अचेलका काँङ्ग्रेसीहरू

अचेलका काङ्ग्रेसहरु
ठूलो पार्न क्लिके हुन्छ

दिनेश वाग्ले
यो लेख आजको कान्तिपुरमा पहिलोपटक प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्नेभए छेवैको तस्बिरमा क्लिके हुन्छ ।

[अनि आजैको कान्तिपुरबाट: यस्तै छ साथी हाम्रो हाल 

कुश गुरागाईं कांग्रेस बनेको पाँच महिना भयो । संविधानसभा र समाजका विभिन्न अंगहरूमा कम्युनिस्टहरूको अभूतपूर्व वर्चस्व रहेको बेला पुरानो र वामपन्थीहरूले ‘पुँजीवादीहरूको’ भनी आलोचना गर्ने पार्टीमा उनी विद्यार्थी संगठनमार्फत प्रवेश गरेका हुन् । काठमाडौंको विष्णु (बूढानीलकण्ठ) गाविसस्थित कांग्रेस इकाई समितिका सचिव यी २४ वर्षे ठिटा शुक्रबार दिउँसो एउटा सानो दलबलसहित कांग्रेसको आमसभामा भाग लिन खुलामञ्च पुगेका थिए ।

माओवादी युद्धमा भाँचिएको कांग्रेसीको ढाड देश शान्ति प्रक्रियामा छिरेयता विस्तारै सोझिन थालेजस्तो देखिएको छ । त्यसैको संकेत हो, हालैका साताहरूमा कांग्रेसले देशभरि गरेका जनसभामा देखिएको मानिसहरूको सहभागिता । द्वन्द्वकालमा गाउँबाट भागेका र कांग्रेसी पहिचान लुकाएकाहरू अहिले खुलेआम ‘म कांग्रेस हुँ’ भन्न सक्ने अवस्थामा पुगेका छन् । ‘अहिले अप्ठ्यारो गाह्रो केही छैन,’ नारायणप्रसाद ढकालले भने, ‘द्वन्द्वकालमा ‘कांग्रेस हुँ’ भन्न गाह्रो थियो ।’ काभ्रेपलाल्चोकबाट आमसभामा भाग लिन आएका ५८ वर्षे ढकाल कांग्रेस भएकै कारण द्वन्द्वकालमा माओवादी अपहरणमा परेका थिए । तर उनी बाटैबाट फुत्के र भागे । ‘पाखुरामा समातेर लगिरहेका थिए,’ २०५९ भदौ २९ गतेको त्यो क्षण उनले सम्भिmए, ‘उनीहरूको अठ्याई अलि खुकुलो भएको मौका निकालेर कुदेँ ।’

ढकाल काभ्रेको देउपुर गैह्री बिसौना गाविसको कांग्रेस इकाई समितिका सभापति हुन् । उनी २०४९ मा शिक्षण पेसाबाट अवकाश लिएलगत्तै कांग्रेस प्रवेश गरेर राजनीतिमा सक्रिय भएका थिए । ‘हामी परम्परा नछोड्ने शान्तिप्रेमी मान्छे,’ मञ्चबाट नवीन्द्रराज जोशीले भाषण गरिरहँदा ढकालले आफू किन कांग्रेसमै लागे भन्ने बताए, ‘प्रजातन्त्रका लागि लडेको कांग्रेसले । अरू पार्टीमा जस्ता उत्ताउला मान्छे पनि थिएनन् । त्यसैले म रोजेर होइन खोजेर कांग्रेसमा लागेँ ।’

बूढानीलकण्ठका कुशचाहिँ कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ हुँदै पाँच महिनाअघि गाविसको पार्टी इकाई समितिको सहसचिव भएर छिरे । लिट्टलि रोज माविबाट एसएलसी गरेपछि बानेश्वर क्याम्पसमा भर्ना भएका उनी त्यहीं पढ्दापढ्दै विद्यार्थी राजनीतिमा होमिएका थिए । नेविसंघमै चाहिँ किन लागे उनी ? त्यो पनि जतातलै वामलहर चलेका बेला । ‘सबैको आ-आफ्नो दृष्टिको, धारणा हुन्छ,’ उनले भने, ‘त्यससँग मिल्ने पार्टी/संगठनमा लागिँदोरहेछ । कुनै घटना हुन्छ, त्यसप्रतिको धारणा कसैसँग मिल्छ भने त्यतैतिर लागिन्छ ।’ नेविसंघसँग कुशको त्यस्तै मिलन भयो ।

अनि वामलहर ? ‘लहरले केही गर्दैन,’ उनले ढुक्कसाथ भने र पछिल्लो चुनावमा कांग्रेसको हारबारे टिप्पणी गरे, ‘गेममा हारजित जसको पनि हुन्छ । तर कसले देशका लागि गर्न सक्छ, त्यो महत्त्वपूर्ण हो ।’

उनले आफ्नो पार्टी कांग्रेसलाई दूधले धोएको भन्न चाहेनन् । खराबी र कमजोरी सबै पार्टीमा हुने र देश निर्माणमा सबै एक हुनुपर्ने आफ्नो विचार रहेको उनले बताए । ‘वामहरूको बढ्दो प्रभाव कांग्रेका लागि दरिलो चुनौती भएर आएको छ, होइन र ?’ उनलाई सोधियो । ‘नेपालमा जन्मेका छौं, त्यतिकै चुनौती छन् नि,’ उनले भने, ‘तर बेरोजगार नेपालीलाई देशमै रोक्ने चुनौतीलाई हामी सबैले स्वीकार्नुपर्छ ।’

द्वन्द्वकालमा भाँचिएको ढाड कांग्रेसीहरूले देश व्यापीरूपमा सोझ्याउन खोजे पनि हालैका विकासक्रमहरूले देखाएका छन् नेपाल बढ्दो रूपमा ‘लाल’ भइरहेको छ । के त्यसले कुनै जमानामा दुईतिहाइ र प्रस्ट बहुमतका सरकारहरू चलाउने तथा देशका मुद्दाहरूलाई एकलौटी नेतृत्व गर्ने कांग्रेसीहरूको नुर गिरेको छ ? उनीहरू भन्छन्, छैन । ‘प्रजातन्त्रवादी कहिल्यै एक्लो हुँदैन,’ सात कक्षा पढ्दादेखि नेविसंघ भएका र २०४२ मा १० कक्षामा हुँदा सत्याग्रहमा भाग लिएका ४१ वर्षे एसके नेपालले भने । ०४५ देखि शिक्षण पेसामा संलग्न नुवाकोटका नेपाल अहिले काठमाडौंको कुलेश्वर माविमा पढाउँछन् । शुक्रबार आमसभामा भेटिएका उनले भने, ‘म त कांग्रेस हुनुमा गर्व गर्छु । देशको एउटैमात्र प्रजातन्त्रवादी शक्ति । हेर्नुस् कम्युनिस्टहरू संविधानसभामा ६२ प्रतिशत छन् तर के उनीहरू मिल्न सकेका छन् ? टुट्नु उनीहरूको विशेषता हो ।’

जसरी कम्युनिस्टहरू कांग्रेसलाई हेला गर्छन् त्यसैगरी कांग्रेसहरू कम्युनिस्ट, विशेषगरी अचेल, माओवादीलाई गहिरो शंकाले हेर्छन् । उनीहरू माओवादीको अप्रत्याशित जित र पहिलो स्थानको चढाइलाई वास्तविक मान्दैनन् । ‘डर धाकले त्यो भएको सबैलाई थाहा छ,’ आमसभामा पुगेका बागलुङकी रेनुका काउचा मगर र सिन्धुपाल्चोककी पुनम लामाले लगभग एकैपट भने, ‘ठूलो भयो (माओवादी) तर षड्यन्त्रबाट ।’ क्रमशः २५ र २३ वर्षका दुवै युवती काठमाडौंको सरस्वती क्याम्पसमा क्रमशः एमबीएस दोस्रो र एमबीएस पहिलो वर्षमा पढ्छन् । उनीहरू त्यहाँको स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघकातर्फबाट क्रमशः कोषाध्यक्ष र सदस्यमा चुनिएका हुन् । उनीहरू जस्ता थुप्रै युवा अनेकौं कारणले माओवादीतिर आकषिर्त भएकोतिर औंल्याउँदा रेनुकाले भनिन्, ‘कतिपय मानिसहरूलाई के खराब के राम्रो छुट्याउन त्यसको अनुभवै गर्नुपर्छ । एउटा खराबबारे थाहा भए न राम्रोको महत्त्व हुने हो ।’

संविधानसभाको चुनामा अनपेक्षित हारपछि कांग्रेस जनतामाझ गएको थिएन । पार्टीले चटक्कै बिर्सिंदा हारको घाउमा नुनचुक थपिएको थियो । हालैका जनसभाबाट कांग्रेसीहरू उत्साहित भएका छन् । माओवादीले हालैका वर्षहरूमा ठूला सभा गरेर आफ्नो शक्ति देखाउँदा कांग्रेसीहरू त्यसलाई टुलुटुलु हेर्न बाध्य थिए । यी सभाहरूबाट उनीहरूले हामी पनि माओवादीकै जसरी जनपरिचालन गर्न सक्छौं भन्ने गुमेको आत्मविश्वास पाएका छन् । ‘हाम्रो पार्टीले यसरी कार्यकर्तासँग भेटघाटै गर्दैनथ्यो,’ पुनमले भनिन्, ‘देखियो नि, हामी पनि कम रहेनछौं ।’

उल्लेखित काङ्ग्रेस सभाबारे थप रिपोर्ट