बुढ्यौली खान्छ हिमालले

peter habeler austria

दिनेश वाग्ले/चक्र कार्की

६३ पटक नेपाल आएका ६४ वर्षे पिटर ह्याब्लर सबै बूढाहरूले झैं आफूलाई तन्नेरी ठान्छन् भने उनलाई त्यो छुट दिनुपर्छ । हिमालहरू चढ्नु यी अस्ट्रियालीको सोख हो, मानिसहरूलाई टाकुराका टुप्पामा पुर्‍याउनु पेसा र आफूलाई तन्नेरी बनाइराख्नु उद्देश्य । ‘मानिसहरू चुस्त रहन दौडिन्छन्, साँझबिहान पैदल हिँड्छन् या टेनिस खेल्छन्,’ हालैको एक चिसो साँझ काठमाडौं ठमेलको एउटा होटलमा विख्यात आरोहीले कुरा थाले- ‘म हिमाल चढ्छु, छिटो । त्यसले मलाई ठिटो भइराख्न सहयोग गर्छ ।’ बुढ्यौली कसको रहर होला तर ठिटै जस्तो भइराख्नु पिटरको बाध्यता पनि हो ।

‘लौ जा कुरा किन लुकाउनु,’ फुर्तिलो ज्यान भएका बूढाले रौसिँदै भने- ‘मेरी तन्नेरी पार्टनरकै लागि पनि मैले ठिटो भइराख्नुपर्छ ।’ उनकी डाक्टर गर्लफ्रेन्ड ३१ वर्षकी छन् । सम्बन्धविच्छेद गरिएकी पत्नीतिरका दुई छोरामध्ये जेठा (२९ वर्ष) स्की व्यवसायमा छन् भने कान्छा (२६ वर्ष) ले हालै खेल सामग्री पसल खोलेका छन् । जीवन, पिटरको निष्कर्ष छ, रमाइलो छ ।

रमाइलो जीवनले इटालीका रेनहोल्ड मेस्नरसँगै सन् १९७८ मा बिनाकृत्रिम अक्सिजन सगरमाथा शिखरमा पुगेपछि विश्वस्तरको ख्याति पाउन थालेको हो । त्यो गौरवशाली उपलब्धियता पिटरले आठ हजार मिटर अग्ला पाँच हिमाल चढेका छन्, अन्य तीनटाको आठ हजार मिटर उचाइमा पुगेका छन् । सानातिनाको के हिसाब !

हिमाल नचढेका बेला पिटर मुख र कलम चलाउँछन्, विश्वका विभिन्न भागमा पर्वतारोहणबारे भाषण गर्ने र किताब लेख्ने । तेस्रो किताब आउँदो मेमा बजार पुग्ने तयारीमा छ ।
‘यसमा मेरा कञ्चनजंघा, चोयू र नांगा पर्वत अनुभव हुनेछन्,’ पर्वतारोहणका प्राध्यापकले भने- ‘म मानिसहरू किन पदयात्रा गर्छन्, कोही किन शिखरमा पुग्न खोज्छन्, त्यसमा त्यस्तो के मज्जा हुन्छ जस्ता विषयमा छलफल गर्छु ।’ पुस्तकको शीर्षक, जर्मनबाट अंग्रेजीमा अनुवाद गर्न मुस्किलले शब्दहरू खोज्दै पिटरले भने- ‘समिट इज द गोल’ हुनेछ । पहिलो किताब ‘लोन्ली भिक्ट्री’ सगरमाथा चढेकै वर्ष लेखेका थिए त्यो रेकर्डधारी आरोहणबारे संसारलाई जानकारी दिन । दोस्रोमा उनका अरू हिमाली अनुभव छन् ।

विस्तृत किताब आएपछि पढौंला तर पिटरजी अहिलेलाई यति बताइदिनुस्, मानिसहरू शिखर पुग्न किन मरिहत्ते गर्छन् । ‘निश्चयै, एउटा कारण इगो हो,’ उनले भने- ‘उचाइमा पुग्ने चाह जोकसैलाई हुन्छ । सके सगरमाथा, नसके कुनै अर्को चुचुरो । टुप्पामा पुग्नुको मज्जा अतुलनीय छ । ६ हजार मिटर मात्रै अग्लो किन नहोस्, संघर्ष गर्दै थुम्कोमा पुग्नेका लागि त्यही सगरमाथा ।’ पर्वतारोहण एउटा खेल हो जसमा शिखरमा पुग्नुलाई विजयका रूपमा लिइन्छ । खेलमा प्रतिस्पर्धा भई नै हाल्छ र त्यसमा रेकर्डहरू कायम गर्नु खेलाडीको उद्देश्य हुन्छ । ‘अनि तपाईं जे गर्न खोज्नुहुन्छ त्यो उत्कृष्ट ढंगमा गर्न चाहनुहुन्छ,’ उनले भने । आफूले पर्वतको सूचीमा ‘टिक’ लगाउने उद्देश्यले नचढेको उनले बताए ।
आल्पस क्षेत्रमा अवस्थित अस्ट्रिया पर्वतीय मुलुक हो र त्यहाँ जन्मेहुर्केका पिटर, पत्याउनुस् या नपत्याउनुस्, नौ वर्षकै उमेरदेखि हिमालतिर जान थालेका थिए । सानैमा बाबु गुमाएका पिटरलाई आमाले हिमाल चढ्ने पूरै स्वतन्त्रता दिइन् ।

peter habeler austria

सुनिएको र देखिएको छ, कतिपय पर्वतारोहीले सोही क्षेत्रकासँग विवाह गरेका हुन्छन्, सहजताका लागि । तर पिटरले त्यसो गरेनन् त्यसैले विवाह टिकेन । सधैँ हिमालतिर हुँदा पर्वतारोहणमा खासै रुचि नभएकी महिलासँगको चुनौतीपूर्ण सम्बन्धलाई टुटाएर मित्रतामा लैजानु आवश्यक थियो । अनि हिमालबारे रुचि भएकीसँग रोमान्टिक सम्बन्ध गाँस्ने
अर्को आवश्यकता । पिटरकी गर्लपफ्रेन्ड सँगै हिमाल जान्छिन् र बिरामी परेका आरोहीको उपचार गर्छिन् । ‘यो पेसै यस्तो,’ उनले भने- ‘सधैँ सँगै बस्न नसकिने । अनि सँगै हिँड्नेतिर मन बस्दो रै’छ ।’

थुप्रैपटक आए पनि वास्तविक नेपाली जीवनबारे उतिसारो जानकारी लिन नसकेको पिटरले खुलाए । काठमाडौं र पोखराजस्ता सहर र पदयात्रा मार्गमा पर्ने पहाडी भेगबाहेक नेपाली गाउँ र तराईको भ्रमण उनले गरेका छैनन् । ‘हामी हिमाल चढ्ने मान्छे,’ पिटरले भने- ‘काठमाडौंमा ओर्लिइन्छ, एकदुई रात यहाँ बसेपछि हिमालतिर हान्निइहालिन्छ । उतै हप्तौं बिताइन्छ, अनि फर्केपछि एकाध रात बिताएर उडिहालिन्छ ।’

१९७८ मा पहिलोपटक आएका उनले काठमाडौं सहर फैलिएको, सडकमा मोटरसाइकल बढेको र हस्तकला तथा पर्वतीय उपकरण किन्न सहर उपयुक्त भएको पाएका छन् । गत अप्रिलमा अस्ट्रियाका केही भीआईपीलाई लिएर खुम्बु पदयात्रामा गएका पिटर आउँदो मेमा हिमाल चढ्ने समूह लिएर आउँदै छन् । ‘हिमाली क्षेत्रमा चुनौती भए पनि नयाँ कुरा देख्न पाइन्छ,’ उनले भने- ‘मानिसहरूलाई ती क्षेत्र देखाउनुमा गज्जबको आनन्द हुन्छ ।’ यसपालि हिमाली पर्यटन सम्मेलनमा भाग लिन आएका उनी शुक्रबार फर्किएका छन् ।

फर्किने प्रसंगमा, फेरि एकपटक जवानीकै कुरातिर लागौं । ‘जति नयाँ र चुनौतीपूर्ण कुरा गर्नुहुन्छ, त्यति युवक भएको महसुस गर्नुहुन्छ,’ पिटरले भने- ‘धेरै मानिस उमेर ढल्किँदै गर्दा ‘लौ, बूढो भइयो, अब के गरिराख्नु’ भन्दै नीच मार्छन् । त्यस्तो होइन, नयाँ कुरा गर्नुपर्छ, अन्त्यसम्म लागिरहनुपर्छ, नभए छिट्टै बूढो होइन्छ ।’ त्यसो भन्दैमा पिटरले धेरै टाढाको योजना बनाएका छन् भन्नेचाहिँ होइन ।

‘अबका १० वर्षमा तपाईंले आफूलाई कहाँ पाउनुहुन्छ, पिटरजी ?’

‘पाँच वर्षको कुरा गरौं,’ उनले भने- ‘स्वास्थ्य राम्रै छ क्यारे, म हिमाल चढिरहेको हुनेछु । फेरि चोयू चढ्ने विचार छ ।’