
१९/२० जून, २०१३: हामी जानकी मन्दिरमा पुगेका के थियौं ‘राजा’ अर्को ढोकाबाट निस्किहाले । हराउदै गएको साइरनको अावाजबाट मन्दिर परिसरमा उभिएका हामी पक्का भयौं ज्ञानेन्द्र होटल फर्किए । मन्दिर लगभग खाली थियो । तर संयोगै भनुम् हामी त्यही होटलमा बसेका थियौं जहाँ पूर्व राजाले रात विताउनेवाला थिए । सानो भिड थियो होटल मानकीमा । केही समर्थकहरू जम्मा भएका थिए । उनीहरू बडो उत्सुक थिए । ती समर्थकहरूका एकजना नेताले सफा सेतो कुर्ता सुरूवाल लगाएका थिए । उनी त्यो रात त्यही होटलमा बसेको हुनुपर्छ किनकी अवेरसम्म उनी त्यहीको रेष्टुरेन्टमा हाम्रोसँगैको टेबुलमा खाइरहेका थिए । िवहानै मैले उनलाई होटल परिसरमा माला हातमा लिएर उभिएको देखेको िथएँ ।


एकैछिनमा ती नेता अर्का एकजनासँग खुव जंगीए । त्यतिबेला मैले टिपेको त हैन तर मैले सम्झन सकेअनुसार उनले यसो भने, “(मेरो) गृहजिल्लामा सरकार सवारी भएको बेला पनि हामीले दर्शन नपाउने ? त्यसो भए किन सचिवज्यूले हिजोदेखि दर्शन मिलाउछु भन्नुभएको ?” ज्ञानेन्द्र तल झरे, अर्को कोठामा छिरे, एकछिन बसे र बाहिर निस्केर गाडीमा छिरे । छिर्नुअघि गुनासो गर्ने ती नेता र अन्यका हातबाट माला स्विकारे । ज्ञानेन्द्रले ती नेतालाई धाप पनि मारे । अाफ्ना राजा भन्दै त्यतिलामो समयदेखि पर्खेका व्यक्तिलाई पनि सचिवले ज्ञानेन्द्रसँग भेट नगराइदिएको देख्दा हामीलाई समेत ती नेताप्रति सहानुभूती जाग्यो ।
त्यो सबै गतिविधी हेरेर बस्ने समय र रहर थिएन हामीलाई किनकी हामीलाई रौतहट जानुथियो । तर ज्ञानेन्द्रको सवारीमा सामेल गाडीहरूमध्ये ६ वटा पार्किङ लट छिर्ने/निस्कने बाटो छेकेर बसेका थिए जसले गर्दा हाम्रो गाडी पार्किङ लटमै अड्केको थियो । ती ६ वटा गाडी ज्ञानेन्द्र चढ्ने मुख्य गाडी, त्यो विग्रिएमा प्रयोग गरिने जस्तो देखिने बैकल्पिक गाडी र सुरक्षाकर्मीका गाडीहरू नहिडी त्यहाँबाट नहिड्ने भएकाले हामी पनि अड्किएका थियौं र ‘राजा’ अनि उनका समर्थकहरूको त्यो सानो जमघट हेर्न बाध्य भएका थियौं ।




जनकपुरको अब अरू त के कुरा गरौं । धेरै पछि यो सानो शहर अाएँ । पछिल्लोपटक म यहाँ सन् २००४ मा अाएको थिएँ बाढीको प्रभाव रिपोर्ट गर्न । तर मन्दिर पुगेको थिइन । त्यसअघि १९९६ मा पुगेको थिए क्या हो । अनि त्यो भन्दा पनि अगाडी एक पटक यो मन्दिरमा पुग्या जस्तो लाग्छ तर त्यो कहिले हो सम्झन सक्दिन । १९८८ मा हो कि ।
त्यो बेला जनकपुर अाउदा यो मन्दिर भव्य संरचना र सहर रिक्साले भरिएको र जीवन्त लाग्या’थ्यो । तर त्यहाँ बस्ने धेरैका अनुसार वितेका बर्षहरूमा यो सानो शहरको समग्र स्थिति खस्केको छ । सामाजिक, अार्थिक, राजनीतिक र भौतिकरूपमा । त्यसमा सबैको सहमति हुन्छ तर ‘किन’ भन्ने प्रश्नको जवाफमा धेरैको एकमत हुदैन किनकी त्यसमा राजनीित लुकेको छ । कोही यहाँ हुने चरम भ्रष्टाचारलाई दोष दिन्छन् । अरू भ्रष्टाचार हैन काठमान्डूको वेवास्तालाई जिम्मेवार ठान्छन् । अनि अझै अरू चाहिँ यसो भन्छन्, “डर त्रास देखाएर एकथरी वासिन्दालाई यो ठाउँ छाड्न बाध्य पारिएपछि शुरू भयो जनकपुरको अधोगति र अन्त्य भयो यो शहरको मिश्रित संस्कार अनि बहुपहिचान ।”
समग्रमा जनकपुर एउटा परित्यक्त र अभावले ग्रस्त शहर बनेको छ अहिले । हुनलाई नेपाल बाहिरका अलि ठूला र सम्पन्न शहरबाट अाउनेलाई काठमान्डू पनि त्यस्तै लाग्छ ।
यस्तो चरम अव्यवस्था र अभाव (उदाहरणका लागि यहाँ पीच भएको सडक देख्न मुस्किल पर्छ) मा बाँच्नु पर्दा जनतालाई राज्यप्रति रिस उठ्नु के अस्वभाविक भयो । अनि त्यो रिसलाई राजनीति गर्नेहरूले अाफ्नो स्वार्थ पुरा गर्न प्रयोग गर्नु पनि स्वभाविकै हुन्छ यो ठाउँमा ।
खैर, राजनीतिक कुरातिर गएर अहिले टाउको दुखाउनु छैन । तर पर्यटकीय कुरा गर्दा जानकी मन्दिर एउटा अाकर्षण हो तर त्यो बाहेक अरू केही देखिन्न ।
Here’s Peter’s take on Janakpur (in English).
You must be logged in to post a comment.