दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।
‘विकासे काममा लाग्नुअघि म सडक जति झ्याउलाग्दो अरू केही हुँदैन भन्ठान्थें,’ उनले भने- ‘अहिले मलाई लागेको छ सडक जादुमयी कुरा हुन्, जसले ग्रामीण भेगका बासिन्दालाई जीवन दिन्छन् ।’
‘आस्लामअलिकुम’ मलिक साहब !
साहिद मलिक । बेलायतका प्रथम मुस्लिम मन्त्री जो आफ्नो मन्त्रालय ‘अर्न्तराष्ट्रिय विकास विभाग’ (डिफिड) को एसिया शाखा हेर्छन् । राजनीतिक स्थायित्वप्रति लक्षित आयोजनादेखि सडक निर्माणसम्ममा सहयोग गर्दै आएको डिफिडको नेपालमा उल्लेख्य उपस्थिति छ । त्यसैले गत साता नेपाल आएका मलिकले काठमाडौंका ‘शक्तिशाली’ देखि काभ्रेका ‘निमुखा’ र ‘अशिक्षित’ महिलाहरूलाई भेटेर हास्यचेतले भरिएका अन्तरक्रिया गरे, जसबारे अलिपछि उल्लेख हुनेछ ।
बेलायती उपन्यासकार तथा राजनीतिज्ञ जेफ्री आर्चर अघिल्लो महिना भारतमा थिए- आफ्नो पछिल्लो उपन्यास ‘अ प्रिजनर अफ बर्थ’ को प्रवर्द्धन गर्न । त्यो मौकामा एनडीटीभीका लागि द इन्डियन एक्स्प्रेसका सम्पादक शेखर गुप्तासँग कुरा गर्दै उनले भनेका थिए- ‘बेलायतमा अहिले भारतीयहरूले जे गरिरहेका छन्, त्यो ३०-४० वर्षअगाडि यहुदीहरूले गरेका थिए । भारतीयहरूले अहिले स्थानीय परिषद्हरूको नेतृत्व लिइरहेका छन् । इंग्ल्यान्डमा भारतीय प्रधानमन्त्री भएको देख्न तपाईं बाँच्नुहुनेछ ।’
जब आर्चर ‘भारतीय’ भन्छन्- व्यापक अर्थमा उनी कुनै जमानामा बेलायती सामाज्यअर्न्तर्गत रहेका अहिलेका दक्षिण एसियाली मुलका बेलायती नागरिकलाई संकेत गरिरहेका हुन्छन् । जस्तै- साहिद मलिक । उनी गोरा बेलायती होइनन् । उनको उत्पत्ति थलो पाकिस्तान हो । मलिकले मन्त्रालय सम्हाल्नुअघि उनका बाबु-आमाले बेलायतमा मेयरको जिम्मेवारी सम्हालिसकेका छन् । उत्तर-औपनिवेशिक कालमा ‘पूर्व उपनिवेशक’ मुलुकमा ‘पूर्व उपनिवेश’ हरूको उदय प्रमाणित गर्नुबाहेक मलिकको सफलताले बेलायती समाजका अल्पमतको उठानको पनि संकेत गर्छ ।
समकालीन विश्वमा मुस्लिम भन्नेबित्तिकै बाझिने धारणा आउँछन् । धेरैजसो आतंककारी आक्रमणमा इस्लाम धर्म मान्नेहरूको सहभागिताले गर्दा त्यस्तो भएको हो । भन्नै पर्दैन त्यहाँ पनि उदार र कट्टरपन्थी छन् र पछिल्लाको हठको सिकार यदायदा अघिल्लाले हुनुपर्छ । ४० वर्षो मलिक उदाहरण हुन् । उनी लेवर पार्टीका तर्फबाट सांसद चुनिएको दुइ महिना नबित्दै ७ जुलाई २००५ मा लन्डनमा आतंककारी विस्फोट भए, जसको मुख्य जिम्मेवार मोहम्मद सिद्धिकी खान मलिककै निर्वाचन क्षेत्रका थिए । २००१ मा मलिकको गृहनगर बर्न्र्लीमा दंगा भड्किँदा उनका बाबु उपमेयर थिए र दंगा गर्ने बेलायती पाकिस्तानी युवाहरूलाई शान्त पार्ने प्रयास गर्दा प्रहरी कुटाइ खाएका मलिक रक्ताम्य भएको तस्बिर र भिडियो बेलायती अखबार र टीभीहरूमा आए । पछि ल्यान्क्सायर प्रहरीले मलिकसँग माफी माग्यो र प्रमुखले दंगामा उनको ‘शान्ति स्थापक’ भूमिकाको प्रशंसा गरे ।
२८ अक्टोबर २००७ मा मलिक लन्डन फर्किंदा वासिङ्टनको डुल्लेस एअरपोर्टमा अमेरिकी अधिकारीहरूबाट खानतलासीमा परेका थिए । त्यसको एक वर्षघि सांसद मात्रै हुँदा न्युयोर्कको जोन एफ केनेडी एअरपोर्टमा त्यस्तै व्यवहार गरिएको उनले बताएका छन् । ती दुवै भ्रमण मलिकले अमेरिकी सरकारकै निम्तोमा गरेका थिए- आतंकवाद नियन्त्रणसम्बन्धी कार्यक्रममै भाग लिन । पछिल्लो घटनापछि लन्डनस्थित अमेरिकी राजदूत तथा वरिष्ठ अमेरिकी अधिकारीहरूबाट माफी मागिएपछि उनले ‘कुनै खराब उद्देश्य नरहेको’ जानकारी पाएको बताउँदै फेरि अमेरिका यात्रा गर्न इच्छुक रहेको बताए ।
नभन्दै उनले फेब्रुअरी २००८ मा अमेरिकामै हनिमुन मनाए ।
‘गत सेप्टेम्बरमा मैले नेपाल छाड्दा यो अधिराज्य थियो र म पनि सिंगल थिएँ,’ काभ्रेको ग्रामीण सडक नियालेपछि धुलिखेलमा नेपाली अधिकारीहरू र केही दाता सहभागी अन्तरक्रियामा मलिकले भने- ‘यसपालि म गणतान्त्रिक नेपालमा आएको छु र विवाहित छु ।’ दुवै भ्रमणबीच समानता पनि रहे, जसबारे उनले व्यंग्य गरेहाले । ‘अघिल्लोपटक आउँदा माओवादी सत्ताबाट बाहिरिए, यसपालि पनि आएकै दिन बाहिरिए,’ उनले भने । अघिल्लो साँझ सबै माओवादी मन्त्रीहरूले राजीनामा दिएकाले पूर्वघोषणा विपरीत स्थानीय विकासमन्त्री देव गुरुङ त्यहाँ उपस्थित थिएनन् । सरकार बन्न ढिलाइ भएकामा पनि उनले हल्का व्यंग्य मारे । ‘यही कोठामा भएजतिकाबाट पनि सरकार बनाउन सकिन्छ,’ उनले भने- ‘जसले हलमा हाँसो ल्यायो ।’
तामाघाट-ठूलोपर्सेल कृषि सडकको निरीक्षण गर्न सर्स्युखर्कको बोहोरेदोभान पुगेका मलिकले गाउँलेहरूलाई सोधे- ‘यदि यही बाटो फेरि बनाउनुपरे के-के कुरा फरक ढंगमा गर्नुहुन्थ्यो ?’ त्यसको प्रस्ट उत्तर उनले पाएनन्, सडक पिच हुनुपर्ने माग आयो ।
‘महिलाका रूपमा तपाईंहरूका लागि यो सडकको सबैभन्दा बढी महत्त्व के ?’ उनले जान्न चाहे । ‘डेलिभरी हुन नसकेका’ महिलालाई हस्पिटल लान सजिलो भएको जानकारी उनले पाए । एउटीले सबैभन्दा सक्रिय रूपमा र तार्किक जवाफ दिएपछि मलिकले दोभासेलाई भने- ‘उहाँलाई ‘तपाईं बुद्धिमान् महिला हुनुहुन्छ’ भनिदिनुस् ।’
‘बुद्धि त छ नै सर,’ ४२ वर्षो विमला तामाङले मज्जाले हाँस्दै भनिन्- ‘तर पढाइ छैन ।’
महिलाहरूसँग दोभासेमार्फ सञ्चार पूर्ण हुन नसकेको महसुस गरेका मलिकले एक क्षणमा सबैलाई चकित तुल्याउँदै जुरुक्क उठेर भने- ‘आप हिन्दी समझ सक्ते हो ?’
‘नाइँ,’ महिलाहरूबाट जवाफ आयो ।
‘नहीँ ?’ उनले भने- ‘कैसे हो आपलोग ? पञ्जावी ?’
झन् पन्जावी के खाएर बुझ्नु ? त्यसपछि उनी अंग्रेजीमै बोल्न थाले । काठमाडौंमा आधारित कूटनीतिज्ञहरूको मुख्य समस्यै भाषाको हो, जसले गर्दा उनीहरू गाउँलेका कुरा सुन्न सक्दैनन् र सहरी इलिटकै आँखाबाट नेपाललाई हेछन् । पन्जावी त त्यस्तै हो नेपालमा धेरैले हिन्दीचाहिँ बुझ्छन् । मलिकले अर्को नेपाल यात्रामा अंग्रेजी नजान्ने नेपालीसँग प्रत्यक्ष हिन्दी कुरा गरेर आफ्नो मन्त्रालयको कामबारे जानकारी लिए राम्रो ।
केही गाउँलेले मलिकको प्रस्तुति र खुलापनलाई निकै मन पराएको मैले पाएँ । नेपालमा ठूलो ओहोदाको भन्ने बित्तिकै सानासँग हत्तपत्त नबोली गजक्क परेर बस्ने चलन छ । तर यहाँ एकजना गाउँलेका अनुसार ‘बेलायतजस्तो सम्पन्न मुलुकबाट हाम्रो समस्या हेर्न आएका’ मन्त्री गाउँलेहरूसँग मज्जाले गफिइरहेका थिए । मलिकले बडो उत्साहित हुँदै ‘बुद्धिमान् महिला’ र अरूसँग तस्बिर पनि खिचाए । अमेरिकी एअरपोर्टहरूमा दुर्व्यवहार भोगेका मलिकलाई गरिब नेपालीले अबिर र मालाको खातले स्वागत गरे । माला पहिरिएका अन्य ‘दाता’ हरूको गमक्क परेको मुहार हेर्दा मलाई लागेको थियो- त्यस्तो न्यानो स्वागत उनीहरूले कहिल्यै पाएका थिएनन् । धनी हुनुको मज्जै त्यही छ, सहयोगको आशा गर्ने गरिबहरूबाट सधैं स्वागत पाइन्छ ।
‘रोड खुलेपछि कुरा पनि सिकियो,’ एउटी महिलाले मलिकको एउटा प्रश्नमा भनिन्- ‘हामी बोल्नसक्ने भयौं ।’
‘कहीँ जान पाएका थिएनौं,’ अर्कीले भनिन्- ‘जान खोज्दा ‘कहाँ ?’ भनेर हस्तक्षेप हुन्थ्यो ।’ अब त्यस्तो छैन ।
त्यति सुनेपछि मलिकले सडकको जादु बुझेको हुनुपर्छ । ‘सडक भनेको शरीरका नसाजस्तै हुन्,’ उनले भने- ‘नसाले शरीरमा रक्तसञ्चार गरेजस्तै सडकले गाउँमा आवश्यक कुरा पुर्याउँछन् (र बाहिर लैजान्छन्) ।’
ती महिलाहरूको कुरा सुन्दै गर्दा मैले मान्म गाविस, कालिकोटका ४१ वर्षो भरतबहादुर शाहीलाई सम्झिएँ । एक वर्षघि अप्ठेरो र पूरै बनी नसकेको कर्णाली राजमार्गको यात्रा गर्दा तिलाभन्दा केही माथि उनकै किनारा पसलमा मैले उनलाई भेट्टाएको थिएँ । ‘जब हाम्रो घरदैलोमा गाडी गुड्यो तब हाम्रो चाबी खुल्यो,’ उनले भनेका थिए- ‘हजुर हाम्रो परिचय भयो सडकले गर्दा । कपडा र खाना सस्तोमा पाइएको छ ।’
विमानस्थल नभएको कालिकोटजस्तो ठाउँका लागि सडक पुग्नुको महत्त्व अलि बढी होला तर एक तहमा मलाई लाग्यो कालिकोटदेखि काभ्रेसम्म सबै गाउँले नेपालीका लागि सडकको महत्त्व उत्तिकै छ ।
महत्त्व भएर के गर्नु, भन्ने बित्तिकै सडक पाइने होइन । विश्व बैंकका अनुसार नेपालको कुल सडक सञ्जाल र घनत्व यो क्षेत्रकै सबैभन्दा कम हो । सबै मौसममा चल्ने सकडमा ३६ प्रतिशत नेपालीको मात्र पहुँच छ । ११ हजार किलोमिटर ग्रामीण र कृषि सडकसहित २००५ सम्ममा नेपालमा २८ हजार किमि सडक थियो । विश्वमै सबैभन्दा ठूलो सडक सञ्जाल अमेरिकामा ६४ लाख ३० हजार किमि (२००५) छ भने त्यसपछि भारतमा ३३ लाख ८३ हजार (२००२) र चीनमा १८ लाख किमि (२००४) ।
‘सडकको नराम्रो अवस्थाले सामाजिक सेवा प्रदान गर्न अवरोध पार्छ,’ विश्वबैंक भन्छ- ‘उच्च यातायात खर्च र सडक सञ्जाल नहुनु नेपाली विकासका मुख्य बाधक हुन् ।’ त्यो विश्व बैंकले किन भनी रहनुपर्थ्यो र ? कि कसो मलिक साहेब ? आप सुन रहे हो ना ?