दिनेश वाग्ले/सुरज कुँवर
(यो लेख पहिलोपटक आज शनिबारको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पेजमा हेर्ने भए यहाँ क्लिक गरेहुन्छ ।)
हेलम्बु (सिन्धुपाल्चोक)- ‘उसो त सात सालसम्म राणा शासन थियो,’ होटल अगाडिको खाली जग्गामा बाइक पार्क गरिरहँदा उनले भने- ‘मर्नु अगाडिसम्म मेरा हजुरबा सास फेर्दै थिए । (दुवै खुसुक्कै गए) त्यसैले मेरैपालादेखि हरायो भने हराई गो’ नि ।’ काभ्रे, कुन्ता बेसीको आफ्नो लजमा बास बस्न आएका पाहुनालाई नन्दप्रसाद सापकोटाले ‘अहिलेसम्म कसैको बाइक हराएको छैन’ भनी आस्वस्त पार्दैगर्दा पाहुनाले ठट्टा गर्दै त्यस्तो जवाफ फर्काएका थिए । हेलम्बु घुम्न निस्केका उनी साँझ छिप्पिएकाले बास बस्ने भएका थिए । ‘म पोलिटिकल एक्टिभिस्ट,’ बाइक थन्काएर ढुक्क भएपछि डाइनिङ हलमा खसीको मासुसँग चिसो वियर पिउँदै गर्दा उनले परिचय दिए- ‘यूएमएलको ।’
उनी हुन् अजम्बर राई काङमाङ- एमालेको युवा संस्था प्ररायुसंघका अध्यक्ष जसले कुनै दिन पार्टीको केन्द्रीय समितिमा पुगेर नीति निर्माणमा योगदान दिने योजना बोकेका छन् र त्यसलाई आड दिन उनी फुर्सद भयो कि यात्रामा निस्कन्छन् । ‘नेपालका ३ हजार ९ सय १५ गाविस पुग्ने लक्ष्य छ,’ उनले भने र घुमेका स्थानको लेखाजोखा थाले । ‘गाउँहरू बुझे पार्टीको सेन्ट्रल कमिटीमा पुगेपछि पोलिसी बनाउन सजिलो हुन्छ,’ उनले थपे । सडकको अन्तिम विन्दुसम्म उनी १३ वर्ष पुरानो, ४ लटको, सीडी १०० हिरो होन्डामा पुग्छन् र त्यसलाई कतै पार्क गरेर पदयात्रा थाल्छन् । ‘बिहा नहुन्जेल खुबै डुलें,’ उनले भने- ‘कहिले कहाँ पुग्थें, कहिले कहाँ, बाइकमा ।’ २०५१ मा बाइक किनेका काङमाङले ५३ मा बिहे गरेपछि ससुराले दुई पाङ्ग्रेमा धेरै नबत्तिन सल्लाह दिएका थिए । ‘अनि उनकी छोरीकै लागि बाइक कम चढ्न थालें,’ काङमाङले भने ।
चढ्नै छाडेको चाहिँ होइन ।
यसपालि उनी सिन्धुपाल्चोकको
टिम्बुमा बाइक राखेर दुई दिनमा
हेलम्बु घुम्ने योजनामा छन् । दसैंको
नवमीको दिन मेलम्चीको कच्ची
सडकमा एउटै गाडी कुदेका छैनन्
त्यसैले काङमाङले कुन्ता बेसीको
होटलमा परिचय भएका दुई जना
संवादातालाई बाइकमा लिफ्ट
दिएका छन् । ‘बलियो छ यो बाइक,’
एउटा उकालोमा त्रिपल लोड बोक्न
नसकेपछि थलापरेको बाइकलाई
एकैछिन आराम दिएका बेला उनले
आफ्नो एनालग क्यामेराबाट धान
खेतको तस्बिर खिचे र आफ्नो
सवारी साधानको बखान गरे ।
मेलम्ची बजारमा माछाको सुकुटी र
भात खाएपछि अगाडि हुइँकिएका
उनी साँझ टिम्बु मास्तिरको ककनी
डाँडाबाट लखतरान भएर ओर्लिंदै
थिए । ‘हैत ककनीको होटल बन्द रै’
छ, घरमा बास दिएनन,’ काङमाङले
भने– ‘अघिल्तिर जंगल, झपक्कै
भएकाले काटुला जस्तो लागेन,
फर्कें । थत है यसपालिको यात्रा
सफल भएन ।’
काङमाङलाई भविष्यमा यात्रा
सफलताको शुभकामना दिएपछि
विजया दशमीको दिन उकालो
लागेका संवादाताहरू साँझमा ‘तार्के
घ्याङ’ गाउँ पुगे जहाँ बौद्ध मार्गीहरू
गुम्बामा दसैं मनाइरहेका थिए । ‘यो
हाम्रो दसैं,’ समारोह सञ्चालन
गरिरहेका मुख्य लामाले संवादाताहरू
हिन्दु भएको अनुमानमा भने–
‘तपाईंहरूको भन्दा अलि फरक ।
(अस्टमी र नवमीमा) हामी केही
नखाई गुम्बामा व्रत बस्छौं–
बलिदिइएका जनावरहरूको आत्माको
शान्तिका लागि ।’ दशमीको साँझ ती
लामाका हातबाट भक्तले टीका ग्रहण
गर्छन् । वर्षमा एकैपटक त्यही दिन
गुम्बा भित्रको बुद्धको ‘पेमासम्भव’
मूर्ति बाहिर निकालिन्छ र आगनमा
भक्तालुहरूले ढोग गर्छन् ।
सदियौंदेखि नेपाली समाजमा हिन्दु
बुद्ध धर्म नङ मासुझै मिलेर बसेको
एउटा उदाहरण थियो, त्यो दसै
समारोह जसलाई मनिछ्योर्पा
पूजा भनिने लामाले बताए । ‘पहिले
यस्तो पूजामा यो आगनभरि मान्छे
हुन्थ्ये,’ एकजना तन्नेरीले भने–
‘अचेल धेरै मान्छे गाउँमा बस्दैनन् ।’
पूजामा सहभागी कतिपय
युवा–युवती जिन्स लगायतका
पोसाकमा थिए र ती मध्ये धेरैजसो
काठमान्डूका बोर्डिङ र प्लसटुका
विद्यार्थी थिए ।
गुम्बामा ‘दसैं’ चलिरहँदा पेमा
ग्याल्बो लामा दुई सय मिटर टाढाको
आफ्नो होटलमा बास बस्ने
पदयात्रीको सत्कारमा व्यस्त थिए ।
सिजन सुरु भएकाले पर्यटकको कमी
छन र ५० वर्षे होटलवाला ८ वर्ष
अघि भाडामा लिएर चलाउन थालेको
व्यवसायबाट सन्तुष्ट छन् । साँची
हेलम्बुका स्याउको चाहिँ के खबर छ
हँ ? ‘नामो निशानै छैन,’ विद्युत्
प्राधिकरणका पूर्व कर्मचारी पेमाले
भने– ‘लंगुरले सखाप पारिहाल्यो ।
पहिले लंगुरले खाँदैन थियो ।
स्याउलाई चिनेकै थिएन । अहिले
लट्ठी हल्लाउँदै रुङ्नुपर्छ । त्यो
कसले सक्छ ? मेरो पाँच सय बोट
थिए, अहिले छैनन् ।’ हालैका वर्षमा
कच्ची सडक गाउँबाट केही घन्टा
हिँडेर पुगिने ठाउँसम्म गए पनि
लंगुरपीडित गाउँलेहरू स्याउप्रति
उत्साहित नभएको उनले बताए ।
‘पहिले (हेलम्बु गाविसका) ४ र ५
वडाका १ सय ८ घरले (स्याउ)
लगाएका थिए,’ पेमाले भने– ‘३९
साल तिरको कुरा हो । डोकोमा
बोकेर बिरुवा ल्याएका थिए । कोहीले
(भारतको) मनालीबाट त कोहीले
कस्मिरबाट । मैले कीर्तिपुरबाट
ल्याएको थिएँ ।’
लंगुरले स्याउ खाइदिएर के भयो
विदेशी पर्यटकले पेमालाई आम्दानी
गराएकै छन् । यो रुटमा नेपालीहरू
विरलै हिँड्छन् र बल्लतल्ल
पुग्नेहरूलाई सबै होटलवालाहरूले
उति खुला मनले स्वागत गर्दैनन् ।
‘कुइरे बस्यो भने निकै फाइदा हुन्छ,’
माङगन गोठको लामा होटल
सञ्चालक पेम्बा लामाले भने– ‘हिजो
मेरोमा ८ जना आए । १० हजारको
कारोबार भयो । त्यस्तोमा प्राय: ८
हजारसम्म नाफा हुन्छ ।’ नेपालीलाई
विदेशीकै जति शुल्क लिन नमिल्दा
उति नाफा हँुदैन जसले गर्दा
उनीहरू होटलवालाहरूको
प्राथमिकतामा पर्दैनन् । ‘बरु
गाइडहरूलाई चाहिँ अलिअलि (पैसा)
दिनुपर्छ,’ उनले भने– ‘त्यो विजनेश
पोलिसी हो । १० हजार व्यापार भए
दुई हजार जति दिएमा अर्कोपल्ट
फेरि कुइरे ल्याउँछन् ।’ रुटमा
एकैजनामात्र होटलवाला भेटिए
जसले नेपाली ग्राहक तान्नु आफ्नो
चाहना भएको बताए ।
‘चिसापानीबाट दुई घन्टामै पुगिन्छ
भनेर लेखिदिनु है,’ थांगुनी
भन्ज्याङको लामा गेस्ट हाउसका
सञ्चालक जिर लामाले भने– ‘मलाई
नेपाली ग्राहक चाहिएको छ ।