यातनाको कालभैरव

दिनेश वाग्ले

काठमाडौं- भारतीय सूचना प्रविधि सेन्टरमा काम गर्ने युवतीहरूको रोचक जीवनी, जुँगे बंगालीहरूको हँसाउने विवरण तथा प्रेम, सहिष्णुता र मस्तीको शिक्षा दिने सुफी सन्तहरूको मस्त कलन्दर कथाले दक्षिण एसियाली वृत्तचित्र महोत्सवअन्तर्गत शनिबार दर्शकहरूलाई भावनाका उकाली-आरोली हिँडाए । तर एउटा नेपाली वृत्तचित्रले कुमारी हलबाहिर चियापसलसम्म परस्पर विरोधी तर्कयुक्त चर्चा बटुल्यो ।

वृत्तचित्र ‘क्षमा देऊ ! तर नबिर्स !’ मा तत्कालीन शाही नेपाली सेनाले थुनेर अमानवीय यातना दिएका एक पत्रकारले घटनाको बेलिविस्तार लाउँछन् । एक माओवादीसँग अन्तर्वार्ता गरेपछि मोटरसाइकलमा राखेर हिँडिरहेका ‘समदृष्टि’ साप्ताहिकका भाइकाजी घिमिरेलाई सेनाले छापामार शैलीमा पक्रिई १५ महिनासम्म भैरवनाथ गुल्म र शिवपुरी ब्यारेकका कालकोठरीमा थुनेको थियो । निर्दयी र दिमाग पूरै धोइएका जस्ता लाग्ने सैनिकले उनी र ब्यारेकमा थुनिएका अन्यलाई चरम यातना दिएका थिए । सत्य कथाको विषयवस्तु (हिरासतमा यातना) कम्ती महत्त्वपूर्ण र हृदयविदारक छैन तर प्रयोगवादी दाबी गरिएको वृत्तचित्र आफैमा चाहिँ धेरैलाई उति आकर्षक नलाग्न सक्छ । कथा कालोपट्टी लगाएका भाइकाजीको दृष्टिकोणबाट भनिएको छ र सहयोगी दृश्यहरू खोज्न वृत्तचित्रनिर्माता प्रणय लिम्बूले गर्नुसम्मको अल्छी गरेका छन् । केही दर्शकले त्यसबारे हलमै र बाहिर चियापसलसम्ममा कुरा उठाए भने बाँकीले भन्नैपर्ने यातनाको कथा भनेकामा निर्माता लिम्बूको सराहना गरे ।

नयाँ नेपाल निर्माणका लागि समाज अघि बढिरहेको प्रसंगमा प्रतिशोधको चक्र कहिल्यै नरोकिने उल्लेख गर्दै भाइकाजी वृत्तचित्रको अन्त्यतिर भन्छन्- ‘यदि (मलाई यातना दिने) संस्था र व्यक्ति माफी माग्न आउँछन् भने दिन्छु । तर त्यसलाई बिर्सन सक्दिनँ ।’ त्यो भाइकाजीको महानता हो तर वृत्तचित्र हेरेपछि पत्रकारको कर्तव्यबारे गम्भीर प्रश्न उठ्छन् । स्रोतलाई भेटेकै आधारमा पक्राउ पर्नु भत्र्सनाजन्य हो तर पत्रकारले स्रोतलाई बाइकमा राखेर हिँड्न हुन्छ कि हुँदैन ? यातनापूर्ण सैनिक सोधपुछमा भाइकाजीले आफू माओवादी समर्थक नभएको बारम्बार उल्लेख गरेका छन् भने उनी जेलबाट छुट्नु सेनाले उनलाई माओवादी प्रमाणित गर्न नसकेको प्रमाण हो । तर खुलेआम पार्टी समर्थन गर्ने र समाचार लेख्ने या पार्टीकै मुखपत्रमा काम गर्ने यहाँ थुप्रै छन् । तिनलाई पनि पार्टी गतिविधिमा सामेल नभई करिअरका लागि पत्रकारिता गर्नेहरूकै स्तरमा राख्ने कि नराख्ने ? आस्था एउटा कुरा, पार्टीका पक्षमा लेख्दै आफूलाई सक्रिय पार्नु अर्को । त्यसले पत्रकारको छवि धुमिल्याएको छ । ‘सबै पत्रकार काउसो हौ, काउसो,’ एक सैनिकले भाइकाजीलाई यातना दिँदै यसो भनेको वृत्तचित्रमा सुनिन्छ । त्यो भनाइ नै सबै सैनिक र सैन्य अधिकृतहरूको धारणा हो भने चिन्ताजनक छ र सेनाले आफूलाई लोकतन्त्रीकरण गरिरहेको भनिएको अहिलेको अवस्थामा त्यस्ता कुरामा सुधार गरिनुपर्छ ।

निश्चयै, वृत्तचित्र आफैमा पूर्ण छैन किनकि यसले सिक्काको एउटा पाटोमात्र उजागर गरेको छ । अर्को पाटोमा माओवादीले पनि सर्वसाधारण जनता/पत्रकारलाई त्यस्तै या त्योभन्दा बढी यातना दिँदै मारेका छन् । भैरवनाथ गुल्ममा भएजस्ता सनकीहरू माओवादी जनसेनामा पनि छन् । ‘तिनका बारेमा पनि फिल्म बनाउने कोसिस गर्छु,’ निर्देशक लिम्बूले कुमारीमा वृत्तचित्र देखाएपछि दर्शकबाट आएको एउटा प्रश्नमा भने । त्यो वास्तवमै जरुरी छ ।

सम्बन्धित ब्लग:
1. Stories of Horror: From Nepal’s Abu Ghrahib-I (भैरवनाथ गणमा तत्कालीन शाही नेपाली सेनाले दिएको यातना विवरण)
2. Stories of Horror: From Nepal’s Abu Ghrahib-II

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s