बनारसी संस्कृत

varanasi sanskrit students of nepal
ठुलो पार्न तस्बिरमा क्लिक गरे हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

ह्वाईट फिल्ड र मल्पी जस्ता नाम भएका काठमान्डूका अंग्रेजी स्कुलबाट एसएलसी र ए लेभल गर्ने, नेपाली अप्ठेरो ठान्ने र खुला सफ्वटेयर आन्दोलनमा रुचिहुने एउटा युवकमा अचेल संस्कृत पढ्ने भुत सवार भएको छ । इन्टरनेट खोतल्दै गर्दा एकदिन ‘कृत्तिम बौद्धिकता’ र संस्कृत भाषाबारे अमेरिकी अन्तरिक्ष संस्था नासाका एक अनुसन्धाताको रिपोर्ट पढेपछि उज्ज्वल लामिछानेको मन संस्कृतमय भएको थियो । संस्कृत सिक्न उपत्यकामा ठाउ फेला पार्न नसकेपछि एकदिन उसले इन्टरेनट गफमा मसँग भन्यो– ‘विश्वभाषा क्याम्पस गए, त्यहा पनि नेपालीलाई चाहि संस्कृत नसिकाउने रे । नेपालमै संस्कृत पढ्न किन यति गाह्रो ?’

उत्तर शायद माओवादीसँग छ कि ? जनताका लागि रात दिन खटिरेहका विचरा कमरेडहरुले ठ्याक्कै राणाहरुकै जस्तो ‘जनताले पढे हामीभन्दा जान्ने हुन्छन्’ शैलीमा नेपालीलाई सामान्यतः शिक्षा विशेषतः संस्कृतबाट बन्चित गराएका हुन् । धन्न उनीहरुले नेपाललाई पुरै तालिवानीकृत गराइसकेका छैनन्, त्यसैले नेपालमा सरकारी विद्यालयहरुमा संस्कृत हटाइएपनि त्यही सिकाउन भनि केही गुरुकुल र अन्य शिक्षालयहरु चलिरहेका छन् । तैपनि संस्कृतको ज्ञान लिन भारतको बनारस पुग्ने नेपालीहरुको संख्या घटेको छैन ।

‘देश समाज छाडेर यहा“ पढ्न आउदा महान दुख लाग्छ,’ राजु घिमिरेले भने– ‘देशमा परिवर्तन भइरहेको छ, साथ दिन सकिएको छैन ।  देशमा (शिक्षाका लागि) वातावरण भएन । शिक्षाकै लागि विदेशिनु नपरोस ।’ बनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा आचार्य (स्नातकोत्तर) का यी २४ बर्षे विद्यार्थीलाई मैले हालै विश्वविद्यँलय परिसरकै अन्र्तराष्ट्रिय होस्टलको छतमा भेट्टाएको थिए । उनीसँगै नेपालका विभिन्न भागका केही युवक थिए जो विश्वविद्यालयमै उत्तर मध्यमा (प्लस टू) र शास्त्री (स्नातक) देखि विद्यँवारीधी सम्मका तहमा पढ्छन् । उनीहरुका लागि काशीमा संस्कृत अध्ययन ज्ञान पहिल्याउने माध्यम र आत्मसन्तुष्टिको कारक भएको छ ।

‘यहाँ जानेर नेपालमा केही काम गर्न सकिन्छ कि भन्ने आश छ,’ शास्त्रीका विद्यार्थी सुदर्शन अधिकारी, २१, ले भने । संस्कृतमा सबै ज्ञान छ– भौतिक, आधुनिक देखि आध्यात्मिक,’ शास्त्रीकै लक्ष्मीप्रसाद गौत्तम, २०, ले थपे– ‘दाईहरु पनि बनारस पढेर गएकोले म यहाँ आएँ ।’

फोहोरी, होहल्लापूर्ण र अव्यवस्थित सहर बनारस पढ्नका लागि विद्यार्थीको अन्तिम छनोट हुनुपर्ने हो । यहा“का विख्यात गंगा घाट, हराइने गल्लीहरु र जोगिहरुसहितका धार्मिक गतिविधि विश्वभरका पर्यटकका लागि आकर्षण बनिरहेका छन् । तर जति साधु महन्त छन् त्यो भन्दा बढी यहा“ फटाहाहरु भएको संकेत कुनै पनि क्षण पाउन सकिन्छ । विद्यार्थीहरुलाई त्यसको परवाह छैन । उनीहरु ठान्छन्, देख्दा जस्तो देखिएपनि बनारस अपरम्पार छ । ‘बनारसको महिमा वाणीको विषय होइन अनुभव गर्ने कुरा हो,’ सिक्किमका केशव पोखरेलले भने– ‘हामी दिल्ली, मुम्बई किन गएनौं ? शिक्षा का कुनै पनि क्षेत्रमा बनारस अगाडी छ । मान्छे यहाँ पुरै विश्वको अनुभव गर्न आउछ । गंगा घाटतिर हजारौ विदेशी देखिन्छन्, गल्लीमा प्रत्येक मान्छे आफैमा मस्त भेटिन्छन्, कुनै घाटमा दिनभरी मान्छे जलिरहेका हुन्छन् । बर्षामा बनारस झन् खत्तम, गन्धकी देखिन्छ तर बाहिरी सुन्दरताले केही हुदैन ।’

नेपाली लगायत नेपालका थुप्रै भाषाहरुको जननी हो संस्कृत जसको प्रभाव हाम्रो समाजमा, केशवका अनुसार, मान्छे जन्मेदेखि मरेसम्म (‘नामाकरणदेखि अन्त्येष्ठी’) रहन्छ । पूर्वीय ज्ञानको भन्डार यही भाषामा लेखिएको छ जसप्रति हालैका केही दशकहरुमा भौतिकताबाट आजित भएको पश्चिमा समाजको चासो बढीरहेको छ । तर जनताको चेतनास्तर शुन्यमै राखेर आफ्ना बच्चालाई मात्र विदेशी विश्वविद्यालयमा पढाउन रुचाउने क्रान्तिकारी कमरेडहरुले संस्कृतलाई कर्मकान्डस“ग जोड्दै त्यो विरुद्ध आन्दोलन छेडेपछि संस्कृतले नेपालमा चुनौती खेपेको हो । ‘दुःख लाग्छ वास्तवमा,’ सम्पूर्णनन्दमै ‘न्याय दर्शन’मा पीएचडी गरिरहेका विश्वनाथ धिताल, २९, ले भने– ‘प्राय बाहुनले मात्र पढ्ने भएकाले त्यसो भनिएको हुनसक्छ तर संस्कृत कर्मकान्ड मात्र होइन । यो भाषा मात्र नभएर व्यक्तित्व विकाशका सहयोगी पनि हो । यसले (मान्छेलाई) आध्यात्मिकता तर्फ लैजान्छ । हुन त, खान लाउन समश्या हुनेलाई आध्यात्मिकता के काम । पेट भरिएपछि मात्र विचार गर्ने न हो । संस्कृत विचार गर्ने भाषा हो, दृष्टिकोण बनाउने भाषा । तर देशको गरिवी र राजनीतिकरणको मारमा पर्यो यो ।’

आधुनिकताका नाममा सामाजिक परम्परा भत्किइरहेको र पश्चिमाकरण बढीरहेको अहिलेको अवस्थामा संस्कृतलाई ‘पुरातनवादी’ प्रबृत्तीसँग पनि जोडिने गरेको छ जसलाई विद्यार्थीहरु अस्विकार गर्छन् । अहिलेको प्रतिस्पर्धी जमानामा संस्कृत पढ्दा बेरोजगार हुनसकिने अनुमानलाई पनि दरिलो ठान्दैनन् । ‘संस्कृतको राम्रो ज्ञान भएको मान्छे बिनाकाम बसेको रेकर्ड छैन,’ केशवले ठोकुवा गरे । ‘राम्रो पढे पैसा कमाउन जसरी पनि सकिन्छ,’ राजुले भने । आचार्य तहका भास्कर शर्मा, २२, ले चाहि संस्कृतसँगै कम्प्युटर हार्डवेयर मर्मतको काम पनि सिकिरहेका छन् जसले, उनको आशा छ, जीविकोपार्जनमा दोहोरो सहयोग पुर्याउने छ । पक्कै, संस्कृत र कम्प्युटरको संयोजन भास्करले मात्र गराएका होइनन्, लाग्छ, यो संसारभरी फैलिरहेको छ ।

‘संस्कृतबारे स्कुलमै पनि सुनेको हुनसक्छु तर इन्टरनेटमा कम्प्युटर चलाउनका लागि संस्कृत नै सबैभन्दा उत्कृष्ट भाषा हुनसक्ने पढेपछि त्यो जान्ने रहर पलायो,’ उज्जवलले जीटकमा मसँग भने । ‘नेपाली त पढ्न र लेख्न नरुचाउने मेरालागि संस्कृत एउटा कठिन छनोट भएको छ तर यसको सम्पूर्णताले मलाई तान्यो,’ १९ बर्षेले थपे । कम्प्युटर प्रोग्रामिक भाषाको व्याकरण मानिने ‘बाकस–नौर फर्म’ जत्तिकै शक्तिशाली संस्कृत पाणिनी व्याकरण भएको र पछिल्लोमा अघिल्लका जटिलता पनि नभएकोले आफू संस्कृतप्रति आकर्षित भएको उनले बताए । पाणिनी व्याकरणले जटिल गणितीय समश्याहरुलाई पनि सम्बोधन गर्ने क्षमता राखेको कतिपय पश्चिमा गणितिज्ञहरुले उल्लेख गरेका छन् । दुखको कुरा माओले आफ्नो रातो कितावमा त्यो संस्कृतको बैज्ञानिक पक्षबारे उल्लेख गर्न विर्सिए ।

अहिले कम्प्युटिङ् जगतमा चुनौतीको विषय बनेको छ, ‘स्पिच रिकग्नीसन’ । अङ्ग्रेजी उच्चारणलाई जति प्रयास गर्दा पनि कम्प्युटरले शतप्रतिसत चिन्न सकेको छैन तर देवनागरी लिपीको र कम्प्युटरका लागि सहिजो व्याकरण भएको संस्कृतलाई अग्रेजीभन्दा सजिलै चिन्न सक्ने सम्भावनाले पनि आफूलाई आकर्षित गरेको उज्ज्वलले बताए । विश्वभाषामा विदेशीलाई मात्र पढाईने बताइएपछि उनी नीजि शिक्षक खोज्न थाले जो मिलिछाड्यो । अहिले उनी हरेक शनिवार काठमान्डूमा एकजना शिक्षकले अनौपचारिकरुपमा चलाएको ‘श्वाध्याशाला’मा संस्कृत सिकिरहेका छन् । ‘म अहिले संस्कृतको शुरुवाती तहमै छु,’ उनले भने– ‘तर मलाई लाग्छ यो बर्ष म संस्कृतलाई मेरो दैनिक गफगाफको भाषा बनाउने छु र संस्कृत सिक्ने तरिका र अनुभव मेरो ब्लगमा राख्ने छु ।’

हेर्दा लाग्छ, सबैकुरा ठिकै छ अर्थात ‘अल इल वेल ।’ वा, उज्वलको ट्विट सापटी लिउँ जसले अहिलेको हिट हिन्दी फिल्म ‘थ्रि इडियट्स’को त्यो प्रख्यात वाक्यलाई संस्कृतमा भनेको छ– ‘सर्वमस्ति सुष्ठु ।’

यो लेख पहिलो पल्ट आजको कान्तपुर परिशिष्ट हेल्लो शुक्रवारमा प्रकाशित भएको हो । पत्रित्रकाकै पन्नामा हेर्ने भए माथिको तस्बिरमा क्लिक गरौ‌ ।

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s