दिनेश वाग्ले
त्यो जादूमयी ‘क्लिक ह्विल’ चलाउन अल्छी लागेपछि मैले ‘सफ्फल’ मोडलाई सक्रिय पारेर आइपोडलाई डीजे बनाइदिएको थिएँ । त्यसयता उसले त्यहाँका अनेकौं भाषा र विधाका गीत सुनाइरहेको छ । सुरुमै ‘आइएम गोइङ टु टेल अ सेक्रेट’ भन्दै, उनको भलो होस्, म्याडोना आएकी थिइन् र अघिसम्म मेट्रोको ‘करले तु भी मोहब्बत’ बजेको थियो । भर्खरै ‘गार्लिक मस्टार्ड पिकर्स’को इट्रुमेन्टल ‘इफ इभर यु वेर माइन’ सुरु भयो । यसपछि के बज्ला मलाई नसोध्नुस् । नारायणगोपालले ‘मलाई नसोध’ भन्ने हुन् या नेल्ली फुर्टाडोले ‘से इट राइट’ चिच्याउने हुन् या नोरा जोन्सको सुरिलो भाका आउने हो या राजा हिन्दुस्तानीको ‘परदेशी’, केही थाहा छैन । या जिमी हेन्डि्रक्स ? गेरी मुर ? मोहम्मद रफी या चियाबारीमा रिमिक्स । ८० जीवीको यो सेतो, अति सुन्दर र निकै मायालु भाँडोमा मुस्किलले ३० जीवी ठाउँ तीन हजारजति गीतले ओगटेका छन् । ती सबै गीत सुन्न मलाई लगातार ७० दिन लाग्नेछ, तर आइपोड भर्ने अभियान जारी छ ।
छ वर्षअघि बजारमा आएयता आइपोड सांस्कृतिक प्रतीकका रूपमा उदाएको छ, जसले मानिसहरूको संगीतसँगको सम्बन्धलाई आश्चर्यजनक ढंगले पुनव्र्याख्या गरिदिएको छ । कोठामा बसेर एकपछि अर्को क्यासेट/सीडी लोड गर्दै सुन्ने ती दिन पुराना भए । धन्यवाद, आइपोडको अचम्मको भण्डारण क्षमतालाई, जीवनभरिको संकलन गोजीमा अटाउँछन् । त्यो संग्रह यति जीवन्त हुन्छ, कुनै पनि गीत चाहेको बेलामा ‘क्लिक पाङ्ग्रो’ घुमाउँदै सुन्न सकिन्छ । आफूसँग रहेका तर वर्षौंदेखि नसुनेका या छ भन्ने थाहा नभएका गीत आइपोडले फटाफट बजाइदिन्छ ।
‘निजी सांगीतिक संग्रहलाई हप्तामा सातै दिन चौबीसै घन्टा सँगै राख्ने मौकालाई पन्छाउनै सकिन्न’, युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीकी विद्यार्थी क्रिस्टली सङ आइपोड बारेको अनुसन्धानमा लेख्छिन्- ‘आइपोडले विस्तारित अंगका रूपमा मानिसहरूलाई समाजका ‘सार्वजनिक क्षेत्र’मा साथ दिइरहेका हुन्छन् । मानिसले आफैं र अरूप्रति कस्तो महसुस र व्यवहार गर्छन् भन्ने नियन्त्रण गर्ने शक्ति दिन्छ ।’ अर्थात् आइपोडले प्रयोगकर्तालाई सामाजिक अन्तरक्रियाबाट अलग्याएर एकाङ्की बनाउन पनि सक्छ । गाडीमा छिर्नुस्, आइपोड खोल्नुस्- तपाईं आफ्नै (या शकिराको) संसारमा । छेउको मान्छेले बाराक ओबामालाई ह्वाइट हाउसमा पुर्याउने कुरा गरोस् या संविधानसभा अगावै राजतन्त्र फाल्ने, केही असर पर्दैन ।
‘आइपोडको उत्कृष्ट पक्ष यसको विश्वव्यापी आकर्षण हो’, ‘द कल्ट अफ आइपोड’ किताबका लेखक लिएन्डर काहनेले भनेका छन्- ‘प्रविधिप्रति सचेत या टिनेजरहरूले मात्रै आइपोड प्रयाग गरेका छैनन् ।’ निश्चयै आइपोड डिजाइन गरिएको क्यालिफोर्नियाको सनसेट बुलेभार्डदेखि, संवाददाताको सन्दर्भमा, काठमाडौंको गोठाटारसम्मका प्रयोगकर्ताले यसलाई उत्तिकै लगाव र प्रेमका साथ अँगालेका छन् । (तर न्युयोर्क र काठमाडौंका आइपोड अनुभवहरू सधैं उस्तै नहुन सक्छन् । म्यानहटनबाट क्विन्सतिर हानिएको सव-वे यात्राजस्तो शान्तिपूर्ण हुँदैन, नयाँवानेश्वरदेखि बूढानीलकण्ठसम्मको टेम्पु-माइक्रोबस यात्रा । नेपाली गाडीहरूको आफ्नै म्युजिक सिस्टम छ र स्तरहीन चर्को स्वरमा कुन गीत बज्ने भन्ने मुख्यतः गुरुजीको सांगीतिक स्वादमा भर पर्छ । त्यति चर्को स्वर कि आइपोड बन्द गरेर गुनगुनाउन थाले हुन्छ- गर्नुगर्यो गुरुजी तिम्रो गीतले !)
प्रश्न हुनसक्छ, गीत मोबाइलमा पनि सुन्न सकिन्छ, किन आइपोड ? उत्तर- रत्नपार्कबाट जाउलाखेल महिन्द्रा एन्ड महिन्द्रा ट्रयाक्टरमा पनि जान सकिन्छ, किन मित्सुविसी पजेरो ? मेरो एलजी मोबाइलमा एमपीथ्री नभएको होइन, तर बढीमा २० भन्दा अट्दैन, आइपोडको गुणस्तर नोकिया एन ९५ मा पनि छैन । तर आइफोनको कुरा अर्कै । एप्पल कम्पनीले शनिबार अमेरिकामा आइफोन सार्वजनिक गर्दैछ । बजारमा आउनु अगावै अमेरिकी उपभोक्तामाझ इतिहासमै सर्वाधिक चासो सिर्जना गरेको आइफोन तीन कुरा -मोबाइल फोन, आइपोड र इन्टरनेट उपकरण) को संगम हो । विश्वका सबै मोबाइलमा हुने अंक-अक्षरवाला किबोर्ड नभएको आइफोन नेपालमा आउन केही वर्ष लाग्ने निश्चित छ । त्यसैले न्युरोडमा सहजै आउने आइपोडकै कुरा गरौं ।
आइपोड किन्नु कुनै एउटा विद्युतीय सामान लिनुमात्र होइन, त्यसका प्रयोगकर्ताहरूको विश्व सञ्जाल र संस्कृतिमा छिर्नु पनि हो । त्यो संस्कृति जसका आफ्नै परम्परा र रीति छन् । ‘आइपोडले नियन्त्रण गर्ने क्षमता दिन्छ’, मानव र व्यक्तिगत संगीत यन्त्रबीचको सम्बन्ध बारेका अध्येता माइकल बुलले भनेका छन्- ‘आइपोडमार्फत मानिसहरूले उनीहरूको स्थान, समय र अन्तरक्रियाको नियन्त्रण गरिरहेका हुन्छन् ।’
खासाको सांस्कृतिक संवाहकका रूपमा उदाएको आइपोड सफल व्यापारिक उत्पादन पनि भएको छ । गत अपि्रलसम्ममा विश्वभरि १० करोड आइपोड बिकेका छन् र प्रत्येक महिना बिक्री बढिरहेको छ । यो यति दरिलो ब्रान्ड भएको छ, कुनै पनि डिजिटल प्लेयरलाई मानिसहरू प्वाक्क आइपोड भनिदिन्छन्- जुनै मोटरसाइकललाई पनि होन्डा भनेजस्तो । अमेरिकामा थुप्रै एफएम स्टेसन आफूलाई आइपोड ‘शफ्फल’ स्वरूपमा ढालिरहेका छन्, जसलाई ‘ज्याक’ भनिन्छ । सन् २००४ मा बीएमडब्लुले आइपोड बजाउन सजिलो तुल्याउने कार बनायो भने केही वायुसेवाले आफ्ना विमानका सिटमा आइपोड चार्जर राख्न थालेका छन् ।
तीन मोडल र अनेकौं आकार/प्रकारमा पाइने आइपोड (एक जीवी र स्क्रीन नभएको) एक सयदेखि (८० जीवी र भीडीयो) ३ सय ५० डलरसम्म पर्छ । आइपोड प्रयोगकर्तासँग कम्प्युटर हुनैपर्छ र कम्प्युटरमा आइट्युन्स सफ्टवेयर । २००१ अक्टोबरमा आइपोडलाई बजार पठाइएकै दिन सार्वजनिक गरिएको आइट्युन्समार्फत एप्पलले कानुनी रूपमा इन्टरनेटमा गीत बेच्न थालेको थियो (एउटा गीत- ९९ सेन्ट्स) । न्याप्स्टर जस्ता अनधिकृत गीत साझेदारी वेबसाइटका कारण घाटा व्यहोरिरहेको अमेरिकी संगीत उद्योगले आइट्युन्सलाई हात फैलाएर स्वागत गर्यो ।
धन्यवाद आइपोडको लोकपि्रयतालाई, आइट्युन्स वेबसाइटबाट एक अर्बभन्दा बढी गीत बिकेका छन् ।
आइपोडको सफलतालाई धेरैले सन् ७० र ८० को दशकमा उदाएको सोनी वाकमेनसँग तुलना गरेका छन् । त्यतिबेला वाकमेनले चक्का घुसारेपछि हिँड्दै गीत सुन्ने सुविधा दिँदा त्यो क्रान्तिकारी विकासका रूपमा लिइएको थियो । कुनै पनि विद्युतीय सामग्रीमध्ये निर्विवाद सम्राट वाकमेनका ३४ करोड प्रति बिकेका छन् । नक्कली र सस्ता ‘वाकमेन’ले सोनी सिर्जनाको प्रभुत्व धमिल्याएको थियो । आइपोडले वाकमेनकै दुर्भाग्य सामना गर्ला ? ‘आइपोड नक्कल गर्न निकै गाह्रो छ’, आइपोड सिर्जना गर्ने मध्येका कम्प्युटर इन्जिनियर जोनाथन रुविस्टिन भन्छन्- ‘आइपोडको आफ्नै प्रणाली छ, जसमा फरक तत्त्वहरू सामेल हुन्छन् ।’
‘आइपोडको विश्वव्यापी मूल्य छ । यसलाई बनाउने (धेरै) मुलुकलाई सोध्नुस्’, शीर्षकको न्युयोर्क टाइम्स लेखमा बिहीबार प्राध्यापक हल आर भारियानले भनेका छन्- ‘हार्डडिस्क जापानको तोसिवाले फिलिपिन्समा बनाउँछ, चिप्स ताइवानमा बन्छन्, एसेम्बिङ चीनमा हुन्छ र फरक अमेरिकी कम्पनीहरूले वितरण गर्छन् ।’ ‘आइपोड-वाकमेन तुलनाविरुद्ध तर्क गर्न कठिन छ’, लिएन्डर काहने लेख्छन्- ‘वाकमेनले सोनीलाई विश्वस्तरको कम्पनी बनायो र हामीले गीत सुन्ने बानीलाई सदाका लागि बदल्यो । आइपोडले पनि एप्पल र हामीलाई त्यस्तै गर्नेजस्तो देखिन्छ । आइपोडको विशेषता के भने यो सुधारिएको वाकमेनमात्र होइन, संगीत सुन्ने विलकुलै नयाँ तरिका हो ।’
Wagle Street Journal: Kathmandu iPod: A Story From Nepal