दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
[यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । थप तस्बिर सहितको अंग्रेजी संस्करण यहाँ छ: Homecoming of a Nepali Migrant Worker from India]
कर्णाली तिरैतिर जुम्ला हानिएको दैलेखी धुले सडकमा फागुनको पहिलोसाता उसलाई हिडिरहेको देख्दा मैले फोटोपत्रकार स्टिभ मक्करीकी विख्यात तस्बिर पात्र ‘अफगान गर्ल’ सम्झिएको थिए । ‘नेशनल ज्योग्राफिक’ म्यागेजिनको आवरणमा सन् १९८५ मा छापिएको त्यो फोटोकी आफगानी शरणार्थी केटी शर्वतका आँखा र मुहारमा विछट्टैको पिडा र थकान झल्किन्छ । त्यस्तै पिडा र थकान मैले राजेश शाहीका आँखा र मुहारमा देखें ।
भारतको नैनीतालमा एउटा क्रिकेट रंगशाला बनाउन गिटी, कंकर र रेता (बालुवा) घोलेर वाक्क भएपछि फर्किएको त्यो १७ बर्षो आफ्नो घरतिर लम्किरहेको थियो । महेन्द्रनगरमा नेपाली सीमा छिरेयताका पाँच दिन ऊ लगातार हिडिरहेको छ- नाम्लो र खकनमा झुन्डिएको टिनको हरियो बाकस उसको ढाडमा घोटिएको छ । घाटीमा छातितिर एउटा रेडियो-क्यासेट झुन्डेको छ । रेडियो-क्यासेटसहितको ठ्याक्कै त्यस्तै भारी बोकेका कम्तिमा अन्य १० राजेश शाहीसँगै हिडिरहेका छन् । सबै उत्तिकै थाकेका छन्, गलेका छन्, लुतुक्क परेका छन् । यो हिर्डाई अघि ती सबैले दिनमा एकसय २० भारु कमाउन क्रिकेट निर्माण आयोजनामा गिटी कुटेका थिए, बालुवा मुछेका थिए, भारतीय ठेकेदारको गाली सहेका थिए, सीमानामा लोभी भारतीय पुलिसहरुको दुर्व्यवहार व्यहोरेका थिए र कोही तीनै पुलिसबाट लुटिएका थिए ।
यो साझ दैलेखको खिट्की ज्युला आइपुगेका उनीहरु त्यो सबै विर्सन चाहन्छन् । ‘ऊ त्यो डाडामा हाम्रो घर,’ कसैले देखायो । भोली विहानै झोलुङ्गे पुलबाट कर्णाली तरेर अछामी भूमीमा टेकेपछि उनीहरु खाना खान आ-आफ्नो घर पुग्ने छन् ।
त्यस अघि कर्णाली मास्तिरको र गाउ मुन्तिरको जंगलसँगैको खोलामा एउटा महत्वपूर्ण काम गरिनेछ ।
त्यो भन्दा पनि पहिले खिट्की ज्युलामै एउटा पसलमा भारतजादा रहेको बाँकी तिर्नुछ । यो पसलबाट राजेशले तीन सय ५० पर्ने एउटा ज्याकेट उदारोमा लगेका थिए, फर्किदा तिर्ने बाचासाथ । अहिले पैसा भए पो !
‘कमाएको पैसा बाटैमा सिद्धियो दाइ,’ पसलेसँगको छलफललाई एकैछिन थाती राखेर थुक्न बाहिर निस्केका ठिटाले मसँग भने । ‘चिसापानीमा सामान किने, बाकस किने, रेडियो किने । बाटोमा खाए ।’
घाम नझुल्किदै कर्णाली पारीको उकालो काट्नुपर्ने थियो तर राजेशले साहुजीलाई मनाउन सकेनन्, वार्ता लम्बियो, विहान सकिनै लाग्यो । ‘गाउकै साहु हुन्, घरपुगेपछि दिन्छु भनेको मान्दैनन्,’ उनले भने । सँगैका एकजना पाकाले घरपुगेपछि दिनेर्सतमा पैसा तिरिदिएपछि टोली पुल तर्यो, उकालो नथाल्दै घामले भेर्ट्टाई हाल्यो । केहीबेरमै खोलो पनि आइहाल्यो । अब यहाबाट डेड घन्टा उक्लेपछि राजेशले पाचसम्म पढेको भैचालाको श्री शारदा प्रा.वि. आउछ । त्यहाबाट ५ मिनेटमा उनको घर ।
अन्य सहयात्री जस्तै खोला किनारमा उनले भारी विसाए । हात धोए, खुट्टा धोए, मुख धोए र रुमालले पुछे । अनि उनले बक्साको चाईनिज ताल्चा खोले । थोत्रो र मैलो पाइन्ट र जम्पर उनले फुकाले । चिसापानीमा किनेका नयाँ जिन्स, पेटी गन्जी, र टी-र्सट लगाए । नौ बर्षो फुच्चेलाई उसको बर्थडेमा बाबुआमाले दिएको उपहार जस्तो लाग्ने रंगीविरंगी अक्षर कुदिएको जिन्स र्सतर्कतापूर्वक लगाएपछि उनको अनुहारमा पहिलोपटक मैले हलुका मुस्कान देखेको थिए । हरियो टी र्सटको छातीमा ठूलो अंग्रेजी अक्षरमा ‘भ्याकेसन’ र त्यो मुनी र्’इन गोवा बीच’ लेखिएको थियो । ‘भ्याकेसन’ अक्षरहरुमाथि ‘ग्रेट प्यारार्डाईज’ उल्लेख थियो ।
‘महान र्स्वर्ग गोवा वीच’ आफूले मजदुरी गर्ने देशकै दक्षिणी समुद्री शहर हो भन्ने उसलाई न थाहा थियो, न त्यहा गएर ‘भ्याकेसन’ (विदा) मनाउने उसको उद्देश्य । आफ्नै डाडाहरुमा मजदुरीको थकाई मेटाउन पाउदा ऊ खुशी देखिएको थियो ।
‘मनमा एकदम खुशी छ दाई,’ उसले प्रत्येक शब्दपछि एक सेकेन्डजस्तो रोकिदै भन्यो- ‘घर पुग्न लागियो । अलि राम्रो बन्न पर्यो । फेसन गर्न पर्यो । परिवारलाई देख्दा राम्रो हुनुपर्यो ।’ त्यसपछि उसले एकछिन मलाई हेर्यो, अनि आफैलाई । उसले टीसर्ट तन्कायो ।
राजेशका सहकर्मी, सहयात्री र गाउलेहरु १८ बर्षो जीवन शाही र १९ बर्षो मीनबहादुर बोहोराले पनि आ-आफ्ना भारीबाट नयाँ जिन्स, र्सट र जुत्ता झिकेर लगाए । अलि मास्तिर डोको बोकेर उक्लिइरहेका चारवटी केटीहरु थकाइ मारिरहेका छन् । उनीहरुले ठट्यौली गरेको र हासेको आवाज केटाहरुसम्म आइरहेको छ ।
अब बेला भएको छ, चिसापानीमा नौसय रुपैया हालेर किनेको एफएम, मिडियम वेभ र एकदेखि नौसम्मका र्सट वेभ व्यान्ड टिप्ने ‘ब्लिस’ ब्रान्डको रेडियो-क्यासेट घन्काउने ।
सिरिरी बतासै चल्यो
फूलजस्तो जोवन तिम्रो टिपौ जस्तो लाग्यो
खोलाभन्दा निकै माथि केटीहरु नजिकिदै गर्दा तीनवटै क्यासेटहरु एकतमासले घन्किरहेका थिए । सबैको आवाज ह्वात्तै बढेको थियो । सबैमा रोमान्टिक धुन बजिरहेका थिए तर समश्या एउटै थियो- कुन क्यासेटबाट कुन गीत बजिरहेको छ खुट्ट्याउन नसकिने । सबैको मिश्रणबाट एउटा चौथो गीत बजेजस्तो महशुस भयो ।
एउटा प्लास्टिक झोलामा केटीहरुले पानी बोकेका रहेछन्, ‘तिर्खाएका’ केटाहरुलाई उनीहरुले त्यसको प्रस्ताव गरे । अजुलीमा झरेको प्लास्टिकको पानी पिउदै गर्दा उनीहरुका आखा जुधेका थिए । दुइटा क्यासेट बन्द भएका थिए, अर्कोमा एउटा गम्भीर गीत बजिरहेको थियो-
न त मैले न तिम्ले देखेको
दुख पाउन रैछ नि लेखेको
केटीहरु अगाडी बढे । माथिको बतासे डाडामा फेरी भेट्टाउदा उनीहरु कर्णाली पारीपट्टी दैलेखी पहाडमा गुडीरहेका ट्रक ड्राइभरहरुलाई लक्षित गर्दै ‘ओई होई’ चिच्याई रहेका थिए । खुट्टा तल झारेर लहरै बसेका चारैवटीले आ-आफ्ना मजेत्रा हल्लाईरहेका थिए ।
‘अघि हामीलाई पानी खुवाउनेको नाम के ?’ मैले सोधे ।
‘किन चाहियो ?’ उनले भनिन् ।
‘त्यसै ।’
‘मेरो नाम छैन ।’
‘भन न,’ मैले भने ।
‘किन भन्ने ? त्यतिकै अर्कालाई नाम बताउने कि क्या हो ?’
‘आफ्नै हुँ नि । एउटै देशका हामी ।’
‘घर फरक भए त अर्को हुन्छ, तपाई त जिल्ला फरक ।’
राता गाला भएकी हसिली १६ बर्षो जैसरा रोकामगरबाट नाम र उमेर फुत्काउन थप केही मिनेट प्रश्नोत्तर गर्नुपरेको थियो । जैसरा र उनका दौतरी कहिल्यै स्कुल गएनन् ।
जीवन शाही चाहि तीन कक्षासम्म गए, त्यसपछि उनको शैक्षिक यात्रा जनयुद्धको मारमा पर्यो । ‘परिस्थितीले भेट्टाएन,’ निराश लवजमा उनले भने- ‘माओवादीले बुवालाई ‘माओवादी हुनैपर्छ, नभए काटेर फाल्छौं’ भने ।’ पहिलोपटक बाबुले भारत लैजादा उनी १३ बर्षा थिए । आफू अनपढ हुनुमा एक नम्बर दोषी माओवादी ठान्ने केटाले अविभावकको अशिक्षा पनि कारक रहेको बताए । ‘पढाइदिएको भए कति राम्रो हुन्थ्यो,’ उनले मलाई भने- ‘तपाईको जस्तो जागिर खाइन्थ्यो ।’
पक्कै, भारतीय शहरमा मजदुरी सजिलो पक्कै छैन । तेस्रोपटक गएर फर्केका राजेशले त्यसलाई प्रष्ट पारे । ‘जानेवित्तिकै ठेकेदार खोज्नुपर्यो,’ उनले भने- ‘लेबोरको पैसा मार्छ मार्दैन, बुझ्नु पर्यो । काम हेर्नुपर्यो । सजिलो अप्ठेरो कस्तो छ । त्यसपछि एउटा कमरा लिनपर्यो भाडामा । चावल आटा ल्याउनुपर्यो ।’
‘कमरा’मा ‘चावल’ ल्याएजस्तै गरी यी मजदुरले आफ्नो गाउमा हिन्दी शब्दावली ल्याउछन् । ‘अब त भात भनन,’ अघिल्लो साझ खाना खानेबेला राजेशले ‘अलिकति चावल दिनुस्’ भनेपछि साहुजीले सम्झाएका थिए । दुइ फरक भाषी समाजमा ओहोरदोहोर गरिरहदा उनीहरुमा केही शब्दहरुले अस्पस्टा सिर्जना गर्छन् जो यदाकदा ठट्टाका विषय बन्छन् । ‘एकचोटी एकजना ठेकदारले यताबाट गएको नेपालीलाई ‘अरे कुलाडी लेके आना’ भने छ,’ एकजनाले जोक भने- ‘नेपालीले यताउता हेरेछ, कही देखेनछ । भोलीपल्ट गाईको बाछो घिच्याउदै ‘देखो, मैने कुलाडी लाया’ भनेछ । ठेकेदार तीनछक परेछ । हिन्दीमा कुलाडी भनेको बन्चरो रहेछ ।’
ठट्यौलीलाई जंगलमै छाडौं, पाच घन्टा हिडेपछि राजेशको घर आउनै लागेको छ । हान्ने भैसीको आक्रमण छल्दै उनी आगनमा टुपुल्किए जसको अर्को कुनामा उनकी आमा बसीरहेकी छिन् । आमाको पहिलो प्रश्न थियो- ‘दाजू भेट्या नाई ?’ अँह, गत बर्षभारतमै मजदुरी गर्न गएका उनका दाजू परिवारसँगको सर्म्पर्कमा छैनन्, राजेशले पनि उनलाई भेटेनन् ।
‘यसलाई पनि मैले नजा भनेको,’ ५५ बर्षो दुधकलादेवी शाहीले राजेशलाई औल्याउदै मसँग भनिन्- ‘यही खेत-बारीमा काम छ । भैसी छन् । कसले स्याहार्ने तिनलाई ?’
‘खेतमा काम गर्न मनलाग्दैन,’ आमा अगाडी केही नबोलेका राजेशले भने- ‘त्यसै के बस्ने । इन्डिया जानुपर्छ ।’
छोराको मजदुरी यात्राप्रति नकारात्मकता दर्शाएकी दुधकलाको विचार त्यतिबेला बदलिएको थियो जब राजेशले भित्री कोठामा लगेर आफ्नो बाकस खोले । उनले आमालाई फरिया, चोलोको कपडा, सानो भतिजलाई जुत्ता, बाबुलाई कपडा, भाउजुलाई फरिया ल्याएका थिए ।
‘लाउने केही थिएन, नाङ्गै थियौं,’ उज्यालो अनुहारले कपडा नियालेपछि तिनलाई बाकसमै थन्क्याउदै दुधकलाले भनिन्- ‘यहा बसेर के गर्नु, पैसा हुदैन । कपडा किन्नै सकिदैन ।’
हामी बाहिर निस्क्यौं । मैले राजेशको अनुहार हेरे । आमा खुशी भएकोमा उनी कति मख्ख थियो भने…. मैले फेरी उनै अमेरिकी फोटोपत्रकार स्टिम मक्करीलाई सम्झिए । उनले यो केटाको अनुहारमा झल्किएको खुशीलाई तस्बिरमा कसरी उतार्थे होलान् ?
म आमाछोरालाई बाई गर्दै फर्किने बेलामा दिन ढल्किसकेको थियो, चिसो हावा विछट्टै चलिरहेको थियो । ‘गोवा भ्याकेसन’ लेखिएको त्यो पातलो टिर्सटमा राजेश लगलगी कामी रहेको थियो । मेरो तीन पटकको सल्लाह बाबजुद ऊ नयाँ टीसर्ट छोप्ने पुरानो, थोत्रो ज्याकेट लगाउन तयार थिएन ।