काठमाडौं- अनेकौं रंग, ढंग र चालका मान्छे संसारभरिबाट ठमेल तथा आसपासका होटलहरूमा बस्न आउँछन् । हिप्पीदेखि युप्पी र जिप्पीसम्म । ती शब्दहरूको अर्थ तत्कालै थाहा नभए महत्त्वपूर्ण कुराले भरिएको आफ्नो टाउको नदुखाउनुस् किनकि अहिले हामीले कुरा गर्न लागेको मान्छे आफूलाई ती कुनै वर्गमा नराख्न दृढ छन् । ‘म हिप्पिचाहिँ होइन है,’ उनी गह्रौ जर्मन लवजको अंग्रेजीमा जोड दिँदै भन्छन् र होटल अगाडिको गार्डेनमा ब्रेकफास्ट गरिरहेकाहरूतिर एकसरो आँखा डुलाउँछन्- ‘यिनीहरूजस्तो डुलुवा पनि होइन ।’ ठमेल गल्कोपाखास्थित इन्काउन्टर होटलमा शुक्रबार नास्ता गरिरहेका विदेशी पर्यटकजस्तै नभए पनि जोनहान्स लोथर डिलेनवर्ग नामका यी अजीव प्राणी डुलुवाचाहिँ पक्कै हुन् । निश्चयै उनको डुल्ने तरिका फरक छ- आफ्नो पैसा सकेसम्म खर्च नगर्ने, अर्काकोमा मस्ति गर्न नछाड्ने । त्यही आफ्नो ‘गौरवशाली परम्परा’ लाई निरन्तरता दिँदै यी जर्मन ४४ वर्षपपछि एकपटक फेरि काठमान्डू गएका छन् ।
‘उतिबेला मैले महेन्द्रलाई भेटेको थिएँ,’ हान्स भन्छन्- ‘काठमान्डूमा होटल खोल्ने बोरिस लिसानेभिखले भेट मिलाइदिएका थिए । अब अहिलेका राजा पहिलेका जस्ता कहाँ रहे ?’
‘किन ?’ संवाददाता भएपछि कतिपय कुरा आफूलाई थाहा हुँदाहुँदै सोध्नुपर्छ ।
‘म देख्छु, म सुन्छु तर म बोल्दिनँ,’ दाइने हत्केलालाई क्रमशः आँखामास्तिर र मुखको दायाँ पुर्याएपछि नाइको संकेत दिँदै हात हल्लाएर उनले भने । विरोधाभाष के छ भने आफूलाई २० वर्षको बताउने यी ७१ वर्षे खासमा ज्ञानेन्द्रलाई भेट्ने आशामा थिए । एसियाका कतिपय ठूला/प्रभावशाली व्यक्तित्वलाई भेटेको कुरा रवाफपूर्ण लबजमा सुनाउन चाहने उनी भुटानी राजालाई दार्जिलिङ्को नर्थ प्वाइन्ट स्कुलमा विद्यार्थी छँदा भेटेको सम्भिmन्छन्, सिक्किमका राजासँग फुटबल खेलेको उल्लेख गर्छन् र जापानको कुनै एउटा पि्रफेक्चरका गभर्नरदेखि हैदराबादका निजामलाई भेटेको सम्भिmन्छन् । प्रमाण ? उनी तत्कालै एउटा पुरानो अटो देखाउँछन् जहाँ थुप्रैले उनीसँगको भेटलाई छोटोमा उल्लेख गर्दै हस्ताक्षर गरेका छन् ।
‘हान्सजी,’ काठमान्डूका चिनियाँ लामाले कात्तिक ५ को मितिमा लेखेका छन्- ‘तपाईंलाई ४४ वर्षको भेटपछि (फेरी भेट्दा) धेरै खुसी लाग्यो । समय परिवर्तन (भएको छ) र अहिले पनि सबैलाई भलो होस् ।’
‘चाइना लामाले मलाई ज्ञानेन्द्रसँग भेटाइदिन्छु भनेका छन्,’ उनले भने ।
‘हैन तपाईंलाई किन ठूला मान्छेहरूको भेटकै मात्र बखान गर्नुहुन्छ हौ यस्तरी ?’ हान्सका गफले वाक्कै भए पनि त्यो प्रश्न गरिएको थियो । (फोनमै उनका कुरा सुन्दा यी मान्छे अलि अनौठा भएका लाग्या थियो र होटल रिसेप्सन्सका एक जना कर्मचारीले पनि त्यस्तै अनुभव सुनाएका थिए । त्यसैले उनीमाथि संवाददाता अलि शंकालु हुनु अस्वाभाविक थिएन ।)
उनको उत्तर अगाडि हल्का पृष्ठभूमि । हान्सका अनुसार उनी २० ओं शताब्दीको सुरुतिर जन्मिएको जर्मनीको पहिलो युवा आन्दोलन ‘वान्डरभोगल’ अर्थात् ‘बर्डस् अफ प्यासेज’ का सदस्य हुन् । १९ औं शताब्दीको रोमाञ्चवादी आन्दोलनबाट प्रभावित उनीहरूले जर्मनी र विदेशमा लोकसंस्कृतिको पुनः आविष्कार गर्ने प्रयास गरेका थिए । उनीहरू खासमा विश्वभरि घुम्छन्- जर्मन संस्कृति फैलाउन र विदेशी संस्कृति जमर्न भित्र्याउन । झट्ट हेर्दा स्काउटको जस्तो लाग्ने पोसाक लगाउने वान्डरभोगल सदस्यहरू राजनीतिक र धार्मिकरूपमा निष्पक्ष हुन्छन् । (कान्तिपुरमा आज प्रकाशित यो लेखको बाँकी अंश यहाँ छ ।)