देवजंग थापा । २३ वर्ष । काठमाडौंको कलेजमा स्नातके विद्यार्थी । कक्षामा कहिल्यै नजाने । त्यसो भए ?
पाँचथर, फिदिममा फिल्म बनाउने उनको व्यवसाय हो । चौथो फिल्म यही माघ १९ गते सार्वजनिक हुँदैछ । दुई घन्टा लामो भिडियो फिल्म ‘परिवर्तन’ मो लोकतान्त्रिक आन्दोलन र जनताले चाहेको परिवर्तन विषय बनाइएको छ । ‘राजाले माघ १९ मा कु गरेर प्रजातन्त्र मासेका थिए,’ आफूले निर्देशन गरेको फिल्म प्रवर्द्धनका लागि एउटा डीभीडी र दुइटा सीडी लिएर राजधानी आएका थापा भन्छन्- ‘त्यही दिन लोकतन्र्त्र मुख्य विषय बनाइएको फिल्म रिलिज गर्दैछु ।’ भन्दिहालौं, त्यही दिन फिदिम फिल्म उद्योग एउटा लामो फडको मार्दै पहिलोपटक ‘कलिउड’ आउने प्रयासमा छ ।
देवजंग थापा र तल्लो तस्बिरमा उनको फिल्म परिवर्तनकी अभिनेत्री । तलको तस्बिरमा फिल्मका अभिनेता र अभिनेत्री ।
फिदिम फिल्म उद्योग ? सही पढ्नुभयो । २० चानचुनका तन्नेरीहरूले त्यो पूर्वी पहाडी स्थलमा भिडियो फिल्म निर्माणको एउटा प्रेरणादायी लहर सिर्जना गरेका छन् जसलाई स्थानीयहरूले हाउसफुल हलमा हेर्ने गरेका छन् । मित्र लिङ्देन, भगिराज ‘घायल’ राई, सन्तोष राई र मलिसा याक्थुम्बा फिदिमे उद्योगका हस्ती हुन् जसले आपसमा ‘सिर्जनात्मक प्रतिस्पर्धा’ गर्दै बर्सेनि फिल्म बनाउँछन् । २०५४ मा किशोर सुब्बाले लिम्बू भाषाको ‘आनी साक्थिम’ (हाम्रो संस्कृति) बनाएयता सुरु भएको मानिने फिल्मी अभियानलाई २०५६ मा हरि भण्डारीको ‘चुनाव’, मित्रको ‘अनमोल माया’, देवजंगको ‘अन्तिम इच्छा’, नरेशजंग सुब्बाको ‘अदृश्य घाउ’, मलिसाको ‘सपनाकी फूल’ ले जोडतोड निरन्तरता दिएका थिए । ‘अहिले फिदिममा पाँचवटा समूह छन्,’ थापा भन्छन्- ‘तिनले आपसमा संयोजन गरेर वर्षमा चारवटासम्म फिल्म बनाउँछन् ।’ स्थानीय फिल्म निर्मातामा कसले राम्रो फिल्म बनाउने प्रतिस्पर्धा भए पनि प्रदर्शर्नी समय नजुदाउने र पालो मिलाएर फिल्म बनाउने प्रयास गरिने उनी बताउँछन् ।
तीन लाखसम्मको खर्चमा जिल्ला सदरमुकाम र आसपास लोकेसनमा छायांकन गरिने भिडियो फिल्ममा अभिनय गर्ने प्रायः कलाकार स्थानीय हुन्छन् । निर्माण कतिखेर सकिएला र देखाउला भनेर सदरमुकामका हल फिल्मको रिलिज मिति पर्खेर बस्छन् । दैनिक दुई शो चल्ने हलमा प्रत्येक प्रदर्शनीमा अढाई सय जति दर्शक हुन्छन् भने शनिबार दुवै हलमा तीन-तीन शो चलाइन्छ । ‘गाउँतिरका मान्छेसमेत आउने भएकाले शनिबार सबै शो हाउसफुल हुन्छन्,’ थापा भन्छन्- ‘हाम्रा फिल्म चलेका बेला काठमाडौंका सेलुलाइड फिल्म चल्दैनन् ।’ हलमा एउटा शोमा सात सयसम्म अट्छन् र झन्डै दुई महिनासम्म चल्दा फिल्मले सदरमुकाममै ३० हजार दर्शक पाउने उनी बताउँछन् । गाउँका केही प्रदर्शनी भवनमा फिल्म देखाइन्छ ।
‘घाटा जाने कुरा हुँदैन,’ उनी भन्छन्- ‘काठमाडौंमा मात्रै थाहा छैन, हाम्रा फिल्म बजार (भारतको) सिक्किममा समेत राम्रो छ ।’
हालैको एउटा अन्तर्वार्तामा मूलधारका नेपाली सिनेमाले ‘उच्च मध्यम वर्ग’ सम्मको दर्शक पाउन सघर्ष गरिरहेको बताउने काठमाडौं फिल्म उद्योगका निर्देशक नरेश पौड्याल फिदिमे निर्देशकसँग लोभिन सक्छन् । उनी भन्छन्- ‘स्थानीय फिल्म हेर्न सदरमुकामका सबैजस्तो दर्शक हलमा जान्छन् । लाहुरे परिवारकाहरूसमेत । फिल्म नै नहेर्नेहरू पनि फिदिमका फिल्मचाहिँ हेर्छन् । कति त दोहोर्याएर हेर्न आउँछन् । उनीहरू स्थानीय फिल्म हेरेर हामीलाई प्रोत्साहन गर्न रुचाउँछन् ।’ दर्शकलाई फिल्म हेर्न हलसम्म ल्याउन थापाजस्ता फिल्मकर्मी कुनै कसर छाड्दैनन्, सदरमुकामका प्रत्येक घरदैलोमा पुगेर उनीहरू फिल्मका बारेमा जानकारी दिन्छन्, सकेसम्म टिकट पनि भिडाउँछन् ।
‘आनी सक्थिम’ छायांकनमा किशोर सुब्बाबाट निर्देशक सिकेका थापाले ९ कक्षामा पढ्दा युनिसेफको लगानीमा एचआईभी एड्ससम्बन्धी दुई घन्टा लामो फिल्म ‘अन्तिम इच्छा’ निर्देशन गरेका थिए । स्कुलेमा ‘कमेडियन’ का रूपमा अरूलाई हसाउने युवाका लागि फिल्म बनाउने त्यो सुरुवाती इच्छा भइदियो । त्यसपछि २०६० मा उनले एचआईभीकै बारेमा ‘प्रतीक्षा उज्यालोको’ बनाए भने २०६२ को उनको फिल्म ‘भिन्नता’ मा छुवाछूत, जातभातजस्ता सामाजिक विकृतिलाई मुख्य विषय बनाइएको थियो । ‘त्यो फिल्म युकेमा समेत गयो,’ उनले भने- ‘नाफा भयो ।’
नाफा ‘परिवर्तन’ बाट पनि होला माथि उल्लेख भइसक्यो, यसपालि सपना ठूलो छ- राजधानी हान्ने । ‘काठमाडौंमा पनि देखाउने इच्छा छ,’ उनी भन्छन्- ‘हेरम, के हुन्छ ।’