ । धेरै युवाहरू त्यो विधामा आकषिर्त भएका छन् र उनीहरूले चकित तुल्याउने कथालाई वृत्तचित्रमार्फ र्सार्वजनिक गरेका छन् । तर पनि डकुमेन्ट्री बनाउन सानोतिनो साहस गर्नैपर्छ, जो यसपालीको वृत्तचित्र महोत्सवको नारा पनि हो- ‘डेयर टु डकुमेन्ट्री’ अर्थात् ‘वृत्तचित्र बनाउन हिम्मत गरौं ।’

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s