खुस्सी छु !

happiness

दिनेश वाग्ले

हालैको एक साँझ चिसो हावा चलिरहदा बडो रोमान्टिक मुढमा म काठमान्डूको तीनकुनेबाट नयाँ बानेश्वरतिर लम्किरहेको थिए । लाग्यो म निकै फुरूङ्ग परेको छु । मै मात्र हो कि बाटोमा हिडिरेका अरु पनि खुसी छन् ?

‘ए बाजे,’ मैले मिनभवनमा हिडिरहेका एक बृद्धलाई आफ्नो परिचय दिएपछि सोधे । ‘कत्तिको खुसी हुनुहुन्छ ?’

कतिबेल कसले रोकेर गफ थाल्ला भनेझैंको मुढमा रहेका खिलानाथ बाँस्तोलाले जवाफ दिए- ‘खुस्सी छु बा ।’ उनी मुस्काए ।

ओखलढुङ्गाको टोक्सेल गाविसका ६५ बर्षे मिनभवनमा ‘छोरा बुहारी नानी नातिनासँग डेरामा’ बस्छन् र अहिले ‘खुट्टा तान्न’ बानेश्वर चोक पुगेर फर्केका हुन् ।

‘कुनै चाह छैन ?’ मैले सोधे- ‘सबैकुराले सन्तुष्ट ?’

‘शान्ती भईदिए हुन्थ्यो’ खिलानाथले भने । माओवादीबाट चितवनस्थित शक्तिखोर शिविरमा रामहरी श्रेष्ठको हत्या तथा त्यसपछि कोटेश्वर क्षेत्रका विरोध कार्यक्रमको संकेत गर्दै थपे- ‘झन तहल्का मच्चेर गएको छ ।’

पछिल्लो वाक्य पढेपछि यी हरफहरु केही पुराना जस्तो लाग्यो भने तपाई गलत हुनुहुन्न । ठ्याक्कै तीन बर्ष अघि कान्तिपुरको ‘कोसेली’मा प्रकाशित ‘हाम्रो चाहना’ शीर्षकको लेख मैले त्यसैगरी थालेको थिएँ । खिलानाथ अहिले कहाँ छन् थाहा छैन् (आशा गर्छु, उनी अहिलेपनि त्यत्तिकै ‘खुस्सी’ छन् ।)

खुसियाली बडो व्यापक अर्थ दिने शब्द हो र त्यसलाई नाप्नु कठिन कार्य हो यद्यपी नाप्ने तरिका/प्रणाली चाहिँ थुप्रै छन् । नतिजा सधै बस्तुगत हुन्छन् जसले सबैलाई सधै खुसी नपार्न सक्छ । खुसी फेरी स्थायी बस्तु होइन, अहिले खुसी भएकी मान्छे एकैछिनमा दुखि हुनसक्छे, एक घन्टा अघि दुखित भएको मानिस अहिले पुलकित भइरहेको हुनसक्छ । रोट्रेड्याम, नदेरल्यान्डस्का एकजना प्राध्यापक रूत भीनहोभेनले विकशित गरेको एउटा प्रणालीमा आधारित वल्र्ड डाटाबेस अफ ह्याप्पीनेस (खुसियालीको विश्व तथ्यसङ्ग्रह) मा नेपाली जनताको खुसियाली स्केल मध्यम रहेको उल्लेख छ । खुसियाली नाप्न गरिएको एउटा सर्वे अन्र्तगत मानिसहरुलाई ‘तपाई आफ्नो जीवनलाई कति रमाइलो मानिरहनु भएको छ, ० (पुरै नरमाइलो) देखि १० (अत्यन्त रमाइलो) मा नाप्नुहोस’ भनि गरिएको प्रश्नमा मिलेको उत्तरको औषत नतिजा ५.३ निस्केको छ । त्यो २००७ को कुरा । २००५ मा देशमा द्धन्द चर्केको बेला नेपालीहरुको खुसियाली त्यो भन्दा कम ३.४ अंकमा थियो ।

व्यक्तिविशेषलाई खुसी या दुखी पार्ने कारण अनगिन्ती हुन्छन्, तिनको कुरा गरि साध्ये छैन । आजैमात्र मेरो खुसीको पारो दुइपटक ० मा झर्यो, एकपटक ६ पुग्ला जस्तो भएको थियो, अहिले त्यो लगभग ५ देखि ६ को विचमा छ । हिजो एकपटक त्यो नौ सम्म पुगेजस्तो भएको थियो । आफ्नै वेब साईटमा ‘ह्याप्पीनेस’ शब्द खोज्दै जादा म सन् २००६ मा लेखिएको एउटा ब्लगमा पुगे जसको शीर्षक रै’छ- ‘सबैभन्दा खुसी व्यक्ति र विश्वकै उत्कृष्ट कुरा ।’ त्यो लेखमा मैले ‘खै किन हो थाहा छैन तर हालैका दिनहरुमा म बिछट्टै खुसी छु’ भनि लेखेको रहेछु ।

मतलव, त्यो बदलिइरहने कुरा हो । तर पुरै समाजलाई खुसी या बेखुसी पार्ने कारणहरु तुलनात्मकरुपमा स्थिर हुन्छन् । प्राध्यापक भीनहोभेनको स्केलमा दक्षिण अमेरिकी मुलुक कोस्टारिकाका मानिस विश्वमै सबैभन्दा खुसी छन्- ८.५ अंकका साथ । टोगो २.६ अंककासाथ सबैभन्दा बेखुसी मुलुक भएको छ ।

मानिसहरुले आफू कति खुसी छु भनि दिएको उत्तरबाट मिलेको त्यस्तो अंक र ती मानिसको औसत आयुलाई मिलाएर पनि खुसियालीको मापन गरिन्छ जसअनुसार पनि कोस्टारिका सूचीको सबैभन्दा माथि र जिम्बाम्बे सबैभन्दा तल आउछन् । अनि अर्को एउटा खुसियाली सूचक ‘ह्याप्पी प्लानेट इन्डेक्स’का अनुसार पनि कोस्टारिका सबैभन्दा खुसियाली पूर्ण मानिसहरु भएको देश हो- ७६.१ अंककासाथ । खुसियाली, दीर्घायू र त्यो देशले पार्ने वातावरणीय प्रभावलाई समेत ख्याल गरेर न्यू इकोनोमिक्स फाउन्डेसनले तयार पारेको सूचकमा ५१.९ अंकका साथ नेपाल ३७ औं स्थानमा छ । यो सूचीमा विश्वकै सबैभन्दा धनी जनता भएको मुलुक लक्जेम्बर्ग २८.५ अंकका साथ नेपाल भन्दा कयौ तल एक सय २२ औं नम्बरमा छ । अर्थात, धनले मात्रै मानिसलाई खुसी पार्दैन ।

सबै सूचीहरुमा संसारकै सबैभन्दा खुसी देखिएको मुलुक कोस्टारिका कस्तो छ ? वातावरण, जंगल र हरियालीको राम्रो संरक्षण गरेको मुलुकले सैनिकमा पैसा खेर फ्याल्नुको साटो शिक्षामा लगानी गरेको एकजना अमेरिकी स्तम्भकार निकोलास डी क्रिस्टोफ लेख्छन् । सन् १९४९ मा सेनाको भङ्ग गरेर शिक्षामा लगानी गर्न थालेको मुलुकमा नागरिकहरु बढी शिक्षित भएपछि समाज पनि ज्यादा स्थीर र दक्षिण अमेरिकाका अन्य मुलुकलाई क्षती पुर्याएको द्धन्दमा जाकिने कम सम्भावनायूक्त भएको क्रिस्टोफको आँकलन छ ।

१० बर्ष अघि तत्कालीन राजपरिवार समाप्त हुनेगरी भएको दरवार हत्याकान्ड र त्यो सँगै चर्किएको माओवादी हिंसाले विश्वसामू नेपालको छवि झगडीय तथा लडाई गर्ने देशको बनेको छ । केही बर्ष यता शान्ती छाएकाले त्यो नराम्रो छविमा सुधार आएको छ र यो देश फेरी विश्वकै अग्ला हिमालबाट चिनिने क्रम शुरुभएको छ । कान्तिपुरमा केही साता यता प्रकाशित हुनथालेको स्तम्भ ‘विदेशी आँखा’लाई एउटा मापक मान्ने हो भने विदेशीहरू अझै पनि हामी नेपालीलाई हसिला, ख्यालठट्टा मनपराउने, खुसियालीपूर्ण र सहृदयी (अरु केही विशेषण छन् ?) मान्छन् । यसै बर्षको शुरुतिर सीएनएनको यात्रा वेबसाईट सीएनएनगोले ‘विश्वकै विन्दास नागरिकहरु’ भएका देशको एउटा सूची निकालेको थियो । त्यो सूचीमा परेका १४ मुलुकमध्ये नेपाल १२ औं मा थियो । ‘कहिल्यै कही जान या केही गर्न हतार हुदैनन् नेपालीहरु,’ सीएनएनले भन्यो । ‘तर त्यही नम्र (मानिसहरुकै) समुहमध्येकै हुन् विश्वकै निडर लडाकूहरूमध्येका गोर्खा र (हिमाली) शेर्पाहरू जसलाई तपाईले अर्थ-बाह्यगतिविधि गर्ने खालका मानिसकारुपमा चिन्न सक्नुहुन्छ ।’

खुसी कुनै सखरखन्ड होइन जसलाई कोदालाले खनेर निकाल्न सकियोस् । न यो अमेरिकी डोमिनोज पिज्जा नै हो जसलाई भारतीय टीभीहरुमा प्रसारित त्यसको विज्ञापनमा ‘ह्पाप्पीनेसकी होम डेलिभरी’ भनेझैं पोकोपारेर घरमा डेलिभरी गर्न सकयोस् । खुसियाली राम्रोपनाको त्यो मानसिक अवस्था हो जो सन्तुष्टिदेखि अन्यन्त उल्लास जस्ता सकारात्मक भावनाहरुमार्फत अभिव्यक्त हुन्छ । खुसियालीको पहिचान र परिभाषा गर्न थुप्रै जैविक, मनोबैज्ञानिक, धार्मिक र दार्शनिक उपायहरु अपनाइएका छन् र ती सबैका परिभाषा एउटै छैनन् । आनन्द कुन बेला कसरी आउछ ? फेरी त्यो सबैमा एउटै तरिकाले कहाँ लागू हुन्छ ? आनन्द आफैमा एउटा विरोधाभाषपूर्ण कुरा हो भन्नेबारे पनि दार्शनिक हेनरी सिडग्विक लगायतका केहीले अध्ययन गरेका छन् ।

अब खुसी र आनन्दबारे पनि धेरै कुरा नगरौं किनकी यो गहिराई नभेटिने संसार हो । चाहेको कुरा (गहिराई) नभेटिएपनि मान्छेलाई रिस उठ्न सक्छ र खुसी हराउन सक्छ । त्यो म आफूलाई अहिले हुन दिने पक्षमा छैन ।

wagle.com.np

यो लेख पहिलो पल्ट आजको कान्तिपुरको युवा परिशिष्ट हेल्लो शुक्रबारमा प्रकाशित भएको हो । (पीडीएफ) पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ ।

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s