केटुबाट सगरमाथा हेर्दा

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

“दुइटी उत्तिकै सुन्दर महिला तपाईं कसरी तुलना गर्न सक्नुहुन्छ,” सबिर नाजिरले प्रश्न गरे र उत्तर दिए- ‘दुवै उत्तिकै अब्बल, सुन्दर र तीक्ष्ण छन् । प्राविधिक हिसाबले उत्तिकै खतरनाक पनि ।’ उनी कुनै सौन्दर्य विशेषज्ञ होइनन् जसलाई महिला सौन्दर्यबारे नालिबेली थाहा होस् तर जब हिमालहरूको कुरा आउँछ, उनलाई सुन्नै पर्छ । पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष नाजिरसँग विश्वकै सर्बोच्च शिखर सगरमाथा र त्यसपछिको अग्लो केटु चढेको अनुभव छ । दुवै हिमालका सफल आरोहण अगाडि एकएकपटक असफल भएको उनको प्रोफाइलमा उल्लेख छ । त्यसैले काठमाडौंमा अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सवमा सामेल हुन आएका पाकिस्तानीलाई सोधिएको थियो- ‘दुई हिमालमध्ये कुन राम्रो ?’

‘बसेको पिरामिडजस्तै हो केटू,’ नाजिरले आफ्नो देशको हिमालको बखान गरे- ‘जो निक्कै छरितो छ र आफूमाथि धेरै हिउँ थुप्रिन दिँदैन । चढ्नका लागि अप्ठेरो भइहाल्यो ।’ सगरमाथाचाहिँ, नाजिरका अनुसार, हिउँको ठूलो थुप्रो जस्तै हो जसले ‘तपाईंलाई तुरुन्तै मोहित पारिहाल्छ ।’ ‘खुम्बु आइसफलको के कुरा गर्नु,’ उनले भने- ‘त्योभन्दा खतरनाक ठाउँ संसारमा कहाँ होला ? त्यहाँ हिँड्नु सपनाको हिले बाटोमा यात्रा गरेजस्तै हो । कुनै पनि बेला त्यो आइसफल झरेर आफूमाथि बज्रेला भन्ने त्रास भइरहन्छ ।’

डरका कुरा पन्छाउँदै भावनाका प्रसंग खोतल्ने हो भने नाजिर मार्फत पर्वतसँग आरोहीहरूको अन्तरसम्बन्ध पहिल्याउन सकिन्छ । पहिलोपटक केटु चढ्ने प्रयास गर्दा उनी एउटा जापानी समूहमा थिए । १९७७ को कुरा । ‘शिखरको करिब दुई सय मिटर तलबाटै र्फकनुपर्‍यो,’ उनले भने- ‘त्यति माथि पुगेपछि मौसम यसरी बिग्रियो, उक्लिन असम्भव थियो । तैपनि एकरात सानो खोपिल्टोमा भोकै बितायौं, मौसम सुध्रिने आसमा । अहँ, भएन । फर्किने बेलामा सबैजना खुब रोयौं र फेरि चढ्ने वाचा गर्‍यौं ।’

चार वर्षपछि उनी केटू हानिए तर यसपटक अघिल्लो टोलीका पाँचजना जापानी संसारमै थिएनन् । दोस्रोपटक पनि शिखर नजिकै पुगेर झन्डै फर्किनुपरेको थियो । ‘तीनजना थियौं तर एकजना २५ मिटरमुनिबाट फर्कियो,’ उनले भने- ‘मौसम खराब थियो र फर्किने तरखरमा थियौं । भोलिपल्ट यसो शिखरतिर हेर्‍यौं, यस्तो लाग्थ्यो मानौं केटूले हामीलाई गिज्याइरहेको छ । जवान थियौं, साहस थियो । त्यसैले हामी दुई गयौं शिखरमा, एकअर्कालाई अँगालो मार्‍यौं र फर्कियौं । त्यतिबेला मैले ती जापानीहरू र अघिल्लोपटक हामीले खाएको कसमलाई सम्झिएँ ।’

हिमाल चढ्नु टाढाबाट हेर्दा शान्त देखिने ती अग्ला संरचनाहरूसँग जोरी खोज्नुजस्तै हो । त्यो साहसिक खेल जसमा सानो गल्ती या दुर्भाग्यले ज्यानै जान्छ । जस्तो, सन् १९९६ को सगरमाथा विपत्तिको प्रसंग, कैयौं आरोहीको ज्यान गयो । सबिर त्यसलाई किन पनि बिर्सन सक्दैनन् भने निश्चित भइसकेपछि अन्तिम समयमा उनले त्यो वर्ष सगरमाथा जाने योजना त्यागेका थिए ।

‘१९९५ मा ब्रोड पिक चढेर आएका स्कट फिसरसँग स्कार्दु (काराकोरम क्षेत्रतिर लाग्दा पर्ने अन्तिम सहरी विन्दु) मा भेट भयो,’ सबिरले सम्झिए- ‘उनले ‘लौ सबिर अर्को वर्ष सगरमाथा जाऊ, म जाँदैछु’ भने । राम्रो मौका थियो तर म जन्मथलोमा ‘पाकिस्तान पिपुल्स पार्टी’ को तर्फबाट चुनावमा विजयी भएको थिएँ, । चट्टै राजनीति छाडेर गइहाल्न सम्भव थिएन । तैपनि जान्छु भनें तर हिमाल चढ्न उत्साहित गर्ने मेरी (जापानी) पत्नीले यसपालि नजाऊ भनिन् । उनी बच्चासहित जापानमै थिइन् । म उनलाई भेट्न गएँ । अनि सगरमाथा जाने डेढ महिना अगाडि मैले स्कटलाई फ्याक्स पठाएर आफू आरोहणमा जान नसक्ने बताएँ । खासमा त्यो बडो दुःखद निर्णय थियो, स्कटले मलाई आरोही गाइडका रूपमा लान लागेका थिए ।’

इमेल सञ्चारको अहिलेजस्तो व्यापकता नभइसकेको उसबेलामा सबिरले सोचेका थिए, स्कट फर्केपछि सबै कुरा विस्तृत रूपमा बताउँला । तर त्यो मौका कहिल्यै आएन किनकि स्कट सगरमाथाबाट कहिल्यै फर्केनन् । उनको टोलीका सबैको मृत्यु भयो जसलाई जोन क्राकौरको चकित पार्ने वेस्ट सेलर ‘इन्टु थिन एअर’ मा वर्णन गरिएको छ । ‘गएको भए म नमर्ने कुरै थिएन,’ उनले भने । तर त्यो एउटा दुर्भाग्यशाली मौका थियो, ?

केटु चढेपछि सबिरमा त्योभन्दा एउटै मात्र अग्लो शिखर चुम्ने चाहना विस्तारै हराउँदै गएको थियो । साथै, १९९६ को मौका पनि गुमेको थियो । तर १९९७ मा पाकिस्तान सरकार आफ्नो देश स्थापनाको ५० औं वर्षगाठ मनाउन तिब्बती मोहडाबाट सगरमाथा चढ्ने टोली पठायो जसको नेतृत्व सबिरले गर्नुपर्ने भयो । त्यो अभियानको सफलतासँग पाकिस्तानी राष्ट्रिय स्वाभिमान जोडिएको थियो, सबिरले भने । हरेक साताजसो शिखरमै राष्ट्रपतिले फोन गरिरहन्थे । तर खराब मौसमका कारण अभियान सफल भएन । पाकिस्तान फर्किएका सबिरलाई ‘थुम्को समेत नचढेकाहरूले’ पेचिला प्रश्न गर्न थाले- ‘शिखरमा नपुगी जिउँदै फर्किंदा तपाईंलाई लाज लागेको छैन ?’

‘त्यसपछि चाहिँ मैले सगरमाथा शिखरमा पुग्ने कुरा व्यक्तिगत चुनौतीका रूपमा लिएँ,’ उनले भने । २००२ मा उनी काठमाडौं आए, दक्षिणी मोहडाबाट सगरमाथा चढ्न । संयोग, उनको अभियान त्यही कम्पनीले आयोजना गरेको थियो जसलाई कुनै बेला स्कट फिसरले स्थापना गरेका थिए । अर्को संयोग, सफल आरोहणपछि फर्किंदा शिखरभन्दा केही मुनि उनले एउटा लास देखे जो उनै स्कट फिसरको थियो । ‘त्यतिबेला मैले उनीप्रति श्रद्धाञ्जली अर्पण गरें,’ उनले भने ।

फर्किंदा इस्लामावाद विमानस्थलमा थाहा पाए उनले सगरमाथा चढाइको महत्त्व । १० हजार मानिस स्वागत गर्न जम्मा भएका थिए, सगरमाथा आरोहण गर्ने पहिलो पाकिस्तानीका रूपमा उनलाई अघि लगाउँदै विजय जुलुस गरियो । ‘मैले कसैले नचढेको अप्ठेरो बाटोबाट केटू चढेको थिएँ,’ उनले भने- ‘तर त्यो समाचारले पत्रिकाका भित्री पेजमा सानो स्थान पायो । सगरमाथा चढेपछि सबै मिडिया मेरा भए, म जहींतहीं छाएँ । राष्ट्रपति परवेज मुसर्रफले भेट्नुभयो, १० लाख पुरस्कार मिल्यो जसलाई मैले एउटा कोषमा जम्मा गरें ।’

यसोभन्दा सबिरले संवाददाताको सुरुवाती प्रश्नको उत्तर दिइरहेका थिए । ‘सगरमाथा र केटुको उचाइमा खासै धेरै फरक छैन,’ उनलाई सोधिएको थियो, ‘तर हिमालको जस लिने सन्दर्भमा नेपाल र पाकिस्तानले पाउने प्रचारमा आकाश जमिनको फरक छ, होइन ?’

‘पहिलो या सबैभन्दा अग्लो हुनुको मजा त्यसैमा छ,’ सन् २००७ लाई पाकिस्तान भ्रमण वर्ष मनाउने तयारीमा रहेका आरोहीले भने- ‘त्यति अग्लो हिमाल भए पनि पाकिस्तानलाई कसैले हिमाली देश भन्दैन ।’