दरियागन्जको किताबी हाट

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

यो लेख पहिलो पटक आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ छ । अ‌ग्रेजी स‌‌स्करण यहाँ छ

‘हरेक आइतबार (पुरानो दिल्लीमा) सधैं हुने भीड छिचोल्दै, खिया लागेको सानो फलामे डन्डी घुसारेर अर्को  मान्छेको कान सफा गरिरहेका मान्छेहरू हुँदै, नुनिलो पानीले भरिएको हरियो बोतलहरूमा थुनिएका साना माछा बेच्ने मान्छेहरूलाई छेउ पार्दै, सस्तो जुत्ता बजार र सस्तो सर्ट बजार हुँदै जाँदा तपाईं दरियागन्जको महान् सेकेन्डह्यान्ड पुस्तक बजारमा आइपुग्नुहुनेछ ।

‘यो बजारबारेमा तपाईले सुनेको हुनुपर्छ, महोदय, किनकि यो संसारका आश्चर्यहरूमध्येको एक हो । दसौं हजार फोहोरी, च्यातिएका र कुहिएका हरेक विषयका किताब- प्रविधि, औषधि, यौन आनन्द, दर्शन, शिक्षा र विदेशी मुलुकहरू- दिल्ली गेटदेखि लालकिल्लाअगाडिको बजारसम्मको फुटपाथमा थाकका थाक राखिएका हुन्छन् । कुनै किताब कति पुराना हुन्छन् भने तपाईले छुँदा ती टुट्छन्, कुनैमा कीरा डुलिरहेका हुन्छन्, कुनैचाहिँ बाढी या आगलागी भएको ठाउँबाट उद्धार गरिएका जस्ता लाग्छन् । फुटपाथ किनारका प्रायः पसलका बन्द हुन्छन् तर रेस्टुरेन्टहरू खुलेकै हुन्छन् र त्यहाँबाट आउने खान्कीको बासना कुहिएका किताबबाट आउने गन्धसँग मिसिन्छ ।’

यी दुई अनुच्छेद अरविन्द अडिगाको बुकर विजेता उपन्यास ‘द ह्वाइट टाइगर’ बाट लिइएका हुन् । विश्वमा प्रकाशित हुने थुप्रै किताबजस्तै ‘टाइगर’ ले पनि दरियागन्जको आइतरबारे फुटपाथ हाट-बजारमा आफ्नो सम्मानित स्थान पाएको छ । किताबको मुख्य पात्र बलराम हलवाईले चिनियाँ प्रधानमन्त्री वेन जिवाओलाई बजारबारे गरेको वर्णनसँग हालैको एक आइतबार दरियागन्जको भ्रमण गर्दा म पूरै सहमत भएँ । सामान्यतः पुस्तक पसलहरू शान्त हुन्छन् । र्‍याकमै राखिए पनि नाम प्रणाली र कम्प्युटर सफ्टवेयरमार्फत तिनको कारोबार व्यवस्थित हुन्छ । जब तपाई दरियागन्जको यो फुटपाथे बजारमा पुग्नुहुन्छ, त्यो सबै बिर्सिनुस् । सकेसम्मको हल्ला गर्नुस्, चर्को मोलतोल यहाँको मुख्य मन्त्र हो जसलाई कडाइसाथ व्यवहारमा उतार्नुस् ।

यहाँ आउनुभएको छैन भने, महोदय, म तपाईलाई काठमाडौंको भृकुटीमण्डपस्थित हाम्रो हङकङ बजारको कल्पना गर्न अनुरोध गर्छु । यत्ति हो, यहाँ सिर्फ किताबैकिताब हुन्छन् । महत्त्वपूर्ण पन्नाहरू गुमेको पुस्तक किन्न चाहनुहुन्न भने सामानको मिहिन अवलोकन आवश्यक छ । तर किताबमा कुनै न कुनै खोट छ भन्ने थाहा पाएरै गुणस्तरभन्दा मूल्यलाई प्राथमिकता दिने यो बजारमा आउँदा त्यो खतरा मोल्नैपर्छ । गर्नै नुहुने कुरा मोलतोल गर्न लजाउनु हो । आफैंलाई चकित पार्नेगरी बार्गेनिङ् गर्नुस् । पसलेले ५० रुपैयाँ भन्यो भने तपाई थाल्नुस् सातबाट ! केही समयको तर्क-बितर्क पछि- पत्याउनुस् महोदय- तपाईंले किताब १२ रुपैयाँमा हात पार्न सक्नुहुन्छ । तर ५० नै हाले पनि त्यो नयाँ किनेभन्दा निकै सस्तो हुन्छ ।

यी किताब नक्कली पो हुन् कि भन्ने लाग्न सक्छ तर त्यस्तो देखिँदैन । केही हुन पनि सक्छन् तर सबै होइन । पसलेहरूले प्रायः सेकेन्डह्यान्ड यी किताब होलसेलर, वितरक, पुस्तक पसल र संकलकहरूबाट किनेका हुन्छन्- किलोको भाउमा । केही किताब नयाँ तर खोटयुक्त पनि हुनसक्छन् । जस्तो कि, अमेरिकी अखबार ‘द वासिङ्टन पोस्ट’ कि विख्यात स्वर्गीय प्रकाशक क्याथि्रन ग्राहकको जीवनी ‘पर्सनल हिस्ट्री’ । पुस्तकको मोटो गाताको आवरण हल्का च्यातिएको छ र जोल्ठिएका पन्ना हातैले कसैले छुट्ट्याएजस्तो लाग्छ । तर ती खराबीले मलाई त्यो किताब भारु एक सयमा किन्नबाट रोकेनन् । पसलेले त्यसलाई डेढ सय भनेेको थियो ।

यो बजारमा पन्नाहरू पल्टाइँदैन, किताबै पल्टाइन्छ एकपछि अर्को गर्दै र तिनको विषयवस्तुमा छिर्नुअघि आवरण र पन्नाहरूको धूलो टक्टक्याइन्छ । हो, किताबलाई तिनको आवरणका आधारणमा मूल्यांकन नगुर्नस् किनकि ती बुझ्न सकिने कारणले फोहोरी र धूलौटे हुन्छन् । उसै त कसैले पढिसकेका किताब जो अहिले भुइँमा त्यत्तिकै फ्यालिएका छन् त्यसमाथि पसलेहरू तिनमै टेकेर उफ्रिन्छन् । तर त्यो टेकाइ र फोहोरले अन्यत्र सजिलै नपाइने किताब पाइने यो बजारमा आउनबाट मानिसहरूलाई निरुत्साहित पार्दैन । पैसाको सदावहार संकट हुने विद्यार्थीहरूदेखि अनेकौं खाले आर्थिक पृष्ठभूमि भएका पुस्तकप्रेमीहरू यो आफ्नै पाराको बजारमा आएर थकाइ नलागुन्जेल किताबहरू खोतल्न रुचाउँछन् ।

सलिल र सुरेन्द्र चतुर्वेदी बितेका कैयौं वर्षदेखि यो बजारमा आइरहेका छन् । गत आइतबार मैले भेट्टाउँदा सलिल- ओ हो- ‘द ह्वाइट टाइगर’ खोजिरहेका थिए भने उनका पिता सुरेद्र पाकिस्तानी नेताहरूको जीवनी किन्न चाहन्थे ।

‘ह्वाइट टाइगर ?’ मैले सोधें र उत्साहपूर्वक बताए- ‘त्यसमा यो बजारबारे पनि उल्लेख छ ।’

‘हो, मैले त्यसबारे पढेको छु कतै,’ उनले भने ।

एउटा अनुसन्धानमूलक संस्थाका कर्मचारी २३ वर्षे सलिल बिदामा थिए । ‘पहिले (विद्यार्थी हुँदा) म यहाँ शैक्षिक किताबका लागि आउँथें,’ उनले भने र ‘मूल्य’ यहाँको एउटा आकर्षण भएको बताए- ‘यो बजारको उत्कृष्ट पक्षचाहिँ यहाँ सबै खाले किताब पाइन्छ, (पुस्तक पसल) मा नपाइने पनि ।’

विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भारतमा नपाइने एउटा कुरा उसको छिमेकी तथा प्रतिस्पर्धी पाकिस्तानबारेको सूचना पनि हो । ठ्याक्कै त्यही कारणले गर्दा सुरेन्द्र पूर्वपाकिस्तानी प्रधानमन्त्री बेनजिर भुट्टो र पूर्वपाकिस्तानी राष्ट्रपति परर्वेज मुसर्रफका जीवनी क्रमशः ‘डटर अफ द इस्ट’ र ‘इन द लाइन अफ फायर’ किन्न चाहन्थे ।

‘तपाईंको देश र पाकिस्तानबीच संकट गरिरिएको अहिलेको अवस्थामा के कुराले तपाईंलाई यी किताब किन्न उक्सायो ?’ मैले सोधें । ‘भारतमा पाकिस्तानबारे निकै थोरै सूचना उपलब्ध छ,’ उनले भने- ‘हामी भारतीयहरू पाकिस्तानबारे खासै धेरै जान्दैनौं । मलाई त्यो देशको सामाजिक, राजनीतिक र सैनिक वातावरणबारे जान्न मन लागेको छ ।’

‘तर मेरो अनुमानमा पाकिस्तान भारतमा सबैभन्दा बढी ‘चिनिने’ देश हो,’ मैले भनें । ‘हो,’ उनले भने र मुस्काए- ‘तर खाली गलत कारणहरूले ।’ हालैको मुम्बई आक्रमणपछि सिर्जित भारत-पाक संकटले आफ्नो देशले युद्ध लडेको मुलुकबारे जानकारी लिन प्रेरित गरेको उनले बताए ।

बितेका ४० वर्षदेखि व्यापार गर्दै आएका दरियागन्जका आइतबारे पुस्तक पसलेहरूको पनि आफ्नै खाले युद्ध छ दिल्ली महानगरसँग जो उनीहरूलाई त्यहाँबाट हटाएर कतै टाढा धकेल्न चाहन्छ । आइतबारे बजारले भीडभाड बढाएको र सुरक्षामा खतरा पुर्‍याएको महानगरको तर्क छ । तर पसलेहरू त्यहाँबाट नहट्न दृढ छन् । तर कतिन्जेलसम्म त्यो कसैलाई थाहा छैन । अनि यो अनिश्चयताबारेको किताब अरू पसलमा त छाडिदिनुस्, महोदय, दरियागन्जको आइतबारे सकेन्डह्यान्ड बजारमा पनि पाइँदैन ।

लेखक कान्तिपुरका नयाँदिल्ली ब्युरो प्रमुख हुन् ।

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s