शहरिया: बानी हाम्रो नराम्रो

traffic awareness harding board tinkune
सडक स्तरीय छ, तर हाम्रो बानी ? तस्बिर- कान्तिपुर

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

सुनामी र भुकम्पले गराएको क्षती र आणविक सन्त्रासलाई टाढाबाट हेरेका हामी मध्ये कतिले ट्वीट्टरमा #prayforjapan भन्दै जापनका लागि प्रार्थना गरेका हुनुपर्छ । ठिकै छ, सबै ‘जनता’ले नगरेपनि हाम्रो कुरा बुझ्ने (कस्तो खोकी लाग्यो) सरकारले जापानलाई सुख्खा विस्कुट र कम्बल सहयोगार्थ पठाएको छ । त्यसबारेको समाचार जापानकै क्योडो न्यूजले पनि लेखेपछि भ्वाइस अफ अमेरिकाका पत्रकार स्टिभ हर्म्यानले यस्तो ट्वीटे– ४ सय ५० डलर बाषिर्क प्रतिव्यक्ति आम्दानी भएको नेपालले ३० हजार डलर वाषिर्क प्रतिव्यक्ति आम्दानी भएको जापानलाई विस्कुट सहयोग पठाउदै छ रे ।’

दुइवटा प्रतिक्रिया मनमा आए । ओहो, हामीले जापानलाई सहयोग पठाउदै छौ ! पहिलो प्रतिक्रियालाई बगाउने सुनामी चाहि मनमा त्यो ट्वीटमा भएका अंङकहरुबीचको खाडलले ल्यायो । हामी कति गरिव छौ है ? त्यति धनी देशले हाम्रो सहयोग लिइदिएर कतै हामीलाई आत्मसन्तुष्टिको कारण दिएको छैन ? यस्तै प्रश्न मनमा उठ्छन् जव म तीनकुने-सूर्यविनायक खन्डको तीनकुने-जडिबुटी सडकमा दिनको दुईपटक हिड्छु । अनि मनमनै जापानलाई धन्यवाद दिन्छु- यति राम्रो सडक बनाइदिएकोमा ।

तर फेरी हाम्रो गरिवी जसले हामीलाई ती सुन्दर संरचना राम्ररी प्रयोग गर्नबाट रोक्छ । आर्थिक मात्र होइन, मानसिक पनि । चेतनाको अभाव । सडक कहाबाट तर्नुपर्छ ? कुन बत्ति बल्दा कार रोक्नुपर्छ ? के ती कुरा हामीलाई, जतिसुकै गरिव भएपनि, थाहा छैन ? तर हामी नियमअनुसार गर्छौ ? गत शुक्रबार सकिनेगरी जापानीहरुले नै तीनकुने-कोटेश्वर-जडिबुटीमा स्थापना गरेका ट्राफिक बत्तिहरुलाई गाडीहरुको भेलसँग सहजै समायोजन गर्न साताव्यापी चेतना अभियान चलाए । सूचना टासे (तस्बिरमा) । नेपाली स्वयंसेवकहरुले रातो बल्दा पनि दौडिने हामीलाई रोके र हरियो बलेपछि मात्र बाटो तर्न सिकाए । रातो बल्दा आफूलाई राजा ठान्दै गाडी बढाउने हामीहरुलाई स्वयंसेवकले बीचैमा रोकेर लाजमर्दो पारे । लाजमर्दो ? हामीलाई लाज हुन्छ र?

‘पख्नुस, पख्नुस,’ रातो बत्ति बलिरहेको बेला सडक तर्न खोज्ने एकजना अधर्य पुरुषलाई पाखुरामा अठ्याउदै स्वयंसेवकले भने- ‘तपाईलाई मात्र हतार छ ?’

त्यतिन्जेलमै अर्की महिला सडकमो बीचमा पुगिसकेकी थिइन् जुसलाई गुडिरहेको मीनिबसले हान्ला जस्तो भइरहेको थियो ।

गाडीहरुका लागि रातो बत्ति बलेसँगै पैदलयात्रुका लागि हरियो बल्यो । तर लगनखेलतिरबाट आइरहेको बा १ ख ७१३५ को मिनिबसका चालकलाई पर्खिने धैर्यता भएन । स्वयंसेवक दौडिएर बसैअगाडी उभिनुपर्‍यो- ‘लु, मैमाथि भएर जाउ’ भन्ने फिल्मी शैलीमा । रातो बत्ति बलिरहेको छ, गाडीले रोकिनुपर्छ- तर बा ८ च ६०१५ को कारका चालकले चाहि आफूलाई शायद नियम मान्नु नपर्ने छोटे राजा ठाने । उनी जवर्रजस्ती जान खोजिरहेपछि ट्राफिक प्रहरीले सिठ्ठी बजाएर रोक्नुपर्‍यो र उनको सिसामा लगाएको स्टिकर -जो नियम विपरित थियो) उप्काइदिनु पर्‍यो । ‘रातो बलेपछि गाडी राक्नुपर्छ, थाहा छैन ?’ ट्राफिकले उनलाई हपारे । लाचार उनी रातो अनुहार बनाउदै ‘थाहै भएन’ भन्न थाले ।

हो, विश्वका शहरहरुको तुलनामा काठमान्डू एउटा ठूलो गाउँ जस्तै छ- झन्डै स्लम या झुपडपट्टी जस्तो । तर शहरलाई ‘सुन्दर देशको राजधानी’ पगरी गुताएपछि हामी ‘शहरिया’को त्यति पनि कर्तव्य हुदैन कि हामी विस्कुट खाएपछि खोल फ्यात्त सडकमा नफालौं ? या, अरुका कानै फुट्ने गरी चिच्याइचिच्याई मोवाईलमा कुरा नगरौं ?

‘सबैभन्दा ठूलो समश्या त्यही छ,’ शहरी योजनाबारे जानकार इन्स्टिच्युट अफ इन्जिनियरिङ्, पुल्चोककी सहायक प्राध्यापक संगीता सिंहले भनिन्- ‘बानीव्यहोरा छैन मान्छेहरुमा ।’ थाहा भएर पनि मानिसहरुले नियम नपछ्याउने गरेको उनले बताइन् । ‘सजायको व्यवस्था नभएर त्यस्तो भएको,’ संगीताले भनिन्- ‘सिंगापुरमा सजायको व्यवस्था भएकाले मान्छे सडकमा फोहोर फाल्न डराउछन् ।’

शायद संगीताको त्यो सुत्र प्रभावी हुनसक्छ हामीलाई नियममा बाध्न । नभए जापान या अन्य मुलुकले जे जस्ता पूर्वाधार बनाइदिएपनि तिनलाई हामी बादरले झै विगार्छौ -ट्रलि, साझा बस आदि) । तीनकुने-सुर्यविनायक खन्डमा ढिलो/छिटो गुड्नेलाई त्यहीअनुसारको लेनको व्यवस्था गरियो तर त्यसलाई नबुझी दौडिदा मानिसहरु दुर्घटनामा परे । माल छ, तर त्यो उपयोग गर्ने ‘चाल’ छैन । स्कुलमा पढाएर पनि नहुने रहेछ यस्तो कुरा । कोटेश्वरमा ट्राफिक व्यवस्थापन गरिरहेका स्वयंसेवकले भने- ‘स्कुले बच्चा सबैभन्दा बढी नियम मिच्ने ।’ के भएको शहरमा ?

हामीले कोरियामा किनेर पठाएको सुख्खा विस्कुट टोक्दै गर्दा जापानीले भन्लान्- धन्यवाद नेपाल ! तर हामीलाई सबैभन्दा खुशी त्यति बेला हुने छ जव नेपालीहरु हामीले बनाइदिएको सडकमा नियमपूवर्क हिड्न जान्दछन् ।

यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो ।

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s