राष्ट्रपतीय भ्रमणका अनौपचारिक कुरा

Presidential trip. Informal observation. kantipur page 7
ठुलो पार्न तस्बिरमा क्लिक गरे हुन्छ

नेपालका राष्ट्रपति रामबरण यादवले गए साता भारतको (पहिलो विदेश) राजकीय भ्रमण गरे । भारतमा रहदाँ उनले थुप्रै नेताहरुलाई भेटे । तर दिल्लीमा सबै कुरा नेपालले चाहेजस्तो भएन । भ्रमणमा आउने नेपाली सरकारी टोली प्रायः अलमलमा परेको महसुस गर्न सकिन्छ किनभने सदस्यहरू प्रायः नयाँ या अनुभवहीन हुन्छन् । भ्रमण सकिनु एक दिनअघिसम्म पनि नेपाली टोलीका उच्च सदस्यलाई भ्रमणका उपलब्धिबारे थाहा नभएजस्तो लाग्थ्यो । प्रधानमन्त्रीसँगको भेटमा के कुरा भयो होला ? मैले राष्ट्रपतिका राजनीतिक सल्लाहकार हरि शर्मालाई सोधे । सुरुमा त तिनले मलाई यसरी पन्छाउन खोजे मानौं मैले ‘तपाईले कति कर छल्नुभएको छ ?’ भनी सोधेको हुँ । एकैछिनमा तिनले अर्को जवाफ दिए, जसले मलाई थप अचम्मित पार्‍यो- ‘भारतीय अखबारहरूमा हेर्नुस् न । सबै तिनमै आएको छ नि !’

दिनेश वाग्ले
द वाग्ले नोट्स

राष्ट्रपति रामवरण यादव गत साता नयाँदिल्लीमा रहँदाको एउटा क्षणले नेपाल-भारत सम्बन्धको वास्तविकता झल्काउँथ्यो । दोस्रो तथा सबैभन्दा महत्त्वपूर्ण दिन ताज प्यालेस होटलमा राष्ट्रपति सत्तारूढ गठबन्धन तथा कंग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धीलाई पर्खिरहेका थिए । सोनियाको सुरक्षा गर्ने भारतीय विशेष सुरक्षा दस्ताका प्रहरीहरूले होटल गेटदेखि बैठक हलसम्म खानतलासी गरिरहेका थिए । दस्ताले सोनिया आउनै लागेको जानकारी दिएपछि राष्ट्रपति यादव र उनको परिवार हलमा आए । त्यहाँ उनीहरूले लगभग ११ मिनेट सोनियालाई पर्खिए । एक राजनीतिक दलकी नेता राष्ट्रप्रमुखलाई भेट्न उनी बसेकै ठाउँमा जानु चल्तीको कूटनीतिक नियम (प्रोटोकल) हो ।

‘तर, राष्ट्रप्रमुखलाई त्यति धेरै पर्खाउनु कूटनीतिक शिष्टाचार होइन,’ दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले भने, ‘अब यहाँ सोनियाले भेट्नु नै ठूलो ठानिएको बेला त्यसको के कुरा गर्नु ।’ भारतमा सबैभन्दा सुरक्षा खतरा भएको ठानिने सोनिया घरबाट निस्कँदा सडक खाली नगराई तर ट्राफिक बत्तीहरू केही क्षण बेकामे (पिलिक पिलिक) तुल्याउँदै भारतीय उपराष्ट्रपतिलाई झैं ‘क्लियर प्यासेज’ मार्फत हुइँक्याइन्छ । प्रधानमन्त्री र राष्ट्रपति निस्कँदाचाहिँ रुटलाई भीआईपी दर्जा दिँदै खाली तुल्याइन्छ । सोनियाको जनपथस्थित घरबाट ताज आउन लगभग १२ मिनेट लाग्छ । त्यसरी हेर्दा सुरक्षा दस्ताले सोनिया घरमै छँदा राष्ट्रपति यादवलाई उनको सुइटबाट ओरालेर बैठक हलमा ल्याएको बुझ्न सकिन्छ ।

सोनिया आएपछि राष्ट्रपतिले उनीसमक्ष आफ्ना छोरा, छोरी र अर्की नातेदारलाई चिनाए र ‘यिनीहरू फोटो खिच्न चाहन्छन्’ भन्दै उनीहरूलाई सोनिया र आफ्नो कुर्सीपछाडि आउन संकेत गरे । त्यसैबीच राष्ट्रपतिका छोरा चन्द्रमोहनले सोनियालाई अंग्रेजीमा भन्न भ्याए, ‘तपाईंले (भारतमा) जे गरिरहनुभएको छ त्यसको हामी निकै सराहना गर्छौं ।’ तस्बिर खिचेपछि राष्ट्रपतिको परिवार बाहिरियो र मन्त्री शरदसिंह भण्डारीसहितका सरकारी प्रतिनिधिहरू नेपाली झन्डातिरको सोफामा बसे । राष्ट्रपतिका एक्ला नेपाली ‘सेरेमोनियल’ सुरक्षाकर्मी गेटनजिकै उभिएका थिए, जसले पनि नेपालको वास्तविक सुरक्षा अवस्थाको संकेत दिएको भान भयो ।

‘अमेरिकी राष्ट्रपतिहरू आउँदा भारतीय पक्षको हालत त्यस्तै भा’को थियो,’ माथिको वर्णन मबाट सुनेपछि बिल क्लिन्टन र जर्ज डब्लु बुसको भारत भ्रमण सम्झिदै एकजना भारतीय पत्रकारले भने, ‘कूटनीतिक अवसरहरू पनि शक्ति प्रदर्शन गर्ने मौका बन्छन् ।’ दस वर्षअघि क्लिन्टन र चार वर्षअघि बुस आउँदा कार्यक्रम र परिस्थितिको पूर्ण निणन्त्रण अमेरिकी सुरक्षाकर्मीहरूले लिएका थिए जसप्रति भारतीय पक्षले गुनासो गर्नुपरेको रिपोर्ट पत्रिकामा आएका थिए ।

प्रोटोकलकै कुरामा ‘राष्ट्रपतिलाई कनिष्ठ मन्त्रीले स्वागत गरे’ भनी नेपालको एक वेबसाइटमा छापिएको शीर्षकप्रति संकेत गर्दै भ्रमण दलमा सामेल एक पत्रकारले भने, ‘चलनै नबुझेर त्यस्तो लेखियो ।’ पाहुना राष्ट्रप्रमुखलाई गरिने स्वागतको तरिका ‘जेनेभा सन्धि’मा उल्लेख छ, जसअनुसार राष्ट्र या सरकारप्रमुखलाई आतिथेय देशको उपमन्त्री (नेपाल या भारतमा राज्य/सहायकमन्त्री) वा त्यसभन्दा माथिल्ला अधिकारीले गर्नुपर्छ । कहिलेकाहीं पाहुनाको महत्त्व झल्काउन माथिल्ला अधिकारीले स्वागत गर्छन् । जस्तो कि, क्लिन्टनलाई स्वागत गर्न त्यतिबेलाको भारतीय जनता पार्टीको सरकारले तत्कालीन विदेश राज्यमन्त्री अजितकुमार पन्जाको साटो मन्त्री जसवन्त सिंहलाई पठाएको थियो । त्यस्तै बुसलाई विमानस्थलमा प्रधानमन्त्री सिंह आफैंले स्वागत गरेका थिए । २००६ को जनआन्दोलनपछि प्रधानमन्त्रीका रूपमा भारत आएका गिरिजाप्रसाद कोइरालालाई पनि सिंह आफैं विमानस्थल गएर स्वागत गरेका थिए । त्यतिबेला उनले कोइरालालाई ‘दक्षिण एसियाकै महान् नेता तपाईंलाई हामी सम्मान गछौं,’ भनेका थिए ।

नेपालमा धेरैलाई चासो छ, राष्ट्रपतिको भ्रमण सफल भयो या असफल । भ्रमण औसत रह्यो । स्वागत उनले त्यसैगरी पाए, जसरी अन्य थुप्रै मुलुकका राष्ट्रप्रमुखले दिल्लीमा पाउँछन् । दिल्लीका प्रभावशाली अंग्रेजी मिडियाले उनलाई त्यसैगरी ध्यान दिएनन्, जसरी तिनले यहाँ आउने अन्य थुप्रै राष्ट्रप्रमुखलाई दिँदैनन् । यति उल्लेख गर्नैपर्छ, केहीअघि तन्नेरी भुटानी राजा भारत आउँदा मिडियाले खुबै चासो देखाएका थिए । भुटानी दूतावासले महँगो पर्ने यहाँका केही पत्रिमा पूरै पन्ना विज्ञापन पनि छपाएको थियो ।

प्रचारको सन्दर्भमा नेपाल भुटानभन्दा पछि पर्नु अस्वाभाविक भएन । भ्रमणमा आउने नेपाली सरकारी टोली प्रायः अलमलमा परेको महसुस गर्न सकिन्छ किनभने सदस्यहरू प्रायः नयाँ या अनुभवहीन हुन्छन् । भ्रमण सकिनु एक दिनअघिसम्म पनि नेपाली टोलीका उच्च सदस्यलाई भ्रमणका उपलब्धिबारे थाहा नभएजस्तो लाग्थ्यो । प्रधानमन्त्रीसँगको भेटमा के कुरा भयो होला ? मैले राष्ट्रपतिका राजनीतिक सल्लाहकार हरि शर्मालाई सोधे । सुरुमा त तिनले मलाई यसरी पन्छाउन खोजे मानौं मैले ‘तपाईले कति कर छल्नुभएको छ ?’ भनी सोधेको हुँ । एकैछिनमा तिनले अर्को जवाफ दिए, जसले मलाई थप अचम्मित पार्‍यो- ‘भारतीय अखबारहरूमा हेर्नुस् न । सबै तिनमै आएको छ नि !’ तिनले मलाई भोलिपल्ट आउने भारतीय विदेश मन्त्रालयको वक्तव्य पनि हेर्न सुझाए ।

मैले राष्ट्रपतीय भ्रमणबारे लेख्ने दिल्लीका अखबारहरू हेरेँ, जसमा भारतले नेपाललाई २५ करोड अमेरिकी डलर बराबरको सहुलियत ब्याजको ऋण दिन लागेको, रेल लाइन बनाउने सम्झौता गरेको र नेपाललाई गहुँ सित्तैमा दिन लागेको भारतीय स्वार्थअनुरूपका समाचार आएका थिए । त्यहाँ नेपालको चाहना, नेपाली दृष्टिकोणको प्रतिनिधित्व भएको थिएन । विदेश मामिलामा प्रायः यहाँको विदेश मन्त्रालयबाट ‘म्यानिपुलेटेड’ हुने भारतीय मिडियाले देशको औपचारिक लाइन बाहिर गरेर बिरलै लेख्छन् । एउटा अखबारमा राष्ट्रपतिले भारतसँग नेपाललाई चिनी बेच्न भनेको तर त्यो अनुरोधलाई भारतले अस्वीकार गरेको लेखिएको थियो । ‘नेपाली राष्ट्रपतिको अनुरोध अस्वीकार गर्ने भारतले युरोपेली युनियनलाई चाहिँ चिनी बेच्ने भएको छ,’ इन्डियन एक्सप्रेसले लेख्यो । भारतले गहुँचाहिँ नेपाललाई किन बेच्न लागेको हो भने रोयटर्स समाचार एजेन्सीका अनुसार ‘बाली उठाउने सिजन आउनै आटेको बेला विश्वको दोस्रो ठूलो गहुँ उत्पादक मुलुकमा यसपालि आशा गरेभन्दा बढी उत्पादन हुने लक्षण देखापरेको छ र गहुँ राख्ने ठाउँकै अभाव हुने भएको छ ।’

भारतीय विदेश मन्त्रालयले अन्तिम दिन साँझ भ्रमणलाई ऐतिहासिक भन्यो र यस्तो हुनुको कारण यस्तो दियो, ‘यो नेपालका पहिलो राष्ट्रपतिको पहिलो विदेश भ्रमण थियो ।’

‘राष्ट्रपतिले काठमाडौंमा ओर्लनासाथ भ्रमण सफल भएको दाबी गरे,’ मैले नेपाली दूतावासका एक अधिकारीलाई सोधे, ‘पक्कै हो ?’

‘रीतअनुसारको स्वागतमा भारतले कुनै कसर राखेन,’ तिनले भने, ‘तर त्योभन्दा एक चिम्टी बढी सद्भाव उसले संक्रमणकालबाट गुज्रिरहेको छिमेकीप्रति  नदेखाएको कुरा चिनी नदिएबाटै प्रस्ट हुँदैन र ?’

यो लेख पहिलो पल्ट आजको कान्तपुर  दैनिकमा प्रकाशित भएको हो । पत्रित्रकाकै पन्नामा हेर्ने भए माथीको तस्बिरमा क्लिक गरे हुन्छ ।

सम्बन्धित लिङ्कहरु (युनाइटेड वि ब्लगबाट)

1.First President of Republic of Nepal Arrives in India

2. From Nepal to India: Busy Day for a President

3. Analysis: Nepal President’s India Visit

One thought on “राष्ट्रपतीय भ्रमणका अनौपचारिक कुरा

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s