ब्यांककदेखि नोमपेन्हसम्म: क्रान्ति, द‌ङ्गा र ठुल्दाई

thailand protest tshirt
'म तपाईंलाई केही देखाउन चाहन्छु' भन्दै ती आफ्नो मोबाइल फोन खेलाउन थाले । मोबाइलमा उनले केही तस्बिर देखाए जसमध्ये एउटामा नेपाल, ट्युनिसिया, इजिप्ट र लिबियाका झन्डाहरू थिए । तिनको मुनि प्रश्नचिन्हयुक्त एउटा रातो झन्डा थियो जसका मुनि थाईमा केही लेखिएको थियो । 'यो प्रश्नचिन्ह भएको झन्डा थाइल्यान्डको हुन सक्छ भन्ने हाम्रो अपेक्षा हो,' तिनले भने । इमेलमार्फत त्यो तस्बिर पठाउँदा आफू पक्रिइन सक्ने सम्भावना औंल्याउँदै उनले ब्लुटुथमार्फत त्यसलाई मेरो फोनमा पठाए । 'तपाईंहरूले कसरी गर्नुभयो ?' उनले फेरि सोधे, 'क्रान्ति कसरी भयो ? राजा कसरी फाल्नुभयो ?'
ब्यांककदेखि नोमपेन्हसम्म
ब्यांककदेखि नोमपेन्हसम्म। ठूलो पार्न क्लिके हुन्छ

थाइल्यान्डका दुई युवाले क्रान्ति गर्न र राजा फाल्न नेपालबाट सिक्न चाहेका बताए भने क्याम्बोडियालीहरूले चाहिँ एउटी नायिकाले भन्दै नभनेको कुरामा आधारित भएर कसरी दंगा फैलाइन्छ भन्ने कुरा नेपालबाटै सिकेझैं गरी व्यवहारमै उतारे छन् ।

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

नोमपेन्ह (क्याम्बोडिया)- बैंककको राजदरबार नजिकै एउटा आकर्षक संरचना छ जसलाई डेमोक्रेसी मोनुमेन्ट -लोकतान्त्र स्तम्भ) भनिन्छ । बितेका केही महिनायता हरेक १० गते त्यहाँ केही मानिस जम्मा हुन्छन्, ठूलो ट्रकमा राखिएका स्पिकरमार्फत गीत बजाउँछन्, भाषण गर्छन्, मैनबत्ती बाल्छन् र अबेर साँझ घर फर्किन्छन् । रातो सर्ट आन्दोलनताका १० अपि|mल २०१० मा त्यो स्तम्भ नजिकै केही तत्कालीन सरकारविरोधीहरू मारिएका थिए ।

‘हामी तिनलाई बिर्सन सक्दैनौं,’ मैनबत्ती बालिरहेका एक जना युवाले भने ।

‘किन ?’

‘उनीहरू लोकतन्त्रका लागि लडे,’ उनले भने । लगत्तै उनले अलि सानो स्वरमा थपे, ‘उनीहरू राजालाई मन पराउँदैन थिए । तपाईं कुन देशबाट ?’

ती दुई विश्वविद्यालयका विद्यार्थी थिए, एक जनालाई फोटोग्राफीमा सोख थियो भन्ने कुरा तिनले बोकेको ठूलो लेन्सयुक्त क्यामेराबाट बुझ्न सकिन्थ्यो ।

‘निपा ?’ क्यामेरा नबोकेका र बत्ती बाल्ने प्रयासमा रहेका युवकले मेरो उत्तरप्रति आश्चर्य प्रकट गर्दै सोधे ।

‘नेपाल ।’

‘हअअअ,’ उनले भने, ‘निपा । हामी तपाईंहरूबाट सिक्न चाहन्छौं । मलाई थाहा छ, तपाईंहरूले राजा फ्याल्नुभयो ।’

अब कुरा खतरातर्फ मोडिँदै थियो । थाइल्यान्डमा राजालाई अत्यन्तै सम्मान गरिन्छ । धेरै थाईले आफूखुसी राजाको मान गर्छन् तर कसैले राजाको आलोचना गरे उसलाई लगिने सबैभन्दा राम्रो स्थान जेलै हो । राजा, रानी र युवराजका आलोचकलाई कडा सजाय दिने एउटा कानुन -लेस मेजेस्टी) ले विदेशीलाई पनि छाड्दैन । राजपरिवार र राजतन्त्रको बेइज्जती गर्ने लेखहरू लेखेर वेबसाइटमा छापेको भन्दै थाई प्रहरीले तीन महिनाअघि एक जना अमेरिकी (पूर्व थाई) लेर्पोङ विचाइम्मार्टलाई पक्रिएको थियो । तिनले २६ वर्षको जेल सजाय पाउने भएका छन् ।

थाइल्यान्ड म जेल बस्न त गएको थिइनँ, ती युवाले सोझै राजाको आलोचना पनि गरेका थिएनन्, तर तिनका कुरा मैले सुन्नु थियो । ‘म तपाईंलाई केही देखाउन चाहन्छु’ भन्दै ती आफ्नो मोबाइल फोन खेलाउन थाले ।

मोबाइलमा उनले केही तस्बिर देखाए जसमध्ये एउटामा नेपाल, ट्युनिसिया, इजिप्ट र लिबियाका झन्डाहरू थिए । तिनको मुनि प्रश्नचिन्हयुक्त एउटा रातो झन्डा थियो जसका मुनि थाईमा केही लेखिएको थियो । ‘यो प्रश्नचिन्ह भएको झन्डा थाइल्यान्डको हुन सक्छ भन्ने हाम्रो अपेक्षा हो,’ तिनले भने ।

इमेलमार्फत त्यो तस्बिर पठाउँदा आफू पक्रिइन सक्ने सम्भावना औंल्याउँदै उनले ब्लुटुथमार्फत त्यसलाई मेरो फोनमा पठाए ।

‘तपाईंहरूले कसरी गर्नुभयो ?’ उनले फेरि सोधे, ‘क्रान्ति कसरी भयो ? राजा कसरी फाल्नुभयो ?’

राजालाई ‘चोर’ भन्दै ‘देश छोड’ का नारा खुलेआम सडकमै लगाउने देशको र २००५ फेब्रुअरीपछिका १५ महिनाबाहेक टिन उमेर सुरु भएदेखि नै तुलनात्मक स्वतन्त्रतामा हुर्केको मेरा लागि कुनै पनि व्यक्तिका बारेमा वरपर हेर्दै साउती मारेर गफिनुपर्ने अवस्था उकुसमुकुस नलाग्ने कुरै भएन । तर म ब्यांकक नेपालको क्रान्ति निर्यात गर्न गएको थिइनँ । ती युवकलाई सुन्दा लाग्यो राजालाई भित्रैदेखि मान गर्ने थाइल्यान्डमा केही त्यस्ता मानिस पनि छन् जसले ‘लेस मेजेस्टी’ ले नगर भनेको काम गरिरहेका छन् ।

२०१० मा ८ प्रतिशतको आर्थिक वृद्धि गरेको थाइल्यान्ड एसियाका सम्पन्नोन्मुख देशमध्येका हो जहाँ १९३२ मा सेनाको एउटा समूहले सहयोग गरेको ‘लोकतान्त्रिक क्रान्ति’ ले निरंकुश राजतन्त्रलाई संवैधानिक बनाएयता लोकतन्त्र र सेनाले बारम्बार पौठेजोरी खेलिरहेका छन् । राजनीति सन्तोषजनक छैन तर एक जना थाईका अनुसार आर्थिक वृद्धि होउन्जेल र जनताले मुख भर्न पाउन्जेल त्यसले खासै असर पार्ने पनि छैन ।

पर्यटकीय दृष्टिले अति खुलापन महसुस गर्न सकिने तर राजनीतिक ढंगमा त्यतिसारो स्वतन्त्रता नमिलेजस्तो लाग्ने ‘लोकतान्त्रिक’ देश दक्षिणपूर्वी एसियामा थाइल्यान्डमात्र होइन । छिमेकी क्याम्बोडियामा मेकङ्क नदी किनारमा अवस्थित राजदरबार अगाडि बसेर सरकारबारे आलोचनात्मक गफ गर्दा खमेरहरू त्यस्तै साउती मार्छन् । शासन प्रणाली अहिले उस्तै नभए पनि नेपाललाई क्याम्बोडियासँग निकै कुरामा दाँज्न सकिन्छ ।

भिसा शुल्कबाहेक एक/दुई सय भाट (२ सय ५०/५ सय नेपाली रुपैयाँ) अनधिकृत रूपमा माग्ने नेपालकै जस्ता भ्रष्ट र निष्प्रभावी अध्यागमन प्रहरी/अधिकारीहरूबाट ‘आएपछि पाइने’ प्रवेशाज्ञा लिएर सीमा छिर्नेबित्तिकै बाल श्रमविरुद्धका या भारतसँगको नेपाली सिमानामा देखिने खालका (महिला बेचबिखनविरुद्धका चाहिँ होइन) विदेशी एनजीओहरूले लेखिदिएका होर्डिङ बोर्ड सडक किनारमा देख्न पाइन्छ । तर खास दजाई अर्थतन्त्रबाट थाले हुन्छ यद्यपि त्यसमा धेरै समानता पाउन अब मुस्किल बन्दै गएको छ । त्यो किन भने बितेको एक दशकमा क्याम्बोडियाले उत्साहजनक (औसत ८ प्रतिशत) आर्थिक वृद्धि गरेको छ । आधा सरकारी बजेट विदेशी सहायतामा भर पर्छ तर २००४ यता विदेशी लगानी १२ गुणाले बढेको छ । थुप्रै नयाँ सडक बनेका छन् या पुरानाको स्तरोन्नति भएको छ र डलरबोकेका पर्यटकहरू ठूलो संख्यामा ओइरिइरहेका छन् (२०१० मा यहाँ २४ लाख पर्यटक आएका थिए र यो वर्ष २८ लाख आउने अनुमान छ ।)

धेरैका अनुमान एकैखाले छैनन् तर कम्तीमा १३ लाखदेखि बढीमा २५ लाखसम्म मान्छे मारेर तत्कालीन प्रधानमन्त्री पोल पोटले मच्चाएको चार वर्षे तान्डव सकिएको तीस वर्ष सकिँदा क्याम्बोडियालीहरूले त्यो दुर्भाग्यशाली इतिहासलाई अहिले अर्थतन्त्र सुधार्ने उपायमा बदलेका छन् । त्यसैले विदेशी पर्यटकहरूको भीड लाग्छ ‘किलिङ फिल्ड’ भनिने क्याम्बोडियालीहरूको आमहत्या गरिएका स्थलहरूमा । नोमपेन्हबाट १५ किलोमिटर टाढाको चोङ एक हत्यास्थलमा हालै एक जना स्थानीय गाइडले त्यहाँ राखिएका थुप्रैमध्येको एउटा मानव खप्पर फुत्त निकालेर हातमा राख्दै सँगैका एक जना विदेशी पर्यटकलाई भने, ‘मेरा बा र काकाहरूको पनि यसैगरी हत्या भएको थियो । टाउका कहाँ छन्, पत्तो छैन ।’

राजनीतिमा नेपालले क्याम्बोडियालाई अलि पछि पछ्यायो तर हाम्रो भाग्य मान्नुपर्छ माओवादले क्याम्बोडियामा गरेजस्तो नरसंहार नेपालमा गरेन । जानीजानी (युद्ध या दोहोरो मारमा पनि होइन) गरिएको त्यो नरसंहारका थुप्रै वर्षपछि अहिले क्याम्बोडियाले एउटा आशालाग्दो आर्थिक बाटो समाइसकेको छ तर नेपालले त्यसो गर्ला भन्ने अहिलेलाई आशामात्र छ ।

वैदेशिक सम्बन्ध र प्रभावका सन्दर्भमा क्याम्बोडियासँग नेपालको महसुस गर्न सकिने समानता छन् । धेरै क्याम्बोडियानहरू बितेका २५ वर्षदेखि सत्तामा रहेका प्रधानमन्त्री हुन सेनलाई ‘भियतनामका कठपुतली’ ठान्छन् । क्याम्बोडियाका लागि ‘ठूल्दाजु’ जस्तै हो छिमेकी भियतनाम जसको क्याम्बोडियाली सत्ताका उच्च तहदेखि सडकमा ‘चना चटपटे’ व्यापारसम्ममा गहिरो प्रभाव छ ।

‘यी यो भियतनामी हो,’ राजदरबार सामुन्ने मेकङ् नदी किनारस्थित आकर्षक खुलास्थलमा बसेर कुरा गरेका एक जना पत्रकारले खमेरमा ‘बदाम, बदाम’ भन्दै हिँडिरहेको एउटा व्यापारीलाई औंल्याउँदै भने, ‘यसको बोलीको लवजबाटै थाहा हुन्छ । पटक्कै मन पर्दैन मलाई यिनीहरू ।’

यी पत्रकारसँगको कुरापछि मैले नोमपेन्हमै रहेर मुख्यतः विदेशी मिडियाका लागि काम गर्ने एउटी खमेर संवाददातासँग कुरा गर्न चाहें । मेकङ किनारसँगैको व्याकप्याकर क्षेत्रमा मुख्यतः विदेशीहरू लक्षित थुप्रै खाने स्थानहरूमध्येको एउटा कफी सपमा मैले उनलाई भेट्दा उनीसँग उनका नोमपेन्हमै एउटा अमेरिकी कम्पनीमा वकिलका रूपमा काम गर्ने गुजराती (भारतीय) ब्वाइफ्रेन्ड उपस्थित थिए ।

‘हाम्रो नेपालमा थुप्रैले भारतीय शासकहरूलाई मन पराउँदैनन्,’ मैले गुजरातीतिर हेर्दै भने ।

‘यहाँ थुप्रैले भियतनामी (शासक) हरूलाई मन पराउँदैनन्,’ खमेर पत्रकारले भनिन् ।

लोकतान्त्रिक ढंगले निर्वाचित भए पनि प्रधामन्त्री सेन र (खासगरी चुनिएका राजा नरोद्धम सिंहामोनी) को आलोचना गर्ने स्वतन्त्रता छैन, विशेषगरी व्यवहारमा । नोमपेन्ह पोस्ट र क्याम्बोडिया डेलीजस्ता पत्रिका विदेशीले चलाउँछन् । झन्डै डेढ करोड जनसंख्या भएको देशमा सबैभन्दा ठूलो पत्रिका २० हजारको हाराहारीमा मात्रै बिक्री हुन्छ । अमेरिकी डलर र (एक डलर बराबरको ४१ सय हुने) रियल सरोबरी चल्छन्, बजारमा ।

पोल पोटकै पार्टी खमेर रुजका सदस्य थिए प्रधानमन्त्री सेन जतिबेला अघिल्लाले क्याम्बोडियामा रक्तपातपूर्ण शासन गरिरहेका थिए । आफैं मारिने हुँ कि भन्ने डर भएपछि सेन भागेर भियतनाम गएका थिए । भियतनामले आक्रमण गरेर पोल पोट सत्ता ढालेपछि सेनलाई नोमपेन्हमा सुरुमा (१९७९) विदेश मन्त्री र पछि (१९८५ मा) प्रधानमन्त्रीका रूपमा स्थापना गरिदिएको थियो । ‘त्यसैले हाम्रा प्रधानमन्त्री भियतनामको चित्त दुखाउने काम केही गर्दैनन्,’ एक जना पत्रकारले भने, ‘किन कि उनका मालिक उतै छन् ।’ तर क्याम्बोडियामा भियतनामी शासकहरूको प्रभाव सेनबाट सुरु भएको चाहिँ होइन ।

११ सय ३७ किलोमिटर लामो सीमा भएका र १९७६ देखि १९९० सम्म लडाइँमै रहेका दुई देशको सम्बन्ध अहिले कति असमान छ भने भियतनामीहरू चाहेका बेला क्याम्बोडिया छिर्नन्, काम गर्न पाउँछन् तर क्याम्बोडियालीहरूलाई भियतनाम छिर्न ‘अमेरिका गएजत्तिकै हुन्छ ।’

अर्को छिमेकी थाइल्यान्डसँग क्याम्बोडियाको सम्बन्ध अहिले तुलनात्मक रूपमा शान्तिपूर्ण रहे पनि त्यो सधैं सुमधुर छैन । त्यो किन भने गरिबहरूको लघुताभाष र असुरक्षित मानसिकता संसारभरि एउटै हुँदोरहेछ । भारतीय अभिनेता ऋतिक रोशनले ‘नेपाल मन पर्दैन’ भनी बोल्दै नबोलेको कुरोलाई लिएर छन् २००१ मा नेपालमा दंगा भएको क्याम्बोडियालीहरूलाई खासै थाहा छैन तर त्यो जरुरी पनि छैन । किन कि २००३ मा एक जना थाई अभिनेत्रीले ‘म क्याम्बोडियालीहरूलाई कुकुरलाई झैं घृणा गर्छु’ र ‘क्याम्बोडियाले अंकोरबाट थाइल्यान्डलाई फिर्ता दिएमात्र म क्याम्बोडिया जान्छु’ भनेको अपुष्ट समाचार एउटा क्याम्बोडियाली पत्रिकाले छापेपछि उनीहरूले पनि थाइल्यान्डविरोधी रडाको मच्चाएका थिए । ती अभिनेत्री सोभनाङ कोङयिङ क्याम्बोडियामा कति लोकप्रिय थिइन् भने क्याम्बोडियालीहरूले उनी क्याम्बोडिया आएर एकपटक कार्यक्रम प्रस्तुत गरिदिउन् भन्ने चाहेका थिए । तर उनले त्यस्तो बोलेको अपुष्ट समाचार आएपछि प्रधानमन्त्री सेनले नै ‘चोर अभिनेत्री’ को त्यस्तो भनाइ अंकोरवाटका घाँस जति पनि महत्त्वपूर्ण नभएको’ भन्दै उनका फिल्म क्याम्बोडियामा नदेखाउन उर्दी गरेपछि उत्तेजित क्याम्बोडियालीहरूले थाई दूतावास, व्यापार र थाईहरूलाई आक्रमण गरेका थिए । ऋतिक रोशन काण्डमा काठमान्डुमा एउटी बालिकाको मृत्यु भएजस्तै त्यो क्याम्बोडियाले दंगामा एउटी क्याम्बोडियाली महिलाको ज्यान गयो । थाइल्यान्डले क्याम्बोडियाविरुद्ध हवाई आक्रमणकै धम्की दिएपछि हच्केको क्याम्बोडियाली सरकारले दूतावास र अन्य थाई व्यापारलाई झन्डै ६ करोड डलर क्षतिपूर्ति भर्‍यो । थाइल्यान्डले क्याम्बोडियासँगको व्यापार रोकेपछि क्याम्बोडियाली अर्थतन्त्रमा उल्लेख्य नकारात्मक प्रभाव पर्‍यो ।

विख्यात अंकोरवाट र अन्य हिन्दु/बौद्ध मन्दिरहरू भएको क्याम्बोडियाली सहरको नाम सियाम रिप हो जसको अर्थ सियामको पराजय लाग्छ । १९३९ अघि थाइल्यान्ड र थाइहरूलाई सियाम भनिन्थ्यो । तर त्यो नामले अहिलेको थाइल्यान्डको होइन बरु अहिलेको सियाम रिपका सियामहरूलाई फ्रेन्चहरूले हराएको इंगित गर्छ । दुई देशबीच खटपट उत्पन्न गराउने कुरा त्यो नामभन्दा बढी ठाउँ र प्रेय बिहार हुन् । डांग्रेक डाँडामा रहेको त्यो विहारको स्वामित्वलाई लिएर दुई देशबीच लामो विवाद चलेपछि १९६२ मा हेगस्थित आन्तर्राष्ट्रिय न्यायिक अदालतले क्याम्बोडियाका पक्षमा फैसला दिएको थियो । तर थाइल्यान्डले आफ्ना स्कुलेहरूलाई बिहार अंकोरवाट इतिहासदेखि नै आफ्नो भएको र क्याम्बोडियाले जबरजस्ती लिएको भनी पढाउने गरेको प्रति पनि क्याम्बोडियालीहरूको चित्त बुझेको छैन ।

यो लेख पहिलोपटक आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्नेभए यहाँ क्लिके हुन्छ

2 thoughts on “ब्यांककदेखि नोमपेन्हसम्म: क्रान्ति, द‌ङ्गा र ठुल्दाई

  1. लगातार परिवर्तनको लडाई लडिरहेका राता शर्टधारी हरु कहिले तिनीहरुले खोजे जस्तो शासन प्राप्त गर्छन त्यो सबै हुने (पहेलो शर्टधारी) र नहुने (राता शर्टधारी) बिचको बिभेद अन्त्य हुन्छ/हुनेछ भन्नेमा भर पर्छ/पर्नेछ |

    थाइल्याण्डमा कु गराउनु भनेको त्यहाँ को राजालाइ खासै सोमबार कुर्नु पर्दैन | सरकार जहिले पनि निर्बाचितनै छ तर सस्थापन (राजा – जो खुला रुपमा आदर्शवान हुन् रुचाउछन् ) पक्षले सोचे भन्दा दाया-बाया गरे खैरियेत छैन भन्ने कुरा थाक्सिन सरकारको बहिर्गमनले नै देखाएको छ |

    खुलाअर्थतन्त्र भए पनि संचारमाध्यम माथिको सस्थापन पक्षको नियन्त्रण नै तिनीहरुकोलागि बाधक हो | केहि पनि नगरी यहि अहिलेको यिनलकको सरकारलाइ कु नगरी चल्न दिएमा फेरी राता शर्टधारीको आन्दोलन तुहिनेछ किनकी अप्रतक्ष्यरुपमा राता शर्टधारीको समर्थन आहिलेको निर्वाचित सरकारलाई छ र आहिलेको सरकारलाइ सोचे अनुरुप कामगर्न गार्हो पनि छ जुन कुरा यहाँका राजाले राम्ररी बुझेका छन् |

    Like

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s