राजधानीको भृकुटीमण्डपमा जारी पुस्तक मेलाबाट किताबका पन्ना पल्टाउने अवसर मात्र भएन मानिसका अनुहार पढ्ने मौका पनि भयो
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
[पुस्तक मेला डायरी । यो डायरीको अर्को भाग यहाँ छ । यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।]
पुस्तक मेलामा पुगेका तन्नेरीहरु वायाँबाट निशराज बस्नेत, लिलाबहादुर बस्नेत र भगत राजगैया । उनीहरुको झोलामा शंकर लामिछानेका किताब र ‘मार्क्सवादको रुपरेखा’ थिए । सबै तस्बिर दिनेश वाग्ले
त्यो क्षण म चकलेट आइसक्रिम खाँदै एउटा पिल्लरसँगै उभिएर भीड नियालिरहेको थिएँ । भृकुटीमण्डपको ठूलो प्रदर्शनी हलको पुस्तक-स्टलमा मानिसहरू चलायमान थिए । ‘शैक्षिक’ स्टलबाट ह्वारह्वार्ती निस्केका तन्नेरी, पौढ र बच्चाहरू झन्डै-झन्डै ठेलामठेल गर्दै ‘किताब’ स्टलतिर बढिरहेका थिए । साथीको फोन आयो (जसबारे पेज दुइमा पढ्नुहोला) ।
भीड के, खासमा म मानिसहरू नियालिरहको थिएँ । किताब एउटा बहाना मात्र हो, म यहाँ आज मान्छे हेर्न आएको हुँ । यी मान्छेलाई हटाइदिनुस, यहाँका पुस्तक स्टलमा तिनका पसलेमात्र राखिदिनुस् । के उस्तै मजा पाइन्छ ?
‘खाली र प्याक्ड स्टल घुम्नुमा फरक छ,’ आरआर क्याम्पसमा बीए सहपाठी राजन केसीसँग डुलिरहेका २१ वर्षो दीपक आचार्यले भने- ‘कसले कुन बुकमा कस्तो दृष्टिकोण लगाइरहेको छ, कुन बुक बढी बिकेको छ, थाहा पाउनुपर्छ ।’
मेला र साधारण पसलबाट किन्नुको फरक त्यही हो । माहोल । अर्कोचाहिँ शारीरिक भाषा र अनुहार अभिव्यक्तिको कुरा । म एउटा कुनै स्टलमा ओर्हान पामुकको ‘माई नेम इज रेड’ हेरिरहेको थिएँ । कसोकसो ध्यान छेवैकी युवतीमा पुग्यो । उनले र्याकबाट एउटा किताब निकालिन्- फ्रेन्च उमन डन्ट गेट फ्याट । एकैछिन सरर पान्ना पल्टाइन्, मूल्य जाँचिन् र त्यसलाई त्यही फिर्ता राखिन् । त्यसपछि उनले ननिकालीकनै ‘द लास्ट मुगल’ छोइन, यसो पल्टाउन खोजिन् र अलि पर्तिर सरिन् । त्यहाँ उनले कर्ण शाक्यको ‘सोच’ टिपिन्, पल्टाइन्, राखिन् र गोविन्दराज भट्टर्राईको ‘सुकरातका पाइला’ लाई त्यसै गरिन् । त्यसपछि उनले त्यो स्टल छाडिन्, अर्कोमा छिरिन् जहाँ उनले एउटी साथी भेटिन् । हाई भनिन् र दुवै अर्कोतिर छिरे । मैले उनीसँग कुरा गर्नु आवश्यक ठानिनँ, किनकि म त्यहाँ मानिसहरूको बडी ल्याङ्वेज अध्ययन गरिरहेको थिएँ । उनको कालो टिर्सटको ढाडमा छाताको चित्र थियो जोसँगै लेखिएको थियो- ‘इट्स रेनिङ् आउट, रिमाइन्ड्स मी अफ यू । आई मिस यू सो मच ।’ (बाहिर पानी परिरहेको छ, मलाई त्रि्रो सम्झना गराउँछ । तिम्रो निकै याद आयो ।)
पक्कै, कसैले त्यसरी मलाई नियालेको भए म पनि फरक देखिने थिइनँ । प्रदर्शनीमा मैले पनि थुप्रै किताब निकाल्दै, पल्टाउँदै, छाम्दै, महसुस गर्दै फिर्ता राखेको थिएँ । सुरुका तीन दिनमा डोरबहादुरको एउटा, बीपी कोइरालाका पाँचवटा, शंकर लामिछानेका दुइटा, कृष्ण धराबासीको एउटा किन्नुबाहेक मैले धेरै किताब हेरेँमात्र । (प्रदर्शनीको पाँचौं दिन लेख प्रेसमा गएको हो ।) मानिसहरूका गतिविधि नियाल्दै पुस्तकसँगको त्यस्तो सामीप्यता राख्न पाइनु मेलाको मज्जा हो ।
तर हो के ? काठमाडौं मोडल कलेजकी ‘मोडल’ विद्यार्थी २१ वर्षो चन्दा पौडेल आफ्नी साथीसँग प्रदर्शनीको ‘शैक्षिक’ भागबाट ‘पुस्तक’ तिर निस्केकी थिइन् । ‘मानिसहरूका डिफ्रेन्ट फेस (फरक अनुहार) हेर्दा आँखा दुखिसक्यो,’ युवतीले भनिन्- ‘गर्लफ्रेन्ड-ब्वाइफ्रेन्डसँग आएकाहरू थुप्रै देखें ।’ धेरै मान्छेले प्रदर्शनीमा किताब र्सर्रर हेर्ने गरेको उल्लेख गर्दै क्याम्पस युनिर्फममा रहेकी युवतीले भनिन्- ‘कभर हेरेर के नलेज (ज्ञान) पाइन्छ र ?’ पल्पसा क्याफे पढ्ने विचार उनले गरेकी थिइन् । ‘नेपाली स्टुडेन्ट एडिसन किनौं भनेको,’ उनले भनिन्- ‘खै, राम्रो छ रे ।’ तन्नेरीहरूमाझ ‘क्याफे’ ले पोट्टरम्यानिया ल्याएजस्तो मेलामा महसुस गर्न सकिन्थ्यो ।
सोसोलोजीका विद्यार्थी लोकेन्द्र भाम पेन्गुइनको स्टलमा किताब खोतल्दै ।
काठमाडौंमा त्यति गतिला पुस्तक पसलै कहाँ छन् जहाँ खोजेका सबै शिर्षक पाइयोस् । दैनिक उपभोग्य वस्तुका लागि सहरमा थुप्रै स्टोर खुलेका छन् जसले ‘एउटै छानामुनि सबै कुरा’ को प्रस्ताव गर्छन् । तर एउटै छानामुनि सबै किताब ? मेला एउटा त्यस्तो अवसर हो जहाँ शंकर लामिछानेको ‘विम्ब प्रतिविम्ब’ (मैले किनेको एउटा किताब) देखि ज्योफ्री स्याक्सको ‘द इन्ड अफ पोभर्टी’ सम्म पाइन्छन् । तर यो मेला जो शनिबार (आज) सकिन्छ त्यति व्यापक पनि छैन जहाँ खोजेजति सबै पाइयोस् । काठमाडौंकै कतिपय पसलले यसमा सहभागिता जनाएका छैनन् जसले मेलालाई हुनसक्ने जतिको व्यापक तुल्याएको छैन । किताब भनेपछि सबैखाले पाइए पो मेलाको खास मज्जा । नभए लोकेन्द्र भामझैं पेन्गुइनको स्टलअगाडि उभिएर एकनासले भीड नियाल्यो, बस् ।
कृष्णमूर्तिका ‘पाँच पिस’ किताब किनेर झोलामा हालेका २६ वर्षे भाम सोसोलोजीमा एमए सिध्याएपछि अर्को विषय पढ्ने सुरमा छन् । नयाँ लेखकको किताब के आए, थाहा पाउन मेलामा बर्सेनी आउने तन्नेरी ‘बाहिरभन्दा अलिकति सस्तो’ पाइनु मेलाको आकर्षा ठान्छन् । ‘तर पाठ्यक्रमको किताब नपाइँदो रहेछ,’ उनले भने । (अरू केही भ्रमणकर्ताले मेलामा ‘छुट कम मिलेको, त्योभन्दा बढी बाहिर पसलमै पाइने’ गुनासो गरे ।)
आरआरका राजन केसी र दीपक आचार्य (दायाँ)
छुटको एउटा कुरा तर माहोलमा कसैको गुनासो थिएन । स्कुलले लगेका विद्यार्थीहरू, कलेज छुट्टपिछि पुगेका तन्नेरीहरू, फुर्सदिला युगल जोडीहरूको उपस्थितिले त्यहाँ उत्सवको वातावरण थियो । पुस्तकहरू कति बिके, मेलाको अन्त्यसम्ममा एउटा चित्र आउला तर निःसन्देह आइसक्रिम बेस्ट सेलर थियो । त्यसका तीनजना क्रेता निशराज बस्नेत, लीलाबहादुर बस्नेत र भगत राजगैया एक-एक कोन आइसक्रिम खाँदै स्टल डुलिरहेका थिए ।
‘ला, दाइले खाएको पनि खिचिदिनुभयो,’ लीलाले मेरो क्यामेराकार्यप्रति संकेत गर्दै भने । संयोगले उनीहरू खान्कीबारेका किताबयुक्त र्याकअगाडि उभिन पुगेका थिए र निशराजले त्यहीको एउटा किताब पल्टाइरहेका थिए । लीला र निशराज बंगलादेशमा मेडिसिन पढ्दै छन् र उनीहरू मेलाको मौकामा ‘किताब किनौं भनेर’ आएका हुन् । लीलाले झोलाबाट शंकर लामिछानेको स्मृतिबारेको किताब, लामिछानेकै ‘गौथलीको गुड’ र ‘मार्क्सवादको रूपरेखा’ (जसलाई उनले कम्युनिस्ट घोषणापत्र भनी चिनाए) निकाले । सञ्जीव उप्रेतीको ‘घनचक्कर’ किन्न बाँकी रहेको उनले बताए ।
‘ओझेलमा परेर फेरि प्रकाशमा आएका लेखक हुन्,’ लीलाले लामिछानेबारे भने- ‘एउटा हिस्ट्री पनि हो ।’ निशराजले थपे- ‘प्रगतिशील लेखकका रूपमा उनको नाम आउँछ । ‘घनचक्कर’ चाहिँ नयाँ भयो, चर्चित छ ।’
अनि ‘मार्क्सवादको रूपरेखा’ चाहिँ ?
‘कम्युनिस्ट हुन पहिला घोषणापत्र पढ्नुपर्यो भनेर,’ लीलाले भने- ‘देशै त्यतै ढल्केपछि त्यसमा केही राम्रो होलाजस्तो लाग्यो । घोषणापत्र नपढी यहाँ धेरै कम्युनिस्ट भएका छन् । तिनका कुरा धेरै सुनियो । अब मार्क्स जननी हुन्, उनकै कुरा पढ्नुपर्यो ।’
भीडमा सबैलाई चासो हुन्छ, कसले के पढिरहेको छ या कुन किताब पढ्ने योजना बनाएको छ । (त्यसैले होला हाम्रो ‘पुस्तक वार्ता’ स्तम्भ पाठकप्रिय भएको !) स्टलमा पुस्तक छान्दै गर्दा आँखाचाहिँ छेवैको मान्छेको छनोटमा परिहाल्ने । त्यो मेरोमात्र कुरा होइन, भामको मात्र पनि होइन, निशराजमात्र पनि होइन । ‘कतिका हात कुन पुस्तकतिर लम्केका छन् त्यो हेर्नुपर्छ,’ निशराजले भने । शीर्षक आकषिर्त लागे उभिएरै त्यो किताबको पश्चकभर र भूमिका पढ्ने उनले बताए । ‘एकदिनलाई रमाइलो,’ उनले भने- ‘राम्रो, महँगो किताब किन्न सकिन्न । खेद लाग्छ ।’
त्यो खेदमा मेरो पनि सहमति । माहोलमै फर्किउँ ।
एउटा स्कुले फुच्चेले सहपाठी अर्कोलाई स्टलभित्र हुत्याइदियो र आफू त्यो सफलतामा मुस्काउन थाल्यो । म पैरवीको स्टलमा किताब ओल्टाइपल्र्टाई गरिरहेको बेला अर्को स्कुले ‘आमाआआ’ भन्दै भुइँमा चिप्लिएर आयो र मेरो कुहिनोमुनिबाट म्याक्सिम गोर्कीको त्यो प्रख्यात किताब तान्यो । ‘यी आमा,’ उसले भन्यो । उसको साथीले ‘ल, ल, राख्दे, राख्दे’ भन्यो ।
‘चुनावपछि नेपालमा आएको अप्टिमिजम (आशावाद) झल्केको छ भीडमा,’ ओरिएन्ट लङ्म्यानका चक्रवर्तीले भने- ‘देयर इज इनर्जी इन द एयर (माहोलमा शक्ति छ ।) (स्टलवालाले) बोर लागेर झिंगा मारेर बस्नुपर्ने अवस्था छैन ।’ उनले अफिस दिनहरूमा समेत मानिसहरूको मेलामा उल्लेख्य उपस्थिति हुनु पुस्तक कारोबारका लागि उत्साहबर्द्धक भएको टिप्पणी गरे ।
नकिनुन् केही छैन, तर मेलामा पन्ना पल्टाउँदैमात्र पनि कम्तीमा किताबसँग मानिसहरूको परिचय त भयो । त्यस अर्थमा यस्ता मेलाको सफलता मानिनेछ । सामान्य अवस्थामा पसलको र्याकमा लुक्ने या नदेखिने किताब मेलामा देखिन्छन् । दर्शक आफैंले खोतल्दै तिनलाई हेर्छन् । त्यो खोतलाइले उनीहरूको निर्णय बदलिन सक्छ जो नराम्रो कम राम्रै बढी हुन्छ । ‘हेर्दाहेर्दै आफूले खोजेको भन्दा अर्कोमा आकर्षा बढ्छ,’ भामले भने- ‘कन्टेन्ट हेर्यो, राम्रो लाग्न थाल्छ । पाउलो कोहिलोको किताब हेर्दै थिएँ, गोर्कीको ‘मदर’ किनेँ ।’