फ्रेन्च वाइन कूटनीति

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नन
यो लेख आज शनिवारको कान्तिपुर दैनिकमा प्रकाशित छ । यसै वाइन पार्टीबारे थप ब्लग अंग्रेजीमा:
Le Beaujolais Nouveau est arrivé!: French Ambassador’s Wine Party in Kathmandu

‘लेडिज एन्ड जेन्टलम्यान, सेनोरास ए सेनोरेस, म्याडामेज एट मोसुँर, यो साँझ आज हामी त्यो वाइनको उद्घाटन गर्दैछौं, जो विश्वभरि पिइनेछ’, समारोह सञ्चालकले सबैको ध्यान खिच्दै भने- ‘दस, नौ, आठ….तीन, दुई, एक बुजु । लौ यहाँ छ, बुजोले नोभो ।’ त्यसपछि सबैले यो वर्षको बुजोले चियर्स गरे । अन्तर्राष्ट्रिय समाचार संस्था ‘एजेन्स फ्रान्स प्रेस’ (एएफपी) को एउटा रिपोर्टबाट लिइएको यो वर्णन सानो फ्रेन्च सहर बोजुमा मध्यरात आयोजित बुजोले वाइनको बिर्को खोल्ने समारोहको हो । प्रत्येक वर्ष नोभेम्बरको तेस्रो बिहीबार विश्वभरि त्यस्तै समारोहमा बुजोलेका बिर्काहरू खोलिन्छन् र पारखीले त्यो ताजा रेड वाइनको स्वाद लिन्छन् । जापानको एनएचके टीभीले प्रत्यक्ष प्रसारण गरेको बोजु सहरको जस्तो भव्य नभए पनि नेपालका लागि फ्रेन्च राजदूतले विशालनगरस्थित आफ्नो निवासमा बिहीबार बेलुकी आयोजना गरेको बुजोले चाख्ने समारोह पनि कम मादक थिएन । महिला तथा सज्जनवृन्द, सेनोरास ए सेनोरेस, म्याडामेज एट मोसुँर चाख्नुस् बुजोले । लामो कपाल, अग्लो शरीर र कसिलो ज्यान भएका फ्रेन्च कूटनीतिज्ञ आफ्नी सुन्दर चिनियाँ पत्नीलाई बायाँ राखेर अतिथि स्वागत गरिरहेका थिए । साँझ छिप्पिँदै गर्दा सबैका हातमा बुजोलेका ग्लासहरू थामिइसकेका थिए, बगैंचामा स्थापित अस्थायी अगेनाहरूबाट आइरहेको न्यानोलाई सम्भवतः बुजोलेको तापले बिर्साइरहेको थियो । कुराकानीबाट फुर्सद पाएकाहरू छेवैमा सानो स्टेजमाथि बसेका सूरसुधा सदृश्यहरूले निकालेको इन्स्ट्रुमेन्टल धुनमा खुट्टा थपथपाउँदै या टाउको हल्लाइरहेका थिए ।

gilles henry garault the french ambassador in Nepal

वाइन पार्टीमा फ्रेन्च राजदूत र उनकी पत्नी तस्बिर विकास रौनियार

‘च्याङ्वा है च्याङ्वा
सुन-सुन है च्याङ्वा’

च्याङ्वाले सुन्दै गर्लान्, अहिलेलाई यी मैच्याङसँग कुरा गरौं, जो वाइन समाएर अगेनो अगाडि केही हाँसेजस्तो, आगोतिर हेरेजस्तो, कसैलाई पर्खेजस्तो मुद्रामा उभिइरहेकी छिन् । कुरा पो कसरी थाल्ने, मैमात्र हो कि अन्य संवाददाताहरू यस्तो अप्ठेरोमा पर्छन् । सुन्दर युवतीसँग कुरै नगर्ने भनी भेदभाव गर्न पनि भएन, तर त्यो रोमाञ्चक वातावरणमा वाइन समाएर आगो अगाडि उभिएकी केटीसामु नोटबुक तेस्र्याउँदा भड्किएली भन्ने डर पनि छ । युरोपियन यो पक्कै हो- वेदरको प्रसंगबाट गफ थाल्ने कि । खै आकाशमा तारा छैनन्, चन्द्रमा कता गायव भए, ग्लासको वाइन सकिन लाग्यो ।

लौ, फ्रेन्च नै रहिछन् । कसोकसो कुरो फुत्कियो, अन्तर्वार्ता थालियो- काठमान्डुको फ्रेन्च स्कुलमा ‘सबै विषय’ पढाउन दुई महिना अगाडि आएकी ३० वर्षे इनेस ज्वागी सायद विश्वविद्यालयमा बुजोले दिवस मनाउँदाको क्षण सम्झिरहेकी थिइन् । ‘हाम्रो नाम उस्तै सुनिन्छ’, मैले भने- ‘फ्रेन्चहरू वाइन साह्रै मनपराउँछन् क्यारे है ?’
‘सबैले सधैं वाइन पिउँछन्’, सूरसुधाको संगीत आइरहेको माइक नजिकै उभिएकी इनेस मिसले चर्को स्वरमा भनिन्- ‘सबै क्षेत्रमा वाइन पाइन्छ । धेरै राम्रो वाइन र ठिक्क राम्रो वाइन । फ्रान्समा खराब वाइन पाइँदैन ।’

इनेसका कुरा सुनेपछि फ्रान्सले आफ्ना विश्वप्रसिद्ध वाइनको प्रबर्द्धन गर्न विशेष राजदूत नियुक्त गरिरहनुपर्छ जस्तो लागेन, सबै फ्रेन्च नागरिक आफ्नो देशको वाइनका प्रबर्द्धक हुन् । ‘हामी विश्वविद्यालयमा पढ्दा बुजोले दिवस खुवै मनाउँथ्यौं’, उनले भनिन्- ‘तर मेरो निजी धारणा के भने फ्रान्समा योभन्दा निकै राम्रा रेड वाइनहरू छन् । यो योङ वाइन हो, जो धेरै राम्रो हुँदैन ।’

‘योङ उमन नि ?’

‘हा, हा, हा,’ उनी धक फुकाएर हाँसिन्- ‘उनीहरू त निकै राम्रा हुन्छन् ।’

इन्टरनेटमा ‘फ्रेन्च उमन’ भनी खोज्ने हो भने उनीहरूलाई खिरिला, सुन्दर र आत्मविश्वासी भनी वर्णन गरिएका थुप्रै वेबसाइट भेटिन्छन् । दुई-चारवटी त आसपासै उभिएका छन्- भेटौं पोलिन प्रेतेलाई जसले आफ्नो थर संवाददाताको नोटबुकमा नेपालीमै लेखिन् । ‘अब यिनले तिम्रो उमेर सोध्छन् है’, छेवै उभिएका काठमान्डु पोस्टका शेखर खरेलले संवाददातालाई औंल्याउँदै पोलिनसँग ठट्यौली गरे- ‘त्यसपछि ब्वाइफ्रेन्ड छ कि छैन भन्नेछन् । छैन भन्यौ भने आफूसँग वाइन पिउन प्रस्ताव गर्नेछन् ।’ फ्रेन्च पर्यटकहरूलाई नेपाल घुमाउने टुर गाइड युवती ज्यान छाडेर हाँसिन् । उनले पनि विश्वविद्यालयमा बुजोले पार्टी गरेको सम्भिmइन् र काठमान्डुमा आएका बेला त्यसैमा सहभागी हुन पाउँदा खुसी लागेको बताइन् । तर प्रसंग फेरि फ्रान्सका दुई ‘डब्लु’मै आयो- वाइन र उमन । उमनको कुरा गरिसाध्य छैन, त्यसैले अहिलेलाई वाइनमै फर्किउँ ।

ग्यामे अंगुरबाट बनाइएको बुजोलेलाई बनाइएको एक वर्षभित्रै खानुपर्छ, किनकि वाइन साप्ताहिकको एउटा लेखअनुसार बुजोलेमा अन्य रेड वाइनमा हुनेजस्तो ट्यानिन हुँदैन, जसले गर्दा ताजा फलको वासना र स्वाद जति समय घर्कियो, उति हराउँदै जान्छ । फ्रेन्च कानुनमै तोकिएको छ, बुजोले बनाउने ग्यामे हातैले टिप्नुपर्छ । एउटा तथ्याङ्कअनुसार वर्षेनि ४ करोड ९० लाख लिटर बुजोले उत्पादन हुन्छ, जसमध्ये आधा जर्मनी, जापान र अमेरिका निर्यात हुन्छ । एउटा समाचार रिपोर्टअनुसार एसियाली ग्राहकका लागि लक्जेम्वर्गबाट बुजोले नोभुले भरिएका सातवटा विमान बिहीबार उडेका छन् । ती विमानले १२ लाख ५० हजार वाइन बोटल बोकेका छन्, जो जापान, कोरिया र ताइवानमा बेचिनेछ । फ्रेन्च कानुनअनुसार बुजोले नोभुले नोभेम्बरको दोस्रो बिहीबार बिहान आठ बजेपछि मात्रै देश छाड्न पाउँछ । ट्यानिन नभएकाले यो वाइन मुखमा निकै नरम महसुस हुन्छ र पिउन सजिलो हुने पारखीहरूको भनाइ छ ।

‘नरम’ र ‘सजिलो’ भन्दैमा गर्भवतीहरूले चाहिँ पिउने होइन है । त्यसैले फ्रेन्च राजदूतको निवासमा आजको यो रमाइलो साँझ ‘घरबूढी आमै’ले बुजोले पिएकी छैनन् । कालो पहिरनमाथि रातो सल ओढेकी सेन म्याओले अंगुरको जुसयुक्त ग्लास बोकेकी छिन् । नाम कताकता चाइनिज लाग्यो ? ठीकै सोच्नुभयो- राजदूत पत्नी २६ वर्षे म्याओ चिनियाँ हुन्, जसलाई २००४ मा चेङदु सहरमा देखेपछि फ्रेन्च कूटनीतिज्ञ मायाजालमा परेका थिए ।

‘उहाँ सरकारी अधिकारीहरूलाई प्रशिक्षण दिन जानुभएको रहेछ’, खुसुक्कको एउटा अन्तर्वार्तामा म्याओले संवाददातासँग आफ्नो प्रेमकथा खुलस्त भनिन्- ‘म जर्मनमा पढ्थेँ- इकोनोमिक म्यानेजमेन्ट । म पनि विश्वविद्यालयकै पढाइको सिलसिलामा चेङदु गएकी थिएँ । त्यहीं भेट भयो । हामी छेउछाउका पहाड घुम्न गयौं । कार्यक्रमपछि उहाँ फ्रान्स फर्किनुभयो, म जर्मन ।’ तर सम्पर्क झन् कसिलो भयो, जो यी सुन्दर महिलाले भनिरहनै परेन । मायामा परेपछि भाषाको के समस्या- हेनरी गिलेलाई चिनियाँ नआउने, सेन म्याओलाई फ्रेन्च नआउने । जर्मन भयो मायाको भाषा । जोडीले एकअर्काको भाषा सिक्ने प्रयास जारी छन्, तर पतिको व्यस्तताका कारण त्यो हुनसकेको छैन । अहिलेलाई त ठिकै छ पेटको पाँच महिनाको बच्चा जन्मिएपछि चाहिँ उसलाई आमाको भाषा सिक्ने कि बाबुको निर्णय गर्न साह्रो-गाह्रो हुन्छ होला !

ब्लगमान्डूमा अघिल्लो “फ्रेन्च” लेख:
फ्रेन्च बोल्ने भ्यागुतो र अनुवाद साहित्य