दिनेश वाग्ले
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो ।
नेपाल र अमेरिकामा गत सप्ताहन्त अवकाशका दुइवटा प्रख्यात घोषणा भए । काठमाडौंमा बिहीबार संविधानसभाको खचाखच बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजिनामाको घोषणा गरेर हलुका महसुस गरे भने एक दिनपछि रेडमन्ड, वासिङटनमा विश्वको सबैभन्दा ठूलो कम्पनी माइक्रोसफ्टका अध्यक्ष बिल गेट्सले अफिसको दैनिक कामकाजबाट विदा लिएको घोषणा गरे ।
लामो राजनीतिक करिअर भएका ८५ वर्षो नेपाली नेता र विश्वचकित तुल्याउने व्यापारिक सफलता हासिल गरेका ५२ वर्षो अमेरिकी ढनाढ्य दुवै अब आ-आफ्नो क्षेत्रमा लगभग ‘सेरेमोनियल’ भूमिकामा हुनेछन् । कोइराला नेपालको पहिलो राष्ट्रपति हुने सम्भावना टरिसकेको छैन । उता गेट्स घोषित रूपमै कम्पनीको ‘सेरेमोनियल’ अध्यक्ष रहिरहनेछन् ।
दुवै नेताका विदाइ भाषण भावुक थिए । कोइरालालाई राजिनामाको घोषणा गर्दा हल्का अप्ठेरो भएजस्तो महसुस गर्न सकिन्थ्यो भने गेट्स रोए नै । कोइरालाको विदाइ सुन्न नेपाली जनताबाट चुनिएका साढे पाँच सयभन्दा केही बढी प्रतिनिधि तथा अरू केही संविधानसभा हलमा थिए भने गेट्सको विदाइ भाषण सुन्न माइक्रोसफ्टका झन्डै ६० हजार कर्मचारीमध्ये गोलाप्रथाबाट छानिएका आठ सय उपस्थित थिए । कोइरालाले आफ्नो (छ भने) आगामी योजनाबारे केही बताएका छैनन्, गेट्सले भने आफू सामाजिक सेवामा रहने उल्लेख गरेका छन् ।
सामाजिक सेवा गेट्सले आफू र पत्नी मेलिन्डाको नाममा स्थापित च्यारिटी संस्था ‘बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन’मार्फ गर्नेछन्, जसको मुख्य उद्देश्य विश्वमा बढी ज्यान लिने रोगहरूको उपचार पत्ता लगाउनु तथा विश्वका गरिबहरूलाई बचाउनु हुनेछ । ‘के त्यो हाम्रो जीवनकालमै हुनसक्ला ?’ दुइ वर्षघि फाउन्डेसनलाई अर्का ढनाढ्य वारेन बफेटले अर्बौं प्रदान गर्ने घोषणा समारोहमा गेट्सले उपचारको संकेत गर्दै भनेका थिए- ‘म आशावादी हुँदै भन्छु- पक्कै ।’
पारदर्शी रूपमा सञ्चालित संसारको सबैभन्दा धनी च्यारिटी संस्था र त्यसमा गेट्सको नेतृत्वबारे अलिपछि कुरा गरौंला । त्यसपहिले गेट्सको यहाँसम्मको आर्श्चर्यजनक यात्रा ।
यसपाली बाहेक बितेका १४ वर्षलगातार संसारका धनीहरूको सूचीको शीर्षास्थानमा रहेका गेट्सले भविष्यबारे सोचेका छन् । उनले कम्पनीबाट अवकाश लिएपछि धेरैले विश्व कम्प्युटर आन्दोलनमा उनको योगदान र उनका विरासतको चर्चा गरिरहेका छन् । हाइस्कुल पढ्दा-पढ्दै कम्प्युटर चलाउने सफ्टवेयर बनाउन थालेका र हार्वार्ड विश्वविद्यालयको पढाइ छाडेर सफ्टवेयर कम्पनी थालेका गेट्स आफ्नो ३३ वर्षे करिअरमा विश्व पर्सनल कम्प्युटर क्रान्तिका प्रमुख शक्ति भए । उनले संसारभरिका घर र अफिसमा दिनहुँ प्रयोग गरिने ‘विन्डोज’ र ‘अफिस’जस्ता अत्यधिक सफल उत्पादन बनाउँदै तीमार्फ ठूलो विश्वव्यापी उद्योग बनाउन सहयोग गरे ।
सन् १९९९ मा सूचना प्रविधिसँग सम्बन्धित उद्योग सफलताको शिखर पुग्दा गेट्सको सम्पत्ति एक सय अर्ब डलरको हाराहारी थियो, जो अहिले घटेर त्यसको आधाजति पुगेको छ, किनकि यस अवधिमा माइक्रोसफ्टको सेयरमा गिरावट आएको छ भने उनले पनि अर्बौं डलर च्यारिटीलाई दिएका छन् । विश्वका धनीको सूची बनाउने पत्रिका फोर्ब्सका अनुसार सन् २००० यता गेट्सले २९ अर्ब डलर च्यारिटीलाई दिएका छन् । यो वर्षेखि उनी विश्वका तेस्रो धनी हुन् । पहिलोमा मेक्सिकाली व्यापारी कार्लोस स्लिम छन् भने दोस्रोमा गेट्सभन्दा पाका तर उनका अभिन्न मित्र तथा अमेरिकी लगानीकर्ता कम्पनी बर्कसायर हाथवेका प्रमुख वारेन बफेट छन् । ‘खासमा म आफूलाई सबैभन्दा धनी व्यक्ति भएको रुचाउँदिन’, गेट्सले २००६ मेमा सियाटलमा भनेका थिए, ‘त्योसँग कुनै राम्रो कुरै आउँदैन । (धनले) गर्दा अरूको ध्यान अनावश्यक आकषिर्त गर्छ ।’ उनको धन माइक्रोसफ्टमा लगाएको उनको सेयरको मूल्य हो । तलब उनको खासै धेरै छैन । २००६ को तथ्यांकअनुसार गेट्सले त्यो वर्षमाइक्रोसफ्टबाट ६ लाख १६ हजार ६ सय ६७ डलर तलब र साढे तीन लाख डलर बोनस पाएका थिए ।
गेट्सले त्यस्तो बेला अवकाश लिएका छन्, जतिबेला उनले १९७५ मा स्थापना गरेको कम्पनी विश्व बजारमा आएका नयाँ प्रतिस्पर्धी र अवस्थासँग संघर्ष गरिरहेको छ । ‘प्रविधिको केन्द्र पर्सनल कम्प्युटरबाट इन्टरनेटमा सरेको छ’, गेट्सको विरासतबारे छलफल गर्दै न्युयोर्क टाइम्सले लेखेको छ- ‘माइक्रोसफ्टले आकर्ष रूपमा विज्ञता हासिल गरेको प्रतिस्पर्धाका पुराना नियम तोडमरोड गरिदिएको छ ।’ विश्वका ९० प्रतिशत अर्थात एक अर्बभन्दा बढी कम्प्युटर माइक्रोसफ्टले बनाएको ‘विन्डोज’ सफ्टवेयरबाट सञ्चालित हुन्छन् । तर हालैका वर्षा विश्वका लाखौंले कम्प्युटरको काम गर्न कम्प्युटरकै साटो मोबाइल फोनजस्ता चलायमान साधन प्रयोग गर्नथालेका छन् । धेरैजसो काम इन्टरनेटमै आधारित हुनथालेका छन् र त्यो क्षेत्रमा गुगलजस्ता प्रभावशाली कम्पनीले माइकोसफ्टको परम्परागत नेतृत्व खोसिरहेका छन् । इन्टरनेट खोजी क्षेत्रमा गुगलले माइक्रोसफ्टलाई कति पछाडि पारिदिएको छ भने गेट्सको कम्पनी टाढा तेस्रो स्थानमा छ । गुगलले अत्यन्त नाफादायी इन्टरनेट खोजी व्यापारको लगभग ६० प्रतिशत स्थात ओगट्छ भने दोस्रोमा याहुले २० र माइक्रोसफ्टले १० । त्यो दौडमा आफ्नो अवस्था सुधार्न माइक्रोसफ्टले अघिल्ला केही सातामा याहुलाई झन्डै ४८ अर्ब डलरमा किन्न खोजेको थियो, जो सफल भएन ।
‘बिलको विरासत विन्डोज र अफिस हुन्’, हार्वार्ड बिजनेस स्कुलका प्राध्यापक डेभिड योफीले टाइम्ससँग भने- ‘र ती आगामी कैयौं वर्षम्म नाफामूलक रहनेछन् ।’
तैपनि गेट्सको विरासत शानदार छ, टाइम्स लेख्छ, सफ्टवेयर बाहेक गेट्स र उनको कम्पनीले प्रविधिको केन्द्रीय भूमिका हुने धेरै उद्योगमा हुने प्रतिस्पर्धाबारे मानिसले सोच्ने तरिका आधारभूत रूपमा बदलिदिए ।
त्यसो भन्दैमा सूचना प्रविधि उद्यमी तथा विज्ञहरूले विन्डोजलाई उत्कृष्ट या सबैभन्दा प्रशंसा गरिने उत्पादनका रूपमा लिन्छन् भन्ने छैन । एप्पलको म्याकिन्टोसले बरु त्यस्तो सराहना गर्ने प्रशंसक भएको दाबी गर्न सक्छ । गेट्सले यसअघि कसैले गर्न नसकेको ढंगमा आपसमा सम्बन्धित दुइ अवधारणामाथि निपुणता हासिल गर्दै व्यवहारमा लागू गरे । एक- सञ्जालको प्रभावको शक्ति र प्रविधि मञ्च स्थापनाको मूल्य । अर्थात् जति धेरै व्यक्तिले प्रयोग गर्यो, त्यो उत्पादनको महत्त्व बढ्छ । विन्डोजको सवालमा त्यस्तै भयो । अनि विन्डोजलाई अन्य सफ्टवेयर निर्माताले आफ्नो सफ्टवेयर बनाउने मञ्चका रूपमा प्रयोग गरे, जसले गर्दा विन्डोजको महत्त्व झनै बढ्यो ।
संसारकै धनी हुन गेट्सलाई मन नपरे पनि त्यसका लागि उनले आफ्ना प्रतिस्पर्धीहरूलाई निर्दयी ढंगमा कुल्चिनुपर्यो भने सरकारसँग लामो मुद्दा लड्दै पराजित पनि हुनुपर्यो । १९९५ ताका इन्टरनेट ब्राउज गर्ने त्यतिबेलाको चल्तीको सफ्टवेयर नेट्स्केपलाई पाखा लगाउन गेट्सले इन्टरनेट एक्स्प्लोरर (प्रायः कम्प्युटर डेस्टटपमा देखिने वृत्तले घेरिएको त्यो हरियो इ) ल्याएपछि अमेरिकी सरकारले अस्वस्थ प्रतिस्पर्धा गरेको भन्दै मुद्दा हाल्यो । बुस प्रशासनले सन् २००० मा माइक्रोसफ्टसँगको मुद्दा टुङ्ग्यायो ।
त्यही वर्षेखि गेट्स कम्पनीको प्रमुख कार्यकारीबाट छुट्टी लिँदै नयाँ ‘सफ्टवेयर आर्किटेक्ट’ पद ग्रहण गरे । उनी तेज क्षमताका र उपलब्धिमूलक काम छोटो समयमै गर्ने क्षमता भएका व्यक्ति पक्कै थिए, रिसाहा पनि थिए । कम्पनीका वरिष्ठ प्रबन्धक सहभागी हुने बैठकमा गेट्स नियमित सहभागी हुन्थे र खोटयुक्त व्यापारिक प्रस्ताव देख्नेबित्तिकै उनी व्यंग्य प्रहार गर्दै गाली पनि गर्थे । ‘त्यो मैले अहिलेसम्म सुनेको सबैभन्दा मूर्ख कुरा’ र ‘बरु किन काम छाडेर पिसकोरमा स्वयम्सेवा गर्न जाँदैनौ ?’ भन्थे । त्यो गाली खाने प्रबन्धकले खुलस्त हुँदै र सोझै उनलाई हेरेर आफ्ना कुरा राख्नथालेपछि चाहिँ उनी हच्किन्थे र शान्त हुन्थे भनी टाइम म्यागेजिनले लेखेको छ ।
गेट्सका धनी वकिल बाबु र शिक्षिका आमा छोरो कानुनमा गएको देख्न चाहन्थे । १३ वर्षो हुँदा उनले कम्प्युटर प्रोग्राम लेख्न थाले । १७ वर्षो हुँदा हाइस्कुलका सहपाठी पउल एल्लेनसँग मिलेर माइक्रोसफ्ट थाल्दा पर्सलन कम्प्युटरहरूलाई धेरैले शौखिनका पुतली भन्दै पन्छाइदिएका थिए । उनीहरूले माइक्रोप्रोसेरको महत्त्व चाल पाए र त्यसले कम्प्युटरमा क्रान्ति ल्याउने सम्भावना देखे । १९८१ मा उनीहरूलाई त्यतिबेलाको भयानक ठूलो कम्प्युटर निर्माता कम्पनी आईबीएमले आफ्ना कम्प्युटरमा प्रयोग हुने सफ्टवेयर बनाउन छान्यो । त्यसपछि, भनिन्छ नि, बाँकी सबै इतिहास भयो । र गेट्सले त्यसलाई कहिल्यै बिर्सने छैनन् ।
‘मेरो जिन्दगीभरिको काम खासमा सफ्टवेयर हो र अतुल्य मानिससँग काम गरेको (अनुभव) हो’, शुक्रबारको विदाइ समारोहमा उनले भने, ‘मैले माइक्रोसफ्ट र त्यसले गरेको महान कामबारे नसोचेको दिन हुने छैन ।’
१९९४ जनवरी १ मा डल्लास, टेक्सासकी मेलिन्डा फ्रेन्चसँग विवाह गरेका गेट्स दम्पतिका दुइ छोरी र एक छोरा छन् । गेट्स निकै पढन्ते पनि मानिन्छन् । पढन्ते, पाठ्यक्रम बाहिरका किताबको, किनकि कक्षाको पढाइमा उनलाई खासै रुचि थिएन, त्यसैले हार्वार्डको ड्रिग्री उनले कहिल्यै हासिल गर्न सकेनन् । हार्वार्डबाट पढाइ छाडेको ३० वर्षछि विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधी प्रदान गर्यो । आफ्ना बाबु उपस्थित रहेको गत वर्षो त्यो समारोहमा हास्यचेतले भरिएको भाषण गर्दै गेट्सले भने- ‘म यो भन्न ३० वर्षन्दा बढीदेखि पर्खिरहेको थिएँ- ‘ड्याडी, म तपाईंलाई सधैं भन्थे नि, म (हार्वार्ड) फर्किनेछु र ड्रिग्री हासिल गर्नेछु’ ।’
‘डाक्टर’ गेट्स आफ्नो च्यारिटी संस्थामार्फको समाजसेवाबाट विश्वका स्वास्थ्य तथा शैक्षिक समस्या समाधान गर्न लाग्नेछन् । कमाएको त्यत्रो धन समाजमा खर्चिऊन् भन्ने र्सार्वजनिक चाहना बुझेपछि उनले १९९४ मा माइक्रोसफ्टका केही सेयर बेचेर ‘विलियम एच गेट्स फाउन्डेसन’ खोलेका थिए । त्यसक्रममा उनले समाजसेवा गर्ने जोन रकफेलरजस्ता व्यापारीबारे पनि अध्ययन गरे । सन् २००० मा उनी र पत्नी मेलिन्डाले परिवारका तीन च्यारिटी संस्थाहरूलाई जोडेर बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन बनाए । फाउन्डेसनमा चन्दा दिनेले आफ्नो पैसा कुन काममा खर्च भइरहेको छ थाहा पाउछन् । दुइ वर्षअघि गेट्सका मित्र तथा ढनाढ्य बफेटले आगामी थुप्रै वर्षमा फाउन्डेसनलाई लगभग ३० अर्ब डलर चन्दा दिने घोषणा गरे । लगानी प्रबन्धनका सम्राट मानिने बफेटले फाउन्डेसनको पैसा कसरी छिटो खर्च गर्ने भन्नेमा सघाउने पनि बताए । फाउन्डेसन विश्वका थोरै त्यस्तामध्ये पर्छ, जसले आफ्नो जीवन अवधि तोकेको छ । अर्थात् उसले आफ्ना संस्थापकहरूको मृत्यु भएको ५० वर्षभत्र सबै पैसा खर्च गरेर आफूलाई बन्द गर्ने प्रतिज्ञा गरेको छ ।