दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
[पुस्तक मेला डायरी । यो डायरीको पहिलो भाग यहाँ छ । यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।]
म आइसक्रिम खाँदै मानिसको भीड नियालिरहेको थिए (जसबारेमा पृष्ठ एकमा पढ्नुहोस्)। साथीको फोन आयो ।
‘फ्याटालिजम एन्ड डेभलपमेन्ट’ को कुरा निस्क्यो । डोरबहादुर लगभग ‘मिथ’ भइसकेका छन् । हराएका मानवशास्त्री । अतिचर्चित पुस्तक ‘फ्याटालिजम…’ का लेखक । खै कहाँ गए, यकिन कसैलाई छैन र त्यस्तोमा प्रायः अनेकौं कोणबाट अनुमानहरू गरिन्छन् जो स्वभावतः एकनाशे हुँदैनन् । कोही उनलाई कुम्भमेलामा देखेको कुरा गर्छन् कोही कहाँ । नौ महिनाअघि पहिलोपटक जुम्ला पुग्दा सदरमुकामको एउटा स्टेसनरी पसलमा संयोगले भेटिएका एक वृद्धले हराउनु केही घन्टाअघि डोरबहादुरलाई जुम्ला एयरपोर्टबाट बिदा गरेको सम्झिएका थिए ।
‘पुस १४ गते हो,’ पटमारा-९, उर्थुचौताराका ६३ वर्षो रतिमान विष्टले भनेका थिए- ‘कुन वर्षहो । ठ्याक्कै चाहिँ सम्झना भएन । एअरपोर्ट छाडेर नेपालगन्ज पुगेका थिए, एक घन्टा त्यहाँ बसेका थिए ।’ (डोबरहादुर ०५२ तिर हराएका हुन् ।) त्यसपछि उनलाई नदेखेको बताउने रतिमानले डोरबहादुरले खोलेको झन्डै एक दिन टाढाको एउटा अध्ययन केन्द्रसम्म जान मलाई उक्साएका थिए ।
डोरबहादुरको फ्याटालिजम एन्ड डेभलपमेन्ट हार्डकभर मैले किने लगत्तै पद्म कन्यामा रुरल डेभलपमेन्ट एमएकी विद्यार्थी इच्छा राईले पनि किनिन् । ‘पहिल्यै देखि लिन खोजेको,’ डोरबहादुरका अन्य किताव ‘पिपुल अफ नेपाल’ र ‘रिपोर्ट फ्रम ल्हासा’ पनि पढेकी उनले भनिन्- ‘सोसोलोजी पढ्दा डोरबहादुरकै लेख उद्दरण गरिन्छन् । विकाश सम्बन्धी भएकाले पनि पढ्नै पर्ने हुन्छ ।’ तस्बिर दिनेश वाग्ले
मेरो अर्कै योजना थियो, त्यसैले गइनँ । तर डोरबहादुर र उनको किताबको प्रसंग निस्किन छाडेन । किताब भनेकै त्यस्ता जसले मरेकालाई समाजबीच ‘जिउँदै’ राख्छन्, डोरबहादुर हराएका मात्र हुन् । उतिबेलाका शेक्सपियर अहिले पनि हामीले पढ्नुपर्छ । कृतिमात्रै होइन जीवनी पनि- स्ट्रयाटफोर्ड अपन एभनमा जन्मेका, एलिजावेथयुगको कुनै एउटा ग्रामर स्कुलमा पढेका आदि । डोरबहादुर अहिले ८० वर्षा भए । लुकेर नेपाली राजनीतिक/सामाजिक परिवर्तनलाई नियालिरहेका भए उनी मख्ख परिरहेको हुनर्ुपर्छ । यतिबेला मज्जाले उठेको महत्त्वपूर्ण विषयलाई उनले झन्डै दुइ दशकअघि पुस्तकाकार दिइसकेका थिए ।
विषेशगरी जातीयताबारेका गफमा धेरैले ‘फ्याटालिजम…’ को प्रसंग प्रायः निकाल्छन् । भन्नैपर्दैन, जातीयताको कुरा हालैका केही वर्षरूमा कति चल्तीको विषय भएको छ । माओवादीले त्यसैमा आधारित भएर देशलाई संघीय तुल्याउनुपर्छ भनिसकेको छ । शीर्षकका दुइ शब्द (भाग्यवाद र विकास) लाई पनि किताबले पत्यारलाग्दो पारामा सम्बोधन गरेको छ ।
त, म पुस्तक मेलामा मानिसहरूका थरीथरीका अनुहार र बडी ल्याङ्गेज नियालिरहेको थिएँ, साथीको फोन आयो- ‘फ्याटालिजम एन्ड डेभलपमेन्ट किन है ।’
ह्वाई नट ?
एकजना व्यवसायीले त्यो पुस्तक ओरियन्ट लङ्म्यानले प्रकाशित गरेको भन्दै ‘त्यसैको स्टलमा जाँदा राम्रो’ हुने सुझाए । र्याकमा रहेको त्यो किताबसँगै एउटा तस्बिर खिचाएपछि र त्यसको मूल्य तिरेपछि मैले स्टलमा रहेका ओरियन्ट लङ्म्यानका नेपाल प्रतिनिधि रोशन चक्रधरसँग कुरा गरेँ ।
चर्चित किताब पहिलोपटक देख्नेबित्तिकै मलाई लाग्यो- अरे, कस्तो ‘डल’ कभर । पट्यारलाग्दो । तस्बिर नभएको । शीर्षकमुनि सहायक शीर्षक (नेपाल्स स्ट्रगल फर मोर्डनाइजेसन) तल कति लामो परिचयात्मक विवरण । एलान म्याक्फार्नेनको र्ब्लर्व रहेछ । त्यसमुनि लेखकको नाम । कभर डिजाइन साँच्चै निराशाजनक । डिजाइनरले कस्तो अल्छी गरेछ । नेपाली पुस्तक संसारमा कभरलाई उति महत्त्व दिइएको पाइँदैन । धेरैका लागि किताब लेख्नै ठूलो कुरो हुन्छ, त्यसलाई निकाल्नु झन् ठूलो कुरा, त्यो किनिनू झन् झन् ठूलो कुरो । राम्रो लेआउट, सुन्दर डिजाइन, आकर्ष कभर । पाठकलाई ट्रिटका अलावा ती पुस्तक बजारीकरणका प्रभावी माध्यम पनि हुन् ।
अमेरिकी उखान छ- ‘डन्ट जज अ बुक बाई इट्स कभर’ अर्थात् पुस्तकबारे निर्णय त्यसको आवरण हेरेर नगर । बेलुका पढ्दा किताब कभरभन्दा कताकता राम्रो लाग्यो । पहिलोपटक किताब भेट्दा एउटा भावना उत्पन्न भएको थियो- सेलिब्रिटी भेटेजस्तो । नभेट्दासम्म ‘लार्जर देन लाइफ’ छवि मनमा हुन्छ, मान्छे कस्तो होला भन्ने हुन्छ । भेटेपछि ‘वाह, क्या महान्’ वा ‘ए, यस्तै रहेछ’ वा ‘छ्या, यस्तो पो’ भन्ने हुन्छ । आवरण देख्दाचाहिँ मनमा पछिल्लो भावना आएको थियो । तर पहिलोपटक देखेकाले तस्बिर खिचाइहाल्ने रहर पलाएको थियो ।
मेरो सबैभन्दा पहिलो चासो विष्टले बाहुनिजम (बाहुनवाद) शब्द पहिलोपटक कुन सर्न्दर्भमा कसरी प्रयोग गरेका रहेछन् भन्ने थियो । थाहा भयो- पेज नम्बर तीनमा, पुस्तकको परिचयात्मक लेखमा । बडो खुसी त्यतिबेला लाग्यो जव मैले पढेँ- बाहुनिजमका लागि खासमा बाहुन थर भएकाहरूको ठूलो हिस्सा जिम्मेवार छैन, खासमा ‘यो पृष्ठभूमिकाहरू (बाहुनवादको) लक्षणविरुद्ध लड्न व्यस्त छन् । नेपाली समाजमाथि त्यस्तो प्रणाली लागू गर्नेहरू बाहुन थिएनन् भन्दै त्यसका लागि ‘स्थानीय शासक घरानियाहरू’ लाई डोरबहादुरले जिम्मेवार ठहर्याएका छन् । सन्तुष्ट भएँ केही अगाडिको आफ्नै लेख सम्झिए जहाँ मैले बाहुनवादका नाममा सबै बाहुनहरूलाई घानमा हाल्न नुहने तर्क गरेको थिएँ ।
चक्रधरले प्रदर्शनीका सुरुका दुइ दिनमा ‘फ्याटालिजम’ का ६ सय प्रति बिकेको जानकारी दिँदै ‘कतिपय मान्छे डोरबहादुरबारे थाहा पाएर’ र कतिचाहिँ ‘पत्रिकामा किताबबारेका प्रसंग पढेर’ किन्न आउने बताए । संसारको चलन पनि त्यही हो, मिडियाले बजार सिर्जना गर्न सहयोग गर्छ र त्यही बजारमा आफूलाई थ्राइभ गराउँछ ।
ओरियन्ट लङ्म्यानले नेपालबारे निकालेका झन्डै एक दर्जन पुस्तकमध्ये यो सदावहार बेस्ट सेलर भएको छ । तीन सय पर्ने बाक्लो गाता (हार्ड कभर) किन्न नचाहनेका लागि आधा मोलको पातलो गाता (पेपरब्याक) संस्करण पनि छ जो मैलेचाहिँ हार्डकभर किनेपछि मात्रै देखें । लाग्यो- ह्या पेपरब्याकै किनेको भए पनि हुन्थ्यो, आखिर कुरो उही हो क्यारे । (तर त्यो विस्मात धेरै समय रहेन । पेपरब्याकको कभरमा चाहिँ पाटन दरबार स्क्वायरको तस्बिर राखिएको छ, एलानको र्ब्लर्बलाई पछिल्लो आवरणमा धकेलिएको छ जसले पुस्तकलाई तुलनात्मकरूपमा सुन्दर तुल्याएको छ ।)
सबैलाई एउटै घानमा हाल्न पक्कै मिल्दैन तर किताब भन्नेबित्तिकै प्रायःले पाठ्क्रमका बाहेक आख्यान (फिक्सन) नै सोच्छन् । विश्वमै आख्यानहरू बढी बिक्छन्, चाहे त्यो अहिलेसम्मकै सबैभन्दा बढी बिकेको ‘ह्यारी पोट्टर’ होस् या नेपाली सर्न्दर्भमा ‘मुनामदन’ या हालैका वर्षा ‘पल्पसा क्याफे’ । गैरआख्यानको बजार र पाठक सीमित हुन्छन्, कुनै विषयको गैरआख्यानले व्यापकरूपमा पाठक तान्न सक्दैन, उसले समेटेको विषयप्रति रुचि हुनेको ध्यान मात्र खिच्छ ।
‘सामान्यतः फ्यासिनेसन र इम्याजिनेसनका किताब बढी बिक्छन्,’ चक्रधरले ‘फ्याटालिजम एन्ड डेभलपमेन्ट’ कै सर्न्दर्भमा भने- ‘ननफिक्सन कमै बिक्छन् । तर यो प्राज्ञिक किताब भइकन पनि बिकिरहेको छ किनकि यसको विषय अहिले चल्तीको हो ।’ नेपाली सामाजिक संरचनाको अनुसन्धानमा आधारित पुस्तकमा लेखकले देशभरि घुमेपछि फेला परेका तथ्यलाई सीधा भाषामा विश्लेषण गरेका छन् ।
पुस्तकले त्यस्तो विषय समेटेको छ जो आफैंमा समावेशी छ- हामीमध्ये कोही बाहुन हो, कोही जनजाति, कोही मधेसी र कोही अन्य । सन् १९८९ मा लेखिसिध्याइएको किताबलाई १९९० मा छापिनुअगावै विष्टले त्यो बर्षो राजनीतिक परिवर्तनलाई समेट्न एउटा पाठ अपडेट गरेका थिए ।
अब देशमा झन बढी बदलाव आएको अवस्थामा पुस्तकको थप कसले गर्ने ?