हक्की नेता- रामशरण महतको व्यक्तित्व चित्रण

युएनको पृष्ठभूमि, पाँचपटक अर्थ र एकपटक परराष्ट्रमन्त्री बनेका महत बितेका दुई दसकमा आफ्नो छवि ‘विकासवादी, सिधा कुरा गर्ने’ बनेको दाबी गर्छन् । तर उनका आलोचकहरू फुर्सदको बेला गल्फ खेल्ने महतलाई इलिटिस्ट (ठालुवादी), अङ्ग्रेजी र जोकसैले नबुझ्ने ‘जार्गन’ (शब्दावली) प्रयोग गरेर अर्थतन्त्रबारे ‘के-के न जान्दछु’ जस्तो भान दिँदै मानिसहरूको दिमाग भुट्ने व्यक्ति ठान्छन् ।

ram sharan mahat profile KANTIPUR
ठूलो पार्न क्लिके हुन्छ

दिनेश वाग्ले/कुलचन्द्र न्यौपाने

संविधानसभाको म्याद दोस्रोपटक थप्ने विषयमा नेपाली काङ्ग्रेसमा मतैक्य नहुँदा त्यो पार्टीले माओवादी लगायतका दलहरूसँग वार्ता गर्न खटाएको टोली पनि विभाजित थियो । थप्नै हुँदैन भन्ने पक्षको नेतृत्व सभामा नचुनिएका मनोनित महामन्त्री कृष्णप्रसाद सिटौलाले गरेका थिए भने त्यसको उल्टो ध्रुवमा थिए- रामशरण महत । केही वर्ष अघिसम्म हालका पार्टी सभापति सुशील कोइरालाले समेत ‘माओवादीको गृहमन्त्री हो कि काङ्ग्रेसको’ चिन्न नसकेका सिटौलाको आश्चर्यजनक राजनीतिक यु-टर्नलाई थुप्रै काङ्ग्रेसीहरू त्यो उनको मौलिक नभई उनीमाथिको चर्को बाह्य प्रभावका रूपमा लिन्छन् । पक्कै काङ्ग्रेस माओवादीजस्तो भारतविरोधी राजनीतिमा फस्टाउने पार्टी होइन । त्यसैले भारतलाई लिएर हुने काङ्ग्रेसी विवाद ‘नोकरझैं भारतीय आदेशमा चल्ने’ या ‘मित्रझैं भारतसँग घनिष्ट सम्बन्ध राख्दै आन्तरिक मामिलामा आफैंले निर्णय गर्ने’ भन्नेमा घुम्छ । जस्तै-म्याद थप्ने/नथप्ने सन्दर्भमा भारतीय प्रतिनिधि सरह प्रस्तुत भएका सिटौलाको भन्दा उल्टो (‘थप्नुपर्छ’) विचार राखेर भारत विरोधीजस्तो देखिएका महत भन्छन्, ‘अर्थतन्त्रको कुरामा म भारतसँग प्रगाढ सम्बन्ध राख्नुपर्छ भन्ने विश्वास गर्छु । नेपालको जलस्रोतमा भारतलाई ल्याउनुपर्छ ।’

सानो देश र अन्तर्राष्ट्रिय स्तरमा लगभग निस्प्रभावी भए पनि नेपाली राजनीति चर्को प्रतिस्पर्धायुक्त छ । हालैका वर्षहरूमा तीव्र रूपमा बदलिँदो राष्ट्रिय परिस्थितिले बिहान सडकमा रहेकाहरूलाई बेलुकी ‘कुर्सी’मा पुर्‍याइदिन्छ र त्यति नै चाँडो त्यहाँबाट डङरङ्ग लडाइदिन्छ पनि । त्यसैले नेपाली राजनीतिमा टिकिराख्न व्यक्तिगत क्षमता र निश्चित गुट/नेतृत्वसँगको निकटताले मात्र पुग्दैन । भाग्य पनि हुनुपर्छ । महत त्यस्तै एक ‘भाग्यमानी’ हुन्, जो ०४६ को परिवर्तनपछिको नेपालमा निरन्तर देशका महत्त्वपूर्ण र निर्णायक पदहरूमा छन् ।

‘कति साथी (क्षमता भएर पनि) ओझेल पर्नुभएको छ’, उनले भने, ‘म भाग्यमानी हुँ ।’

काठमाडौंस्थित राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) हुँदै युएन छिरेर न्युयोर्कस्थित कार्यालय पुगेका उनी ०४६ को परिवर्तनताका अफ्गानिस्तान हेर्ने पाकिस्तानस्थित युएन कार्यालयमा उपआवासीय निर्देशक थिए । जनआन्दोलनपछिको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले ‘बोलाएपछि’ नेपाल फर्किएका उनले ०४८ को आमचुनावमा नुवाकोट- १ बाट टिकट पाए- पञ्चायती नेता प्रकाशचन्द्र लोहनीबाट हार्न । तर उनीप्रतिको काङ्ग्रेसी विश्वास डगमगाएन- ०५१ को मध्यावधिमा उनले घर भएकै क्षेत्र (नम्बर २) बाट टिकट पाए- जित्न । ती हार र जितको बीचमा प्रधानमन्त्री कोइरालाले उनलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाए । उपाध्यक्ष महत काङ्ग्रेसमा उच्चस्तरीय झगडाका कारक पनि भए । आफूसँग गरिएको वाचाअनुसार आफ्ना नातेदार दुर्गेशमान सिंहलाई उपाध्यक्ष नबनाएकोमा काङ्ग्रेसका तत्कालीन सर्वोच्च नेता गणेशमान सिंह कोइरालासँग चुर भए । ‘चुनाव हारेपछि मलाई अपरहाउसमा ल्याएर अर्थमन्त्री बनाउने विचारमा हुनुहुन्थ्यो गिरिजाबाबु’, गत साताको एउटा अन्तर्वार्तामा महतले सम्झिए- ‘किशुनजी र गणेशमानजीले मलाई मनपराउँदा-पराउँदै पनि ‘हारेकोलाई ल्याउँदा गलत नजिर बस्ने’ भन्दै मान्नुभएन । अनि मलाई गिरिजाबाबुले योजना आयोगमा ल्याउनुभयो । गणेशमानजीले पनि मलाई मन नपराउनुभएको होइन । उहाँलाई म विदेशीहरूसँग भेटाउँथे, परिचय गराउँथे । तर वाचा पूरा नभएकाले उहाँ गिरिजाबाबुसँग रिसाउनुभयो ।’ (विवादबीच उपाध्यक्ष भए पनि आफ्नो कार्यकाल योजना आयोगको इतिहासमै उत्कृष्ट या पञ्चायतकालमा हर्क गुरुङको कार्यकाल जत्तिकै राम्रो भएको अरूले बताएको महत उल्लेख गर्छन् ।)

योजना आयोगको त्यो कार्यकाल महतका लागि नेपाली राजनीतिमा टिकिराख्ने महत्त्वपूर्ण आधार बन्यो । उनले आफ्नो जिल्ला र विशेषगरी घर भएको क्षेत्रमा विकास योजना पुर्‍याए । ‘सुरुमा म चुनावी राजनीतिमा नयाँ थिएँ’, उनले भने, ‘सिधै युएनबाट आएर प्रकाश (चन्द्र लोहनी) जस्तो खलीसँग लड्दा म हारेँ । पार्टीको आन्तरिक राजनीति त छँदैथ्यो । म स्टे्रेट फरवार्ड थिएँ, नहुने कुरा नगर्ने । राजनीतिमा झूट पनि बोल्नुपर्ने, नहुने कुरा पनि गर्नुपर्ने । दोस्रो चुनावमा घर भएकै क्षेत्रबाट उठे पनि मैले झूटो बोलिन । तर योजना आयोगमा भएकाले क्षेत्रमा धेरै काम गरिसकेको थिएँ ।’

युएनको पृष्ठभूमि, पाँचपटक अर्थ र एकपटक परराष्ट्रमन्त्री बनेका महत बितेका दुई दसकमा आफ्नो छवि ‘विकासवादी, सिधा कुरा गर्ने’ बनेको दाबी गर्छन् । तर उनका आलोचकहरू फुर्सदको बेला गल्फ खेल्ने महतलाई इलिटिस्ट (ठालुवादी), अङ्ग्रेजी र जोकसैले नबुझ्ने ‘जार्गन’ (शब्दावली) प्रयोग गरेर अर्थतन्त्रबारे ‘के-के न जान्दछु’ जस्तो भान दिँदै मानिसहरूको दिमाग भुट्ने व्यक्ति ठान्छन् । ‘विदेशीहरूसँग स्कच खान र गल्फ खेल्न उनलाई आउँछ,’ सार्वजनिक रूपमा आलोचना गर्दा महतसँगको पार्टीगत सम्बन्ध झन् चिसिने भएकाले नाम प्रकाशित नहुने सर्तमा महतलाई नरुचाउने एकजना काङ्ग्रेस नेताले भने- ‘उनी राजनीतिक व्यक्ति होइनन् । उनी विशेष समितिमा भएकैले गर्दा हो, शान्ति प्रक्रियाबारे जनतामा ‘यो प्राविधिक र हामीले नबुझ्ने कुरो हो’ भन्ने भ्रम परेको ।’

विशेष समिति ! माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनसम्बन्धी विशेष समिति जसका अध्यक्ष प्रधानमन्त्री हुन्छन् र संविधानसभामा उपस्थितमध्ये पाँच दलका ८ जना प्रतिनिधि सदस्य । त्यसमा भएकैले अहिले राष्ट्रिय राजनीतिमा महतको विचार/दृष्टिकोण र काम महत्त्वपूर्ण भएको हो । समितिमै भएकाले उनी काङ्ग्रेसका तर्फबाट सभाको म्याद थप्ने/नथप्ने बारे अरू पार्टीसँगको वार्ताटोलीमा पुगेका हुन् । केन्द्रीय सदस्य र सभासदमात्रै (या ती दुवै) त थुप्रै छन्, काङ्ग्रेसका । तर अहिले देशको सबैभन्दा जटिल, प्रमुख र सबैले ध्यान दिएको विषयबारे औपचारिक निर्णय गर्ने निकायमा काङ्ग्रेसका तर्फबाट महत र मिनेन्द्र रिजालमात्र छन् । वरिष्ठता, अनुभव र माओवादीप्रतिको निरन्तरको एउटै दृष्टिकोण (आलोचनात्मक) का कारण महतले समितिमा र बाहिर फरक पहिचान बनाएका छन् । र समितिमा लगिदिएकोमा उनी स्व. कोइरालाप्रति अनुग्रहित छन् । ‘माओवादीप्रतिको मेरो निरन्तरको आलोचनात्मक दृष्टिकोणले त्यतिबेला माओवादीले समेत पि्रय मानेका गिरिजाबाबु प्रभावित हुनुभयो र मलाई (०६५ मा गठित) विशेष समितिमा पठाउनुभयो’, उनी भन्छन्- ‘माओवादी द्वन्द्व सुरु भएदेखि नै त्यसप्रति मेरो एकनासको र प्रस्ट दृष्टिकोण छ, मैले कहिले प्रशंसा, कहिले विरोध गरिन ।’

आलोचकहरू जेसुकै भनुन् (र त्यसबारे उनी जानकार छन्) महतलाई थाहा छ, विशेष समितिमा आएकैले राष्ट्रिय राजनीतिमा उनको भूमिका बढेको छ । अर्थतन्त्रजस्तो रुखो र प्राविधिक विषयबारे मात्र ‘जान्ने’ आफ्नो छवि फैलिएर यो मान्छेले देशका अन्य विषयमा पनि काम गर्न सक्छ भन्ने बनेको उनी ठान्छन् । ‘उपाध्यक्ष, अर्थ र परराष्ट्रको पृष्ठभूमिले मेरो छवि टेक्नोक्र्याटको बनेको थियो’, उनले भने- ‘तर शान्ति प्रक्रियामा सहभागिताले मलाई लार्जर क्यान्भास (ठूलो मञ्च) मा राखेको छ ।’

कसैले आफूलाई ‘तिमी टेक्नोक्र्याट, राजनीतिक होइनौ’ भने महतसँग त्यसको प्रतिवाद गर्ने पर्याप्त राजनीतिक इतिहास छ । ०२१ चैतमा त्रिचन्द्रमा पढ्दा-पढ्दै जुलुसमा सामेल भएर टाउको फुटाएपछि राजनीतिमा लागेकोबाट कुरा थाल्दै उनी भन्छन्- ‘म नेपाल विद्यार्थी संघको (दोस्रो, ०२९ साल) महामन्त्री भन्ने कुरा ०४६ पछि राजनीतिमा छिरेकालाई थाहै छैन ।’ त्यस्तै जनमत संग्रहताका विश्वेश्वरप्रसाद कोइरालासँगै देशभरि बहुदलका पक्षमा महतले भाषण गर्दै हिँडेको पनि कमैलाई थाहा छ ।

कमैलाई थाहा भएको अर्को कुरा हो- उनले सन् १९७९ मा पीएचडी गरेको देश र संस्था (भारतको पुनास्थित गोखले इन्स्टिच्युट अफ इकोनमिक्स) । १९६८ मा गोल्ड मेडल पाउनेगरी स्नातकमा पहिलो भएका उनी त्यसपछि १९ वर्षको उमेरमा लमजुङको भक्ति माविमा पढाउन गए । त्यहाँका तत्कालीन हेडमास्टर सूर्यनाथ उपाध्याय (जो पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख भए) सँग राजनीतिक कुरा नमिलेपछि एक वर्षपछि उनले नजिकै वीरभक्ति स्कुल खोलेर त्यसको हेडमास्टर बने । त्रिभुवन विश्वविद्यालयबाट गोल्ड मेडल ल्याएर एमए पास भए, अमेरिका र युरोपमा पढ्न छात्रवृत्ति पाए, तर उनले भने, ‘पञ्चायती सरकारले पासपोर्टै दिएन, जान पाइनँ’ । पछि भारत सरकारको छात्रवृत्तिमा उनी पुना गए ।

संयोगै मान्नुपर्छ, शुक्रबार उनको एउटा अर्को विदेश यात्रा रद्द भयो- पासपोर्ट नमिलेर होइन, प्रधानमन्त्रीले नै नजान अनुरोध गरेर । विशेष समितिका अन्य सदस्यसँगै उनी एउटा सेमिनारमा भाग लिन अमेरिका जानेवाला थिए । त्यही मौकामा अमेरिकाको पश्चिमी तटमा यसै हप्ता स्नातक गर्ने छोरीको उत्तीर्ण समारोहमा पनि भाग लिने उनको योजना थियो । पूर्वीतट (न्युयोर्क) मा ३० वर्षे कर्पोरेट वकिल छोरा छन्, जो केहीअघि काठमाडौंमा बिहा गरेर बुहारीसँगै उता गएका हुन् । ती बुहारीकी सासू- रोशनाचाहिँ महतसँगै छिन्, काठमाडौंमा, रत्नराज्य क्याम्पसमा भूगोल पढाउँछिन् । ‘विद्यार्थी आ-आफ्नो पार्टीका झण्डा बोकेर आउँछन् कलेज’, रोशनाले भनिन्, ‘टिचरहरूको महत्त्वै छैन ।’

‘तर राजनीतिज्ञहरूको भन्दा त इज्जत छ नि शिक्षकहरूको होइन र ?’

आँगनमा श्रीमान महत अगाडि बसेर थोरै बेर संवाददातासँग गफिएकी रोशनाले यस्तो जवाफ दिइन्- ‘त्योचाहिँ हो । पोलिटिसियनहरूको तुलनामा आस्था र मर्यादाचाहिँ छ ।’

अर्थशास्त्री, पूर्वमन्त्री, सभासद, काङ्ग्रेस केन्द्रीय सदस्य, विशेष समिति सदस्य र राजनीतिज्ञ डाक्टर ६० वर्षे रामशरण महतले चुपचाप टाउको हल्लाए ।

यो लेख आजको कान्तिपुरमा ‘साताका व्यक्तित्व’ स्तभ्म अन्तर्गत प्रकाशित भएको हो ।पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ ।

4 thoughts on “हक्की नेता- रामशरण महतको व्यक्तित्व चित्रण

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s