गोपीको फिल्मी सपना

uddhav poudel film maker

nirak poudel director kusume rumal आफ्ना फिल्मको पोस्टर मुनी गोपिकृष्ण हलमा चलचित्रकर्मी उद्धव पौडेल । तल्लो तस्बिरमा उनका कान्छा छोरा निरक जसले बन्न लागेको ‘कुसुमे रुमाल’को सिक्वेलको निर्देशन गर्नेछन् । तस्बिर दिनेश वाग्ले

दिनेश वाग्ले

काठमाडौं- मिलेका सबै विवरण र सुनिएका रिमिक्स धुनहरूका अनुसार मौसम ‘कुसुमे रुमाल’ को हो । २१ वर्षघिको सुपरहिट सिनेमाको निरन्तरता (सिक्वेल) को निर्माण हुने समाचार अखबारहरूमा बुधबारका छापिएको छ र पौडेलहरूका मोबाइल रिङ टोनमा ‘कुसुमे रुमाल’ का इन्स्ट्रुमेन्टल धुन बजिरहेका छन् । धन्यवाद डीजे राजु र उनको रिमिक्सलाई जसले च्याङ्बा र मैच्याङका प्रेमलाई फेरि घरायसी कथामा बदलिदिएका छन् । उनको संगीतले नेपाली फिल्म उद्योगमा फेरि ‘कुसुमे रुमाल’ फहराउला नफहराउला तर घटनाहरूको विकासबाट घरमूली अथवा हलमूली, उद्धव पौडेल मख्ख छन् । आफ्ना ‘तीनहात’ को कुशलता (उनको शरीरका दुइटाको अहिले कुरा नगरौं) ले उनलाई उत्साहित तुल्याएको छ । ‘मेरा हात फैलेका छन्,’ मंगलबार (२३ जनवरी) दिउँसो चाबहिलस्थित गोपीकृष्ण हलमा आफ्ना दुइ छोरा र एक छोरीलाई संकेत गर्दै अनुभवी सिनेकर्मीले भने- ‘सबैले (सिनेमाकै क्षेत्रमा) जिम्मेवारी सम्हालेका छन् ।’

परिचय गरौं नीरज पौडेलसँग जो उद्धवका जेठा छोरा हुन् र बाबुको फैलँदो कारोबारको वितरण पक्ष सम्हाल्छन् । छोरी निकिता प्रबन्धन हेर्छिन् । अनि बाबु पौडेलले बनाएका केही सिनेमाका बाल कलाकार निरकलाई भेटौं जो उद्धवको पहिलो सिनेमा ‘कुसुमे रुमाल’ रिलिज भएको दिन जन्मिएका थिए । बुधबार (२४ जनवरी) कै समाचारमा आइसक्यो । यिनै २१ वर्षोले अबको ‘कुसुमे रुमाल’ निर्देशन गर्नेछन् (अघिल्लोका निर्देशक तुलसी घिमिरे हुन्) र बेलायतबाट फिल्म निर्माणबारे पढेर मुर्म्बई हुँदै पाँच महिना अगाडि काठमाडौं आएका उनी बाबुको निर्माण व्यवसाय सम्हाल्ने तरखरमा छन् ।

पुराना संघर्षका दिन सम्झिदै बितेका वर्षरूको सफलता र भविष्यका महत्त्वकांक्षी योजनाहरूको सगौरव बखान गर्न थाले भने उद्धवलाई अन्तर्वार्तामा बोल्न केही समय दिए हुन्छ । गोपीकृष्ण हलमा छोरीको अफिसमा अहिले उनी त्यसै गरिरहेका छन् । पछाडि उनले २०२८ सालतिर एसएलसी दिएलगत्तै भारतबाट फिल्मका डिब्बा ओसार्दै सिनेमा वितरणमा हात हालेका संघर्षका सम्झनाहरू छन् भने अगाडि हालैमात्र जापानबाट झिकाइएको ३५ एमएमको सेकेन्ड ह्यान्ड क्यामेराले भरिएका प्याकेट । यो क्यामेरा, उद्धवका तीन हात र केही महिनाअघि बहुमत सेयर किने पनि नियन्त्रणमा आएको नेपाल फिल्म विकास कम्पनीको संयुक्त स्वरूपले एउटा प्रस्ट संकेत दिएको छ- नेपाली सिने उद्योगमा जबर्जस्त बदलाव आउँदैछ । उल्लेख गरिहालौं, राजधानीको आकाशे तरंगमा वैशाख १ देखि ‘रेडियो फिल्मी’ का नाममा एउटा नयाँ एफएम धुन बज्दैछ जो गोपीकृष्ण हल परिसरबाट सञ्चालित हुनेछ । यी सबै कुरालाई मिलाउनुस्, नेपाली फिल्म उद्योगमा एउटा सशक्त कर्पोरेट संरचनाको उदय हुँदैछ जोसँग फिल्म उत्पादन, वितरण, प्रदर्शन र प्रवर्द्धनका लागि आवश्यक सबै अंग हुनेछन् ।

‘हामी एउटा शक्तिका रूपमा उदय भइरहेका छौं,’ निरकले बुधबार व्यक्त गरेका यी भनाइलाई केटाकेटीले लगाएको फूर्तिकारूपमा लिनु हुदैन । ‘सिनेमाका लागि चाहिने महत्त्वपूर्ण तीनवटा पिलर (उत्पादन, वितरण र प्रदर्शन) हामीसँग छन्,’ हलमा बेचिने पपकर्नलाई संवाददातासँग साझेदारी गर्दै तन्नेरीले भने- ‘त्यसैले हामी नेपाली फिल्म निर्माणमा (महसुस गर्न सकिने) प्रभाव पार्न सक्छौं ।’ अक्सफोर्ड प्रेसले छापेको ‘हाउ टु रिड अ फिल्म’ र ‘द फिल्म मेकर्स ह्यान्डबुक’ राखिएको टेबल पछाडि बसेका ठिटालाई यति कुरा थाहा छ भने फिल्म लाइनमा लागेर देश खाई शेष भएका उनका चतुर बाबुलाई आफूले के गर्दैछु भन्ने थाहा नहुने कुरै भएन । मूलतः उद्धव व्यापारी हुन्, यति प्रस्ट पारिहालौं, जसको मुख्य उद्देश्य, उनी जेसुकै भनुन्, नाफा कमाउनु नै हो । (उसो त उनी पनि आफूलाई समाजसेवा गर्न र पैसाको खोलो बगाउन आएको पनि दाबी गर्दैनन् ।)

वर्ष २००७ मा दुइटा भोजपुरी र पाँचवटा नेपाली सिनेमा बनाउने घोषणा र्सार्वजनिक गर्नु केही अगाडि मंगलबारको कुराकानीमा उद्धवले प्रस्ट पारे । ‘मूलतः यो व्यावसायिक निर्णय हो । सिनेमा बनाउन आवश्यक सबै प्राविधिक पक्ष हामीसँग तयार अवस्थामा भएकाले एउटा या सातवटा सिनेमा बनाउनुमा तात्विक अन्तर छैन,’ उनले प्रस्ट पारे- ‘आखिर फिल्म विकास कम्पनीका ५५ जना कर्मचारीलाई पनि काम दिनुछ ।’

काम उनका कान्छा छोरालाई पनि चाहिएको थियो जसको सीप परीक्षणका लागि बाबुले ‘खतरा’ मोल्दैछन् । हुन त उमेरमा के छ र, कलेज छाडेका २० चानचुनका ठिटाहरूले केही महिनामै अर्बपति बनेर विश्वलाई देखाएको अहिलेको जमानालाई (युट्युब या गुगलको कथा सम्झिनुस् है) निरकले नजिकबाट नियालेका छन् । ‘नेपाली फिल्म उद्योग अकवार्ड (सिर्जनशीलताको कमी भएको या व्यवहार गर्न कठिन) आकारमा छ,’ लजाउँदो स्वभावका ठिटाले भने- ‘हामीजस्तो युवा र बाहिर पढेर आएकाले कामै नपाउने अवस्था छ ।’ पारिवारिक पृष्ठभूमि र व्यापारका कारण धन्न आफूले ब्रेक पाएको बताउँदै उनले थपे- ‘तर पैसा खर्च गरेर पढेर आउनेका लागि निराशाजनक छ । मैले आफ्ना लागि आफैं काम सिर्जना गर्नुपर्यो ।’

nirak poudel gopi krishna

‘नेपाली फिल्म उद्योग अकवार्ड (सिर्जनशीलताको कमी भएको या व्यवहार गर्न कठिन) आकारमा छ . हामीजस्तो युवा र बाहिर पढेर आएकाले कामै नपाउने अवस्था छ ।’निरक पौडेल

निरकको ‘कुसुमे रुमाल’ ले उद्धवलाई नाफा देला नदेला तर तुलसी घिमिरेको सिर्जनाले उनलाई धन कमाउने (वितरणबाहेकको) अर्को बाटो देखाइदिएको थियो । त्यसयता उद्धवले १३ वटा फिल्म बनाए जसमध्ये, उनका अनुसार एउटामात्रै घाटामा गयो । त्यो फिल्म ‘उकाली ओराली’ मा उनको पूर्ण लगानी थिएन । यस अवधिमा उनले एउटा फिल्म निर्देशन गरे जो उद्धवका अनुसार ‘निकै सफल भयो र त्यसकै नाफाले मैले यो जग्गा किनें’ जहाँ त्यही नामको हल बनेको छ । जुम्ल्याहा पर्दाबाट २०५२ मा थालिएको हल अभियान हालैमात्र उच्च वर्गलाई लक्षित प्रिमियम थिएटरको उद्घाटनसँगै गोपीकृष्ण कम्प्लेक्समा परिणत भएको छ जहाँ सातवटा हल छन् । ‘कुनै बेला काठमाडौंमा सिनेमा देखाउन हल पाउनु चिठ्ठा परेसरह हुन्थ्यो,’ आफूलाई ‘फिप्टी प्लस’ उमेरको बताउने व्यापारीले रिस फेर्ने लवजमा भने- ‘जय नेपालमा ‘कुसुमे रुमाल’ देखाउन कत्रो सोर्स लगाउनुपर्यो भने त्यो सोर्स अरू कुनै काममा लगाएको भए त्यतिबेलै करोडपति बन्ने थिएँ ।’ त्यतिबेलाको सास्तीलाई पृष्ठभूमिमा राख्ने हो भने सात हलका मालिक बनेका उद्धवका भनाइमा लुकेको ‘अब हेरौं त कसले के गर्दोरहेछ’ भन्ने लवज अस्वाभाविक लाग्दैन ।

‘अब फिल्म बनाउने जिम्मा कर्पोरेटको हो,’ उद्धवले ठोकुवा गरे फेरि उही अलि बढी नै गौरवान्वितजस्तो लाग्ने लवजमा- ‘जोसँग त्यसका लागि चाहिने सबै कुरा होस् ।’ रहरले ‘म पनि फिल्म बनाउँछु’ भन्नेहरूका दिन गएको बताउनु अघि उद्धवले कसरी हलिउड र बलिउडमा धेरैजसो फिल्म सबै क्षेत्रमा पहुँच भएका स्टुडियोहरूले बनाउँछन् भन्नेबारे एउटा छोटो भाषण दिए । ‘भारतमा समेत फिल्म निर्माणमा कर्पोरेटहरू छिरेका छन्,’ ‘एडल्याब्स’ मा रिलायन्सको प्रवेश इंगित गर्दै उनले भने- ‘त्यसैले यहाँ पनि त्यो संस्कृतिको विकास हुनु आवश्यक छ ।

उनले आफ्नो पछिल्लो अभियान कत्तिको महत्त्वको छ भन्ने पनि बताउन बिर्सेनन् । ‘अहिले भइरहेका निम्न, मध्यम वर्गीय दर्शकबाहेक नेपाली फिल्म नहेर्ने नेपालीलाई हलसम्म ल्याउनु यो योजनाको उद्देश्य हो,’ ३५ एमएम क्यामेराबाट सातवटा सिनेमास्कोप सिनेमा बनाउने घोषणाबारे उद्धव पौडेलले व्याख्या गरे- ‘यसमा म असफल भएँ भने अरू सफल हुने छैनन् । नेपाली सिनेमाले गुणस्तरीय दर्शक पाउने छैन ।’ डीजे राजुको इस्ट्रुमेन्टल धुनले के भनिरहेको छ कुन्नि ?