दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख शुक्रवारको कान्तिपुरमा प्रकाशित भएको हो ।
भक्तपुर- न्यातपोल परिसरमा विहिवार मध्याह्न सकिँदै गर्दा दुई सुन्दरी धूले पेटीमा बसेर खासखुस गरिरहेका थिए । सामु एउटी विदेशी ट्राइपोडमा अड्याइएको क्यामेराले वरिपरिका आकर्षक मन्दिर वास्तै नगरी ती युवतीहरूलाई खिचिरहेकी थिइन् । यो समाचारका पात्र यिनै दुई हुन् जो अब छलफल गरिने सडकनाटकका पनि मुख्य पात्र हुन् ।
अहिलेलाई पत्रिकाको पन्नामै भेट्नुस् हँसिला/मिजासिला सुषमा कोइराला र (रातो सलवाली) सुलोचना गोपालीलाई जो विश्वविद्यालयका नृत्य र अभिनयका कक्षामा सहपाठी हुन् भने व्यक्तिगत जीवनमा ‘बेस्ट फ्रेन्ड’ । एकैछिनमा उनीहरू गाजल पुछी अगाडिको खाली भागमा उत्रिएर अभिनयमा डुब्नेछन् । २५ वर्ष पुरानो रंगकर्मी संस्था सर्वनामको पछिल्लो प्रस्तुति ‘नयाँ अध्याय’ यहाँ सुरु हुँदैछ । क्याफे न्यातपोलको पेटीमा साँझका व्यापारीहरूले सेतो बोरा ओछ्याएर लसुन, मुला र हरिया खुर्सानी फैलाउँदै गर्दा केही मिटर परको ‘मञ्च’ मा एक युवकले झ्याम्टा बजाउँदै दर्शक बोलाउँदै छन् ।
सिनेमा र टीभी शृंखलाको ‘ग्ल्यामर’ सडक नाटकहरूमा नपाइन सक्छ तर त्यसले कथा भन्न के रोक्थ्यो ? चारैतिर उभिएका दर्शकनजिकै रहेर अभिनयलाई बरालिन नदिनु उनीहरूको चुनौती हो भने तत्कालै मिल्ने प्रतिक्रिया सम्पत्ति । ‘नाटक गर्दागर्दै प्रतिक्रिया पाइन्छ,’ सुषमाले भनिन् । ‘बिग्रेको कुरा सुधार्न सहयोग पुर्याउँछ,’ सुलोचनाले थपिन् । सबै प्रतिक्रियाले प्रोत्साहित गर्दैनन् । ‘हुटिङ गर्दा,’ सुषमाले भनिन् र बाँकी वाक्य सुलोचनाले पूरा गरिन्- ‘कसैले नराम्रो वर्ड युज (शब्द प्रयोग) गर्छ । पचाउनुपर्ने हुन्छ ।’ सुषमाले थपिन्- ‘एक कानले सुनेर अर्कोले उडाइदिनुपर्छ । एक्टिङ (अभिनय) बाट जवाफ दिन्छु भन्ने हुन्छ ।’
२४ वर्षे सुषमा र २१ वर्षे सुलोचना झुक्किएर नाटकमा आएका होइनन् । पद्मकन्यामा नृत्य र अभियनमा स्नातक सक्न लागेका युवतीको नृत्यमा एमए गर्ने योजना छ । सात वर्षअघि कलेजमा भेटेयता ‘बेस्ट फ्रेन्ड’ बनेका उनीहरूले चार वर्षअघि पहिलोपटक नाच्न मञ्च साझेदारी गरेका थिए । बीए तेस्रो वर्षमा अभिनयको ‘प्रयोगात्मक कक्षा’ का लागि नाटक गर्दा उनीहरूको क्षमता शिक्षक अशेष मल्लका आँखामा परेको थियो । अनि उनीहरू अशेषको लेखन-निर्देशनको ‘नयाँ अध्याय’ का पन्ना भए ।
स्टेज र स्ट्रिट । दुवै नाटक गर्ने ठाउँ तर, सुषमाले भनिन्- ‘स्टेजमा दर्शक एकापट्टी मात्र हुन्छन्, अघिल्तिर, त्यसैले ध्यान त्यतैपट्टी मात्रै दिनुपर्छ ।’ ‘स्ट्रिट (सडक) मा दर्शक वरिपरि,’ सुलोचनाले थपिन्- ‘कलाकार बढी सचेत हुनुपर्छ ।’ स्टेजमा माइक हुने हुँदा सानो स्वरले चल्छ तर सडकमा घाँटीले सास्ती पाउँछ । ‘बेस्सरी कराउनुपर्छ, दुख्छ,’ सुषमाले भनिन्- ‘दुई हप्ता भयो, नुनपानी खाएको खायै ।’ फेरि कहिलेकाहीँ संवाद बिर्सिदा अकमक्क होइने कत्रो डर ! ‘ठ्याक्कै के हुँदो रहेछ कुन्नी !’ सुलोचनाले भनिन्- ‘बिर्सिइन्छ, तर मिलाइहालिन्छ, दर्शकले थाहा पाउनु हुन्न ।’
राष्ट्रसंघीय जनसंख्या कोष र राष्ट्रसंघीय मिसनको प्रायोजनमा बनेको ‘नयाँ अध्याय’ नाटक मुलुकका १८ स्थानमा देखाइएपछि अन्तिम प्रदर्शनीका लागि भक्तपुर पुगेको हो । शो सकिएपछि मज्जाले दही खाने युवतीहरूको विचार छ । ‘दही मन पर्छ,’ एकै स्वरमा जस्तो दुवैले भने- ‘भक्तपुरको दही खाने ।’
महिला र बच्चाहरूमा द्वन्द्वको प्रभाव तथा शान्ति स्थापनामा महिला योगदानलाई मान्यता दिने सुरक्षापरिषद् प्रस्तावको भावना समेट्ने नाटकले महिला भेदभाव, विधवा पीडा, घरायसी हिंसा र छुवाछूतजस्ता विषय छोएको छ । न्यातपोलमा ह्वार्र जम्मा भएका स्कुले केटाकेटीलाई यदाकदा खितित्त हँसाउनुबाहेक प्रायः दृश्यले प्रौढ दर्शकलाई स्तब्धित तुल्याए । कोहीले आँसु झारे । त्यसो गर्नेमध्ये थिए पूर्ण गोपाली जो छोरी सुलोचनाको सडक अभिनय पहिलोपटक हेर्दै थिए ।
‘भावुक भएँ,’ छोरीको प्रस्तुतिपछि पूर्णले भने- ‘सानैदेखि डान्स-डान्स भन्थी । एसएलसी गरेपछि पीकेमा भर्ना गरिदिएँ । यतिसम्म पुर्याएँ ।’ नाटकमा असहाय र अशिक्षित आमाको भूमिका गरेकी सुलोचना आफैंचाहिँ भाग्यमानी छन् । पिताले उनको सपनामा अवरोध गरेनन् । ‘उसको हबीलाई मारिनँ,’ पूर्णले भने- ‘इन्टरमिडिएटसम्म मैले पनि पढेको छु । पुरातन हिसाबमा छैन । उनीहरूको सोख पूरा गर्न फ्रिडम दिनुपर्छ । फ्रिडम मिसयुज (स्वतन्त्रताको दुरुपयोग) नगरून् । समाजमा परिचित होऊन्, छाप छाडून् ।’
सुलोचनाले बुवाको इच्छा पूरा गर्लिन् तर पूर्णलाई थाहा छ- कलामै भर पर्न सकिने स्थिति बनिसकेको छैन । भर केमा पो पर्न सकिन्छ र ? सुलोचना, उनकी नर्स दिदी र स्कुले भाइका ४५ वर्षे पिता पूर्ण आफैं पनि आम्दानी घट्दो ठेक्कापट्टा त्यागेर ‘व्यवसाय बदल्ने’ सोचमा छन् ।
उनलाई शुभकामना, अहिले नाटक र नृत्यमा फर्किऔं । ‘दुवै रमाइलो,’ सुषमाले भनिन् र सुलोचनाले निरन्तरता दिइन्- ‘(हाम्रा लागि) नङ र मासु जस्तै ।’ इच्छा, लगन र मेहनत भए जसले पनि नाच्न सक्ने उनीहरूले बताए र भने- ‘जान्नेले बिटअनुसार ताल समात्छ, नजान्नेले जीउ मात्रै हल्लाउँछ ।’ नृत्यबारे सैद्धान्तिक ज्ञान भए झन् प्रभावी हुने उनीहरूको तर्क रह्यो ।
‘करिअर यसैमा बनाउने ?’ मैले सोधें ।
‘हो,’ उनीहरूले भने, तर कसरी त्यसमा निश्चित छैनन् । ‘सुरुमा एकदम गाह्रो,’ सुषमाले भनिन्- ‘नृत्यमा जसले पनि एक्स्पोज गराउन खोज्ने । हामीले सक्दैनौं भन्यौं ।’ सुलोचनाले भनिन्- ‘अभिनय खुबी नहेरिने, ग्ल्यामर मात्रै खोज्ने ।’ दुवैले आफूहरू सांस्कृतिक नृत्य गर्न रुचाउने बताए ।
नाटक तथा सांस्कृतिक कार्यक्रम लिएर मुलुकभरि घुम्नु उनीहरूको जिन्दगीको नियमितता बनिसकेको छ । अन्तर्वार्तामा हल्का लजाएका युवतीहरूलाई ‘लजालु’ भन्न सकिँदैन किनकी त्यस्ता हुँदा हुन् त उनीहरूले नजिकै झुम्मिएका दर्शकअगाडि अभिनय गर्नै सक्दैनथे ।
नाटकलगत्तै उनीहरूले दर्शकसँग नाटकबारे जान्न चाहे । ‘हाम्रोमा पनि यस्तै समस्या छ,’ बच्चा बोकेकी महिलाले सुलोचनालाई भनिन् । कोही दर्शक उनीहरूलाई खोजीखोजी प्रतिक्रिया दिन चाहन्छन् । ‘खै कता गए बहिनीहरू ?’ केटीहरूले पोसाक बदल्दै गर्दा नाटक स्थलनजिकै आएकी एउटी दर्शकले भनिन्- ‘म बधाई दिन आएकी ।’ छेवैको सुकुलढोकाकी ३५ वर्षे इन्दिरा शर्माले नाटक हेर्दा ‘आँसु आयो, हामी नारीहरूको कथाले एकदमै मन छोयो’ भनिन् । ‘(नाटकमा देखाइएको कुरा) सबै केटा मान्छेको दिमागमा जाओस्,’ उनले भनिन्- ‘घरमा श्रीमतीहरूले सुख पाऊन् ।’