हेलम्बुमुन्तिरकी माया

दिनेश वाग्ले/सुरज कुँवर
यो लेख पहिलोपटक आज शुक्रबारको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पेजमा हेर्ने भए यहाँ क्लिक गरेहुन्छ ।

Maya Lama, a girl from Keyul village below Helambu

किउल (सिन्धुपाल्चोक)– हालैको घमाइलो दिन मेलम्ची आयोजनाले बनाइदिएको धुले सडकमा हेलम्बुलाई लक्ष्य गर्दै टिम्बुतिर हान्निएका दुई तन्नेरी संवाददातासामु एक हूल युवती देखापरेका थिए । झ्याप्प दाह्री पालेका एक र सिनित्तै काटेका अर्का पत्रकारले तत्कालै झिलिमिली पोसाकमा सजिएका र दसैंको माहोलमा रमेका ती युवतीको मन चोर्न चाहेका थिए । ‘कतातिर दौडिएका हो बहिनीहरू ?’ लटरम्म फलेका स्याउ र त्यस्तै गाला भएका सोल्टिनीहरूको कल्पना गर्दै उकालिएका संवाददाताले बाटैमा अन्तर्वार्ता गर्न थालेका थिए- ‘बिस्तारै हिँडौं न, हामी पनि उतै जाने हो ।’

‘सांस्कृतिक कार्यक्रममा,’ एउटीले नरोकिईकन जबाफ दिइन्- ‘सुरु भइसक्यो ।’

‘त्यसो भए हामी पनि त्यतै जाने,’ मूल गन्तव्य बिर्सिएका संवाददाताले भने- ‘बहिनीहरू कुन (उच्च माध्यमिक) स्कुलमा पढ्ने ?’

‘हामी घाँस काट्ने केटी हौं हो दाइ,’ अर्कीले भनिन्- ‘स्कुल पढ्दैनौं ।’

‘कति राम्रा घाँस काट्ने केटी हौ यो गाउँमा !’ संवदादाताले त्यति भन्दा केटीहरूबाट एकैपटक हाँसोको फोहोरा छुट्यो जसको प्रतिध्वनि मेलम्ची खोलापारिको पहराबाट आयो । रंगीचंगी कुर्ता-सुरुवाल लगाएका र सलले ज्यान बाँधेका केटीहरूको त्यो समूहमा एउटीले सेतो टिसर्ट र नीलो जिन्स लगाएकी थिइन् । हातमा फ्रेन्डसिप ब्यान्ड बाँधेकी थिइन्, कपाल रंगाएकी थिइन् र अलि ठूलो ज्यान भएकीले होला, सबैभन्दा पछि लम्किइरहेकी थिइन् । उनी हुन् सरस्वती लामा जसलाई घरमा माया गरेर ‘माया’ भनी बोलाइन्छ । उमेर २१, शिक्षा एसएलसी जो दुई पटकको लगनशील प्रयासमा पनि पूरा हुन सकेन । बिहे भएको छैन तर अरूका बच्चा खेलाएको अनुभव छ, पैसा उतिसारो कमाउने उनी होइनन् तर अन्तर्राष्ट्रिय उडान गरेकी छन् । अहिले उनी दौडिइरहेको स्थान समेट्ने गाविस किउलमा (नजिकैको) लामाटोलकी यी बासिन्दाका आँखामा आफूले गरेको संघर्ष देख्न सकिन्छ ।

‘ह्याऽ नढाँट न,’ संवाददाताले भन्यो- ‘म जिस्केको हैन, साँच्चै सोधेको ।’

‘पढ्दिनँ हो दाइ,’ उनले संवाददातालाई छक्क पार्दै गम्भीर पारामा भनेकी थिइन्- ‘पसल चलाउँछु ।’

‘किन ?’

‘म्याथमा ३१ आयो,’ एसएलसी- को असफल नजिता उनले सम्झिइन्- ‘कम्पार्ट दिएँ, तैपनि भएन ।’

त्यसपछि उनले केही वर्षयताको आफ्नो कथा सुनाइन् जो संक्षेपमा यस्तो छ- आमा र बहिनी यहाँ, दाइ-भाउजू काठमाडौंमा । दाइ माइक्रोबस चलाउने, एक वर्ष कान्छी बहिनी स्कुल पढ्ने । अहिले दाइ-भाउजू, बहिनी र आमा भारत गएका छन् मृत्यु भएका बाबुको पेन्सन नामसारी गराउन । त्यसैले अहिलेलाई माया घरबूढी हुन् र साहुनी पनि । ‘म कुवेत गएकी थिएँ,’ उनले भनिन्- ‘बुवा बिरामी हुनुहुन्थ्यो । फर्किंदा देख्नै पाइनँ ।’

‘कहिले के, कहिले के, (स्कुल) बन्द भइहाल्छ,’ भारतमा जन्मेकी तर तीन कक्षादेखि १० सम्म स्थानीय भूमेश्वरी माविमा पढेकी मायाले आफ्नो विद्यार्थी जीवन सम्झिइन्- ‘टिचरको पनि कमी छ । एउटैले सबै क्लास भ्याउनुपर्ने हुन्छ ।’

Maya Lama, a girl from Keyul village below Helambu

‘घरेलुसम्बन्धी धेरै चाख’ भएकी केटीलाई क्याम्पस पढेपछि ‘घरैमा बसेर गृहिणीजस्तै तरिकाले केही गर्छु’ भन्ने थियो तर जीवनका सबै योजना सबै आपmनो नियन्त्रणमा कहाँ हुन्छन् ? २०६१ मंसिर १२ गते उनी कुवेत लक्ष्य गर्दै भारतको नयाँ दिल्ली हान्निएकी थिइन् । त्यहाँ तीन साता बसेपछि पुस ३ मा उनी कुवेत उडेकी थिइन्- एकजना शिक्षकका बच्चा हेर्ने ‘घरेलु’ जिम्मेवारी वहन गर्न । खानासहित महिनाको ४० दिनार तलब थियो तर घरमा बाबु बिरामी भएको खबर र कामको करार सकिँदै गर्दा उनी फर्किएकी थिइन् । ‘म २०६३ फागुन १७ गते आएँ,’ उनले भनिन् । एकजना संवाददाताले थपे- ‘फागुन १७ मेरो जन्मदिन ।’ हल्का हाँसेपछि तुरुन्तै अनुहार निन्याउरो पार्दै उनी निरन्तर भइन्- ‘बुवा माघ १४ मै बित्नुभएछ । धेरै खुसी थिएँ कति वर्षपछि घर फर्किन पाएकामा । बिरामी भएको थाहा थियो त्यसैले बुवालाई नै भेट्न आएकी थिएँ । मैले कमाएको पैसा उहाँकै उपचारमा खर्च भएको थियो ।’

भारतको अरुणाचल प्रदेशमा कुनै एउटा कम्पनीमा २८ वर्षसम्म रात्रि चौकीदारी गरेका बाबुले मायालाई ६ वर्षकी हुँदा यो ठाउँ ल्याएका थिए । उनकी आमा र भाउजू बिहे नगरुन्जेल नेपालीमूलका भारतीय थिए । ‘हाम्रो लामा चलनमा सामाजिक काममा चाहे छोरा होस् या छोरी, जानैपर्छ,’ सांस्कृतिक कार्यक्रममा भाग लिन गाउँलेलाई निम्ता गर्न निस्केका केटीमध्येकी मायाले नजिकैको डाँडाको टुप्पोतिर औंल्याउँदै भनिन्- ‘म उः त्यहाँ पनि पुगेकी छु ।’ त्यहाँ लामाको परम्परागत कार्य हुन्छ ।

बाटैमा पर्ने मायाको घरमा तस्बिर खिचेपछि हामी सांस्कृतिक कार्यक्रमस्थल, किउल-५, कविकुञ्जस्थित मेलम्ची साहित्य प्रतिष्ठान आइसकेका छौं जहाँ सयजति मानिस जम्मा भएका छन् । ‘सामन्तलाई यसै गरी कुट्नुपर्छ,’ एक पात्रले नाटकको त्यो वाक्य बोलेलगत्तै कलाकार समूहले ‘सामन्त’ लाई वाईसीएल पारामा ठोक्न थाल्यो । त्यत्तिकैमा सुनियो- ‘पख है पख ।’ नाटकको स्त्रिmप्टमा नभएको त्यो डायलग किन बोलिएको थियो भने ‘क्रान्तिकारी’ पात्रहरू हातपात गर्न समयै नभई हतारिएका रहेछन् । हेलम्बु युवा क्लबले गरेको नाटक चलिरहँदा माया अहिले नजिकैको चियापसलमा बसेर अन्तर्वार्ता गरिरहेकी छन् । निधारबाट रातो अक्षता झरिसकेका छन् तर दुई आँखीभौंबीचको कालो मेकअप टीका जस्ताको तस्तै छ । कहिले नाकका गोला पोरा ठूला पार्दै त कहिले स्याँक्क गर्दै माया अप्रत्याशित भेटिएका संवाददातासँग कुरा गर्दै छिन् ।

‘पत्रिका पढ्न एकदम मनपर्छ,’ उनले फेरि एकपटक हामीलाई छक्क पार्दै भनिन्- ‘समाचार पढ्न । देशमा भइरहेको कुरा ।’

‘देशमा के भइरहेको छ ?’

‘अब के हुनु ? चुनाव नहुने भइहाल्यो !’

‘हुनुपर्थ्यो र ?’

‘पर्थ्यो नि ! भएको भए जनताले सोचेको कुरा पूरा हुन्थ्यो होला ।’ (राम बहादुर थापा ‘बादल’ ले यो पढिरहेका छन् ?)

बादलले यो नपढेपछि, मायाका अनुसार, उनीजस्तै उमेरका गाउँका थुप्रै केटीहरू अहिले पढेका छन् र उनीहरू ‘काठमान्डू जान्छन्, काम गर्छन् ।’ मायाले चाहिँ नेपाली राजधानीभन्दा निकै टाढा मध्यपूर्वको ‘हटस्पट’ इजरायलमा काम गर्न जाने योजना बनाएकी छन् ।

Maya Lama, a girl from Keyul village below Helambu

‘फर्केको नौ महिना भयो, कुवेतमा बोलाइरहेको छ,’ उनले भनिन्- ‘तर पैसा थोरै । मान्छेको मन न हो, लोभ हुन्छ । त्यसैले इजरायल रोजेको । पुन-नपुग ४० हजार हुन्छ । अरेबियन जान्दछु, अंग्रेजी र हिन्दी पनि आउँछ । त्यसैले पाउनुपर्ने हो ।’

सायद पाउलिन् तर अहिलेलाई कुवेतकै दिन सुन्न चाहे संवाददाताले । ‘रमाइलो बसाइ,’ उनले भनिन्- ‘तीनटा थिए बच्चा । मेरो काम रोएको बच्चा फकाउने, कपडा प्रेस गर्ने । (घरमालिकका) दुइटी श्रीमती । जेठीका ८ र ४ वर्षका । कान्छीले मै गएपछि जन्माई, फर्किंदा डेढ वर्षको ।’ यदाकदा बाहिर घुम्न पाइन्थ्यो तर ‘पैसा कमाउन गएका नेपाली केटी बिग्रिन्छन् भनेर’ मालिकले जो पायो त्यहीसँग फोनमा कुरा गर्नसमेत कडाइ गर्थे । ‘सुरुका तीन महिना न्यास्रो लाग्यो, बिरानो ठाउँ, कोही चिनेको हुँदैन,’ उनले भनिन्- ‘त्यसपछि त रमाइलो ।’ मायाको मुहारमा हाँसो त देखियो तर खै किनकिन, त्यसमा उति खुसी भने अनुभव गर्न सकिएन । ‘लौ है हामी लाग्यौं हेलम्बुतिर’ भन्दै हात हल्लाउँदै बिदा भएका संवाददातालाई ‘बाईबाई’ गरेलगत्तै माया नाटक हेर्न भीडमा हराएकी थिइन् ।