दिनेश वाग्ले
यो लेख आइतबारको कान्तिपुरमा प्रकाशित भएको हो ।
काठमाडौं- ‘ती उहाँका पवित्र दार्ही,’ सुसन गोल्डमार्कले भनिन् ।
मख्ख उनका पति काई बर्डले सेताम्मे गाला सुमसुम्याए । ‘दसैंताका छोरासँग मुक्तिनाथ ट्रेकिङ गा’थेँ, त्यसयता काट्या छैन,’ उनले भने- ‘मिस्टर (बिग) बीको जस्तो बनाउने ।’
अमिताभ बच्चनको जस्तै ‘गोटी’ (फ्रेन्च कट) पाल्न इच्छुक काईले सुसनलाई हेरे- ‘तर उनलाई मन पर्दैन ।
”हैन, मन पर्छ,’ सुसनले भनिन्- ‘काई दार्ही पाल्दा’नि राम्रो, नपाल्दा’नि राम्रो ।’
‘कूटनीतिक भइन्,’ काईले भने- ‘खासमा उनलाई मैले दार्ही पालेको मन पर्दैन ।’
दार्हीमा फरक मत हुन सक्छन् तर योचाहिँ तथ्य हो- ३५ वर्षघि भेटेयता उनीहरूले एक-अर्कालाई मन पराइरहेका छन् र २७ वर्षे वैवाहिक सम्बन्धमा छन् । सम्बन्ध धेरैको भन्दा अलि फरक छ जसबारे यदाकदा लोकप्रिय अमेरिकी मिडियाहरू (सीबीएस टीभीदेखि वासिंटन पोस्टसम्ममा) चर्चा गरिएको छ । पत्नी लाखौं कमाउँदै देश/विदेशका अफिसमा दिनभर व्यस्त हुन्छिन्, पति घरमा छोरो हुर्काउँदै किताब लेखेर पुलित्जर पुरस्कार जित्छन् । कामकाजी आमा र बच्चा हुर्काउने बाका उदाहरण हुन् सुसन गोल्डमार्क र काई बर्ड जो करिब ३४ वर्षछि फेरि नेपाल आएका छन् । सुसन विश्व ब्याङ्क -नेपाल की प्रमुख हुन् र हालैको एक मध्याह्न कान्तिपुरसँग संयुक्त अन्तर्वार्ताका लागि काई याक एन्ड यती होटलस्थित पत्नीको कार्यालयमा आएका छन् ।
‘फेरि नेपाल आउनु सपना पूरा भएजस्तै हो,’ सुसनले भनिन् । १९७३ मा त्रिभुवन विश्वविद्यालयमा पढेकी उनले ‘विकासोन्मुख देशको पहिलो’ अनुभव साइकल चढेर ‘गोलभेंडा किन्न’ जाने जस्ता घटनामार्फ लिएकी थिइन् । फ्रिल्यान्स पत्रकारिता गर्दै भारत पुगेका काई पनि त्यही वर्षनेपाल आएका थिए- कलेजमा भेटिएकी सुसनलाई ‘पछ्याउँदै’ । ‘द नेसन’ लगायतका पत्रिकामा लेखेका काई र केही समय पत्रकारिता गरेकी सुसनले फरक कारणले त्यो काम त्यागे । काई पुस्तक लेखनमा एकोहोरिए भने सुसनले विश्व ब्यांकको जागिर थालिन् ।
चार पुस्तक लेखेका काईको पछिल्लो कृति मार्टिन जे. शेर्विनसँगको सहलेखनमा अमेरिकी एटम बमका पिता मानिने जे. रोबर्ट ओपनहाइमरबारे छ । सन् २००५ मा प्रकाशित पुस्तकले जीवनी विधामा पुलित्जर पायो । मध्यपूर्वमा हुर्केका काई आफ्नै जीवनी लेख्दै छन् । त्यसमा अरब- इजरायल द्वन्द्वलगायत सेप्टेम्बर ११ पछिको अमेरिकी विदेशनीतिको समीक्षा गर्ने उनले बताए ।
‘पुस्तकलेखन,’ काईले भने- ‘स्थायी र बढी सोचपूर्ण हुन्छ । धेरै समय लाग्छ ।’ यदाकदा समीक्षालगायतमार्फ अहिले पनि पत्रकारिता गर्ने काईलाई ‘पत्रकारिता राम्रो कि पुस्तकलेखन’ भन्ने प्रश्न गरिएको थियो ।
त्यसो भन्दैमा लेखन रमाइलो हुन्छ भन्ने छैन । ‘मलाई मन पर्ने एउटा भनाइ सुनाइहालूँ,’ काईले भने र जर्ज अर्वेलको ‘ह्वाई आई राइट’ निबन्धको वाक्य उल्लेख गरे । अर्वेलले ‘सबै लेखक ढोंगी, स्वार्थी र अल्छे हुन्, उनीहरूको उद्देश्य रहस्यमय हुन्छ’ भन्दै ‘पुस्तक लेख्नु लामो र थकानपूर्ण संघर्ष हो जुन पीडादायी रोगजस्तै हुन्छ’ भनेका छन् । ‘मान्छे किन किताब लेख्नु जस्तो अत्यन्तै दुःख बेसाउँछन् -‘ काईले भने- ‘यो एकदम एकाकी काम हो । निराशाजनक । पीडादायी । शब्दहरूसँग संघर्ष गर्नुपर्छ । बारम्बार झ्यालमा उभिएर बाहिर हेरिरहनुपर्छ । अर्वेल-चित्रणसँग सुसन समहत हुन सक्छिन् । म दिनभर घरमा के गर्छु भनेर उनी अचम्म पर्छिन् होला ।’
‘हैन, हैन,’ सुसनले प्रतिवाद गरिन्- ‘एउटा किताब लेख्न पाँच वर्षलगाउन मैले सकिनँ । रुचिपूर्ण विषय खोज्नुपर्यो, दिनैपिच्छे त्यसमा बिताउनुपर्यो ।’ (दुइ वर्षमा लेख्ने भनेको पहिलो किताब सिध्याउन काईलाई १० वर्षलागेको थियो, अर्कोलाई ७ र अझ अर्कोलाई ५ वर्ष।)
‘त्यसमा अर्वेलको उत्तर के भने लेख्ने भूत चढेपछि लेख्नैपर्छ,’ काईले भने- ‘दरिलो चाहना भए लेखिन्छ । किताब लेखकलाई दुइ कुरा चाहिन्छ- समय र दृश्य । काठमान्डुमा दुवै छन्- सीतापाइलाको घरबाट राम्रो दृख्य देखिन्छ । सुसनले मलाई समय दिएकी छन् ।’ गैरआख्यान आफ्ना किताबले खासै नकमाउने उल्लेख गर्दै काईले लेख्ने वातावरण उपलब्ध गराएकामा पत्नीको सराहना गरे ।
सुसनले ‘काम गर्नेहरूबारे लेख्नुभन्दा कामै गर्ने’ भन्दै पत्रकारिता त्यागेकी थिइन् । नेपाल बसाइपछि संसारलाई थप राम्रो बनाउनेतिर आकषिर्त भएको बताउने उनले विश्व ब्यांकजस्तो गरिबी निवारणको लक्ष्य भएको संस्थामा काम गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको उल्लेख गरिन् ।
बितेका वर्षा नेपालको गरिबी केही घटेको उल्लेख गर्दै खाने पानी, स्वास्थ्यजस्ता क्षेत्रमा ग्रामीण स्तरमा हुने लगानी प्रभावी हुने सुसनले बताइन् । ‘एउटा इनार बने पनि गाउँलेको जीवनमा नाटकीय प्रभाव पर्छ,’ उनले भनिन्- ‘तर त्यो आर्थिक सूचकांकमा नदेखिन सक्छ ।’ महिला जिम्मेवार हुने भएकाले उनीहरूको सहभागिता गरिबी निवारणमा प्रभावी हुने उनी ठान्छिन् । ‘शिक्षा पाए महिलाले साँच्चै गर्न सक्छन्,’ उनले भनिन्- ‘उनीहरूले परिवारका लागि खर्च गर्छन् । पीडा सहने उनीहरूको क्षमता प्रमाणित छ । तपाईंलाई भन्दिऊँ, बच्चा जन्माउनु पिकनिक होइन ।’
पक्कै होइन तर ४० को भएपछि बच्चा हुर्काउनु पनि कुनै पतिका लागि कम अप्ठ्यारो काम होइन । काईको अनुभव प्रमाण छ ।’मभन्दा बढी कमाउने पत्नीको (सम्बन्ध) मैले योजना गरेको हैन,’ काईले भने- ‘पत्रकारिता पैसा कमाउने पेसा होइन । लेखकहरूलाई सम्मान दिइन्छ र पैसाचाहिँ धेरै हुँदैन ।’
सुसनले परिवार चलाउन, बच्चा हुर्काउन तथा अन्य आधारभूत कामका लागि कमाउनु आवश्यक भएको बताउँदै आफूले त्यसो गर्दा परिवार सम्हालेकामा काईको प्रशंसा गरिन् ।
‘(छोरो) जोसुवा स्कुलबाट आउँदा काई घरमै हुन्छन्,’ उनले भनिन्- ‘बिरामी भइहाले उनी छेवैमा हुन्छन् । अमेरिकी घरमा यहाँ जस्तो दिदी, हजुरआमा, हजुरबा हुँदैनन् । उनैले छोरालाई परिवारको अनुभूति दिएका छन् ।’
अन्तर्वार्ताको केही दिनअघि मैले न्युयोर्क टाइम्समा उमेर बढे पनि रोमान्स ताजै रहने भन्ने लेख पढेको थिएँ जसलाई मैले सर्न्दर्भ परेकाले दम्पतीबाट पुष्टि गराउन चाहेँ । काई केहीबेर अकमकिएपछि सुसनले उत्तर दिइन्- ‘जीवन बदलिन्छ, प्रेम बदलिन्छ । बच्चा हुनुअघि र पछिको प्रेम फरक हुन्छ । सम्बन्ध गहिरो हुन्छ ।’
‘म फरक मत राख्न चाहन्छु,’ काईले भने- ‘म बच्चा चाँडै भएको चाहन्थेँ ।’
‘म यात्रा गरिरहेकी थिएँ,’ सुसनले भनिन्- ‘बिरामी पनि थिएँ ।’
‘म ४० वर्ष नहुन्जेल जोसुवा जन्मेन । प्रौढ जीवनशैलीमा बानी परिसकेको थिएँ र अचानक बच्चा आउँदा बानी बसाल्न गार्हो भयो ।’ काईले कम्प्युटर टाइप गरेजस्तो अगाडि हात फैलाएर भुइँमा हेरे- ‘किताब लेख्नु कि ‘हे फुच्चे’ भन्दै बच्चा हेर्नु ? अप्ठ्यारो भयो । बच्चो हुर्काउन धेरै ध्यान दिनुपर्छ ।’
त्यो बच्चो अहिले १६ वर्षको भएको छ र काठमाडौंको लिंकन स्कुलमा पढ्छ । त्यसैले दिउँसो काईलाई दार्हीबारे गफिन पनि फुर्सद मिलेको छ ।