पुस्तक मेलाका पार्टी तन्नेरी

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख मंगलवारको कान्तिपुर मा प्रकाशित भएको हो ।

काठमाडौं- ‘मैले धेरै ठाउँमा विश्राम खोजें तर एकान्त कुनामा बसेर पुस्तक पढ्नुबाहेक अन्त कहीँ भएन ।’

थमस एकेम्पिसको त्यो भनाइसँग अभिषेक लिम्बू ठ्याक्कै सहमत नहुन सक्छन् । हुन पनि सक्छन् जो यो लेखको मध्यसम्म थाहा हुनेछ तर उनी पक्का छन् राजधानीका ‘लेट नाइट’ डान्स पार्टीमा चाहिँ त्यो पाइँदैन । त्यसैले लामो कपाल पालेका, तन्दुरुस्त शरीर भएका यी लक्का जवान सोमबार व्यस्त दैनिकीबाट समय निकालेर जमलको पुस्तक प्रदर्शनीमा पुगेका थिए । हिपहप संस्कृतिसँग मिल्दोजुल्दो पोसाकमा सजिएका तन्नेरी एकेम्पिसको त्यो भनाइ कोरिएको भित्तामुनि दाइने हातले केही पुस्तक चलाइरहेका थिए- देब्रेमा बाइकको हेलमेट थियो ।
‘किताब हेर्न आएको नि,’ साइपाल एकेडेमीबाट ए लेभल सिध्याएका युवाले भने- ‘समटाइम लाइफमा फिलोसोफिकल हुनुपर्छ ।’ अर्थात्, जीवनमा यदाकदा दर्शनपूर्ण हुनुपर्छ भन्ने उनको मान्यता छ । त्यो भावना जाग्रत हुनुमा कलेजका सिनियर विद्यार्थीहरूको योगदान छ ।

‘कति हाउडे हुन्छस्, घरीघरी फिलोसोफिकल हो,’ सिनियरहरूले आफूलाई त्यस्तो सल्लाह दिएको उनी सम्झिन्छन् । ‘त्यसैले मैले भन्ठानें ‘लेट्स बी फिलोसोफिकल’ (हौं न त दर्शनयुक्त) । अनि आएको ।’

‘कुरा गज्जब छ,’ मैले भनें- ‘दर्शनचाहिँ कसरी बटुल्ने ?’

”कालमहिमा’ पढ्नु भनेका छन् । लेखनाथ पौडेलको । अरू पनि केही छन् कि हेर्दै छु ।’ उनले भैरव अर्यालको नाम लिए ।

‘अनि हाउडेचाहिँ कसरी ?’

‘म पार्टी एनिमल,’ उनले भने- ‘पार्टी गा’को गै । काठमान्डुका सबै क्लब । मस्ट अफ दी क्लब्स् (धेरै जसो) । यो (पुस्तक प्रदर्शनी) र त्यो (पार्टी धेरै फरक ।’

‘पार्टीमै रमाइलो हुन्छ होला नि ?’

‘हैन, कहिलेकाहीँ भित्री कुरा हेर्नुपर्छ,’ नयाँ वानेश्वरका ठिटाले भने- ‘आफूलाई टाइम दिएर आफ्नै वर्ल्ड (संसार) मा बस्नुपर्छ । यस्तो हुन्छ क्या, किताब हेदा डिप्ली (गहिराइमा) जान सकिँदैन तर माइन्ड चेन्ज हुन्छ (दिमाग बदलिन्छ) ।’

किताबको लेखन सरल र आकर्षक (‘क्याची’) छ भने पढ्न मन हुने उल्लेख गर्दै उनले नेपाली कमजोर (‘विक’) भएकाले कति आफूले बुझ्न नसक्ने बताए । केही प्रकाशकहरूको सहभागितामा साझा प्रकाशनद्वारा आयोजित प्रदर्शनीमा सबैजसो पुस्तक नेपाली भाषामा छन् । प्रदर्शनीमा साहित्य, जीवनी लगायतका थुप्रै विधा समेटिएका छन् तर सबैले सबैको ध्यान कहाँ तान्छन् ?

‘रोमान्टिक (किताब) अल्छी लाग्छ,’ अभिषेकले भने र हेलमेटसहितका दुवै हात जोडले हल्लाए । ‘फ्याक्ट (तथ्य) चाहियो । वर्ल्ड कन्डिसन (विश्व अवस्था) बारे पढ्न मन लाग्छ ।’ तथ्यकै कुरा गर्दा उनीसँग मुखैमा एउटा विवरण झुन्डेको छ जसलाई न उनले पुष्टि गरेका छन् न संवाददाताले ।

‘अब पार्टीमा कोही मान्छे तीन सय रुपैयाँको सानो टकिला खान्छन्, कोही आठ सयको । आठ सय रुपैयाँले पाँच हजार लिटर पानी आउँछ । पाँच हजार हैन तर केही लिटर त आउँछ । त्यसैले यहाँको गरिबीको बारेमा लेखेका किताब पढ्ने मन छ ।’

टकिलाको कुरै मात्र, अभिषेक मद्यपान, धूमपान गर्दैनन् किनकि उनी ‘फिटनेस फ्रिक’ अर्थात् तन्दुरुस्ती भनेपछि हुरुक्कै हुने केटा हुन् । फोटो खिच्न लाज मान्ने तर तस्बिरमा कस्तो देखियुँला भन्नेमा निकै ध्यान पुर्‍याउने । र्सटभित्र गोजीमा एउटा पोको बोकेका उनको छातीको बायाँपट्टी हल्का उठेको छ जो तस्बिरमा देखिएला भन्ने कत्रो चिन्ता ! ‘लाज लाग्छ क्या !’ करिब दस मिनेटको कुराकानीमा दोस्रो फोन कल रिसिभ गरेका अभिषेकले संवाददातासँग भने- ‘यो नदेखाउनू ।’

उनको फोन फेरि बज्यो । ‘अहिले म उसमा छु, किताब एक्जिबिसनमा,’ उनले भने- ‘आज कहीँ जाने प्लान छैन ?’
सायद त्यहाँ भरे बेलुकीको पार्टीको कुरा भइरहेको छ तर मेरो रिपोर्टिङ पुस्तक प्रदर्शनीमा आएका तन्नेरी दर्शकबारेको हो । त्यसैले अर्को पात्र खोजौं ।

साहित्यकार खगेन्द्र सङ्ग्रौला हालै र्सार्वजनिक आफ्नो किताब ‘सम्झनाका कुइनेटाहरू’ किन्ने पाठकहरूलाई अटोग्राफ दिन एउटा कुर्सीमा केही व्यक्तिहरूबाट घेरिएर बसेका छन् । मीठो भाषामा तीखो शैलीका स्तम्भहरूका लागि उनी यो पत्रिका (कान्तिपुर) का धेरै पाठकहरूसँग परिचित छन् । तिनै मध्येका हुन् ५१ वर्षो विनोद भट्टर्राई जसले भर्खरै एउटा प्रतिमा सङ्ग्रौलाको हस्ताक्षर बटुले । ‘उहाँले (किताबमा) राम्रो लेख्नुभएको छ भन्ने सुनेको छु,’ सङ्ग्रौला-सिर्जनासहित एक दर्जनजति किताब बोकेका विनोदले भने- ‘शैली राम्रो उहाँको । म (किताब छान्दा) राजनीतिक दृष्टिले हेर्दिनँ । सुरुवात र अन्त्य कस्तो छ, त्यो महत्त्वपूर्ण हुन्छ ।’
विनोदलाई त्यहीँ छाडेर पात्र खोज्दै गर्दा कसैले निराशा प्रकट गरेको सुनियो- ‘हत्तेरिका !’

‘किन हो साथी – के भयो -‘

‘खोजेको किताबै छैन,’ उनले भने- ”पल्पसा क्याफे’ चाहिएको थियो ।’

१९ वर्षो विनोद पंज्ञानी स्वेट मार्डेनको ‘उन्नतिको मार्ग’ बोकेर नारायण वाग्लेको किताब खोज्दै हिँडेका रहेछन् ।

‘त्यो यहाँ पाइन्न होला,’ मैले भनें- ‘तर मार्ग गतिलै रोजिएछ ।’

‘यस्तो पढे केही नलेज (ज्ञान) मिल्ला कि भनेर । उपन्यास क्षणिक हुन् तर पढ्न मन लाग्छ । यस्तो प्रदर्शनीमा सस्तोमा पाइन्छन्- सबै खालका किताब ।’

सस्तोमा पक्कै, तर सबै खालका ? २४ वर्षो प्रदीप योङहाङ सहमत छैनन् । आरआर क्याम्पसमा राजनीतिशास्त्र र अङ्ग्रेजी साहित्यका बीए प्रथम वर्षा विद्यार्थीलाई विदेशी साहित्यकारका जीवनी र समालोचना पढ्न मन पर्छ । तर उनले बनाएको तीन पुस्तकयुक्त सूचीका दुइटा किताब (कुनै समालोचना सङ्ग्रह र सोफिज वर्ल्ड) त्यहाँ पाइएनन् ।

‘खै, मैले विज्ञान र गणितका किताब पनि पाइनँ,’ उनले भने ।

‘इन्जिनियरिङ पढ्नुपर्ने मान्छे कताबाट मानविकी ?’

‘गाउँको परिवेशले गर्दा पढ्न पाइएन,’ पाँचथरका युवाले भने- ‘मन नभएको कहाँ हो र ?’

सायद अर्को प्रदर्शनीमा त्यो चाहना पूरा होला ।

Advertisements

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s