दिल्लीको मौसम र प्रेसवाला

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
[यो लेख पहिलो पटक आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ छ ।] प्रेस वाला भागको विस्तृत स‌स्करण काठमान्डू पोष्टमा प्रकाशित छ । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ छ ।

सुन्नुहोस् मौसमसम्बन्धी समाचार- दुई हजार २५ सय मिटर अग्ला पूर्वी नेपाली पहाडमा जन्मेहुर्केको र साढे १३ सय मिटरमा अवस्थित काठमाडौंमा बढे-पढेको मलाई समुद्री सतहबाट २ सय ३९ मिटरमात्रै अग्लो दिल्लीको गर्मीले आश्चर्यचकित हुनेगरी चेताउनु खासै नौलो कुरो नहुन सक्छ । तर यहाँ चकितपनाले सीमा नाघ्नै लागेको भान हुन्छ । शुक्रबार दिल्लीको तापक्रम अधिकतम ४०/न्यूनतम २८ छ भने, म मेरो आइफोनमा आखाँ ठूला पार्दै हेर्छु, काठमाडौंको २७/१३ छ । दिल्लीको न्यूनतमभन्दा पनि काठमाडौंको अधिकतम कम भएको तथ्य यो चर्को गर्मीमा पिल्सिएको बेला हत्तपत्त पत्याउनै गाह्रो पर्दोरहेछ । सोमबार यहाँ ४४ डिग्री पुग्ने अपेक्षा गरिएको छ भने काठमाडौंमा २९ ।

दिनभरि एसीमै बसौं, कोठाबाट बाहिरै ननिस्कौं भनेर के गर्नु, सम्भवै नहुने । कहिले के काम कहिले के परिरहन्छ । दुई मिनेट त्यो कालोपत्रे पग्लिन लागेको सडकमा हिँड्यो भने १० किलोमिटर दौडेको धावकलाई जस्तो पसिना आउने । मध्य दिउसोका केही घन्टा सडक किनारामा पैदलहिँड्ने मानिसहरू नहुँदा कफ्र्य लागेजस्तै सुनसान हुन्छ भनी केहीअघि काठमान्डू पोस्टमा लेखेको थिएँ, अचेल मित्रहरू ‘दिल्लीमा अझै कफ्र्यु छ ?’ भन्दै हैरान पार्छन् । कफ्र्युले उत्कर्षता लिन बाँकी पो छ । कफ्र्यु फेरि गाडीवालाहरूलाई हुँदैन । तिनका एसी सक्रिय हुनेहुदाँ पेट्रोल छउन्जेल गर्मीको चिन्ता हुने भएन । एसी नहुने या नेपालमा टेम्पो भनी चिनिने अटोहरूमा चढ्नेलाई पनि गाडी दौडिँदा मिल्ने हावाले केही राहत दिइहाल्छ । कहिलेकहीँ चाहिँ त्यो हावा पनि गाला डाम्ने खालको हुन्छ ।

दुई प्रेसवाले- उसलाई मैले छ महिनाअघि यहाँ आएदेखि नै हरेक दिन जस्तो जाडो गर्मी वास्तै नगरी काममा व्यस्त देखेको छु । उसको खटाइ प्रेरणादायी लाग्छ । तीन महिनाअघि मैले ख्यातिप्राप्त पत्रकार ड्यानियल ल्याकको ‘इन्डिया एक्सप्रेस’ किताब किने जो चेन्नईको ठ्याक्कै त्यस्तै मान्छेको वर्णनबाट सुरु हुन्छ । ‘मेरो मान्छे’ लाई मैले किताबमा फेला पार्दा म तीन मात्र होइन त्योभन्दा बढी छक्क परेको थिएँ । अहिलेसम्म आँखाले मात्र कुरा गरेको मान्छेकै बारेमा पढेजस्तो लाग्यो । बाहिर निस्कँदा, छिर्दा म उसलाई नियाल्थे र लाग्छ उसले पनि मेरा गतिविधिहरूलाई ध्यान दिन्थ्यो । तैपनि ऊ नजिकै जाने र बोल्ने कारणै परेन किनकि म आइरन गरेका कपडा कहिल्यै लाउदिन । बिहीबार, आंशिकरूपमा यही लेखका लागि ऊसँग ‘अन्तर्वार्ता’ गर्ने मेरो निहीत स्वार्थ कारण, म अन्ततः बस्तीका मानिसहरूका कपडा आइरन गर्ने ‘प्रेसवाला’ कहाँ गए । भारतमा पत्रकारहरूलाई पनि प्रेसवाला भनिन्छ । त्यस हिसाबले त्यो दुई प्रेसवालाहरूको भेट थियो ।

म बस्ने घरसँगैको अर्को घर अगाडि सडक किनारमै उसले सानो थोत्रो टेबुल राखेको छ जसमा ऊ कपडा फैलाएर अँगार बाल्दा तात्ने आइरनबाट कपडा प्रेस गर्छ । ‘इन्डिया एक्सप्रेस’ पढेपछि मलाई लाग्यो के यो प्रेसवाला पनि ल्याकको राम नामको प्रेसवालाजस्तै परिवारको एकैमात्र कमाउने होला ? के उसले पनि रामले जस्तै आफ्ना ग्राहकबाट ऋण लिएर छोराहरूलाई कम्प्युटर पढाएको होला ? के उसले पनि छोराले जागिर पाएपछि व्याजसहित पैसा फर्काएको होला ? भारतमा यस्ता प्रेसवाला जहीँतहीँ देखिन्छन् । सबैको इस्त्री त्यस्तै हुन्छ जो बिजुली सपनाजस्तो हुने नेपाली गाउँका केही घरहरूमा पाइन्छन् ।

युपीमा जरो भएका, दिल्लीमा जन्मे हुर्केका, नजिकैको हरियाणाको फरिदावासमा परिवारसँग बस्ने र बितेका १७ वर्षदेखि त्यही उभिएरै आइरन गरिरहेका ५२ वर्षे मित्रपाल चौहान यो काम थाल्नुअघि दिल्लीको एक एयरपोर्टमा लोडर थिए । पाँच छोरीमध्ये तीनको बिहा भयो, बाँकीमध्ये एउटीले १० पछि पढ्न छाडी, अर्की ११ मा छे । एकमात्र छोरो पाँचमा पढ्छ र उसले बाबुलाई इन्जिनियर हुन चाहेको बताएको छ । ‘पढे बन्ला, नपढे मै जस्तो,’ मित्रपालले भने ।

नेपालजस्तै भारत पनि परस्पर विरोधी कुराहरूको समाज हो । त्यो फरक भारतमा बढी टड्कारो देखिन्छ । दक्षिण एसियाकै सबैभन्दा धनी र विश्वकै सबैभन्दा गरिबहरू दिल्लीका सडकमा केही इन्चको दूरीमा रहन्छन् । अघिल्लाहरू गाडीभित्रको सुविधामा हुन्छन्, पछिल्लाहरू तिनका गाडीको सिसामा ट्वाक ट्वाक गर्दै माग्न या किताबका नक्कली प्रति बेच्न खोज्छन् । दिल्लीमा सम्पन्नता र उन्नतिका संकेत त्यति नै ठाउँमा देखिन्छन् जतिमा माग्ने र घरविहीनहरूको दरिलो उपस्थिति हुन्छ । ‘म पनि कार चलाउन चाहन्छु,’ मित्रपाल भन्छन्- ‘तर त्यसका लागि जन्मिएको रहेन छु ।’ मित्रपालले त्यो भारतको प्रतिनिधित्व गर्छन् जसले सम्पन्नताको स्वाद चाख्नै बाँकी छ । बितेका वर्षहरूमा भारतले प्रगति गरेको कुरा मित्रपाल आफ्ना ग्राहकका कपडाको बदलिँदो गुणस्तरीयताबाट आकलन गर्छन् ।

‘तपाई त प्रेस गराउनुहुन्न,’ एउटा सन्दर्भमा उनले भने । ‘म कहिल्यै आइरन गर्दिनँ,’ मैले भने- ‘टिसर्ट र जिन्स कसरी आइरन गर्ने ?’ ‘गर्नुपर्छ,’ उनले भने- ‘प्रेस गरेका कपडा चम्किला हुन्छन् ।’ अनि, ड्यानियल ल्याकको प्रेसवाला रामले बच्चा पढाउन ग्राहकबाट लिएको ऋण व्याजसहित फर्काएको घटना सम्झाउने गरी मित्रपालले मलाई बिँडी र एक कप चियाको प्रस्ताव गरे । रामका ग्राहकले जस्तै मैले पनि त्यो अस्वीकार गर्न सकिनँ ।

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s