मेरो इन्टरनेटसँगको भेट

my internet experience, by Dinesh Wagle
ठूलो पार्न क्लिके हुन्छ

दिनेश वाग्ले

त्यति प्रस्टसँग होइन तर इन्टरनेटसँगको त्यो पहिलो जम्काभेट म अझै सम्झिन्छु । सन् १९९७ तिर कान्तिपथमा एउटा साइबर क्याफे थियो जहाँ म अन्य दुई साथीसँग पुगेको थिएँ । ब्राउजरमा खोलेको पहिलो साइट याहु.कम थियो र सर्च बाकसमा त्यतिबेला एउटा सिरियल खेलेर चर्चित हलिउड अभिनेत्रीको नाम टाइप गरेका थियौं ।

सामाजिक सञ्जाल अहिले फेसन बने पनि खासमा इन्टरनेट र वल्र्ड वाइड वेब (डब्लूडब्लूडब्लू) को सुरुवातै त्यही अवधारणाबाट भएको थियो- सूचनाको साझेदारी गर्ने र मानिसहरूलाई नजिक्याउने । अमेरिकी वैज्ञानिकहरूले तत्कालीन सोभियत संघसँगको प्रतिस्पर्धामा सन् १९५८ देखि थालेको प्रयासबाट इन्टरनेट मिल्यो जसलाई १९८५ मा बेलायती वैज्ञानिक टिम बर्नर्स लीले आविष्कार गरेको डब्लूडब्लूडब्लूले आम मानिसहरूमा पुर्‍याउन भूमिका खेल्यो ।

१९९३ मा चित्र पनि हेर्न मिल्ने मोज्याक ब्राउजर आएपछि मुख्यतः अमेरिका र युरोपमा इन्टरनेटले थप व्यापकता पायो, त्यसअघि मानिसहरू एओएल, कम्प्युसर्भजस्ता सेवामार्फत इमेल आदि हेर्ने गर्थे । उसो त, सन् ७० कै दशकदेखि अनेकौं कम्प्युटर नेटवर्कमार्फत चलेका बुलेटिन बोर्ड सेवा (बीबीएस) हरू अहिलेको डब्लूडब्लूडब्लू र सामाजिक सञ्जालहरूकै प्रारूप थिए । मानिसहरू ती बोर्डमा गएर सूचना आदानप्रदान गर्थे, एकआपसमा चिनाजानी र सम्पर्क कायम गर्थे । हो, बीबीएसहरूमा त्यतिबेला लाइक बटन थिएन तर मन परेको कुरा टाइपेरै भनिथ्यो ।

my internet experience, by Dinesh Wagle
ठूलो पार्न क्लिके हुन्छ

भारतबाट अमेरिका पढ्न गएका सविर भाटियाले १९९६ मा डब्लूडब्लूडब्लूमै आधारिक (वेब बेस्ड) इमेल सेवा हटमेल खोले जसले इन्टरनेटमा सामाजिकतालाई अर्को तहमा पुर्‍यायो । अब इन्टरनेटमा जोडिएको कुनै पनि कम्प्युटरबाट इमेलमा पहुँच हुने भयो ।

त्यसअघि चाहिँ आफ्नो इन्टरनेट सेवा प्रदायककहाँ फोन डायल गरेर मात्रै इमेल चेक गर्न मिल्थ्यो । हटमेलको त्यो क्षमता र त्यसले इन्टरनेटमा ल्याउने क्रान्तिको सम्भावना बुझेरै माइक्रोसफ्टले त्यसलाई तत्कालै किनिदियो- त्यतिबेलाको ४० करोड डलरमा । पछि याहुले पनि इमेल सेवा थाल्यो । वेबमा आधारित इमेल सेवा प्रदायकहरूको भीडै लाग्यो तर २००४ को अप्रिल फुलका दिन जीमेलले आफूलाई सबैभन्दा सुधारिएको नश्लका रूपमा विश्वसामु ल्यायो । हटमेलले दिने दुई/चार एमबी स्टोरेजको साटो एक जीबी दियो जीमेलले । अचेल इमेलका रूपमा हटमेल या याहु चलाउनेलाई ‘प्रागऐतिहासिक’ भन्छन् जीमेलवालाहरूले । तर अघिल्ला ती दुवै सेवाले हालैका वर्षहरूमा आफूहरूलाई निकै सुधारेका छन्, जीमेलको सिको गर्दै । हटमेलले असीमित स्टोरेज दिन्छ अचेल । र, अहिले पनि विश्वमा याहुमेलपछि सबैभन्दा बढी प्रयोगकर्ता हटमेलकै छन् । त्यसपछि हो जीमेल । गुगलको उत्कृष्ट खोजी सुविधा र फोल्डर (झन्डै बिर्सेको मैले, फोल्डरको जमाना पनि थियो) को साटो लेबलले धेरैलाई आकषिर्त गर्‍यो । अब फेसबुकले हाल सक्रिय तुल्याइरहेका @फेसबुक इमेल खाताहरूलाई पूर्णकालीन इमेल ठेगानाका रूपमा विकशित गर्‍यो भने जीमेल पनि ऐतिहासिक हुन बेर छैन ।

जीमेल पाउन सुरुमा सानोतिनो कसरतै गर्नुपरेको थियो । अप्रिल १, २००४ मा त्यो सार्वजनिक भयो, तर साइन अप गर्नै नपाइने । बडो झ्याउलाग्दो । अनि ठोके एउटा इमेल जीमेललाई नै । त्यसपछि बल्ल आयो एउटा निम्तो अपि्रलको तेस्रो साता । त्यसै दिन, त्यसैक्षण, मैले हटमेललाई बाईबाई भन्देको थिएँ । विस्तारै एकपछि अर्को साथीलाई त्यो चलाउन निम्ता दिइयो, उनीहरूले उनीहरूका साथीलाई दिए र जीमेललाई नेपाली थुप्रै नेटिजनहरूमाझ फैलाइयो । जीमेलका सुविधाहरूबाट प्रभावित भएर केही लेख पनि लेखियो र कान्तिपुरका पाठकहरूलाई जीमेल प्रयोग गर्न निम्त्याइयो पनि । जीमेलको अर्को क्रान्तिकारी सुविधा थियो इन्बक्सभित्रै च्याट । त्यसले पनि सामाजिकतालाई अर्को तहमा पुर्‍यायो ।

वाईटुकेले कम्प्युटर प्रणालीलाई व्यापक असर पार्ने हल्लासँगै सहस्राब्दी सुरु हुनुअघि जियोसिटिज, ट्राइपोड जस्ता वेबसाइटहरू खुबै प्रयोगमा थिए जसले मानिसलाई वेब पन्नाहरू बनाउन दिन्थे, आफ्ना तस्बिर र विवरण राख्ने । तिनमा अरूले कमेन्ट ठोक्न पनि मिल्ने । सम्झिदा लाग्छ, तिनै थिए अहिलेका फेसबुकहरू (फेसबुक आन्दोलन) । तर निकै प्रारम्भिक र लाइक बटन नभएका । तर फ्रेन्डस्टर, हाइफाइभ, अर्कुट र माइस्पेस जस्ता सुधारिएका सामाजिक सञ्जाल साइट आएपछि तिनमा प्रयोगकर्ताका रुचि हरायो, जियोसिटिजजस्ता साइटले सेवा नै बन्द गरे । अहिले पत्यारै लाग्दैन तर अघिल्लो दशकको मध्यतिर ती सबै साइटमा मेरा खाता थिए र तिनको समीक्षा गरिएको थियो पत्रिकामा । सन् २००५ तिर अहिलेको फेसबुक थियो माइस्पेस । संसारभरि तहल्का मच्चाएको, गुगलभन्दा बढी प्रयोग गरिने ।

माइस्पेसमा छैन भने इन्टरनेटमै नभएको जस्तो हुन्थ्यो । तस्बिर त्यही राखिन्थ्यो, ‘स्ट्याटस अपडेट’ त्यही गरिन्थ्यो, कमेन्ट त्यही ठोकिन्थ्यो । माइस्पेसको त्यही दबदबालाई देखेर मिडिया व्यवसायी रुपर्ट मुर्डोखले त्यसलाई ५० करोड डलरमा किने । तर उनले किनेकै वर्षदेखि माइस्पेस ओरालो लाग्यो । अहिले कसैले माइस्पेसको सम्झना गरायो भने ‘माइस्पेस ? त्यो भनेको के हो ?’ पो भन्न मन लाग्छ ।

अघिल्लो दशकको सुरुदेखि नै हो, ब्लगहरूले इन्टरनेटको ‘मूलधार’आफूहरूलाई फेला पारेको । लाइभर्जनल तथा ब्लगर.कमहरूको आगमन र ब्लग गर्न सहयोग गर्ने अन्य सफ्टवेयरहरूको विकासपछि इन्टरनेट डायरीले औपचारिक मञ्च र तीव्र गति पायो । २००५ मा वर्डप्रेस‌.कमको थालनी भएपछि त्यसले झन् व्यापकता पायो । माइक्रोसफ्टले पनि एमएसएन स्पेसेस जस्तो सेवामार्फत ब्लग सेवा थालेको यद्यपि केही समयअघि त्यसलाई बन्द गरेर माइक्रोसफ्टले स्पेसेसलाई वर्डप्रेस.कममा सार्‍यो । ती सबै सेवाहरूलाई नेपाली इन्टरनेट प्रयोकर्ताहरूले सानै स्तरमा भए पनि प्रयोग गरेका थिए र गरिरहेका छन् । नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या बढेसँगै ती सेवा प्रयोग गर्ने नेपाली नेटिजनको संख्या पनि बढ्दैछ । २००४ मै हामीले नेपालमा पहिलोपटक सुरुमा वाग्ले.कम.एनपीमा र लगत्तै ब्लग.कम.एनपीमार्फत ब्लग सेवा थाल्यौं जसले पनि अन्य थुप्रै ब्लगरहरू जन्माउन भूमिका खेल्यो ।

अँ साँची, वाईटुकेको भयावह चल्दाताका नेपालीहरूमाझ पि्रय मञ्च थियो साझा.कम जो अहिले पनि एउटा जीवन्त छलफल स्थलका रूपमा कायमै छ । साझा पहिलो र प्रभावी नेपाली सामाजिक सञ्जाल हो भन्छु म त । अहिलेको जमानामा पनि प्ल्याक प्लुक गर्ने फ्लासी विज्ञापनहरू राखेर साझाले आफूलाई पुरानै ढर्रामा चलाइरहेको जस्तो लाग्ला कतिपयलाई चाहिँ । इन्टरनेटमा राष्ट्रियता खासै हुँदैन यद्यपि राष्ट्रहरूका लागि कन्ट्री लेवल डोमेन भनी छुट्याइएका छन् । (नेपालको .कम.एनपी हो ।)

भाषाको महत्त्व हुन्छ र त्यसैले हो प्रायः अमेरिकी साइटहरूले पनि फ्रेन्च या रुसी भाषामा आफूलाई प्रस्तुत गर्छन् । गुगलले आफूलाई नेपालीमा पनि प्रस्तुत गरेको छ तर त्यसले नेपाली अक्षर चिन्ने क्षमता विकास गरेको छैन । त्यसैले नेपाली साइट खोल्दा पनि गुगलले बारम्बार ‘यो पेज हिन्दीमा छ, अनुवाद गर्ने’भनी सोधेको । हैन, नगर्ने यो हिन्दी होइन अर्कै भाषा हो भनी सुझाव दिन खोज्दा ‘कुन भाषा’ भनि गुगलले सोध्छ । त्यहाँ भाषाहरूको सूची आउँछ जसमा नेपाली छैन ।

खैर, त्यो समस्या गुगलले चाँडै समाधान गर्ला । तर सत्य के हो भने राष्ट्रियताको नाममा हामीले गुगल प्रयोग गर्न छाड्ने र अर्को कुनै नेपाली सर्च इन्जिन बनाइहाल्ने सम्भावना देखिँदैन । केही अघि एउटा नेपाली सर्च इन्जिन खुलेको चर्चा सुनिएको थियो तर अब हलिउड र बलिउडका फिल्म हेर्न बानी परेका आँखालाई नेपाली फिल्म हत्तपत्त पन नपरेजस्तै गुगलजस्ता प्रभावी सर्च इन्जिन उपयोग गर्न बानी परेका नेपाली नेटिजनले स्वदेशी उत्पादन प्रयोग गर्ने नाममा कम सुविधा भएका सेवा प्रयोग गर्ने कुरै भएन । आउलान् त्यस्ता दिन जब चिनियाँहरूले बाइडु सर्च इन्जिन प्रयोग गरेझैं नेपालीहरूले पनि आफैंले बनाएको कुरा प्रयोग गर्ने । आशावादी त हुनै पर्छ ।

साथसाथै हामीले केही बानी व्यहोरा पनि सिक्नै पर्छ । २००८ जुलाईमै मैले लेखेको थिएँ, ‘नेटपाली बानी’ शीर्षकमा एउटा लेख जसमा मैले नेपाली नेटिजनहरूको बानी व्यहोराबारे केही टिप्पणी गरेको थिएँ ।  जस्तै, फेसबुकमा एड गर्नेहरूले नचिनेकोलाई किन गर्नु ? अनि गर्नु नै छ भने आफ्नो पूर्ण परिचय किन नदिनु ? त्यो लेख प्रकाशित भएपछि प्रतिक्रिया आयो- ‘पत्रकार भएपछि हामी पाठकको रिक्वेस्ट एक्सेप्ट नगर्ने, हँ ?’ एक हिसाबले कुरो ठीकै हो तर सामाजिक सञ्जाल पनि वास्तविक समाजकै तन्किएको रूप न हो जहाँ पहिलोपटक भेट्दा आफ्नो पूर्ण परिचय गरिन्छ, चिनाजानी गरिन्छ । प्रोफाइलमा आफ्नो पूर्ण विवरण नलेख्ने अनि एड गर्दा परिचय पनि नदिनु असामाजिक बानी हो ।

हो, सामान्यतः इन्टरनेटले र विशेषतः सामाजिक सञ्जाल साइटहरूले मानिसलाई एकदमै नजिक्याएका छन् जो विश्व इतिहासमै कहिल्यै भएको थिएन । अहिले अचम्म लाग्छ, इन्टरनेट पूर्वको पुस्ताका मानिसहरू कसरी आपसमा सम्पर्क गर्थे होलान्, अमेरिका या युरोप पढ्न कसरी गए होलान् । र्फम पाउनै कति हप्ता कुर्नुपर्ने, पठाउन अरू केही हप्ता । फेरि कुन कलेज कहाँ छ, थाहा पाउन दूतावास या सांस्कृतिक केन्द्रमा गएर सूची पल्टाउनुपर्ने । सम्झिदा पुरै दिक्दार लाग्छ । अहिले त जानै र चाख्नै नपाए पनि तिनका वेबसाइट मार्फत हार्वर्ड र येल (या अन्य कुनै पनि विश्वविद्यालय) का चौर डुल्न पाइन्छ र क्याफ्टेरियाको मेनु हेर्न पाइन्छ ।

१९९७ मा मैले कान्तिपथमा साइबर क्याफे धाएर वेबसँग गरेको भेट अहिले थ्रीजी या वाईफाईमा जोडिएको स्मार्ट फोनमार्फत हरक्षण भइरहन्छ जसले पनि मानिसहरूलाई थप नजिकिन योगदान दिएको छ । र, मोबाइल फोनसँगै इन्टरनेट र सामाजिक सञ्जाल साइटहरूको बढ्दो फैलावटले यो क्रम झन् तीव्र पार्नेछ, मानिसहरू नजिक र घनिष्ठ हुनेछन् ।

wagle.com.np

यो लेख पहिलो पल्ट आजको कान्तिपुरको युवा परिशिष्ट हेल्लो शुक्रबारमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा पढ्ने भए माथीका तस्बिर या यहाँ क्लिके हुन्छ ।

9 thoughts on “मेरो इन्टरनेटसँगको भेट

  1. Internet Brouse gareko time/paisa pani mention gareko bhaya ajhai interesting hunthyo ni yo article. i was opened a cyber around 1997 at kupandole and the price was Rs. 14/per minute which is very interesting for today’s people.
    anyway thnx for article

    Like

  2. Malai ta actual date nai thaa 6ena, ma aaile masters join garne tayare ma 6u, (jmc)tra pane (r.r campus) inter ma paada sir lea khub internet ko barema vanu hunthyo, martin chautari journalist hauro ko research library nai ho , teme haru pane visit gara, net fre 6 vannu huntheyo, pachi martin chautari khojeyo pane, ani ta net chalaune habbit ta tetai bela bata suru bhayo! aaile ta ma, 24 hour’s ma 18 hour netmai, even duty ma pane, facebook!

    Like

  3. @govinda ji mero ta out of valley 25 per min vata start vako tiyo.
    still remember , jaba interent garnu paryo vane, cyber ko dai le 5 min ma connent huncah,dial up ko tone, aajai pani yaad cha..

    @wagle dai aaja ko articles is good for the new learner, what and how the intrenet age started

    dai u should also write articles on
    1. Piracy :- MahaBUddha ma Thelama Rakeko Software ko varema, june software 1700 parcha,teslai Rs70 ma paucha.
    2. Nepal ma Cyber law ko vare ma. Dheri internet user haru lai Cyberlaw la public law ko varema different ke ko chaina. Hamro cybercrime division lai pani thachaina detail ma. [detail ma na vanam]
    3. Internet-Holic le kasari Internet ko sadupayo garne. Hardcore Internet users haruko lagi esp.
    4.Best time pass sites , 3G ko pura sadupayog.
    .

    Like

  4. मेरो जनम सालै पुज्य पिताजी द्धारा मेरो लागी भनी याहुमा नयाँ खाता खोलीएको थियो रे । सायद यही नै मेरो ईन्टरनेट प्रबेशको पहीलो खुटकीला थियो । कुरा लगभग १९८८ तिरको । Terms And Condition बटन चाँही म द्धारा नै थिचाईयो रे । त्यती बेला वास्ता गरीएन अहीले चिज लाग्छ ।

    Like

  5. Dinesh-ji,

    Glad to read your write up on internet. I am writing you to take up about the slow internet speed in Nepal. You can make a difference as a journalist. You probably know the high speed internet in other countries. Nepal is still very backward in internet speed. In addition the internet line goes off frequently in Nepal. I am talking about ADSL internet. I subscribed 256 kbps which is supposed to be reasonably good, but not in actual practice.

    Can you do something to improve internet speed in Nepal?

    Like

  6. @narayan ji ,u need to know how few fact abt he speed
    1.hajur ko gar vata ISP kati tada cha, 2 km samma ko tada vayo vane deri asar na garla.
    2.Hajur ko Location kata ho ni. tesma pani varparcha. Yedi thamel, baneshswor,Baluwatar ko area ma cha vane Fast huncha .
    3.kasto type ko connection linu vako cha tes ma pani var parcha…

    Like

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s