यस्तै छ साथी हाम्रो हाल

More photos and videos from the journey: A trip to rural Lalitpur (outside Kathmandu Valley)

This slideshow requires JavaScript.

Lalitpur Nepal Voter ID Cardदिनेश वाग्ले /कृष्ण ज्ञवाली
यो लेख आजको कान्तिपुरमा पहिलोपटक प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्नेभए: एक (पीडीएफ)दुइ (जेपीजी)

त्यो साँझ उनका घरमा सातजना माओवादी आए । तिनलाई खाना पकाइदिनुपर्ने भो । बेंसीको खेतमा काम सकेर घरतिर उक्लिँदै थिए उनी । ‘घर नजिकै अलि तल तिनै माओवादीले कट्याक कट्याक गर्दै बन्दुक तेस्र्याए मतिर,’ उनले सम्झिए, ‘हेर्नुस् है । मेरै घरमा जाँदैछु, मैलाई बन्दुक तेस्र्याउँछन् । एउटीले भनिन्, ‘ओहो बुवा, हामीले झन्डै ठोकेर सिध्याको ।’ त्यो बन्दुक तेर्स्याकै कारण त्यो साँझ माओवादीले ‘नमीठो’ स्वाद चाखे ।

त्यो कसरी अलि पछि लेखौंला, अहिलेलाई ४७ वर्षे सुरेन्द्रबहादुर सञ्जेलको परिचय । हालैको एक साँझ अबेर बास नपाएपछि छटपटिएका दुई संवाददाताहरूलाई एक रात सुताउन र एक छाक खुवाउन सहजै तयार भएका सञ्जेलले ललितपुरको दुर्गम अश्राङ गाविसस्थित वागमती किनार नजिकै बन्दै गरेको आफ्नो (बेंसीको) घर अगाडि ढलेको खयरको रूखमा बसेर पुराना दिन सम्झिएका थिए ।

यो माओवादी लडाकुका रोल्पाली कमान्डर वर्षमान पुनलाई संविधान सभामा पुर्‍याउने चुनावी क्षेत्र हो । सभाको ‘राज्यको पुनर्संरचना र राज्यशक्तिको बाडँफाँड समिति’ ले विवादास्पद रूपमा पारित गरेको एउटा प्रतिवेदन अँगालिए नागरिकता बनाउन तीन वर्ष अघिसम्म छ घन्टा हिँडेर र चार घन्टा कष्टकर बस यात्रा गरी लगनखेल पुग्ने सञ्जेलले थप अर्को ६ घन्टा बसमा गुडेर ‘ताम्सालिङ’ राज्यको राजधानी चौतारा पुग्नुपर्नेछ । (‘यहाँको राजधानी कहाँ त भन्दा सिन्धुपाल्चोक !’ उनले भने, ‘ठूला ठाउँका ठूला मान्छेले के गर्न आँटेका हुन्, हेर्दैछौं हामी ।’ नजिकैको अर्को गाउँ प्युटारचाहिँ भाग्यले काठमान्डु राजधानी हुने ‘नेवा’ राज्यमै पर्ने भएको छ ।)

surendra bahadur sanjel shows his corn field on the bank of bagmati riverवागमतीका माछा

जनकपुर र बाराका एफएम रेडियोहरू टिप्ने र मकवानपुरको फोन चल्ने तर प्रशासनिक दृष्टिले ‘उपत्यका भित्र’ का यी उपत्यका बाहिरका गाउँले राजधानीको गन्ध आफ्ना खेतहरूमा मात्रै पाउँछन् । ‘पहिलो बाढीको पानी हाल्यो भने पूरै बाली सखाप हुन्छ,’ खेतको बीचबाट दौडेको र बेलाबेलामा धार बदलिरहने वागमतीको सिँचाइबारे सञ्जेलले भने, ‘(रासायनिक) फोहोर बगाएपछिको लेदोचाहिँ मलिलो हुन्छ ।’ त्यही लेदोले डाँडातिर ‘भए मकै नभए भोकै’ उखान व्याप्त यो ठाउँको बेंसीमा चाहिँ वर्षमा तीन बाली फलाउँछ । त्यही अन्न त हो वागमतीका माछा खान नपाएको चित्त बुझाउने मेसो । ठ्याक्कै ११ वर्ष भयो घरैअघिको खेतबाट बग्ने खोलाको माछा (आफैंले मारेर) नखाएको सञ्जेलले -०५९ को भेलपछि खोलामा माछै देखिन छाडे तर घरमा जाल सुरक्षितै रहेको उनले बताए ।) । ‘पाडो जत्रो माछा मारिन्थ्यो,’ अलि बढाइचढाई गर्दै त्यति भनेपछि उनले वागमतीमा मिसिने काठमान्डुको फोहोरले माछा खाइदिएकोमा दुःखेसो गरे ।

(‘खोलामा खुट्टा टेकेर निस्किँदा त्यो कसको हो थाहा हुँदैन,’ उनले भने, ‘साउनदेखि कात्तिकसम्म सङ्लो हुन्छ । दुर्लुङ (गाउँ) नाघेपछि सफा छ ।)

देशमा आएका राजनीतिक परिवर्तन र गाउँ पुगेका विकासका रेखाहरूलाई सञ्जेलले ती प्रक्रियाकै एक अंशका रूपमा अनुभव गरेका छन् । थोरै चलाखी र धेरै मेहनत गरे नेपालकै डाँडाहरूमा जीवन शून्यबाट सफल बनाउन सकिने कुराका उदाहरण सञ्जेल डर/त्रासको छायाँमा भोट हालेको तीन वर्षपछि पनि संविधान आउन नसक्दा निराश हुने लाखौं नेपालीमध्ये पर्छन् । तर सभाको म्याद सकिन एक महिनाभन्दा कम बाँकी हुँदा फेसनका रूपमा ‘संविधान देऊ’ भन्दै नयाँ बानेश्वरस्थित सम्मेलन केन्द्र भवन घेर्ने या बन्दको नाटक गर्ने ‘सडक कलाकार’ हरूसँग उनको चासो मेल खाँदैन । ‘सबैको कुरालाई नसमेटिएसम्म संविधान त बन्दै बन्दैन,’ गाउँमै बसेर पनि संविधान निर्माणका जटिलता बुझेका सञ्जेलले विभिन्न विषयमा दलहरूबीचका मतभेदको संकेत गर्दै भने, ‘यी नेताहरूले कम्तीमा संयुक्त सरकार बनाएर संयुक्तै ढंगबाट संविधान बनाउनुपर्ने ।’

Lalitpur Nepal Voter ID Cardभोट हाल्ने रहर

नेताहरूप्रति सतही असन्तोष र गुनासो भए पनि बितेका पाँच वर्षमा देशमा मुख्यतः सडक र सञ्चारमा देखिएको अभूतपूर्व विकासले जनतामा लोकतन्त्रप्रति थप विश्वास जगाएको छ । त्यसैले हो, ६० वर्षे गंगा थापाले गए साता सुगम चापागाउँबाट अप्ठेरो सडकमा चार घन्टा र चर्को घाममा एक घन्टा तेर्सो/ओरालो हिँडेर भट्टेडाँडा गाविसको कालीदेवी प्राविमा पुगेर आफूलाई निर्वाचन आयोगमा दर्ता गराएको ।

‘यति दुःख गरेर किन आउनुभएको जाबो मतदाता परिचयपत्र बनाउन ?’ थकित र पसिनाले भिजेका गंगालाई एकजना संवाददाताले सोधे ।

‘पढ्न सक्या भए देशका लागि केही गरिन्थ्यो होला,’ क्यामेरा जोडिएको डेल ल्यापटप पछाडिको मेचमा बसेर तस्बिर खिचाउँदै गर्दा गंगाले भने, ‘सकिएन । जानी/नजानी राष्ट्रका लागि एउटा मर्यादा पुर्‍याउनुपर्‍यो नि ।’ मर्यादा अर्थात् योगदान ।

‘तपाईंको भोटले के नै हुन्छ र ?’ पञ्चायतकालमा पनि र २०४६ सालयताका सबै चुनावमा भोट हालेका उनलाई संवाददाताले सोधे ।

‘एक भोटको ठूलो महत्त्व हुन्छ,’ उनले भने । तीन वर्षअघिको चुनावमा थुप्रै जनता एउटा निश्चित पार्टीले फैलाएको डर/त्रासका कारण मतदानबाट वञ्चित भएको उल्लेख गर्दै गंगाले ‘अहिले फोटो खिचाउन आएजस्तै निर्धक्क भएर भोट हाल्न पनि पाए’ लोकतन्त्रको वास्तविक स्वाद जनताले चाख्न पाउने बताए । ‘हुँदै नभएको होइन,’ ‘नेताहरूले विकासै गरेनन् भन्ने गुनासो गर्छन् नि मान्छेहरू’ भन्दा गंगाले भने, ‘केही त भएको छ । बत्ती थिएन, पहाडभरि (कान्ति राजपथबाहेक) बाटो थिएनन् । फेरि सबै नेता कहाँ भ्रष्ट छन् ? एउटा आलु कुहियो भने टिपेर फाल्दा बोरा राम्रो हुन्छ ।’

Lalitpur Nepal Voter ID Cardसडक सपना

थापाको गाडीसँगको लामो तर आश्चर्यजनक रूपमा पातलो संसर्गले नेपालीहरू कति ‘अभागी’ छन् भन्ने प्रस्ट्याउँछ । २०१७ सालमा त्यतिबेला भर्खरै बनेको कान्ति राजपथको एउटा खण्डमा उनी सेनाको मोटरमा झुन्डिएर चढेका थिए । राजपथमा यात्रुवाहक गाडी चल्न झन्डै ४५ वर्ष लाग्यो । साँघुरो बाटो अझै पनि वर्षायाममा अवरुद्ध हुन्छ र अर्कोतिरबाट आएकोलाई ठाउँ दिन अप्ठेरो भीरमा खतरा मोल्दै गाडी पछाडि फर्काउनुपर्छ । राजपथबाट छुट्टएिको एउटा कृषि सडकले तीन वर्षअघिमात्र ललितपुरकै प्युटार, आश्राङ र (चुस्सैमात्र भए पनि) गिम्दी गाउँहरूलाई जोडेको छ । तर खानी खोलामा पुल नहुँदा अबका केही सातामा ती गाउँका लागि त्यो सडक बेकामे फराकिलो बाटो मात्र बन्ने छ । कालोपत्रे नगरिदा सामान्य भन्दा आधा गतिमा गाडीहरू गुड्नुपर्ने मौसमी सडकले नै पनि गाउँलेहरूको जीवनस्तर उकास्न गज्जबको भूमिका खेलेको छ । गाउँको दूध र खुवाले काठमान्डुको बजार पाएको छ ।

‘पहिले प्रतिकेजी ४२ रुपैयाँ ढुवानी खर्च लाग्थ्यो, अहिले दुई रुपैयाँ,’ सञ्जेलले भने । ‘पहिले दूधै पठाउन नमिल्दा खुवा बनाउनुपथ्र्यो दाउरा बालेर, जंगल नाश हुन्थ्यो । अहिले त्यो बचेको छ ।’ चिस्यान केन्द्रको प्रबन्ध नहुँदा अझै पनि कतिपय गाउँलेले साँझै दूध बेच्न नसकेर खुवा बनाउनुपरेको छ । सडकले नै हो विलकुलै नयाँ नगदे बाली लगाउन किसानलाई प्रेरित गरेको । यहाँका किसानले, जिल्ला कृषि कार्यालयका अनुसार, वर्षमा सय टनभन्दा बढी अदुवा फलाएर बेच्न थालेका छन् । हिउँदमा बोडी लगायतका तरकारी बेच्न पाएका छन् । ‘फर्सी यहाँ फालाफाल हुन्थ्यो, गाईभैंसीले खान्थे,’ प्युटारको कालीदेवी उमाविमा बितेका २५ वर्षदेखिका शिक्षक देवनारायण यादवले भने, ‘अहिले हामीले किन्न पाउँदैनौं । सबै काठमान्डु जान्छ ।’ ठट्टा गरेजस्तो लाग्ला तर प्रत्येक गाउँमा सडक पुग्नै पर्ने र ती पिच हुनै पर्ने कुरालाई नेपालीको मौलिक हकै बनाए बरु यो देशको सबैभन्दा छिटो प्रगति होला । सडकको आसमा जिन्दगी बिताउनुपर्ने नेपालीको सबैभन्दा ठूलो दुर्भाग्य भएको छ ।

सञ्जेलसँगै गफिएको दिन बिहान नौ बजे चापागाउँबाट भट्टेडाँडा नाघ्दै वाग्मतीको किनारबाट गिम्दी जाने बसमा गंगालाई संवाददाताहरूले भेटेका थिए । त्यतिबेलाको गफमा उनले कान्ति राजपथबारे भनेका थिए, ‘हाम्रो जमानामा बाटो राम्रो हुँदैन, पछिको जमानामा होला । गाडी चल्या देख्न पाइयो, त्यत्ति हो ।’

क्यामेरा क्लिक

थापा पुगेको कालीदेवी प्राविमा जिल्ला निर्वाचन कार्यालयले मतदाता परिचयपत्र बनाउन नागरिकता भएकाहरूको अनुहार र औंठाछापको डिजिटल प्रति उतारिरहेको थियो । धेरैजसो नेपालीका (विशेषगरी गाउँलेहरूका) चुनावी परिचयपत्रका ती तस्बिरहरूमा एउटा समानता पाइनेछ । सबैका निधार या गालामा पसिना प्रस्ट या अस्पष्ट देखिने छन् । थापाले जस्तै पसिना बगाउँदै झन्डै ४५ मिनेट हिँडेर त्यहाँ पुगेकी थिइन् देवकुमारी दाहाल । ‘भोट हाल्न पाइने रे भनेर आएकी,’ सिउँदोभरि सिन्दूर, हातभरि चुरा र कानैभरि मुन्द्रा, कानैभरि मुन्द्री लगाएकी उनले भनिन्, ‘आजको दिन पूरै बित्यो । बस्तुभाउलाई घाँस काट्नुपर्ने । फोटोमात्रै खिचे, कहिले दिने हुन् थाहा भएन ।’

‘खासगरी हामी संविधान बनाउनुपर्छ भनेर हिँडेका,’ एक हूल गाउँलेसँगै स्कुलतिर ओर्लिंदै गर्दा संवाददाताहरूसँग गफिएका भट्टेडाँडा ५, छपेलीका ४५ वर्षे पूर्णप्रसाद घिमिरेले भने, ‘हामीहरूले गर्न सक्ने भनेको एक भोट दिने त हो नि, होइन र ? हामीले यहाँबाट सहयोग गर्ने भनेको त्यही हो ।’

फोटोसहितको मतदाता कार्डले चुनावी धाँधली निर्मूल गर्ने उनको आशा छ । तर कार्डबाट घिमिरे र उनका साथीहरूले गरेको अपेक्षा त्यतिमात्र छैन ।

एक जना संवाददाताले ‘यो नबनाउँदा के हुन्छ ?’ भनी सोधेपछि घिमिरेसँगै हिँडेका एक तन्नेरीले भने, ‘रासनकार्ड जस्तै हुन्छ रे यो । इन्डियामा छ नि । अहिले नबनाए पछि धोका पाइन्छ भन्ने कुरा गरेका छन्, खै के हो ।’

चुनावी कार्ड बनाउन संकलन गरिएका विवरण, तस्बिर र डिजिटल औंठाछापलाई समेटेर राष्ट्रिय परिचय पत्र बनाइने भन्ने हल्ला गाउँसम्म पुगेको छ । त्यस्तो कार्डले ‘पछि नागरिकतालाई विस्थापित गर्ने हुनाले’ पनि बनाउन चासो देखाएको घिमिरे र अन्य केही महिलाले बताए । ‘कति सत्य हो थाहा छैन,’ उनले भने, ‘हल्ला सुन्या हो ।’

‘बाँचे न संसार’

दसवर्षे हिंसात्मक द्वन्द्वसहित झन्डै दुई दशकको लोकतान्त्रिक अभ्यासका अनुभवी नेपालीहरू, विशेषगरी गाउँलेहरू, निराशाजनक राष्ट्रिय राजनीति र विकासको धिमा गतिका बाबजुद राजनीतिक प्रक्रियाप्रति उत्साहित देखिन्छन् । उनीहरू बढी राजनीतिकृत पनि छन् । घिमिरे भन्छन्, ‘एउटै गाउँमा एउटा पार्टीको मान्छे मर्‍यो भने अर्को पार्टीको मान्छे नजानेसम्म पनि हुन्छ । गाउँघराँ चर्को राजनीति चल्छ त, सहर बजारमा के चल्छ र ? ऐंचोपैंचो झारा/पर्म हराउँछ ।’ बितेका केही वर्षमा लोकतन्त्रको जरा समाजमा थप गाडिँदै जाँदा र खुला राजनीतिक प्रणालीले आफूलाई परिपक्व तुल्याउँदै गर्दा जनता पनि आफूभन्दा फरक विचार राख्नेहरूप्रति नरम बन्दै गएका छन् । शान्ति प्रक्रियामा छिरेयता र मुख्यतः चुनावपछि माओवादीहरूको बेहोरामा पनि परिपक्वता आएका संकेत देखिएका छन् । यद्यपि, संयोगै मान्नुपर्छ, त्यो यात्रामा संवाददाताहरूले भेटेका लगभग सबैले गए चुनावमा एउटा पार्टी विशेषले ज्यादती गरेको र आगामी निर्वाचनमा त्यस्तो नहोस् भन्ने चाहेको बताए । ‘मलाई भोट हालिनस् भने पाता फर्काएर तँलाई सिध्याउँछु भनेर कसैले भन्छ भने बाँच्नका लागि एउटा भोट त हजुरले पनि दिनुहुन्छ,’ घिमिरेले भने, ‘बाँचे न संसार देखिन्छ ।’

हो, शान्ति प्रक्रिया देश छिरेको पाँच वर्षपछि पनि जनतामा ‘बाँच्ने’ कुरा नै सबैभन्दा प्राथमिकताको विषय हुन छाडेको छैन । संक्रमणकाल लम्बिँदा सुरुवाती दिनमा चर्का नारा लगाउनेहरू केही शिथिल भएका होलान् -जसले संविधान निर्माणमा केही फाइदा पुर्‍याउने सक्छ) तर जनतामा एकखाले अनिश्चितता पनि छाएको छ । ‘पहिले भूत, वर्तमान, भविष्यकाल भन्थे,’ भट्टेडाँडा ५, छपेलीका ५८ वर्षे कृष्णप्रसाद दाहालले भने, ‘अहिले संकटकाल, अन्तरिमकाल र अनिश्चितकाल ।’

त्यही अनिश्चयको हल्का झलक पाइन्छ संवाददाताहरूलाई बास दिने सञ्जेलका केही गफहरूमा । ‘अझै पनि नेपालमा द्वन्द्व सकिया भन्ने संकेत छैन,’ उनले भने, ‘त्यसैले ढुक्क हुन सकिएको छैन । झन् नराम्रो द्वन्द्व बन्ने हो कि ? संविधानै नबनेसी, कानुनै छैन, जल्ले जे गरे नि भ’को छ । शान्तिको ग्यारेन्टी त देखिँदैन ।’

माओवादीका आलोचक सञ्जेलले देशको सबैभन्दा ठूलो पार्टीले समाजमा केही सकारात्मक परिवर्तन ल्याएको स्विकारे । ‘गाउँमा जाँड रक्सीको कारोबार निर्मूल भयो, दसंैतिहारमा कौडा तास खेल्ने नराम्रो बानी हरायो र छोरीबुहारी बलात्कृत हुन छाडेकै हुन्,’ उनले भने, ‘त्यो सबै माओवादीले नै गर्दा भएको हो । जनताको अधिकार जनतालाई सुम्पिने, जसको जोत त्यसको पोत गराउने, सामन्ती भ्रष्टाचारी उन्मूलन गर्ने कुरा नराम्रो होइन । तर माओवादीहरूको नौ महिने कार्यकालमा के भयो ? कुन गाउँमा कतिवटा पुल बने, कुन विद्युत् आयोजना बन्यो ? हिजोका वाचा बिर्सेर आफैं झगडा गर्न थाले । यी पनि कुन ड्याङका मूला रहेछन् र भन्ने भयो ।’

शून्यबाट सम्पन्न

सञ्जेलको आफ्नै जीवन र राजनीतिक सहभागिता पनि कम रोचक छैनन् । ‘हाम्रा बाबु/बाजेले कोरल्नैमात्र जानेको, (सन्तानको) प्रबन्धन गर्न नजानेको’ भन्ने सञ्जेल सात दाजुभाइमध्येका एक हुन् । रोगी बाबुको सम्पत्तिबाट मिल्ने अंशले जिन्दगी नधानिने देखेपछि २०४५ सालतिर बिहे गरेलगत्तै छुट्टएिका उनले भिनाजु पर्नेको जग्गा अँधियामा कमाउन थाले । अनि उनी कांग्रेस भए (अहिले होइनन्) ।

‘२०४९ को स्थानीय चुनावताका भिनाजुले ‘लु तिमी कांग्रेसमा लाग्नुपर्‍यो’ भन्नुभयो,’ आमचुनावमा एमालेलाई भोट हालेका उनले सम्झिए, ‘बूढाले भनेको नमाने जग्गाबाट उठाइदेलान्, कहाँ जानु ? किनौ पैसा छैन । कांग्रेस बनियो । फेरि वडाध्यक्षमा उठ्नुपर्छ भने । गाउँलेले खारखुर भोटहाले, जिताइदिए । पाँच वर्ष भुक्तानी गरे । अनि बूढा पनि खुस्के, डढेलोमा परेर । पार्टी पनि गयो ।’ अर्को चुनावमा एमालेले उनलाई उठ भन्यो तर ‘घरि यता घरि उता हुन्छ’ भनेर उनले मानेनन् । ‘अहिले म एमाले भनेरै चिनिन्छु,’ उनले भने, ‘माओवादीलाई पनि थाहा छ ।’

संविधानसभाको चुनावताका ‘गाउँकै (माओवादी) केटाहरू आएर’ सञ्जेललाई ‘तँ जस्तो मान्छे आइज न हामीसँग, तँलाई टोक्दैनौं, बरु -युद्धकालमा हामीलाई खुवाउँदा) तँलाई के कति घाटा लाग्यो तिराइदिन्छौं’ भनेका थिए । सञ्जेलले यस्तो जवाफ दिए, ‘तिमीहरूलाई आफ्नै खुसीले सहयोग गरेको थिएँ । दिएको दान फिर्ता लिन्न । म पार्टी छोड्दिन ।’

काठको काम र अरूको घर बनाएर कमाएको पैसाले भिनाजुकै अदियाँ जग्गा किनेर ‘जग्गा विस्तार अभियान’ थालेका सञ्जेलको अहिले गाउँमा २० रोपनी जग्गामा घर पनि छ । ‘बाख्रापाठा पाल्दाखेरी कसैको बगंैचामा आफ्नो ननिखारी नजाउन्,’ उनले भने । बेसीमा आठ रोपनी खेत जसमा तीस मुरी धान फल्छ । खेत नजिकै सडक किनारमा एउटा घर बनाएका छन् जहाँ ८/१० ओछ्यानसहितको होटल थाप्ने उनको योजना छ । त्यहीं सानो काठ काट्ने मेसिन पनि राखेका छन्, खापा, चौकोस, दराज, खाट बनाउन । ‘काठै बेच्ने हो भने दुई तीन लाखको हुन्छ,’ उनले भने, ‘मेरो निजी जग्गाको ।’ उनी गाउँमा घर बनाउने ठेक्का लिन्छन् । बितेका थुप्रै वर्षमा बनेका गाउँका १९ मध्ये १६ घर उनैले बनाएका हुन् ।

साना दुःखले आर्जिएन

त्यो सबै सम्पत्ति सञ्जेलले साना दुःखले आर्जेका होइनन् । उनी मेला जान्थे, अरूको ज्यामी गर्न । रोटी खाजा मिल्थ्यो, त्यो बोकेर घर ल्याउँथ्ये र श्रीमतीसँगै खान्थ्ये । ‘सम्भिmँदा त कति दुःख कति,’ उनले भने, ‘गोरुको भन्दा बढी छाला गयो होला मेरो यो गर्धनबाट, काठका मुढा बोकेर ।’

घर र काठको ठेकदारीले राम्रो आम्दानी दिलाएको उनले बताए । काठबाट महिनामा १५ हजारसम्म कमाउने बताउने सञ्जेल बोडी र खुवा बेचेर पनि वर्षमा ३०/४० हजार कमाउँछन् । ‘एउटै लाइनमा लागे सकिन्छ कमाउन,’ उनले भने, ‘बाटो हुन्छ नि कमाउने त । बाटोबाट यताउता गर्न हुन्न ।’

आफ्ना चार (छोराछोरी बराबर) सन्तान शिक्षा दिलाउन उनी गाउँको जग्गा (घरगोठै) ठेक्कामा कमाउन दिएर बेसी ओर्लेका हुन् । ‘आफूले शिक्षा हासिल गर्न सकिएन,’ उनले भने, ‘भुराहरू पढाइदिम, आफू काठको काम गरौं ।’ उनकी जेठी छोरी र जेठो छोरा प्युटारमा क्रमशः १० र ११ मा पढ्छन् भने बाँकी दुई नजिकैको निमाविमा ७ मा पढ्छन् ।

त्यही निमाविको सञ्चालक समितिका पनि अध्यक्ष हुन् सञ्जेल । ‘भोक लाग्यो होला है तपाईंहरूलाई,’ राति १० बज्नै लाग्दा उनले संवादाताहरूलाई भने । उनकी पत्नीले भर्खरै खाना पकाएर सकिन् । यो खानाको कुरा गर्नुअघि द्वन्द्वकालको त्यो साँझ सञ्जेलले माओवादीलाई पकाइदिएको खानाको कुरा गरौं ।

सिस्नु र ढिँडो

सिस्नुको मुन्टा तरकारी थियो, मकैको पीठाको ढिँडो । तर बन्दुक तेस्र्याइएका भान्से खुसी थिएनन् । त्यसैले सञ्जेलले खोलेमा एक मुठी नुन हालेँ । ‘खान नसक्ने (चर्को) बनाएँ,’ उनले सम्झिए, ‘ढिँडो मीठो हुन पानी उम्लनुपर्छ । (नउम्लिँदै) पीठो हालिदेँ । अब ढिँडो के पाक्थ्यो ? ‘ल खानुस्’ भनेर टक्क राखिदेँ । सिस्नु आए जिब्रो फुट्ने (नुनिलो), ढिँडो खाए काँचो । एउटाले त एकमुठी खायो, अरूले इतिती-इतिती खाए, छिछि गरे । चाप्पचुप्प हात धोए, ‘लौ, बुवा बस्नुस् है हामी हिँड्यौं’ भन्दै लागे ।’ द्वन्द्वकालमा उनीहरू जहाँ खायो त्यहीं बस्दैन थिए । अलि पर सञ्जेलका छिमेकीकहाँ गएर मोही खाँदै माओवादीहरूले गुनासो गरेछन्, ‘त्यो घरको मान्छे अघिपछि पनि त्यस्तै (नमीठो) खान्छ कि ? पकाउन जान्दो रहेनछ ।’

‘जान्या, नजान्या मलाई थाहा थियो,’ सञ्जेलले भने, ‘मैले हामीलाई फेरि अर्को खाना पकाए । बाँकी सिस्नु र ढिँडो भोलिपल्ट भैंसीलाई खोले बनाएर दिएँ । मलाई बन्दुक देखाएर मार्न खोज्ने, अनि मैले मीठो खाना खुवाउने ?’

त्यो साँझको बदलाबारे सञ्जेलले शान्ति छाएपछि माओवादीलाई बताएका छन् । बन्दुक नदेखाएको भए ‘जनताकै छोरा हुन्’ भन्दै माओवादीहरूलाई राम्रैसँग खुवाउने विचारले उकालो लागेको उनले बताए । ‘कसैले दुःख दिन्छ भने उसलाई हामीले सुख कटाउनुपर्छ भन्ने छैन,’ सञ्जेलले भोकाएका संवाददाताहरूसँग भने, ‘हामीलाई सुविधा दिन कोही आउँछ भने त्यसलाई मरिमेटेर सुख दिइन्छ ।’ त्यसैले उनी जिल्लाबाट बाटाको या खानेपानी सर्वे गर्ने तथा स्कुललाई सहयोग गर्न खोज्नेलाई ‘सम्मानका साथ’ राख्दै सुख दिन्छन् ।

पुनश्च- संवादाताहरूलाई सञ्जेलले चामलको भात र फर्सीको मुन्टाको तरकारी खुवाए । नुन ठिक्क र खाना मीठो थियो । तरकारीको दोस्रो परिकार मोही मिसाइएको मुन्टाचाहिँ उनीहरूलाई नौलो लागेकै हो । भोलिपल्ट बिहान खाना र एउटै ओच्छ्यानमा सुतेबापत ५० रुपैयाँमात्रै लिन खोजेका सञ्जेलका हातमा सय रुपैयाँ थमाउँदै संवादाताहरू बाटो लागे ।

madhesi teachers in lalitpur pyutar

एहने छौ मिता हमरा सबहक हाल

हालैको एक साँझ स्कुल समय सकिएपछि देवनारायण यादव, रमानन्द यादव र ब्रजकिशोर साह ललितपुरको दुर्गम गाउँ प्युटारस्थित कालीदेवी उमाविको चौरमा बसेर गफिइरहेका थिए । सप्तरीका उनीहरूले यहाँ पठाउन थालेको क्रमशः ५, १० र २५ वर्ष भयो । उनीहरू नेपालका पहाडका कुनाकुना पुगेर मुख्यतः विज्ञान र गणित पढाउने झन्डै तीन हजार मधेसी शिक्षकमध्येका हुन् । देवनारायण र ब्रजकिशोर यहाँको निमाविमा पढाउँछन् भने रमानन्द उमाविमा ।

संविधानसभाको चुनावताका पाँच वर्षअघि गाउँमा मोबाइल फोनको तरङ्ग र तीन वर्षअघि सडक आइपुग्दा उनीहरू कम्ती खुसी भएका थिएनन् । ती दुवै कुराले उनीहरूलाई आफ्ना घरपरिवार र साथीभाइसँग नजिक तुल्याइदियो । ‘पहिलोपटक म यहाँ आउँदा यो ठाउँमा सडक आउला भन्ने कल्पना गरेको थिइनँ,’ ब्रजकिशोरले भने । लगभग त्यति नै बेला रमानन्दको सीडीएमए (स्काई) मोबाइल फोन बज्यो । चौर घुम्दै उनले कुरा गरे ।

‘एक मिनेटको ३६ रुपैयाँ तिरेको छु मैले,’ ब्रजकिशोरले भने, ‘त्यो पनि तीन घन्टा हिँडेपछि ।’

‘फोन भएपछि दुःख र सुखको कुरा पनि बाँडफाँड गर्न पाइयो,’ फोनमा कुरा सकेपछि रमानन्दले भने, ‘पहिले (यति) गर्न (तीन घन्टा हिँडेर) भट्टेडाँडा पुग्नुपथ्र्यो । अहिले त नेट चल्छ हाम्रो यहाँ स्कुलमा । दुइ वर्ष भयो ।’

गाउँको विकासमा सबैभन्दा ठूलो जस सडक र शिक्षालाई दिन्छन् उनीहरू । सडकले गाउँमा व्यापारिक कारोबारलाई बढाएको उनीहरूको अनुभव छ । सडककै कारण गाउँका तरकारीलगायतका उत्पादन बाहिर गएको र गाउँलेहरूको आम्दानी बढेको उनीहरूले बताए ।

द्वन्द्वकालका अचेल सम्झनामै मात्र छन् उनीहरूसँग । ‘खासै हामीलाई त्यति असर परेन तर लान्थ्यो हामीलाई कार्यक्रममा,’ माओवादीहरूलाई संकेत गर्दै ब्रजकिशोरले भने, ‘दुई दिनसम्म हिँडाएर लगे । तर बीचबीचमा खानेकुराचाहिँ दिन्थे, चिउरा, दालमोठ ।’ देवनारायणले थपे, ‘कोही कोही ठाउँमा बस्दा भात दिन्थे नत्र चिउरा । सिन्धुली पनि पुगियो । कति पैसा तिरियो कति ।’ तिरियो अर्थात् माओवादीका शब्दमा स्वेच्छिक चन्दादान ।

‘दिन सक्ने दियौं,’ ब्रजकिशोरले भने, ‘के गर्ने ? हामी गाउँमा बस्ने, तिनीहरूको गाउँमै चल्दोरहेछ । जंगलमा पनि बस्ने, बाघसँग दुश्मनी गर्ने त भएन ।’

चन्दा लिन अहिले पनि दल र तिनका भ्रातृ संस्था पुग्छन् उनीहरूकहाँ । तर अचेल पहिलेजस्तो जबरजस्ती हुँदैन । ‘यो चन्दा र त्यो चन्दामा अन्तर छ,’ देवनारायणले भने, ‘सक्नु हुन्छ भने दिनुस् भन्छन् । नदिँदा पनि केही गर्दैनन् । तर हामी तिनलाई खाली हात पठाउँदैनौं । सय-पचास दिन्छौं ।’

‘यी हाम्रै नेपालका दाजुभाइ हुन् भन्ठान्दै महिनामा दुई चार सय रुपैयाँ खर्च गर्दा हामी गरिब हुने पनि होइन, नगर्दैमा धनी हुने पनि होइन,’ ब्रजकिशोरले भने, ‘त्यसैले दिन्छौं । जुन समाजमा बसेका छौं, यहाँ यस्तै छ त के गर्ने । माटोलाई ढुंगाको भर, ढुंगालाई माटोको भर ।’

‘तपाईंहरू सबै मधेसका,’ एक जना संवाददाताले सोधे, ‘मधेस आन्दोलनताका यहाँ अप्ठ्यारो भयो ?’

‘हेर्नुस,’ ब्रजकिशोरले भने, ‘मैले बस्ने गरेको (सप्तरीको) गाँउमा लामा बस्छन्, बस्नेत र श्रेष्ठहरू बस्छ्न् । हामीभन्दा बढी छाती फुकाएर तिनीहरू कुरा गर्छन् त्यहाँ । मजाले ट्रक चलाएका छन्, होटल थापेर बसेका छन् । राम्रो होटल । उनीहरूका सानदार घर छन् । आजसम्म उनीहरूलाई कसैले छन पनि सकेका छैनन् । न त हामीलाई यता यो गाउ मा कसैले छोएको छ । मधेसी भनेर यता हामीलाई पनि कसैले छोएको छैन, पहाडे भनेर हाम्रो गाउँमा पनि मान्छेहरूले तिनीहरूलाई अहिलेसम्म छोएको छैन ।’

तर दुवै क्षेत्रमा दुवै समुदायका मान्छेलाई उनीहरूकै समुदायका मान्छेले पनि दुःख दिने गरेको उनले बताए । ‘तराईकाले तराईवासीर्लाइ दुःख दिएको छैन र ?’ ब्रजकिशोरले भने, ‘हाम्रो काठमान्डुमै पहाडी समुदायको मान्छेले पहाडी समुदायको मान्छेको अपहरण गरेका छैनन् ? छन् नि ।’

जादाजादै ब्रजकिशोरले पत्रिकामार्फत आफ्नो एउटा गुनासो सम्बन्धित निकायमा पुर्‍याइदिन अनुरोध गरे । ‘निमावि र माविका शिक्षक छनोट परीक्षा एकै दिन पर्दा अफ्ठ्यारो भएको छ,’ उनले भने । तर रमानन्दले यस्तो जवाफ दिए, ‘एउटैले दुवै पदमा नाम निकाल्दा एउटा पद खाली हुने भएकाले त्यस्तो गरिएको हो ।’

8 thoughts on “यस्तै छ साथी हाम्रो हाल

  1. Liked dis portion “सिस्नु र ढिँडो”(सिस्नुको मुन्टा तरकारी थियो, मकैको पीठाको ढिँडो । तर बन्दुक तेस्र्याइएका भान्से खुसी थिएनन् । ). Great Piece!!

    Like

  2. How I wish I had paid more attention during Nepali class instead of giving my teachers grief. Very nice pictures, but it’ll take me a few hours to fully understand the writing.

    Liked by 1 person

  3. यस्तै छ साथी हाम्रो हाल, के गर्ने जनताको हाल सुधार्नेहरुलाई आफ्नो सुधार्दैमा फुर्सद छैन| राजधानी नजिकको ठाउँ त अझै यस्तो छ, कर्णालीको झन के होला!! आशा गरौ सबैको हाल सुध्रियोस|

    Liked by 1 person

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s