दिल्लीको मेट्रोमा सरर

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख पहिलो पटक आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ छ । अ‌ग्रेजी स‌स्करण यहाँ छ

Metro rail of new delhi

यसै महिनाको सुरुतिर मैले नयाँदिल्लीको मेट्रो रेल चढ्नु पछाडि दुई कारण थिए । पहिलो, द्वारकाबाट सेन्ट्रल सेक्रेटेरियट पुग्न सबैभन्दा सजिलो यातायात माध्यम त्यही थियो । मेट्रोको अन्तिम स्टेसन सेक्रेटेरियटबाट म बसमा जंगपुरा एक्स्टेन्सनको फल्याटमा पुग्न सक्थेँ । दोस्रो, संसारकै उत्कृष्ट मध्येको एक सहरी यातायात प्रणाली भनि व्यापक रूपमा वर्णन गरिएको प्रख्यात मेट्रो हेर्न चाहन्थेँ म । शंकै छैन, दिल्लीको गज्जवको रेल प्रणाली भारतीय राजधानीका शीर्ष पर्यटकीय गतव्य मध्येको एक भएको छ । बेला-बेला अाइफोनमा इन्टरनेट ब्राउज गर्दै ३० किलोमिटर जतिको दूरी यात्रा गर्दा मैले सुविधासम्पन्न टे्रन डिब्बाभित्रको जीवन्त वातावरणको मात्रै मजा लिइन, तीन तले घरको उचाइबाट सहरको अवलोकन पनि गरेँ । अग्ला र मोटा खम्बामा अडिएको रेल ट्रयाक सडक माथिबाट जान्छ । तल सडकमा ठाउँ र गतिका लागि तँछाड-मछाड गर्ने गाडीहरू तिनका चालक र यात्रुलाई थकाई लागुन्जेल रातो बत्तीमा अड्किन्छन् । माथि वातानुकूलित डिब्बाका यात्रुलाई ट्राफिक जामसँग मतलवै भएन ।

मेट्रो प्रत्येक चार मिनेटमा स्टेसन आइपुग्छ, जसले गर्दा मानिसहरू तिनका घडीले देखाउने समयमा साँच्चिकै विश्वास गर्न सक्छन् । जे कुरा पनि आधा घन्टा ढिला हुने कुख्यात नेपाली टाइम (नेपाल स्टयान्डर्ड टाइम) को भारतीय समकक्षी इन्डिया स्ट्रेचेवल (तानतुन गर्न मिल्ने) टाइम मेट्रोमा लागू हुँदैन । टिकट प्रणाली लगभग स्वचालित छ । काउन्टरमा गएर गन्तव्य उल्लेख गर्दै पैसा तिरेपछि टोकन पाइन्छ, त्यसलाई ‘टिकट गेट’मा लगेर हल्का छुवाएपछि ढोका फुत्त खुल्छ । अनि प्लेटर्फममा जाने र ट्रेन पर्खिने । जब आउँछ, भित्र छिर्ने । पूरै प्रक्रिया कति व्यवस्थित र सजिलो लाग्यो भने त्यसको तुलना मलाई माइक्रोसफ्ट विन्डोजसँग गर्न मनलाग्यो । कम्प्युटरको खासै ज्ञान नभएको व्यक्तिले पनि जसरी एमएस वर्ड फाइल खोलेर चिठ्ठी टाइप गर्न सक्छ (विन्डोजभन्दा अगाडि ‘डस’को जमानामा त्यो कहाँ त्यति सजिलो थियो र ?) त्यसैगरी ट्रेन चढेको अनुभवै नभएकाहरू पनि मेट्रोमा यात्रा गर्न सक्छन् ।

छ वर्षअघि दिल्लीमा मेट्रोको उद्घाटन हुँदा अवस्था त्यस्तो थिएन । दिल्ली मेट्रो बनाउने व्यक्ति केरेलाका इलात्तुभालापिल श्रीधरणलाई ‘एसियाली हिरो’को संज्ञा दिँदै टाइम म्यागेजिनले २००३ मा मेट्रोको पहिलो दिनलाई ‘होहल्लापूर्ण’ भनी वर्णन गरेको थियो । दक्षिण कोरियामा बनेका ट्रेनहरूमा चढ्न १० लाखभन्दा बढी व्यक्ति पुगेका थिए र तिनीहरूले प्लेटर्फममै पिसाब फेरिदिए, धुन सुन्नकै लागि आपतकालीन अवस्थामा ट्रेन रोक्न प्रयोग गरिने स्वीचहरू थिचिदिए र ३० हजार टोकन आफैंसँग लिएर हिँडे । त्यो घटनाले मेट्रो अधिकारीहरूलाई स्थानीय रेडियोहरूमा विज्ञापन गर्न प्रेरित गर्‍यो । ‘पिउने, मात्ने होइन,’ विज्ञापनहरूले भने- ‘गालीगलौजको भाषा प्रयोग नगर्ने, दूधका क्यान र घरपालुवाहरू नल्याउने । डिब्बाका स्वीच र मेसिनहरू नबिगार्ने ।’

माथि उल्लेख गरेँ, अहिले त्यो सबै अर्कै युगको कथाजस्तो लाग्छ । यद्यपि भारत न पर्‍यो, जापान होइन । त्यसैले कतिपय समस्याहरू छँदैछन्, जसलाई नियन्त्रण गर्न र मेट्रोको वातावरण थप सुमधुर बनाउन दुई साताअघि एउटा अभियानको घोषणा गरियो । ‘नागरिकहरूको स्वयम्सेवा मञ्च’को उद्देश्य डिब्बा र प्लेटर्फममा अनुशासनहीन यात्रुलाई तह लगाउनु र अनावश्यक क्रियाकलापमा दृष्टि पुर्‍याउनु हुनेछ । ‘स्वयम्सेवकहरू स्वनिर्देशित हुनेछन् र उनीहरूलाई पैसा दिइने छैन’, मेट्रोका प्रवक्ता अनुज दयालले एउटा समाचार एजेन्सीलाई भने- ‘उनीहरूले महिला र वृद्धहरूलाई सिट उपलब्ध गराउने, उच्चस्वरमा संगीत बजाउन नदिने, होहल्ला नियन्त्रण गर्ने, अनुशासन कायम गराउने जस्ता काममा वार्डेनको भूमिका खेल्नेछन् ।’ स्वयम्सेवा गर्न इच्छुक नागरिकहरूबाट मेट्रोले आवेदन माग्यो । आवेदन टन्नै परे । यस्तो लाग्यो, मेट्रोलाई राम्रो अभियानमा सबै सामेल हुन चाहन्छन् ।

‘मेट्रोले मानिसको जीवनशैली र उनीहरूले यात्रा गर्ने तरिका बदलिदिएको छ’, श्रीधरणले एउटा वेबसाइटसँगको अन्तर्वार्तामा भनेका छन्- ‘यसले सामाजिक व्यहोरा बदलिरहेको छ, मानिसहरू बढी अनुशासित भइरहेका छन् । उनीहरूले सार्वजनिक सम्पत्तिको सम्मान गर्न थालेका छन् ।’

पश्चिमा सहरी यातायात प्रणाली नदेखेका नेपालका थुप्रैले दिल्ली मेट्रोमा चकितै तुल्याउने खालको संसार पाउनेछन्, जसको आफ्नै संस्कृति र भाषा छ । हाम्रो जनकपुर र भारतको जयनगरबीच शंखे कीराझैं घसि्रने त्यो संग्रहालयमा राख्न ढिला भइसकेको वस्तुबाहेक नेपालमा रेल छैन । त्यसैले नेपालको के कुरा गर्नु तर विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल भएको भारतका लागि पनि मेट्रो पूरै नयाँ र गज्जवको अवधारणा हो । यो सुन्दर र सफामात्र छैन, यसको यात्रा अनुभव सजिलो, सस्तो र निकै हदसम्म छिटो पनि हुन्छ । डिब्बाहरूको सुन्दर स्वरूप, योजनाबद्ध सूचना प्रणालीसहितका भव्य प्लेटर्फम र जमिनमुनि-माथि हुँदै बग्ने ट्रयाकका कारण मेट्रो नयाँदिल्लीका महत्त्वपूर्ण चिनारी मध्येको एक भएको छ ।

मेट्रो तीन रुटमा चल्छ र सबैको कुल लम्माइ ६८ किलोमिटर छ । हाम्रो सिंहदरबारजस्तै भारतका महत्त्वपूर्ण सरकारी अफिसहरू रहेको ठाउँ सेन्ट्रल सेक्रेटेरियट, दिल्ली विश्वविद्यालय, पुरानो दिल्लीको मुटु चाँदनी चोक र नयाँदिल्ली सहरभित्रको पनि सहरको रूपमा वर्णन गरिने द्धारका लगायतका स्थानलाई मेट्रो सञ्जालले जोडेको छ । यही बुधबार मे्रटोले सञ्चालनको छैटौं वर्ष पूरा गर्‍यो । दैनिक यसमा ७ लाख २९ हजारले यात्रा गर्ने प्रवक्ता दयालले बताए । गत नोभेम्बर २४ मा अहिलेसम्मकै सबैभन्दा बढी ९ लाख ५१ हजारले यात्रा गरेका थिए । भारतको केन्द्रीय र दिल्ली सरकार मिलेर बनाएको खर्चियो योजनालाई जापानले सहुलियतपूर्ण ऋणमार्फत सहयोग गरेको छ ।

दिल्लीको व्यापकता र भयानक जनसंख्या हेर्दा मेट्रोको सञ्जाल उति प्रभावकारी लाग्दैन । त्यसैले सञ्जाललाई सहरभरि फैलाउने अभियान जारी छ । दिल्ली मेट्रो रेल कर्पोरेसनले टाँगेका ‘कार्य प्रगतिपर हैं’ लेखिएका थुप्रै साइनबोर्ड दिल्लीका सडकभरि नै देख्न सकिन्छ । लक्ष्यहरू तोकिएका छन् र समयमै काम सिध्याएर तिनलाई भेट्टाइएको छ । त्यो सबै जश इ. श्रीधरणलाई नै जान्छ, जो आफैंचाहिँ जश आफ्नो टोलीलाई दिन्छन् । सन् २०१० मा दिल्लीमा कमनवेल्थ गेम आयोजना गरिँदा राजधानी सहरमात्र होइन, पूरै भारतले मेट्रो सञ्जाल विश्वलाई सगौरव देखाउनेछ । हुन पनि मेट्रो भारतकै गर्वको विषय बनेको छ र थुप्रै ठूला सहरहरूले ठयाक्कै यस्तै मेट्रो बनाइदिन श्रीधरणलाई आग्रह गरिरहेका छन् ।

‘सबैभन्दा मुख्य कुरा दिल्ली मेट्रो पूरै विश्वका लागि भारतीय प्रगतिको प्रतीक बनेको छ’, श्रीधरणले एउटा अन्तर्वार्तामा भनेका छन्- ‘यसले हाम्राे देश, हाम्रो आर्थिक र प्राविधिक फड्कोप्रति निकै ध्यानाकषिर्त गरेको छ ।’

इज्जत छ साथै मेट्रोले सम्भावित आक्रमणको खतरा सामना गर्छ । महिनैपिच्छे जस्तो आतंककारी हमलाहरू खेपिरहेको भारतमा उच्चकोटीको यो रेलसेवा एउटा सम्भावित निसाना बनेको छ । भारतीय सम्पन्नताको प्रतीकमा प्रहार गर्न कुन आतंकवादीलाई मन पर्दैन ? त्यसैले मेट्रोमा कडा सुरक्षा प्रणाली स्थापित छ । ट्रेनको डिब्बासम्म पुग्न हरेकले खानतलासी र मेटल डिटेक्टर हुँदै गुज्रनु अनिवार्य छ ।

लेखक, कान्तिपुरका नयाँदिल्ली ब्युरो प्रमुख हुन् ।