अडिगाको अँध्यारो भारत

अडिगाको ह्वाइट टाइगर
ठुलो पार्न तस्बिरमा क्लिक गरे हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

अडिगा

अग्रणी भारतीय समाजशास्त्री एन्ड्रे बेटेलीले गत साताको ‘तहल्का’ म्यागेजिनसँगको अन्तर्वार्तामा हालैको मुम्बई आतंकवादी हमला परेको एउटा होटलको नाम लिँदै भनेका छन्, ‘ताजमहल होटल पक्कै एक प्रतीक हो तर कसको ?’

धनाढ्यहरूको । गत साताकै ‘आउटलुक’ म्यागेजिनको ‘चिठी’ स् तम्भमा दिल्लीका पाठक एन कुन्जुले त्यसलाई यसरी प्रस्ट्याएका छन् ।

‘बम्बे आक्रमणबारेको यो सबै असमानुपातिक होहल्लाका कारण त्यसमा प्रभावितहरूमा मुख्यतः ठूलाठालूहरू पर्नु नै हो,’ कुन्जु लेख्छन्, ‘-तिनीहरू) जसले कोठाको १० हजार तिर्न र एक छाकमै केही हजार खर्चिन सक्थे । बनारस र अजमेरजस्ता धार्मिक स्थलमा धेरै मान्छे मर्ने आतंकवादी हमला भएको भए त्यो पूरै घटनालाई (अहिले कोकोहोलो मच्चाउने मिडियाले) एक/दुई कोलममै सिध्याइदिने थियो ।’

फरक पत्रिकाका फरक पन्नामा छापिएका ती टिप्पणीमा एउटा गम्भीर विवाद र विभेदको झल्को पाइन्छ जसलाई उजिल्याएका छन् अरविन्द अडिगाले आफ्नो उपन्यास ‘द ह्वाईट टाइगर’ मा । भारत अझै विपन्न र पिछडिएको छ । हालैका वर्षहरूमा केहीले दाबी गर्ने गरेजस्तो पूरै चम्किएको छैन र जति चम्किएको छ, त्यसको प्रकाश गरबिहरूसम्म पुगेको छैन । सन्तोषजनक आर्थिक वृद्धि र सूचना प्रविधिको क्षेत्र मा केही हदसम्मको सफलताका कारण सहरी मानिसहरूको क्रय क्षमतामा सुधार आउँदा मिडिया र राजनीतिको एउटा पक्षले त्यसलाई भारतीय उदयको संज्ञा दिँदै आएको छ । तर त्यो उदयमा सहरकै थुप्रै र गाउँका प्रायः सबै समेटिन सकेका छैनन् । उनीहरू अझै अडिगाको किताबमा व्यापक रूपमा प्रयोग भएको शब्द ‘अन्धकार’ मा छन् ।

त्यही अँधेरो भारतको छोरो बलराम हलवाईको कथा हो ‘द ह्वाइट टाइगर’ जसले दुई महिनाअघि प्रतिष्ठित बुकर पुरस्कार पायो । भारतीय गरिबीको केन्द्र, हाम्रो छिमेकी विहार राज्य (या अन्धकार) मा जन्मे हुर्केको बलरामले आफूले चलाउने गाडीको मालिकलाई हत्या गरेर भारतीय सम्पन्नताको केन्द्र, दक्षिणी सहर बैंगलोर (या उज्यालो) तिर गरेको यात्रा र पाएको तुलनात्मक सम्पन्नतालाई किताबले कथामा उनेको छ । सामन्ती जमिन्दारहरूको ज्यादतीपूर्ण परिवे शबाट उम्किएर आफ्नै नेतृत्व र स्वामित्वको व्यवसाय थालेको हलवाईले कुनै एक मध्यरात समय निकालेर चिनियाँ प्रधानमन्त्रीलाई सम्बोधन गर्दै चिठी कोर्न थाल्छ । सात रात लगाएर लेखिएको त्यो विवरण नै पुस्तक हो । अर्थात् अडिगाले कथा मुख्य पात्र नोकर/ड्राइभरको दृष्टिकोणबाट भनेका छन्, जसले पूरै किताबलाई दुःखको ठेली हुँदाहुँदै पनि पठनीय र रोमाञ्चक बनाएको छ ।

‘ह्वाइट टाइगर’ अर्थात् ‘सेतो बाघ’ बिरलै पाइने जनावर हो । संयोगले कक्षा निरीक्षण गर्न आएका एक शिक्षकले हलवाईको क्ष्ामता देखेपछि उसलाई त्यही नाम दिन्छन् । व्यंग्यै हो, ‘ह्वाइट टाइगर’ बिरलै भए पनि हलुवाईजस्ता गरिबीको चापमा परेकाहरू भारतमा करोडौं छन् ।

पुरस्कारहरूको पहिलो उद्देश्य तिनलाई पाउनेको योगदानको कदर गर्नु हो । तर बुकरजस्ता पुरस् कारले योगदानको कदर मात्र गर्दैनन्, किताबलाई व्यापक चर्चामा ल्याइदिएर बिक्रीमा ठूलो सहयोग पुर्‍याउँछन् । बुकर पाएको समाचारसँगै मैले पहिलोपल्ट ‘ह्वाइट टाइगर’ बारे सुनेको थिएँ र त्यसपछिका थुप्रै दिन त्यो साथीहरूमाझ चर्चाको विषय भयो । इन्टरनेटमा त्यसबारेका समीक्षा र लेखकका अन्तार्वार्ता पढियो । त्यसैमा आधारति भएर क्यान्टिनमा थुप्रै चिया गफ पनि गरियो । कसैले भन्यो, ‘ए, अडिगा कुनै जमानामा काठमान्डू पोस्टमा इन्टर्न (प्रशिक्षार्थी) थियो रे यार ।’ टाइम म्यागेजिनका पूर्वपत्रकार भन्ने कुरा समाचारहरूमै आएको थियो । त्यसैले हामीले टाइममा अडिगाका बाइलाइनका रिपोर्टहरु सम्झिने प्रयत्न पनि गर्‍यौं । पत्रकारले लेखेको किताबमा पत्रकारलाई विशेषै रुचि हुन्छ । के पत्तो, कुनै बेला आफैंले पनि लेखिने हो कि ? हालैका केही वर्षमा नेपालमा थुप्रै पत्रकारले आख्यान र गैरआख्यान दुवैमा पुस्तक लेखेका छन् र तिनैमध्येको एक किताबले नेपाली साहित्यको सबैभन्दा उच्च पुरस्कार पाएको छ ।

संयोग कस्तो पर्‍यो भने डेढ महिनाअघि भारतमै पत्रकारिता गर्न नयाँदिल्ली आउनुपर्ने भयो । अब त त्यो किन्ने सूचीको नम्बर एकमा परिहाल्यो । भारतमा बस्नु छ अनि भारतकै कथा- त्यो पनि पत्रकारले लेखेका- नपढी कहाँ हुन्छ ? आएको केही दिनमै मैले त्यो किताब नयाँदिल्लीको सम्पन्नताको केन्द्र मानिने कनाट प्लेसको एउटा खँदिलो पुस्तक पसलमा किनेको थिएँ ।

सुरुको पाठ सिध्याउन केही समय लाग्यो तर त्यो कथा नमीठो भएर होइन बरु नयाँ ठाउँमा आएपछि अनेकौं कुरा प्राथमिकतामा परेकाले । तर जब सिध्याउने लक्ष्य लिएर पढ्न थालें, पन्नाहरू त्यसैत्यसै पल्टिन थाले । पत्रकारले लेखेको किताबमा एउटा मज्जा के हुन्छ भने त्यसमा रिपोर्टङको झल्को प्रशस्तै पाइन्छ । लाग्यो, म उपन्यास होइन, अडिगाले टाइममा लेखेको कभर स्टोरी पढिरहेको छु ।

उसो त काल्पनिक सिर्जनामा पाठकले वास्तविकताको झल्को खोज्नु आफैंमा एक विरोधाभाष हो । तर आख्यानलाई पाठकले वास् तविक जीवनसँग तुलना नगरी रहनैसक्दैन । कतिपयले त वास्तविक समाजको तस्बिर नै कल्पनामा आधारति पुस्तकबाट बनाएका हुन्छन् ।  अर्कोतिर, कल्पनामा आधारति पुस्तक लेख्नेहरूले सकेसम्म वास्तविकतासँग नजिक तुल्याउन विषयवस्तुको गहिरो  अनुसन्धान गरेका हुन्छन् । ‘ह्वाइट टाइगर’ मा अडिगाले भारतीय वास्तविकतालाई छर्लंग उतारेका छन् । तर विहारमै जन्मे हुर्केका भारतीय लेखक अमिताभ कुमारले वास्तविकताभन्दा अलि टाढा रहेको, केही पात्रको वर्णन बेइज्जतीपूर्ण भएको र कथा ‘बाहिरिया’ ले भनेजस्तो सुनिएको दाबी गर्दै ‘बोस्टन रिभ्यु’‘द हिन्दु’ मा प्रकाशित एउटा समीक्षामा ‘ह्वाइट टाइगर’ लाई ‘च्यातचुत’ पारेका छन् । पक्कै एउटा किताब र त्यसले उठाएका मुद्दामा सबै सहमत हुने भन्ने कुरै छैन ।

छ दशकअघिसम्म बेलायती शासन र डेढ दशकअघिसम्म लाइसेन्स राजमा रहेका भारतीयहरू दिल्लीमा अहिले विश्वस्तरको मेट्रो रेलमा चढ्छन्, बैंगलोरमा विश्वका प्रतिष्ठित कम्पनीहरूलाई आतिथ्यता दिन्छन् र चन्द्रमामा रकेट पठाउँछन् । तर ‘चन्द्रयान’ सफल हुँदैमा जनसंख्या अध्येता आशिष बोसले सिर्जना गरेको शब्दावली ‘बिमारु’ (बिरामी) समस्या हल हुँदैन । जनसंख्यामा आधारति भारतीय राजनीतिमा बलियो प्रभाव भएका विहार, मध्यप्रदेश, राजस्थान र उत्तरप्रदेश (अंग्रेजी छोटकरी-बिमारु) मा व्याप्त गरिबीले पूरै देशको आर्थिक उन्नतिमा भाँजो हालेको अनुभवलाई सन् २००५ को राष्ट्रसंघीय मानव विकास प्रतिवेदनले उल्लेख गरेको छ । विश्वकै सबैभन्दा गरबिहरूको उल्लेख्य संख्या भारतमै छ र डलरमा (भारुमा मात्र हैन) अर्बपतिहरूसमेत यहाँ बर्सेनि बढिरहेका छन् । ‘अँध्यारो’ र ‘उज्यालो’ भारत वास्तविकता हुन् ।

उन्नतिका लागि भारतीयहरू भोका छन् र उनीहरू अहिलेसम्म हासिल भएको प्रगतिका लागि यदाकता चाहिनेभन्दा बढी नै गौरव गर्छन् । उनीहरू आफूलाई निरन्तर चीनसँग तुलना गर्छन् र मौका पर्नेबित्तिकै अमेरिकामा यस्तो छ, हाम्रोमा पनि हुनुपर्छ भन्न बाँकी राख्दैनन् । मुम्बई आक्रमणकै सन्दर्भमा पनि केही मिडिया र समाजका केही तप्काले त्यसलाई भारतको सेप्टेम्बर ११ भएको उल्लेख गर्दै अमेरिकाले अफगानिस्तानमाथि आक्रमण गरेझैं भारतले पनि पाकिस्तानमा हमला गर्नुपर्ने तर्क गरे । कसैले उनीहरूलाई ‘तिमीहरू तेस्रो विश्व’ भनिदियो भने तत्काल प्रतिवाद गरिहाल्छन् । एक महिनाअघि अस्टे्रलियाली क्रिकेटर म्याथु हेडेनले भारतीय खेल मैदानको खराब अवस्था औल्याउँदै ‘तेस्रो विश्वको मुलुक त्यस्तै हुने’ बताएपछि यहाँको क्रिकेट बोर्डका एक अधिकारी राजीव शुक्लले प्रतिक्रिया जनाए, ‘उनीजस्तो स्तरको खेलाडीले त्यस्तो टिप्पणी गर्नु नहुने ।’

हुनलाई भारत तेस्रो विश्व नै हो । हेडेनले नभन्दैमा भारत पहिलो विश्व हुने होइन । तर त्यो स्विकार्न थुप्रै भारतीय अप्ठेरो मान्छन् । मद्रासमा जन्मेका, अस्ट्रेलिया, अमेरिका र बेलायतमा बसेका र अहिले मुम्बईमा बस्ने अडिगाले ‘ह्वाइट टाइगर’ मा त्यसलाई बिना कुनै अप्ठेरो स्वीकार गरेका छन् ।

यो लेख पहिलो पल्ट आजको कान्तिपुर कोशेलीमा प्रकाशित भएको हो । पत्रित्रकाकै पन्नामा हेर्ने भए माथिको तस्बिरमा क्लिक गरौ‌‌ । अ‌ग्रेजीमा यहाँ छ- India’s “White Tiger”