दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख पहिलो पटक आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ छ । अग्रेजी सस्करण यहाँ छ ।

यसै महिनाको सुरुतिर मैले नयाँदिल्लीको मेट्रो रेल चढ्नु पछाडि दुई कारण थिए । पहिलो, द्वारकाबाट सेन्ट्रल सेक्रेटेरियट पुग्न सबैभन्दा सजिलो यातायात माध्यम त्यही थियो । मेट्रोको अन्तिम स्टेसन सेक्रेटेरियटबाट म बसमा जंगपुरा एक्स्टेन्सनको फल्याटमा पुग्न सक्थेँ । दोस्रो, संसारकै उत्कृष्ट मध्येको एक सहरी यातायात प्रणाली भनि व्यापक रूपमा वर्णन गरिएको प्रख्यात मेट्रो हेर्न चाहन्थेँ म । शंकै छैन, दिल्लीको गज्जवको रेल प्रणाली भारतीय राजधानीका शीर्ष पर्यटकीय गतव्य मध्येको एक भएको छ । बेला-बेला अाइफोनमा इन्टरनेट ब्राउज गर्दै ३० किलोमिटर जतिको दूरी यात्रा गर्दा मैले सुविधासम्पन्न टे्रन डिब्बाभित्रको जीवन्त वातावरणको मात्रै मजा लिइन, तीन तले घरको उचाइबाट सहरको अवलोकन पनि गरेँ । अग्ला र मोटा खम्बामा अडिएको रेल ट्रयाक सडक माथिबाट जान्छ । तल सडकमा ठाउँ र गतिका लागि तँछाड-मछाड गर्ने गाडीहरू तिनका चालक र यात्रुलाई थकाई लागुन्जेल रातो बत्तीमा अड्किन्छन् । माथि वातानुकूलित डिब्बाका यात्रुलाई ट्राफिक जामसँग मतलवै भएन ।
मेट्रो प्रत्येक चार मिनेटमा स्टेसन आइपुग्छ, जसले गर्दा मानिसहरू तिनका घडीले देखाउने समयमा साँच्चिकै विश्वास गर्न सक्छन् । जे कुरा पनि आधा घन्टा ढिला हुने कुख्यात नेपाली टाइम (नेपाल स्टयान्डर्ड टाइम) को भारतीय समकक्षी इन्डिया स्ट्रेचेवल (तानतुन गर्न मिल्ने) टाइम मेट्रोमा लागू हुँदैन । टिकट प्रणाली लगभग स्वचालित छ । काउन्टरमा गएर गन्तव्य उल्लेख गर्दै पैसा तिरेपछि टोकन पाइन्छ, त्यसलाई ‘टिकट गेट’मा लगेर हल्का छुवाएपछि ढोका फुत्त खुल्छ । अनि प्लेटर्फममा जाने र ट्रेन पर्खिने । जब आउँछ, भित्र छिर्ने । पूरै प्रक्रिया कति व्यवस्थित र सजिलो लाग्यो भने त्यसको तुलना मलाई माइक्रोसफ्ट विन्डोजसँग गर्न मनलाग्यो । कम्प्युटरको खासै ज्ञान नभएको व्यक्तिले पनि जसरी एमएस वर्ड फाइल खोलेर चिठ्ठी टाइप गर्न सक्छ (विन्डोजभन्दा अगाडि ‘डस’को जमानामा त्यो कहाँ त्यति सजिलो थियो र ?) त्यसैगरी ट्रेन चढेको अनुभवै नभएकाहरू पनि मेट्रोमा यात्रा गर्न सक्छन् ।
छ वर्षअघि दिल्लीमा मेट्रोको उद्घाटन हुँदा अवस्था त्यस्तो थिएन । दिल्ली मेट्रो बनाउने व्यक्ति केरेलाका इलात्तुभालापिल श्रीधरणलाई ‘एसियाली हिरो’को संज्ञा दिँदै टाइम म्यागेजिनले २००३ मा मेट्रोको पहिलो दिनलाई ‘होहल्लापूर्ण’ भनी वर्णन गरेको थियो । दक्षिण कोरियामा बनेका ट्रेनहरूमा चढ्न १० लाखभन्दा बढी व्यक्ति पुगेका थिए र तिनीहरूले प्लेटर्फममै पिसाब फेरिदिए, धुन सुन्नकै लागि आपतकालीन अवस्थामा ट्रेन रोक्न प्रयोग गरिने स्वीचहरू थिचिदिए र ३० हजार टोकन आफैंसँग लिएर हिँडे । त्यो घटनाले मेट्रो अधिकारीहरूलाई स्थानीय रेडियोहरूमा विज्ञापन गर्न प्रेरित गर्यो । ‘पिउने, मात्ने होइन,’ विज्ञापनहरूले भने- ‘गालीगलौजको भाषा प्रयोग नगर्ने, दूधका क्यान र घरपालुवाहरू नल्याउने । डिब्बाका स्वीच र मेसिनहरू नबिगार्ने ।’
माथि उल्लेख गरेँ, अहिले त्यो सबै अर्कै युगको कथाजस्तो लाग्छ । यद्यपि भारत न पर्यो, जापान होइन । त्यसैले कतिपय समस्याहरू छँदैछन्, जसलाई नियन्त्रण गर्न र मेट्रोको वातावरण थप सुमधुर बनाउन दुई साताअघि एउटा अभियानको घोषणा गरियो । ‘नागरिकहरूको स्वयम्सेवा मञ्च’को उद्देश्य डिब्बा र प्लेटर्फममा अनुशासनहीन यात्रुलाई तह लगाउनु र अनावश्यक क्रियाकलापमा दृष्टि पुर्याउनु हुनेछ । ‘स्वयम्सेवकहरू स्वनिर्देशित हुनेछन् र उनीहरूलाई पैसा दिइने छैन’, मेट्रोका प्रवक्ता अनुज दयालले एउटा समाचार एजेन्सीलाई भने- ‘उनीहरूले महिला र वृद्धहरूलाई सिट उपलब्ध गराउने, उच्चस्वरमा संगीत बजाउन नदिने, होहल्ला नियन्त्रण गर्ने, अनुशासन कायम गराउने जस्ता काममा वार्डेनको भूमिका खेल्नेछन् ।’ स्वयम्सेवा गर्न इच्छुक नागरिकहरूबाट मेट्रोले आवेदन माग्यो । आवेदन टन्नै परे । यस्तो लाग्यो, मेट्रोलाई राम्रो अभियानमा सबै सामेल हुन चाहन्छन् ।
‘मेट्रोले मानिसको जीवनशैली र उनीहरूले यात्रा गर्ने तरिका बदलिदिएको छ’, श्रीधरणले एउटा वेबसाइटसँगको अन्तर्वार्तामा भनेका छन्- ‘यसले सामाजिक व्यहोरा बदलिरहेको छ, मानिसहरू बढी अनुशासित भइरहेका छन् । उनीहरूले सार्वजनिक सम्पत्तिको सम्मान गर्न थालेका छन् ।’
पश्चिमा सहरी यातायात प्रणाली नदेखेका नेपालका थुप्रैले दिल्ली मेट्रोमा चकितै तुल्याउने खालको संसार पाउनेछन्, जसको आफ्नै संस्कृति र भाषा छ । हाम्रो जनकपुर र भारतको जयनगरबीच शंखे कीराझैं घसि्रने त्यो संग्रहालयमा राख्न ढिला भइसकेको वस्तुबाहेक नेपालमा रेल छैन । त्यसैले नेपालको के कुरा गर्नु तर विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल भएको भारतका लागि पनि मेट्रो पूरै नयाँ र गज्जवको अवधारणा हो । यो सुन्दर र सफामात्र छैन, यसको यात्रा अनुभव सजिलो, सस्तो र निकै हदसम्म छिटो पनि हुन्छ । डिब्बाहरूको सुन्दर स्वरूप, योजनाबद्ध सूचना प्रणालीसहितका भव्य प्लेटर्फम र जमिनमुनि-माथि हुँदै बग्ने ट्रयाकका कारण मेट्रो नयाँदिल्लीका महत्त्वपूर्ण चिनारी मध्येको एक भएको छ ।
मेट्रो तीन रुटमा चल्छ र सबैको कुल लम्माइ ६८ किलोमिटर छ । हाम्रो सिंहदरबारजस्तै भारतका महत्त्वपूर्ण सरकारी अफिसहरू रहेको ठाउँ सेन्ट्रल सेक्रेटेरियट, दिल्ली विश्वविद्यालय, पुरानो दिल्लीको मुटु चाँदनी चोक र नयाँदिल्ली सहरभित्रको पनि सहरको रूपमा वर्णन गरिने द्धारका लगायतका स्थानलाई मेट्रो सञ्जालले जोडेको छ । यही बुधबार मे्रटोले सञ्चालनको छैटौं वर्ष पूरा गर्यो । दैनिक यसमा ७ लाख २९ हजारले यात्रा गर्ने प्रवक्ता दयालले बताए । गत नोभेम्बर २४ मा अहिलेसम्मकै सबैभन्दा बढी ९ लाख ५१ हजारले यात्रा गरेका थिए । भारतको केन्द्रीय र दिल्ली सरकार मिलेर बनाएको खर्चियो योजनालाई जापानले सहुलियतपूर्ण ऋणमार्फत सहयोग गरेको छ ।
दिल्लीको व्यापकता र भयानक जनसंख्या हेर्दा मेट्रोको सञ्जाल उति प्रभावकारी लाग्दैन । त्यसैले सञ्जाललाई सहरभरि फैलाउने अभियान जारी छ । दिल्ली मेट्रो रेल कर्पोरेसनले टाँगेका ‘कार्य प्रगतिपर हैं’ लेखिएका थुप्रै साइनबोर्ड दिल्लीका सडकभरि नै देख्न सकिन्छ । लक्ष्यहरू तोकिएका छन् र समयमै काम सिध्याएर तिनलाई भेट्टाइएको छ । त्यो सबै जश इ. श्रीधरणलाई नै जान्छ, जो आफैंचाहिँ जश आफ्नो टोलीलाई दिन्छन् । सन् २०१० मा दिल्लीमा कमनवेल्थ गेम आयोजना गरिँदा राजधानी सहरमात्र होइन, पूरै भारतले मेट्रो सञ्जाल विश्वलाई सगौरव देखाउनेछ । हुन पनि मेट्रो भारतकै गर्वको विषय बनेको छ र थुप्रै ठूला सहरहरूले ठयाक्कै यस्तै मेट्रो बनाइदिन श्रीधरणलाई आग्रह गरिरहेका छन् ।
‘सबैभन्दा मुख्य कुरा दिल्ली मेट्रो पूरै विश्वका लागि भारतीय प्रगतिको प्रतीक बनेको छ’, श्रीधरणले एउटा अन्तर्वार्तामा भनेका छन्- ‘यसले हाम्राे देश, हाम्रो आर्थिक र प्राविधिक फड्कोप्रति निकै ध्यानाकषिर्त गरेको छ ।’
इज्जत छ साथै मेट्रोले सम्भावित आक्रमणको खतरा सामना गर्छ । महिनैपिच्छे जस्तो आतंककारी हमलाहरू खेपिरहेको भारतमा उच्चकोटीको यो रेलसेवा एउटा सम्भावित निसाना बनेको छ । भारतीय सम्पन्नताको प्रतीकमा प्रहार गर्न कुन आतंकवादीलाई मन पर्दैन ? त्यसैले मेट्रोमा कडा सुरक्षा प्रणाली स्थापित छ । ट्रेनको डिब्बासम्म पुग्न हरेकले खानतलासी र मेटल डिटेक्टर हुँदै गुज्रनु अनिवार्य छ ।
लेखक, कान्तिपुरका नयाँदिल्ली ब्युरो प्रमुख हुन् ।

2 responses to “दिल्लीको मेट्रोमा सरर”
Ani Dai yatro din kata gayab yasto ta bhaye na ni ali chitai chatai lekh rakhnu paryo
Fan of your Blog
Nepal ma bhaye po kehi kura ni hunthyo … but dinesh its a nice article … pls also view http://abhi.com.np/blog/