सन्दर्भः सुस्ता

मिलन बगाले

लेखनाथ बाजेको
चरीको विलाप पढेको भए,
तिम्रो दुर्मतीले आज
मेरो घरबार उजाडिने थिएन
मेरा पातीका खम्बाहरू
तिम्रो क्रेनले उचालिने थिएन
म सुस्ताए
तर तिमी सुस्ताएनौं।
र त
मेरो तपतपे खोल्सीको पानी
मेरै कर्कलाको पातमा उठायौं
र भीमकाय सागरमा खसायौं
कठै!
चिरिएको मेरो घाटी
खरिएको मेरो छाती
धन्यवाद छ तिमीलाई!
आजका मितिसम्म
मेरो माटो पकाएर
हलुवा चै तिम्ले खाएका छैनौं
मेरा रुखका पातहरु सिएर
धोती चै तिम्ले लाएका छैनौं
ठेल!
अझ बेस्सरी ठेल!
सगरमाथा अझै
दुई मिटर माथि उचालिन्छ कि?

(सुस्ताबाट फर्केपछि)

तनहुँ

टिप्पणीहरु

“सन्दर्भः सुस्ता” मा एक प्रतिक्रिया

  1. jeevan अवतार
    jeevan

    really nice poem
    keep it up milan
    i respect all words of this poem